परिचय
प्राध्यापक, साहित्यकार, स्रष्टा द्रष्टा एवम् सम्पादक डा. नारायणप्रसाद खनालको जन्म २००९ पूजा–४, बिनति, प्यूठान, रा.अ.मा भएको थियो । हालको स्थायी ठेगाना अग्यौली–९ डण्डा नवलपरासी, लु.अ.मा भएता पनि हाल उहाँ भ.न.पा. –५, चितवन ना.अ.मा अस्थायीरूपमा बस्दै आउनु भएको छ । उहाँ त्रि.वि. वीरेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापनरत हुनुहुन्छ । उहाँको वर्तमान पद प्राध्यापक तथा विभागीय प्रमुख हो । उहाँको शैक्षिक योग्यता एम.ए.( नेपाली) र विद्यावारिधि साहित्याचार्य हो । उहाँ निबन्धकार, समीक्षक, खोज–अनुसन्धान कर्ता र कुशल सम्पादकको रूपमा पनि परिचित हुनुहुन्छ । डा. नारायण प्रसाद खनाल लक्ष्मीस्मृति साहित्य समाज नवलपरासी लगायत दर्जनौ साहित्यिक संस्थाहरूबाट पुरस्कृत, सम्मानित, अभिनन्दितका साथै कदरपत्र प्राप्त गर्ने एक सकृय एवम् उच्च साहित्यिक व्याक्तित्व हुनुहुन्छ ।
संलग्नता–
वयक्तिगत विवरणमा उल्लेख भए बमोजिम उहाँ त्रिवेणी साहित्य परिषदका अध्यक्ष, चितवन साहित्य परिषदका आजीवन सदस्य, प्रेमा वाङ्मय प्रतिष्ठान नवलपरासीका सदस्य र नवलपरासी साहित्य परिषद्का सल्लाहाकार पनि हुनहुन्छ ।
प्रकाशित कृतिहरू
-रहर केही केही ठहर (समालोचनासङ्ग्रह–२०४९)
- गेरखाको डायरी (संस्मरण तथा समीक्षा–२०६१)
- समीक्षा प्रहर–प्रहरका (समालोचनासङ्ग्रह–२०६१)
- नरायणीका लहरलहरमा (सङ्कलित निबन्धन–२०६१)
- समीक्षाका आकारहरू( (समालोचनासङ्ग्रह–२०६५)
- निर्वचन र भाषिक सन्दर्भ (भाषिक निबन्धसङ्ग्रह–२०६५)
- समस्या पूर्ति परम्परामा लेखनाथका कविता–काव्य,–२०६५)
- स्वप्नयात्रा र चिठी ( निबन्धसङ्ग्रह–२०६६)
- नागपञ्चमी (निबन्धसङ्ग्रह–२०६९)
सम्पादन– कार्यकारी सम्पादक साप्ताहिक चितवन
उहाँमा लेखन दक्षता, नेपाली, संसकृत र हन्दी भाषामा छ र थुप्रै कृतिहरू प्रकाशन्मूख अवस्थामा रहेका छन् ।
कृतिको संरचना
यो निबन्धसङ्ग्रहको प्काशन त्रिवेणी साहित्य परिषदले गरेकोे छ र यो १४६ पृष्ठको छ । यसको मूल्य २७५/-रुपियाँ राखिएको छ । आवरणको अघिल्लो भागमा चन्द्र सूर्य सहितको नागको चित्रले सजिएको छ भने पछिल्लो पृष्ठमा कृतिकारको व्यँितगत विवरणले सजिएको छ । यो कृति लामा र छोटा गरी ३८ वटा निबन्धले सजिएको छ ।
भूमिका लेखकको निबन्धकार र निबन्धप्रतिको धारणा–
वरिष्ठ छन्देली कवि, गजलकार तथा साहित्यकार गोविन्दराज विनोदीले यस निबन्धसङ्ग्रहको भूमिका लेखनमा लेख्नुहुन्छ –‘नेपाली निबन्ध फाँटमा आफ्नो अलग पहिचान बनाउन सफल डा. खनालको निबन्धकारिता, तार्किकता, दार्शनिकता, व्यङ्ग्यामकता, विश्लेषणात्मक र व्यावहारिक अनभूतिजन्यताले भरिएको हुनाले सुरुचिपूर्ण देखिन्छ ।’
निबन्धकारको आफ्नै धारणा–
‘ के निबन्ध लेखेर नेपाली साहित्य भण्डार भर्न चाहने मेरो इच्छ्या हो ? या निबन्धकार बनेर कुनै अद्भुत चमत्कार देखाउने चाहना ? या अरु केही परिकल्पना ?अथवा अकुत लेखकत्व बटुल्ने सम्भावना ? यी सबै प्रश्न सुन्दा त केही नलेखी बस्नुपर्दथ्यो तर त्यसो गर्न सकिएन, त्यसैले सङ्कलन गर्ने प्रयास गर्दा यदि उल्लिखित प्रश्नको सकरात्मक उत्तर मिल्छ भने अथवा नागपञ्चमीसँग त्यति ठूलो हैसियत छ भने, यसको उद्देश्य त्यो पनि हो, यसमा दुईमत छैन ।’
निबन्धसङ्ग्रहमा स्थान प्राप्त निबन्धका शीर्षकहरू
नरम–गरमको तराजु, बर्सादका दिनहरू, फेरि पनि दसैं दहिलैमा, कति गजब छ जिन्दगी, सडकमा दौडन्छन् मेरा कविता, नागपञ्चमी, एक धक्का “बिम्ब प्रतिबिम्ब”को, ...तो फिर मेरा चाल देख लो, रातो टिका निधारमा, भन्ज्याङ्गहरूमा विचरण गर्दा, मैले पनि हरेसै खान थालेको छु, कलम, सडकको पीडा, एका विहानै निस्कँदा, गहना मेरो अधिकार, झ्यालबाट हेर्दा जे देखियो, समयसँग के सम्झौता ?,आत्म–मूल्याङ्कनको खोज, पूmलः प्रेणका मूल, छायाँ, दोहोरायर ‘एक्स्ट्रयाक्ट चिन्तनःःप्याज पढ्दा, पानी परमेश्वर, शून्य नै अन्तिम सत्य, बालक बन्न पाए, चहै–चहै, नयाँ बर्षका नयाँ अभिलाषाहरू, स्वैच्छिक नामाकरणःजिन्दावा, फेरि चितवनदेखि काठमाण्डौ पुगेपछि, रुवाइको कुरा, म कृतज्ञ छु, सारनाथ मेरा आँखामा, नारने तँ त बूढो भइछस्, मेरो साथी कुहिरो, चरण युगल, हामी जाने घअऽऽरऽ, हरियाली जगत्, चराको साम्राज्य, र बा हराएको सूचना गरी ३८ वटा निबन्धहरू यस सङ्ग्रहमा समावेश गरिएका छन् ।
निबन्धले औल्याएका सत्यतथ्यहरू
निबन्धकारले यस निबन्धसङ्ग्रहमा विन्दुमा सिन्धु नै अटाउने प्रयास गर्नु भएको छ र सफल पनि हुनुभएको छ । हरेक निबन्धमा विविधता पाइन्छ । बीच बीचमा स्वदेशी तथा विदेशी साहित्यकारको अभिव्यक्ति÷कवितालाई समेटिएको पाइन्छ जस्तै लेखनाथका कविताहरूको प्रयोग गरिएको छ । जसले गर्दा निबन्धमा मिठास थप्ने, निबन्धलाई स्तरीय बनाउने काम भएको छ । हरेक निबन्धमा विविध विषयलाई लिएर तार्किकताका साथ स्वछन्द आत्मपरक शैलीको प्रस्तुतिको साथमा स्वछन्दरूपमा बगेका छन् निबन्धहरू । निबन्धले राष्ट्रियतामा उच्च स्थान ओगटेको छ । समाजिक यथार्थतामा समसामयिक घटनाक्रमलाई निबन्धकारले टपक्क टिपेर बुँदागतरूपमा प्रष्ट्याउने प्रयास गर्नु भएको छ र सामाजिक विकृति विसङ्गतिलाई प्रमाणिकरूपमा प्रस्तुत गर्दै समाजलाई अग्रगमनतिर अग्रसर गराउने मार्गदर्शन प्रदान गर्न पनि पछि पर्नु भएको छैन । राज्यले सामाजिक विकृति ,विसङ्गति जस्तै “चोरी” “जारी” “वेश्याबृति”जस्ता विविध खाले असंवैधानिक कर्महरूलाई रोक्न सक्नु पर्छ यदि रोक्न सकिदैन र लुकीलुकी गर्न छुट दिइन्छ भने यस्ता असंवैधानिक कर्मलाई वैधानिकता प्रदान गरेमा सरकार त मोटाउँछ भन्दै व्यङ्ग कसिएको छ । असल समाज बाटै असल राज्यको परिकल्पना गर्न सकिन्छ । नैतिकवान, सभ्य, शिष्ट, अनुशासित, स्वावलम्वी, स्वस्थ, परिश्रमी, शिक्षित जनशक्ति नै राष्ट्रका श्रृजनशील सम्पत्ति हुन । प्राकृतिक स्रोत ‘र साधनबाट आर्थिकरूपमा सम्पन्न देशले आफ्नो आर्थिक सम्पन्नतालाई व्यवहारमा उतार्न सक्नु पर्छ । नेपालको परिपेक्षमा सरकारले आफ्नो देशको स्रोत र साधनलाई प्रयोगमा ल्याउन नसक्दा आर्थिक मारमा जनता परेको, जनता र देश गरिब बन्दै गएको महसूस निबन्धकारले गर्नु भएको छ र भन्नुहुन्छ– ‘पानी सेतो सुन हो ।‘ पानीको जयहोस्, पानी विरोधीको सर्वत्र क्षय होस् ।’ पानीको प्रयोगले देशलाई आर्थिकरूमा दरविलो बन।उन सकिने अभिव्यक्ति ÷धारणा प्रष्ट छ । समसामयिक राजनीतिमा पनि निबन्धकारले दरविलो र चोटिलो तीक्ष्ण व्यङ्ग प्रहार गर्न पछि परेका छैनन् । राजादेखि दलीय नेताहरूमा समेत देशको स्रोत र साधनको सदुपयोग गर्ने सोच नदेखिएको साथै पूर्व शासकहरूले गरेका विविध नकारात्मक कर्महरूलाई पनि यहाँ औंल्याइएको छ । देशमा द्वन्द्वले निम्त्याएको मानवीय क्षति, भौतिक सम्पदाको क्षति, वौधिकतामा देखिएको ह्रास, सामाजिक क्षेत्रमा निम्तिएको विकृति, विधवाले खोजेको पतिको सास या लास, बाबुआमाले खोजेको छोराछोरीको जीवित तथा मृत अवशेष, बालबालिकाले खोजेका हराए, बाबाकोे अनुहार, सुवेदारको बन्दुक हरायो, रुपियाँ पनि लगेरे, संस्कार हरायो आदि आदिको साथमा समाजमा धर्म संकट निम्तिएको बाउको क्रिया गर्ने या नगर्ने, आमालाई विधवा घोषित कुन आधारमा गनर्,े कलमजीविहरूले खोजेको लेख्ने अधिकार, सर्बसाधारण जनताले खोजेको गास बास र निवास गणतन्त्र आए पनि प्राप्त हुन सकेको छैन । जति आवाज निकाले पनि, जति आन्दोलन गरे पनि कसैले सुन्ने वाला पनि छैनन् । यस विषयमा निबन्धकारले सबैको सामु प्रश्न राख्नु हुन्छ– ‘के सबै आन्दोलन जाली नै हुन्छन् ?’ (पृष्ठ ९),
, कलमलाई निबन्धकारले एटमवम भन्दा पनि शक्तिशालीको रूपमा प्रस्तुत गर्नु भएको छ । बास्तवमा कलम बलियो अवश्य हो तर वर्तमान अवस्थामा लेखक, पत्रकार र सम्पादकको अवस्था तथा व्यथा कति दर्दनाक छ तिनीहरू कति स्वतन्त्र छन् लेख्न कति पत्रकार मारिए कति पत्रकार अपहरित भए, भन्ने सत्य तथ्य सर्वविदित नै छ । यी बसै पक्षका सवल र दुर्वल यथार्थताहरू निबन्धकारले उदाहरण सहित प्रस्तुत गर्नु भएको छ । कलमले पनि निष्पक्षरूपमा लेख्न सक्नु पर्छ भन्ने सुझाव पनि दिनु भएको छ । राष्ट्रले गर्न नसको उन्नतिप्रति पनि निबन्धकार चिन्तित हुनुहुन्छ । आजको ह्रासोन्मुख संस्कृतिप्रतिको निबन्धकारको गहन चिन्ता छ । ऐतिहासिक पक्षमा पनि निबन्धकारले सशक्तरूपमा आपूmलाई उभ्याएको पाइन्छ ।
संसार सन्तुलनमा टिकेको छ । त्यसो हुँदा सबै चिजमा सञ्तुलनको आवश्यक्ता पर्दछ । उहाँ लेख्नुहुन्छ –‘हामी लाभ र हानीमा जीवन जोख्छौ भने त्यहाँ कति व्यपारवृत्ति भएको हुनेछ तर नरम र गरम भने मिलाउनै पर्ने हुन्छ ’ । नरम–गरम(पृष्ठ २),उहाँ जीवन र जगतसँग सुपरिचित हुनुहुन्छ र मानव जीवनमात्र नभएर प्रकृति प्रदत्तचिजहरू सबैलाई सजीव ठान्नुहुन्छ । आजको अवस्थामा सबै खतरामा परेको देख्नुहुन्छ, जीवित वर्ग आज अनेकथरी, रोग– महामारीबाट सक्रमित र आतङ्कित भएको पाउनु हुन्छ,, मानवजाति मानजातिबाटै भयातङ्कित हुनु र आफ्नो बर्ग आफ्नै बर्गको लागि दुष्मन हुनु जस्तो ठूलो भयआतङ्क संसार भरी नै खोजे पाइदैन भन्नु हुन्छ । जहाँ भय र आतङ्क सँगोलमा रहन्छन्, त्यस्ता ठाउँमा मानवता सङ्कटमा पर्नु, सहमति धरापमा पर्नु, भाइचारा चरिफाइँमा पर्नु, सम्पूर्ण समाज र सामजिक सहिष्णुता छताछुल्ल भएर पोखिने ठान्नुहुन्छ । मानव जन्मदा जन्मदै को दिन देखि नाभि कटेर बन्धनमा पारिन्छ र मृत्युतक ऊ बन्धनमा हुन्छ । यहाँ यी बन्धन थरीथरी रूपका देखिन्छन् कतिपय बन्धन त संस्कृतीको रूपमा अङ्गालिएका छन् ।् यी सबै बन्धनहरू गहनाको रूपमा पहिरिएका हुन्छन् । नारीहरूको लागि त सबभन्दा ठूलो गृह्य बन्धन ठान्नुहुन्छ र लेख्नुहुन्छ– ‘पशु बन्धन जीवन हुन सक्दैन’। यसरी नै नारीप्रतिका बन्धनमा उहाँले प्रष्ट पार्दै लेख्नुु हुछ – ‘..नारी सौन्दर्यका निम्ति सौभाग्यालङ्कारका बजार छन्, अधिकार हजारछन् खोस्नै पर्छ कि गहनाजस्तै प्रदर्शन हुन सक्नुपर्छ ।’ –गहना मेरो अधिकार(पृष्ठ४५) बास्तवमा अधिकार कसैले सित्तैमा दिंदैन ।अधिकार प्राप्तिको लागि त संघर्ष नै गर्नु पर्दछ र खोसेर लिन सक्नु पर्दछ । रुढिवादी परम्परा, अड्मिल्दा चलन, अन्ध विश्वासलाई घरबाट निकाल्न व्यवहारमै उत्रेको , तर अन्ध विश्वास भनेर जे पनि गर्नु पर्छ भन्नेमा निबन्धकार सहमत हुनुहुन्न लेख्नुहुन्छ –‘यति वेला नारी सबै सजग छन्, ९० बर्षकी विधवालाई सिन्दुरपोते र रातो सारी पहि¥याएर त्रान्तिकारिता प्रदर्शन हुन्छ कि उनीहरूको दिलमा अमिट ठेस लाग्छ, यस्ताकुरा त्रान्तिकारीलाई पनि थाहा हुँदैन लहैलहैमा हिड्नेहरूलाई पनि ज्ञान हुँदैन भने जवर्जस्ती होली खेल्नु महा पाप हो–त्यो पनि बिधवा बूढीमाथि ।’ –चरण युगल(पृष्ठ ११४), नारी हक र अधिकारको माग गर्दैमा अधिकार प्राप्त हुने पनि त होइन ।
नारीको निधारमा टल्केका रातो टिको हेर्न निबन्धकारको आकाङ्क्षा पल्किरहेको हुन्छ । नारीहरुले सानैबाट टिक लगाउन हतारिएको पाउनुहुन्छ अनि लेख्नुहुन्छ–‘सायद टिका नै त्यो नारीको प्रकाश हो, जसले सौभाग्य–मन्दिरमा देखिने अन्धकारलाई निर्मूल पारेर जीवनमा उज्यालो नवकिरण छर्छ । (रातो टिका निधारमा पृष्ठ–२६), निधारको रातो टिकाले नारीकमो निधारको शोभा बढाउँछ, ऐभाँत जनाउँछ र रातो टिका, रातो चोली, रातो साडी र मोहनी बोलीले सबैलाई आकर्षित पार्दछ ।
हेराई थरिथरिका अनि रङ्गपनि थरिथरिका विभिन्न रङ्गलाई हेर्ने आँखा थरिथरिका हुन्छन् । सफेदलाई भने सफेद देख्ने आँखाको कमि छ । मानव मन बज्र भन्दा पनि कठोर छ । मानवमा स्वार्थको बाहुल्यतामा पनि कमी छैन । यी सबैको गहन अध्ययन पछि उहाँ प्रश्नवाचीेमात्र हुनुहुन्छ –‘रुख खडा हुनमा केस्वार्थ छ ?,पानी किन बग्छ ? घामले के फाइदा लिन प्रकाश छर्छ ? पृथ्वी घुम्नको लाभ के हो ? के मानवजीवन असन्तुलन र सन्तुलनको हो ?(पृष्ठ,२)आदि विविध खाले धारणा पाठकमा राख्नु हुन्छ अनि आफ्नो रोजाइ निरन्तर जारी राख्दै, एक दिन निष्कर्षमा पुग्नेमा आशावादी पनि हुनुहुन्छ ।
निबन्धकार प्रकृति प्रेमी हुनुहुन्छ । बर्साद ÷पानी जीवहरूको जीवन हो तर यो त्यत्तिकै रूपमा घातक पनि हो भन्नुहुन्छ । बादल ÷ पानीको अआफ्नोशक्तिको तुलना गर्दै उहाँ प्रश्नवाची बन्दै लेख्नुहुन्छ – ‘के सबै प्रकृतिका हस्तीहरू शासको वागडोर आलोपालो समात्दछन् र तीमध्ये यी दुबै सूर्य र पानी बनेका हुन् त ?’ (पृष्ठ३),यस निबन्धमा निबन्धकारको पानी प्रतिको धारणा गहन छ । उहाँले सम्पूर्ण जल उपयोग गरेर सम्पन्नतातिर जान सकिने र ती जल, जलाशय र जलचर एवं जल सम्पदालाई, निर्मलीकरण गरेर आफ्नो जीवन सन्तृप्त भएको अनुभूति गर्न सक्दैनौ भन्ने प्रश्न राख्नुहुन्छ । पानीलाई परमेश्वर ठान्नुहुन्छ । अवश्य, सम्पन्नातिर पुग्न सकिन्छ र यो आजको आवश्यक्ता पनि हो । निबन्धकारले उठाएका प्रश्नको प्रभावकारी कार्यन्वयन गर्नु राज्य र जनता मिलेर राष्ट्र र राष्ट्रबासीहरूलाई समुन्नत बनाउनु पर्दछ अनि यो सबैको दायित्व पनि हो ।
कति गजव छ जिन्दगी ? किन नहोस् ? जिन्दगी सदाबहार, सुखदायी आनन्ददायी हुन पर्ने हो तर आजको जिन्दगीलाई हेर्दा अस्तव्यस्तताले भरिएको छ, सम्मानित जीवन विताउनलाई इमानदारलाई पनि कठिन छ । हीनता र दीनतामा बाच्न बाध्य जिन्दगी पनि के जिन्दगी ? जिन्दगी सबैको प्राणीको एकै हो यसलाई समनतामा गएर सबैलाई लिन सके र व्यवहारमा उतार्न सक्यो भने यो जिन्दगी सोचे भन्दा लाख गुणा गजव भएको धारणा निबन्धकारले राख्नु भएको छ ।
निवन्धकारका कविता सडकमा दौड्दछन् । भावना हो कविले त्यो भावनालाई हरेक क्रियाकलापमा कवितामाा जोड्न सके, सबैलाई कविता मान्न सके सडको मौनतामा अडिग, निरन्तरता र सहनशीलता, त्यसमा हुने गरेका मानवीय विविधताका कृयाकलाप, कविताको व्यापकता र कविताकै माध्यमबाट जीवनको खोजी गर्न र सबै चिजलाई आत्मसात गर्न सके, निश्चय पनि कविता सडकमा दकुर्न सक्छन् । यहाँ निबन्धकारका कविता भनेका “निगमकल्पतरोर्गलितं फलम्” (पृष्ठ(१९) हुन् र निबन्धकारलाई कविताको संसारमा मृत्युञ्जयी भएझै अनुभूति हुन्छ ।
सालभरीमा २४वटा पञ्चमी हुन्छन् र यिनमा ऋषिपञ्चमी, नागपञ्चमी, विवाह पञ्चमी श्रीपञ्चमी–वसन्तपञ्चमीलाई पर्वको रूपमा विशेष महत्व दिइएको छ । नागपञ्चमीले निबन्धकारलाई आकृष्ट गरेकोले यस कृतिको नामाकरण पनि नागपञ्चमी राखिएको छ । यस लेखमा विभिन्न नागहरूको स्वभाव, उद्दण्डता, महिमा, नागलोकको सम्झना, नागको चित्र बनाउने कला, नाग टाँसे पछि कीट पतङ्ग आदि बाट हुने सबै खतराबाट मुक्ति, घरमा बज्र नपर्ने, सर्पभय बाट मुक्तिपाउनको लागि अगस्ति, माधव, मुचुकुन्द, कपिल, र आस्तीजस्ता गारुड व्यक्तिको गरेमात्र पुग्ने आदि विविध महत्वपूर्ण पक्षलाई समेट्दै सबै निबन्धहरूलाई नागपञ्चमी शीर्षकमा समेटिएको छ ।
झ्यालबाट नियाल्दा देखिने संसारिक कृयाकलाप र समयको सदुपयोग गर्न सकिने व्यवहारिक प्रष्टाई, समयको अविछिन्न प्रवाह हो, यो कसैको अधिनमा हुँदैन, यो बलवान हुने हुँदा बलवान र निर्बलियाको बीचमा सम्झौता हुन नसक्ने धारणा, यसैमा उपनिषद्को महत्वपूर्ण उद्गारको प्रस्तुति–‘सम्पूर्णबाट सम्पूर्ण झिक्दा पनि सम्पूर्ण नै वाँकी रहन्छ ’ (पृष्ठ–५१) । समय र यसको व्यापक्तालाई ईश्वरमाने हुने धारणा आत्मा मूल्याङ्कनका खोजी गर्दा–‘जहाँ मानवता छैन त्यहाँ सही मूल्याङ्कनको अर्थ रहदैन’ (पृष्ठ–५४)भन्ने अभिव्यक्ति । पूmल र जीवनसँगको तुलना गर्दै–निबन्धकार लेख्नुहुन्छ –‘....जीवनको अजस्र प्रवाह बहने पूmल, मानवजातीलगायत सबै प्राणीका अपूर्व प्रेरणाका भूल होइनन्, मूल हुन् । पूmल हेरेर, छोएर, रोपेर, बेचेर, किनेर, सुँघेर, पहिरेर, जसरी हुन्छ आत्मजीवन सफल र उन्नत गर्नु मानवमात्रको उद्देश्य हुनुपर्छ (पृष्ठ–५६) । बाहिरी नभएर भित्रीजीवन सफल पार्नु पर्ने दर्शनको पोखाई, यस्ता दर्शनहरू यस निबन्धका हरेक पङ्क्ती पङ्क्तीमा पोखिएका छन् । छायालाई निबन्धकारले सूर्यकी पत्नी ठान्नुहुन्छ,, ‘सूर्य चम्किन्छन् छायाले र छाया चम्किछिन् सूर्यले’ –पृष्ठ–५८) साथै जहाँ माधुर्य त्यहाँ सौन्दर्य, जस्ता धारणा, ‘छायाको स्थायी स्वरूप छ तर सूर्यका चलखेलमा बल्झिनु पर्दा कठपुतली बनेकी छन् ,नारीहरू पुस्तौनी पुरुषका कठपुतली बनेझैं ’ (पृष्ठ–५९)। छाया ख्यालठट्टा नभएको, यसलाई कसैले पनि पकडन नसकेको जस्ता अभिव्यक्ति हामीले अध्ययन गर्न पाउँछौ । छायाले प्राणी मात्र नभै सजीव र निर्जीव सबैलाई साथ दिएको पाइन्छ ।
निबन्धकारको अध्ययन, चिन्तन, नेपाली भाषा प्रतिको मोह, नेपाली साहित्यमा चाहिने शुद्धता प्रतिको धारणा पनि गहन छ । मदन पुरस्कार प्रदान गरिने कृतिह्रूमा अधिकतम् अङ्ग्रेजी शब्दको प्रयोग भएकोले र संस्थाले पुरस्कार प्रदान गर्नकोे लागि यौटा पनि अङ्ग्रेजी शब्द नपरेको पुस्तकको आह्वान गरी पुरस्कार वितरण गरियोस् भन्नै धारणा राख्नु भएको छ ।
निबन्धकारको लेखन दार्शनिकताले छाएको छ । यहाँ हिन्दुदर्शन र बौद्धाँदर्शनको साथै हरेक निबन्धको अध्ययनमा हामीले दार्शनिक ओजनहरू पाउँछौं । उहाँले शून्यको अर्थ आकाश हो र शून्य नै बास्तविक सत्य रहेछ भन्नुहुन्छ । उहाँले सम, देवकोटा र लेखनाथले दिएका शून्यका बारेको तुलनात्मक विचार राख्नुहुन्छ । समले शून्यबारे बोलेको कुरा – ‘ अगाडि एकको शून्य अज्ञान र असत्य हो ’ । यसरी नै देवकोटाले लेखेका कुरा – ‘ म शून्यमा शून्यसरी बिलाएँँ । लेखनाथको धारणामा–
सारा उपाधिले शून्य, शून्य आकाश यो घरी,
झल्कन्छ कल्पनाशून्य योगीको हृदयैसरी
डा. नारायण प्रसाद खनालले समलाई शून्यप्रति भ्रान्ति भएको ठान्नु हुन्छ । यसमा यो पंङ्क्तिकारलाई पनि केही बोल्न मनलाग्यो । गणतीय हिसावमा शून्य जतिवटा लेखिए पनि कुनै मूल्य हुँदैन जस्तै ०००० । जव कुनै संख्या शून्यको देब्रे तर्फ थपियो भने जस्तै १०००० त्यो संख्यक बन्न जान्छ । यसमा लेखिएको शून्य एकको देब्रे या दाहिने कता हो त्यसमा दुविधा देखिन्छ । लेखनाथको धाणालाई हेर्दा पनि शून्यको अर्थमा विविधता छ र के योगीको हृदयमा कुनै कल्पना नै हुँदैन । मलाई लाग्छ सचेत प्राणी(मानिस)मा कल्पना हुन्छ नै चाहे जोगी होस् या भोगी तर कल्पनालाई व्यवहारमा उतार्न सकिएन भने अवश्य पनि हातमा शून्य नै लाग्दछ ।
बालकपनले निम्त्याएको पुनः बालक बन्ने चाहना र बालकहरूलाई आफ्नो बालापनलाई पूर्ण उपयोगमा ल्याउन र अनुशासनमा रहने सुझाव । ‘बालकको आफ्नो चाहनाको स्वाद अरुलाई पनि चखाउन चाहन्छ ’ भन्ने अभिवयक्ति । बास्तवमा मेरो धारणामा बालक अवस्था एउटा स्वर्णिम अवस्था हो । यो एउटा ईश्वरीय अवस्था हो जहाँ निश्छलता हुन्छ र निस्काम सबै कर्म भएका हुन्छन् । निबन्धकार लेख्नुहुन्छ –‘...बाल रहर त एक हावा हो, जसले बादलसँग कुरा गर्छ, वायुपङ्खी घोडामा चढेर सयर गर्दछ र जून तारा हातमा सजाउँछ ।’ (पृष्ठ ११७) निबन्धकारले यथार्थता दर्शाएका छन् । चाडपर्वमा खेलीने पिङ सबैको लागि उपयोगी, नयाँ बर्षमा शुभकामनामा सुख समृद्धि र शान्तिको कामना र विद्यार्थीहरूले शान्तिसँग पढ्न पाउनु पर्ने धारणा, नामको सम्बन्धमा जेनामले बोलाए पनि –‘गुणीको गुणमा र उपयोगितामा खिया कहिल्यै लाग्दैन ’ र ‘ऐच्क्षिक स्वनामकरण परिपाटी –जिन्दावाद’ जस्ता अभिव्यक्ति , यात्रा गर्दा प्राप्त हुने सफलता र असफलता, रुवाइ कति संवेदनशील हुन्छ किन रोइन्छ आदिको यथार्र्थता, कृतज्ञता र लेखक सम्पादक सम्बन्धमा अरु थाके पनि स्रष्टा कहिलै थाक्थ नहुने अभिव्यक्ती, लेख छापिने नछापिने सङ्का, लेख प्रकाशन नगरे पनि सम्पादकले लेख फिर्ता गर्नुपर्ने धारणा र लेख अर्कैको नामबाट प्रकाशन हुने सम्भावनामा आशंका, संविधान नबनुन्जेल मिल्नु पर्ने धारणा, सारनाथको यात्रा त्यसको चित्रण सङ्ग्रहालयमा सङ्ग्रहित बस्तुहरूको साथै वौद्ध र बौद्ध दर्शन ÷शिक्षा आदिको विवरण,आदि विविध दर्शनले सजिएका भावनाहरू हामीले पढ्न पाउँछौं ।
‘नारने ! तँ त बूढो भइछस् ’ यहाँ सर्बप्रथम बूढो भन्ने शब्द कुन अर्थ÷प्रयोजनमा प्रयोग भएको हो थाहा हुन आवश्यक छ । वसन्तकुमार शम्र्मा ‘नेपाल’ द्वारा सम्पादित संक्षिप्त नेपाली शव्दसागरमा बूढोलाई ‘ उमेर बढी पुगेको, सरदर साठी बर्ष काटेको, बृद्ध, पति, लोग्ने, घरमाउ, थकाली भनेर परिभाषित गरेको देखिन्छ । यस पङ्क्तीकारलाई यस शीर्षकमा बढी चासो लिनु परेको कारणमा नकरात्मक र उमेरमा बूढो भन्ने शब्दमा यस पङ्त्तःीकारले अल्लि फरक मत राख्दछ । सिर्जनशील व्यक्ति कहिलै बूढो हुँदैन, सिर्जनाहीन व्याक्ति युवा नै किन नहोस् त्यो बास्तविक बूढो हो । डा.खनालजी पनि उहाँलाई बूढो भनेकोमा हेपाइ हो या आदर गरिएको हो यस विषय लिएर आफ्नो धारणालाई यहाँ प्रष्ट राख्नु भएको छ । उहाँले खास अर्थ खोज्नुे बुढोको सन्मानजनक यथार्थअर्थ पत्ता लगाउन, बुढा कति प्रकारका छन् भनि बर्गीकरण (वयोबृद्ध, धर्मबृद्ध, ज्ञानबृद्ध, आगमबृद्ध) भित्र पस्नु र निबन्धकारले आपूmलाई आगमबृद्धमा गणना गरिएको महसूस गर्नु आदिमा यो निबन्धमा लामै कसरत भएको देखिन्छ ।
निबन्धकारले कहिले कुहिरो र हिरोको बीच तुलना गर्नु हुन्छ र हिरो भन्दा कुहिरोलाई नै बहादुर ठान्नुहुन्छ किनकी हिरो बिग्रे कुुहिरो बन्ने र कुहिरो कुहिरोको रूपमा रहेर कृषिकर्मलाई र कृषकको धर्ममा सहयोगी बन्ने । आजको जगतलाई कुहिरोले व्याप्त भएको र कुहिराका सामु सक्कली हीराको कुनै मूल्य नभएको ठान्नुहुन्छ । फेरि कहिले हरियाली जगततिर लाग्नु हुन्छ र जीवनसँग तुलना गर्नु हुन्छ र भन्नु हुन्छ–‘हरित महिमायुक्त जीवन्त कलाकृति सर्बस्व हो’ । पृष्ठ १२२) यो अवधारणामा यतिमात्र कथनबाट निबन्धकारले तृप्ति हुन नसकी पुनः व्यवस्थित जीवन र हरियालीको सम्बन्धमा तुलना गरेर लेख्नुहुन्छ – व्यवस्थित जीवन बस्तुतः हरियालीपूर्ण प्रकृतिको एक सुमधुर प्रदेश रहेछ जहाँबाट पूर्णानन्द परमब्रह्मसँग जीवन्त साक्षात्कार गर्न सकिन्छ (पृष्ठ१२३)। मानव जीवनमात्र नभएर पशुपंक्षी पनि यही हरियालीमा निर्भर रहन्छन् । हाम्रो सारा जीवनलाई बचाउनको लागि आवश्यक जीवनतत्त्वहरू यसै हरियालीबाट प्राप्त हुन्छ । अनि चराको सम्राज्यमा पुग्नुहुन्छ निबन्धककारजी । यसमा निबन्धकारले चरा र मानवजीवनको तुलना, सारा भूगोलमा विचरण गर्ने चरा विचरा हुन नसक्ने, चरी र परीको तुलना गरी चरी पनि परी नै हुन् भन्ने अभिव्यक्तिको साथै चराहरू मानिसको सहचर हुन सक्ने धारणाले सजाउनु भएको छ निबन्ध ।
भाषाशैली
भाषा स्तरीय, शिष्ट, कहीं कहीं संस्कृतका शब्दको नेपालीमा रूपान्तरण नगरिएकोले क्लिष्ट पनि देखिन्छ । वजनदार शब्दहरूको प्रयोग भएको, उखानटुक्काहरू जस्तै जो चोर उसैको ठूलो स्वर , हात्तीका दाँत .....एकथरी देखाउने अर्कोथरी चपाउने, नागको छोरामा विष र बाघको छोराम ईख छैन भने त्यसको के काम, एक त बुहारी धतुरो खाएकीे, एक त मुसुरी हिङले झानेकी, एक त कुन कानमा सुन, एक त महादेव भाङखाएका, एक त खुर्सानी उसमाथी जिरे, एक त बर्को उही पनि पोर्को, उसै त बुहारी छोरो पाएकी, कुन त खेती फटेङ्ग्राले मेटी, नमरी संसार देखिन्न, हातबाट उम्केको माछो ठूलो हुन्छ , नमच्चिने पिङ्को सय झड्का, मच्चियो मच्चियो थच्चियो, कुरा सुन्नु बूढाको आगो ताप्नु मूढाको आदिको प्रयोगको साथै सुन्दर शब्दालङ्कारले सजिएको छ निबन्ध सङ्ग्रह । बीच बीचमा लेखनाथका कविताका श्लोकको प्रयोग गरिएको छ । हिन्दीका गीतका श्लोक पनि फाटफुट पाइन्छन् ।
निष्कर्ष
प्रध्यापकपक डा. नारायणप्रसाद खनालको यो निबन्धसङ्ग्रहमा ३८वटा निबन्धहरू समावेश गरिएका छन् । यसमा समावेश गरिएका निबन्धहरू विशिष्ट किसिमका छन् । मैले माथि नै भनिसकेको छु कि निबन्धकारले विन्दुमा सिन्धुनै अटाउने प्रयास गर्नु भएको छ र सफल पनि देखिनु भएको छ । यस निबन्धसङ्ग्रहमा हामीले भाषा, स्तरीय, शिष्ट, कहीं कहीं संस्कृतका शब्दको नेपालीमा रूपान्तरण नगरिएकोले क्लिष्ट पनि देखिन्छ । निबन्धहरू स्वछन्दरूपमा बगेका छन् र यिनमा विविधता पाइन्छ । एउटै निबन्धबाट पनि धेरै विषयबस्तुलाई समेटेर उदाहरण सहित प्रष्ट्याउने प्रयास भएको छ । निबन्धमा भाषागत गहनता र मिठास, प्रस्तुतिमा शिष्टता र सरलता, आपूmले प्रस्तुत गर्न चाहेका विषयमा आत्मपरक शैलीमा प्रस्तुति, आजको राजनीनिक यथार्थता, जनताले भागेका पीडा, समाजमा देखिएका विकृति र विसङ्गति, द्वन्द्व र द्वन्द्वले निम्त्याएको भौतिक विनास, आर्थिक संकट, राजनीतिक र समाजिक विकृति र विसङ्गतिमा तीक्ष्ण व्यङ्ग र समसामयिक सुधारका सुझावहरू, साँस्कृतिकमा देखिएका विकृति पक्षहरू, प्राकृतिक स्रोत र साधनको प्रयोग हुन नसकेको हुँदा जनताले भोग्न परेको अर्थिक अभाव((गरिबी), इतिहास, पुराण, लोकजीवन, संस्कृति र आदिमा स्वच्छन्दरूपमा बगेको छ । यसमा ठाउँ ठाउँमा दार्शनिक अभिव्यक्तिले स्थान लिएको छ । निबन्धसङ्ग्रह अनुकरणीय, प्रसंशनीय पठनीय छ । अन्त्यमा विद्वान प्राध्यापक, साहित्यकार, स्रष्टा, द्रष्टा एवम् सम्पादकज्यूको कृतिमा सानो अध्ययन गरी केही शब्द कोर्ने प्रयास गरेकोमा म आफै गौरवान्वित भएको छ ु । सफल कृतिको लागि धन्यवाद दिंदै विदा चाहान्छु ।
शान्तिचोक ,कावासोती, नवलपरासी