केटाकेटी छँदा
आँखा फेटाले छोपेर
साथी छुने खेल खेल्दथें म
तर आज
आँखा खोलेर पनि
कतै भेटिनँ तिमीलाई
हे भगवान ! सर्वत्र छामेर पनि
कतै पाउँदिन तिमीलाई
एउटा कुरा सोध्नु थियो–
के म अझै उस्तै छु
तिमीले सोचेजस्तै
बनाएजस्तै ।
–(बीच बाटोमा ब्युँझेर–नवराज सुब्बा)
समाजमुखी सिर्जना गर्ने असल स्रष्टाहरूको पंक्तिमा छुट्टै पहिचानसाथ उभिएका कल्पवृक्ष हुन् नवराज सुब्बा । समकालीन कला, साहित्य र सिर्जनामा उनको नाम अनिवार्य जस्तै बनिसकेको छ उनीभित्रका सघन सिर्जनात्मक प्रतिभाले नेपाली साहित्यको क्षेत्र पुलकित बन्दै गैरहेको छ । आज म सर्जक नवराज सुब्बाको समयको स्वाद रूपी सुस्वादु व्यञ्जन बोकेर उपस्थित भएको छु र सिर्जनात्मक स्वादले साहित्य पठनको भोक मेटाउने संस्मरण, विचार, निबन्ध र प्रबन्धको वास्नादार भान्साको दैलो उघार्दैछु ।
वीसवटा संस्मरणात्मक र छ वटा विचारधारात्मक लेखमालाहरूको संगालो हो ‘संमयको स्वाद’ । विद्वान गुरु दधिराज सुवेदीलाई जस्तै मलाई पनि लागेको छ– निबन्ध र प्रबन्धको सीमारेखा हालेर कित्ताकाट गर्नुभन्दा पाठककै विचार, विवेक र विश्लेषणको मर्जी भनी छोडिदिनु उपयुक्त होला । आफ्नो विचारले कल्पना गरेको चित्र पाठकको मस्तिष्कमा जस्ताको त्यस्तै छ्याङ्ग पारेर उतार्न सक्नु नवराजको विशेषता हो । वस्तुतः उनी शव्दमा कञ्चन चित्र उतार्न सक्ने लेखकको रूपमा दरिएका छन् । उनको ‘सुर्तीको स्वाद’ प्रेरक संस्मरण हो । आत्म जागृतिले अरुमा पनि जागृति ल्याउन सक्छ । धुम्रपान निषेधित नवराजले उनको आदर्शलाई उजागर गरेका छन् । राति नाटक हेर्दा तर्सिएर सातो गयो भनी फेदाङवा लगाएको प्रसंगले यथास्थित तथा पछौटे नेपाली ग्रामीण समाजको चित्र सर्लक्क उतारेको छ ।
अरुकै नेतृत्वमा भए पनि सुन्तला चोरेर खाएको प्रसंग राह्रै रोचक छ । किशोरावस्थामा जोसुकैले सानातिना उपद्रो गर्दछन् । तर आफूले गरेका गल्तीलाई लिएर स्वयम्लाई दोषी ठान्दै उनले ‘विष्टबाको सुन्तला’ मा हाकाहाकी स्वीकार गरेका छन् । समयको स्वाद उनको विगतका पाइतालाका डोबहरू हुन् जसलाई आत्ममूल्याङ्कन र सिंहावलोकन गर्दै वर्तमानको बाटो भएर सुब्बाले भविष्य सजाउने कल्पना गरेका छन् । उनले अनेकौं लेखहरूमा आफूले अध्ययन गरेको सरस्वती मा.वि.लाई पटक पटक सम्झिएका छन् । हाङपाङ उनको हृदयभूमिको रूपमा देखिन्छ । ओमनाथ उप्रेतीसँगको सम्झना, कसैले फुक्र्याउँदा फुरुक्क पर्ने बालसुलभ व्यवहार र गितारको काठमा कीरा लागेर फाल्नु पर्दाको नरमाइलो जस्ता कुराहरूको स्मरण उनको हारमोनियमको नशामा छ । प्रष्ट बुझिन्छ उनी संगीतका पारखी हुन् । आफूले बाल्यकालीन अवस्थामा मीत लगाएका कुलप्रसाद प्रसाईलाई उनले सम्झिएका छन् । मीत लगाएपछि टाढिनु पर्दो रहेछ भन्ने सम्झनाको तरेलीलाई ‘मीतज्यू’ ले बोकेको छ । सुब्बाको ‘देउसी २०३८’ घतलाग्दो छ । २०३३ सालमा प्रथम श्रेणीमा एस.एस.सी.उत्तीर्ण गरेका मेधावी र अनुशासित विद्यार्थी सुब्बाले आफ्ना गुरुको सम्मान शव्दबाट गरेका छन् र गुरुको पदचाप तथा पाइलोका डोबहरू पछ्याएर जीवन सार्थक बनाउने कर्मशील व्यक्तित्वका रूपमा देखिन्छन् । उनलाई तेह्रथुमप्रति अपार श्रद्धा छ, उनलाई आफ्नो जन्मस्थलको प्रकृति प्रिय लाग्छ, प्रसिद्ध पाथिभरादेवीप्रतिको अटल विश्वास उनको लेखमा पाइन्छ । हामीलाई हाम्रो वर्तमान र भविष्य दिने वीर शहिदहरूलाई उनले भावुक भएर सम्झिएका छन् । नवराज सुब्बाको समग्र जीवन र रचनाहरूको मूल्याङ्कन गर्ने हो भने एक देशभक्त स्रष्टा हुन् उनी । आफूजहाँ गए पनि आफ्नो जन्मस्थल र आफ्नो देश उनका श्रद्धाका स्थान हुन् । देशभक्ति दुब्लाउँदै गएको वर्तमान परिवेशमा राष्ट्रियताका सम्बन्धमा उनको जीवन प्रेरणाको स्रोत हुन सक्छ । सर्जक नवराजलाई चिन्ने धेरैलाई थाहा छ उनी प्रविधिको सदुपयोग गर्दछन् । यो प्रसंगलाई उनी आफैँले सम्झिएका छन् र फेसबुकप्रति उनको सकारात्मक सोच देखिन्छ । मान्छे पेटको प्रेरणाले सञ्चालित भएको हुन्छ । रक्सी स्वयम्मा खराब लत हो, तर परिस्थितिले कहिलेकाहीं सकारात्मक मोड लिँदो रहेछ । रक्सीको कारणले दुर्गम स्थलमा भोक मेट्ने चामल प्राप्त भएको रमाइलो चर्चा “चामल र खुशी” मा छ । प्रष्ट छ, व्यवहार अनुसारका साथी र संगत निर्माण हुँदा रहेछन् मान्छेको जीवनमा । उनको ‘सूर्यग्रहणको दिन’ जागिरे जीवनको पिडादायी सम्झना हो । खटनपटन गर्ने माथ्लो तहमा विचारको खडेरी परेपछि तलकाले भोग्ने सास्तीको वर्णन छ यो लेखमा । पिडाका सुस्केरा छोड्छन् उनी । माथिकाको तल हेर्ने दृष्टिकोण गलत भएपछि र विचारमा ग्रहण लागेपछि मान्छे अन्धो हुन्छ भन्ने उनको जिकिर छ । सर्जक सुब्बा भावुक व्यक्तित्व हुन् । उनको भावुकता पुस्तकमा छताछुल्ल पोखिएको छ । ‘द्वन्द्वको पीडा’ मा साँढेको जुधाई बाच्छाको मिचाइ उखान चरितार्थ भएको छ । उनको ‘रिक्सावाला’ ले राष्ट्रको अवस्था संबोधन गरेको छ । हामी बन्द संस्कृतिको शिकार भएका छौँ । श्रम गरेर बाँच्ने एउटा रिक्सावाला बन्द र यथास्थितिको विरोधी छ । तत्कालीन राजनीतिको विरोधी छ । उसलाई पहाडे र मधेशे नारासँग मतलब छैन । शान्तिले बाँच्न चाहन्छ । उनी वास्तविक नेपालीपनको छायामा दार्जिलिङ्गलाई देख्छन् । उनी देशभित्र र देशबाहिर राष्ट्रिय चिन्तनको तुलना गर्दछन् । उनी हाकाहाकी भन्छन् –‘राजनीतिले प्रकृति पनि खान्छ’ । सुब्बा यहाँनेर आपूmलाई जहिल्यै पनि धूलोमा राखेर सोच्दछन् । उनी नेपाली संस्कृति रक्षामा ईटमाथि इँट जोडने सर्जकहरूलाई सम्मानले सझिन्छन् । खुलेर भन्न सकिन्छ–सुब्बा सांस्कृतिक चिन्तक हुन् । एक प्रसंगमा उनको देशभक्ति यसरी पोखिएको छ–“नेपालमा अहिले हामी जाति भन्नाले थरलाई बुझ्दछौँ र लड्दैछौँ, त्यहाँ (भारतमा) जाति भन्नाले भाषी भन्ने बुझिन्छ र भाषिक अस्तित्वको लडाई लडिँदैछ ।” गाडीको चालक माथि भएको अत्याचारले यहाँको यथास्थित अराजकताको सम्बोधन गरेको छ । “चार श्रीमतीहरू” ठट्यौली रूपमा उपस्थित छ । आफ्ना अग्रजहरूलाई जुनसुकै रूपमा सम्मान गर्न नचुक्ने नवराजले देवकुमारी दिदीप्रति श्रद्धा सुमन अर्पण गरेका छन् । ‘जपरोग’ मा उनी चिन्तनशील लेखकको रूपमा प्रकट भएका छन् । जपरोग अर्थात् जसरी पनिबाट बच्न उनले पाठकहरूलाई आग्रह गरेका छन् ।
सर्जक नवराज सुब्बाको वैचारिक (विचार प्रधान) लेखहरूले पाठकहरूमा धारणा निर्माण गर्ने दिशामा तरंग उत्पन्न गरेको. पाइन्छ । सरल व्यक्तित्वका धनी उनले आफ्ना लेखहरूमा इमान्दारिता देखाएका छन् । उनी अत्यन्त भावुक भएर भन्छन्– “ग्ल्यामरको व्यापारले पुरै पेलेको छ कैयौं सुमाका आवाज र मानवीय संवेदनाहरूलाई ।” गजल बारे अपव्याख्याको विस्कुन सुकाउनेहरूलाई उनको जवाफ छ–“गजल पजल होइन ।” उनले गेय विधाका रूपमा निर्बाध ढंगले गजललाई अगाडि बढाउन सकिने आफ्नो धारणा राखेका छन् । स्रष्टा र संचारको सम्बन्धमा उनले भनेका छन्–“जनताको सुसूचित हुने हक र अधिकारका लागि सदा सचेत सञ्चारजगत् स्रष्टाहरूको प्रतिलिपि सम्बन्धी हक र अधिकारप्रति पनि सचेत हुन अत्यन्त जरुरी भएको छ ।” स्रष्टा सुब्बाले रेडियोप्रति स्रोता र स्रष्टाहरूको अपेक्षामा भनेका छन्– “यूज एण्ड थ्रो आजको उपभोक्तावादी संस्कृति वा जीवनशैली हो र जसको दास हामी पनि बन्दै गएका छौं ।” गीत संगीत सुनाइने तर त्यसका सर्जकको नाम नसुनाइने धृष्टताको शिकार बनिरहेछन् सर्जकहरू । रेडियोमा सांगीतिक कार्यक्रम चलाउन सीप चाहिन्छ भन्ने उनको दावी छ । रिमिक्सलाई उनी साँगीतिक क्षेत्रको विकृति ठान्दछन् । सेवा र पेशालाई निष्कलंक बनाईराख्ने हो भने यहाँ व्याप्त द्वैध चरित्रको अन्त हुनुपर्दछ । जबसम्म यी क्षेत्रमा द्वैध चरित्र रहन्छ तवसम्म संस्थाको उन्नति हुँदैन भनी उनले शिक्षा र स्वास्थ्य क्षेत्रका कुरा उठाएका छन् । “समयको स्वाद”भित्रको अन्तिम वैचारिक लेख हो–रोकिन्न् हातका कलमहरू ।” यसमा उनले सर्जक माथि प्रहार गरिने खल विचारको उच्छेद गरेका छन् । उनले कटाक्ष गर्दै भएका छन् कृति भनेको बच्चा जस्तो परिवारनियोजनको साधन प्रयोग गरेर दुई तीन बर्षको अन्तरालमा विराएर जन्माउने सन्तान होइन । उनले किन्चित दुःखका साथ आफ्नो अभिव्यक्ति पोखेकाछन्–“लेख्नु भनेको समाज र राष्ट्रको ऋण चुकाउनु हो । यसमा सेवारत रहँदा ईश्वरको नजिक पुगिन्छ भन्ने चाहिँ थाहा थियो । तर दानवीय प्रबृत्तिको पनि सामना गर्नु पर्दो रहेछ भन्ने अहिले अनुभूत गर्दै छु ।” आफू शिशाको घरमा बसेर नवराजलाई इँटा बर्साउनेलाई उनले चुनौती दिएकाछन्– “आज मलाई हिर्काइएका ईटाहरूले नै घर बनाउँदै छु म । मेरो हृदयको ढुकढुकीमा उम्रने सिर्जनाहरू कसैका कर्के नजरले ओइलाउने छैनन् । कुनै तानाशाही प्रबृत्तिको प्रभावमा चल्ने वा इशारामा रोकिने छैनन् हात र कलमहरू ।” यसरी सुब्बाले आफ्नो अनवरत लेखनप्रति इमान्दार प्रतिबद्धता जाहेर गरेका छन् ।
सबैका आ–आफ्ना आनन्दीभाव र पीडाहरूले भरिएका हुन्छन् समयका स्वादहरू । सर्जक नवराज सुब्बाको समयको स्वाद उनको सामाजिक तथा राष्ट्रिय चिन्तन प्रकट गर्न सहायकसिद्ध छ । विद्वान गुरु दधिराज सुवेदीको प्रष्ट स्वीकारोक्ति छ– “छोटो समयमा यति धेरै कृतिहरू लोकलाई अर्पण गर्ने सामथ्र्य देखाउनु पनि विलक्षण प्रतिभाकै उपज मानिन्छ ।” मनका सोझा, छक्कापन्जाविहिन, विचारका धनी, कुशल राष्ट्रसेवक, उच्च मनोवलयुक्त राष्ट्रियभावधाराका साहित्यकार नवराज सुब्बाबाट नव–नव कृतिहरू अरु पनि आउनु पर्दछ र हामीले पढ्न पाउनु पर्दछ । म छयाङ्ग देखि रहेछु त्यो भोलिलाई जुनदिन राष्ट्रले कर्मयोगी साहित्यकार नवराजलाई पहिचान गर्नेछ उनी उभ्याइनेछन् हिमालझँै राष्ट्रिय मञ्चमा अनि हामी आलोकित र आल्हादित हुनेछौं । अग्रज स्रष्टा नवराज सुब्बालाई अग्रिम बधाई र सलाम ।