19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मैले रोपेका बिरुवाहरु

कविता फुच्ची जमुना August 24, 2013, 10:36 am

थरथर कापीरहेछन मेरा हात खुट्टाहरु

एकसय दुई रेक्टरको

भुकम्प जाला झै गरेर

धड्कीरहेछ मेरो मुटुको धड्कन

असारे झरिले उर्लिएको

खोला - नालाहरु सरि

बेतालसित

यताउता गरिरहेछन्

नसा नसामा रगतका थोपाहरु ….!!

यायावर झै

म हिडिरहेछु

एक्लै - एक्लै हिडिरहेछु

भरेसम्म कहां पुग्नुछ मलाई ? थाहा छैन

थाहा छैन, कहा पुगेर फर्किनुछ मलाई ?

केबल हिडिरहेछु, हिडिरहेछु ……..!!

बाहिर घाम लागिरहेछ

बादलका भुल्काहरु कहि कतै छैनन्

त्यो निलो आकाश

आहा ! कति सफा छ आाज

तर, म निथ्रुक्क भिजिरहेछु

पसिनाले या त आशुले ……??

उ कान्लामा बसेर हेरिरहेको थियो

प्यारका गह्राहरुमा

प्रेमिल सपनाका बिउहरु रोपिरहेकि थिए म

र, हामिले भनेका थियौ -

यसलाई फलाउनुपर्छ ….. !!

बिरुवाका जराहरुले

भर्खर माटो समात्न खोज्दै थिए

अकस्मात,

माहाकालिको भेल पस्यो मेरा खेतहरुमा

त्यसैले त,

मेरो छट्पटि झन् झन् बढिरहेछ

बढिरहेछ, मेरो मुटुको धड्कन

अनि बेहिसाबसित बढिरहेछ

धमनि र शिराका कम्पनहरु

आफ्नो बाटो नै बिर्सिएर

मेरा खेतहरुमा हुत्तिएको भेलले

आलि र खेतको निशानि नै

मेटाइदिएकोछ यतिबेला

र, मेटाइदिएकोछ

मेरा प्रेमिल गह्राहरुको पहिचान पनि

खेत र कान्लाको निशानि नै हराएको भेलमा

अब कसरी जोगाउ म

मैले रोपेका बिरुवाहरु..... ??

र, कसरी फलाउ म

प्रेमिल सपनाका बिउहरु ......??

पश्चिम चितवन मेघौली

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।