आदिम काल देखि रहि आएको
अन्योन्यास्रित संबन्धमा,
बेलाबखत फूल र काँडाहरु
पुग्छन बिवादको चरम क्षितिजमा ।
फूलहरु धर्म निभाए झैं मुस्काउंथे
र संगै पहरेदार भएर तैनाथ हुन्थे काँडाहरु
बहाना फूलको सुरक्षा कवच ।
तर, बेहिसाब संरक्षणको बहानामा काँडाद्वारा -
चिथोरिएका छन फुलहरु,
आँशुमा छिन्नभिन्न पारिएका छन
र घोचिएका छन कोमल आत्माहरु ।
ठूलै सन्नाटा छायो एक साँझ
निकै उन्नमत्त थिए फुल-फूलहरु
र निकै बिसाक्त काँडा-काँडाहरु ।
युध्द निम्त्यायो बिवादले
जरो उहि पुरानो बनेर,
फूल काँडाका लागि बाँच्छन या
काँडा फूलका लागि बाँच्छन ?
बयानमा काँडाहरुको सबुत यौटै थियो
बस – फूलको सुरक्षाका खातिर ।
सबुत उस्तै पेश गर्थे फूलहरु -
फूल सौन्दर्य हो,
शान्ति र प्रेम हो,
प्रेरणा र सद्भाव हो,
संघर्ष र शालिनता हो ।
साक्षी बक्यो समयले
पक्षमा उभिएर फूलहरुको -
फूल अथाह सागर हो
फूल शून्य आकाश हो
वेदका प्रत्येक श्लोकहरुमा मुस्काएको छ फूल,
फूलको स्पर्श नपाउँदो हो त
कुरानका अक्षर काला हुने थिए,
बाइबलमा सर्वथा फूलहरुकै उमंग छ
र त्रिपिटक फूलहरुकै अभावमा खल्लो बन्नेछ ।
एकछिन पछि सुनिए फैसलाका श्वरहरु-
फूल आँशु हो र पनि मुस्काउन सक्छ
सहनशिलता हो अचानो झैँ लाखौँ चोट सहन सक्छ
फूल संघर्ष हो र फुलको बासनाले कोशौँ माईल काट्न सक्छ
फूल मुस्काउँछ र त बिश्व ब्रह्माण्ड उज्यालो भा'को छ,
र सृष्टिको मूल तत्व नै फूल हो ।
एक दिन मात्रै फूलले बिद्रोह गरोस,
नफुलोस र बासना नछरोस -
कति काँडा झोक्राउनेछन
र कति काँडा हुनेछन फत्राक फत्राक...
नत्र - एक रात, एक दिन या एक पल पनि
मरुभुमिमा उभिएको यौटा प्राणीलाई सोध -
फूल बिनाको संसार कस्तो हुन्छ ?
बुटवल