मलाई मेरो पुर्खाले स्वाभिमानको सगरमाथा छोडेर गए,
तर मैले अराजकता र स्वार्थको तातोले
यसलाई पगालेर चुरे बनाइदिए|
कुनै समय थियो,
हिमालको कठोरता र तराइको सरलतामा गर्ब गर्थे म,
तर अहिले,
त्यो कठोरता मैले करेसाबारीमा आफ्नै दाजुभाईमाथि देखाउदै छु|
तर तराइको सरलता भने,
मेरो छिमेकीले उसको सजिलोकोलागि उपयोग गर्दै छ|
आफ्नै देउरालीको सितलतालाई काठयङ्रिने चिसो ठानेर.
म मरभुमीको तातोमा न्यानो खोज्न भौतारिदै छु |
आफ्नो हटियामा मालिक हुन लाज मानेर ,
म पराइको चरनमा गोठालो भएर रमाउदै छु|
सिताको अस्मिता बेचेर,
अलङ्कारको महल ठड्याउने प्रयत्न गर्ने म,
बुद्धलाई दोबाटोमा फाँशी दिएर,
बस्तिमा शान्ती खोज्ने प्रयत्न गर्दैछु|
बीरताको पर्याय मेरो पुर्खाको एक्लो ऊत्तराधिकारि म ,
हिजो जसले मेरो स्वाभिमान माथि धावा बोल्यो
उसैको संघारमा उभिएर ,
उसैलाई सलाम ठोक्दैछु|
मेरो बीरता आज
अफगानस्थानमा बीरगति प्राप्त गरिरहेछ ,
मेरो शाहस आज
कास्मिरमा गर्जदैछ|
तर,
अफ्रिका देखी फकल्यान्डको टापुसम्म रबाफ देखाउने मेरो खुकुरी ,
मेरै सुस्ता र कालापानीमा भने किन निस्तेज छ?
सिमामा कोतरिएको घाउ
लाखौं नगरिकताको भेटी चडाउदै अझ बल्झाउने कोसिस गर्दै छु|
अब तिमीलाई जिज्ञासा होला ,
म को हुँ ?
म राजनीतिक साङ्लामा बाधिएको त्यो स्वतन्त्र युवा हुँ,
जो लोकतन्त्रको सडकमा निस्किएर
जिउदालाई मुर्दाबाद र मरेकालाई जिन्दाबाद भन्दै गणतन्त्रको अभ्यास गर्दै छु|
म तेही नेपाली हुं,
जसको बिहानी भालेको डाँकबाट होइन,
बम बिस्फोटको आवाजबाट सुरु हुन्छ|
म त्यही नागरिक हुं,
जो परिवर्तन पछीको सुनौलो भबिस्यको आशाले
दर्जनौ पटक सडकमा अधिकारको लागि लडे,
म त्यही अभागी हुँ ,
जो अत्याचारको बिरुद्ध क्रान्ति गरेर
बिजयको माला पहिरिदै,
गलाबाट माला खस्न नपाउदै
सोही अत्याचारको बिरुद्ध अर्को लडाईं लड्दै छु|
एउटा मालिकको पन्जाबाट मुक्ती पाउन रगत बगाएको भोलिपल्ट
नयाँ मालिकको स्नेह पूर्ण शोषण पाउने
म स्थाइ दाश हुँ,
हो म दाश हुँ,
यो नयाँ नेपालको
कमजोर तर वास्तविक ईतिहास हुँ|
ताइवान