14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

पराधीन मानसिकतामा रुमालिँदा

नियात्रा डा. टीकाराम पोखरेल August 24, 2013, 7:08 am

तेस्रो पटकको दार्चुला भ्रमण पनि भारतको बाटो हुँदै गरियो । पहिलो पटक म दार्चुला पुग्दा नेपालको भूमि हुँदै दार्चुलासम्म सडकमार्ग पुगेकै थिएन । त्यसैले महेन्द्रनगरबाट नेपालकै भूमि हुँदै दार्चुला पुग्न कि त पैदल हिँड्नुपथ्र्यो कि त महेन्द्रनगरबाट भारतको वनबासादेखि धार्चुला (धारचूला ? भारतीयहरु धरचूला लेख्छन्) हुँदै दार्चुला पुग्नुको विकल्प थिएन । तर दोस्रो पटक मेरो दार्चुला पुग्ने योजना बन्दा दार्चुला सदरमुकाम खलंगालाई भर्खरै मोटरबाटोले छोएको थियो । मोटरबाटोले छुनुको अर्थ कालोपत्रे नभएको धुले सडकमा मोटरहरु कुद्न थालेका थिए । आफ्नै भूमिबाट मोटर कुद्ने भएपछि विदेशी भूमि किन प्रयोग गर्नु ? अलिकति कता कता राष्ट्रियताको भावना पनि पलायो । अनि धनगढीबाट डडेल्धुरा बैतडी हुँदै दार्चुलासम्मको दोस्रो यात्रा गरेको थिएँ ३ वर्ष अगाडि ।

तर दोस्रो पटक दार्चुला यात्राका क्रममा भोगेका दिक्दारी सम्झँदा तेस्रो पटक फेरि नेपाल भूमि हुँदै यात्रा गर्ने मेरो अभिलाषामाथि कालो बादल लाग्यो । थोत्रा बसहरुमा साँगुरो र धुले बाटोमा कुद्नुपर्ने । यात्रु पर्खने बहानामा गाडी घण्टौँ रोक्ने अनि दौडाउन थालेपछि अन्धधुन्ध दौडाउने । कालोपत्रे नभएको साँगुरो र भीरको बाटोमा ६० कि.मी. प्रतिघण्टा । भीरका घुम्तीहरुमा पनि गति कम नगरी दौडाएको देख्दा हंसले ठाउँ छोड्ने । मुटु ढुक्क फुल्ने ।

अलिकति डर, अलिकति झञ्झट, अलिकति ढीलासुस्ती र निराशा मिसिएको यात्रालाई सम्झेर नै यसपटक फेरि भारतीय भूमिको शरण परियो । महेन्द्रनगरबाट ७ कि.मी टाढाको गड्डाचौकीबाट नेपाल सीमा पार गरी वनबासा पुगियो । वनबासाबाट टनकपुर, चम्पावत, लोहाघाट, मिथौरागढ, कनालीक्षिना, अस्कोट हुँदै झण्डै १२ घण्टाको यात्रा तय गरी दार्चुला पुग्ने लक्ष्य तय गर्दै । दार्चुला के भनौँ धार्चुला पुगिने पहिला त । जुन नेपाल भारतको सीमाबजार । तर यहाँ लेखे जति सजिलो गरी पुगिएन दार्चुला । वर्णन गरे जति रमाइलो पनि भएन यात्रा । सबै यात्रा रमाइलै हुनैपर्छ भन्ने पनि छैन । यात्रामा सधैँ सजिलो मात्र कहाँ हुन्छ र ? आखिर अर्काको भूमिको यात्रा न प¥यो । हामी त शरणार्थी न प¥यौँ । हामी आफैँलाई धिक्कार्दै यात्रा गरिरह्यौँ । कस्तो विचित्रको यात्रा यात्राको शुरुवात नेपालबाट, यात्राको गन्तव्य पनि नेपाल, तर यात्रा भारतको । लक्ष्य नेपालको जाने बाटो भारतको । एक ठाउँमा पुग्न अर्कै ठाउँको बाटो हिँड्न पर्ने । कुनचाहिँ स्वाभीमानी नेपालीको शिर उँचो होला । हामी पनि युद्धमा हारेका सीपाही झैँ पराजित मानसिकतामा दिनभरि यात्रा गरिरह्यौँ ।

महेन्द्रनगरको सीमावर्ती बजार वनबासाबाट सिधै धार्चुलासम्म जाने सवारी साधन त दुर्लभ नै हुन्छ । यसका लागि कि त वनबासाबाट १० कि.मी. उत्तरमा पर्ने टनकपुरबाट उत्तराखण्ड परिवहनको बस सेवा समात्नुपर्ने हुन्छ कि त रिजर्भमा गाडी खोज्नुपर्ने हुन्छ । अन्यथा टनकपुरदेखि पिथौरागढसम्मको एउटा जीप र त्यसपछि फेरि पिथरागढदेखि धार्चुलाको अर्को जीप । यहाँ पनि युनियन राजनीति रहेछ । टनकपुर पिथरागढ जीप सञ्चालकको एउटा युनियन, पिथरागढ धार्चुलाको जीप सञ्चालकको अर्को युनियन । एउटा युनियनले अर्कोलाई आफ्नो क्षेत्रमा प्रवेश गर्नै नदिने नियम । नियम जीप सञ्चालकलाई सास्ती यात्रुलाई । नेपालको जस्तो स्वघोषित नियम भारतमा पनि देखियो ।

तर महेन्द्रनगरबाट दार्चुलासम्म पत्रपत्रिका लैजाने भनी अनुमति लिइएका केही भारतीय नम्बरप्लेटका जीप महेन्द्रनगरको गड्डाचौकीबाट सिधै धार्चुलासम्म जाँदा रहेछन् । रुट अनुमति पत्रिका ओसार्ने भनेर लिइएको भए पनि पत्रिका आसार्ने बहानामा ओसार्ने चाहिँ उही मान्छे नै रहेछ । त्यो पनि सामान्य र सहज तरिकाले होइन, दलाली गरी गरी । चर्को भाडा असुलेर भेडाबाख्रा खाँदे झै जीपमा मान्छे खाँदेर जीप चलाउने । उही दरिद्र मानसिकता । सेवा गरेर कमाउने भन्दा पनि ब्ल्याक मेलबाट नै कमाउने धन्दा । एक ठाउँ पु¥याइदिन्छु भनी कहिलेकाहीँ त बीचतिरै पनि ओरालीदिने गर्छन् भन्ने गुनासो पनि सुनियो कतिपय यात्रुको । त्यस्तो यात्रुलाई धोका दिने काम पनि नेपालीहरुकै मिलोमतोमा हुँदो रहेछ । किनभने प्रेसका गाडी नामधारी ती जीपमा टिकट काट्ने र पैसा असुल गरी जीप धनीलाई बुझाउने जिम्मा लगाउने जिम्मा सबै नेपालीहरुकै रहेछ । ती टिकट काट्ने नेपालीले आफ्नै दाजुभाईलाई भेडाबाख्रा बनाए वापत कमिशन त पाउँदा हुन् । तर नेपाली पसिनाको ठूलो हिस्सा त सबै पराइको हातमा । आफ्नै पसिना खर्चेर आफैँ दुख पाउनुपर्ने हाम्रो नियति । “ब्रह्म गए कर्म सँगै नेपाल गए कपाल सँगै” भन्थे हाम्रा बाबुबाजेले । हामीलाई पनि त्यस्तै भयो एकातिर शरीरलाई सास्ती अर्कातिर पैसाको नास्ती ।

जतिसुकै भद्रगोल, अव्यवस्थित भए पनि आफ्नो भूमिजस्तो निर्धक्क भई पराई भूमिबाट कहाँ यात्रा गर्न सकिन्थ्यो र ? आखिर पराश्रित यात्रा न प¥यो । गड्डाचौकीबाट भारतीय नम्बर प्लेट भएका गाडी चढ्नेबित्तिकै हामीलाई पराधीन अनुभूति भैसकेको थियो । जीपले महाकाली नदीमाथिको शारदा ब्यारेज पार गर्दा नगर्दै हामी पराधीन भैसकेका थियौँ । आफ्नो सीमाभित्र रहुञ्जेल विजयोन्मुख मुहार विदेशी भूमिमा छिर्नेबित्तिकै पराजित भैसकेको थियो ।

महाकाली अञ्चलको दक्षिणी सीमा महेन्द्रनगरबाट उत्तरी सीमा दार्चुलासम्मको यात्रा एकै दिनमा पूरा गर्ने लोभमा हामीले स्वदेशी भूमि छोडेर विदेशी भूमिको यात्रा तय गरेका थियौँ । दार्चुला पुग्ने हतारो थियो हामीलाई, नेपालको भूमि हुँदै यात्रा गर्दा अलि लामो यात्रा हुन्थ्यो । झण्डै झण्डै १८ घण्टा । तर भारतीय बाटोबाट ८ देखि १० घण्टामा महेन्द्रनगरबाट दार्चुला पुग्न सकिने । हाम्रो लोभ छिटो पुग्ने थियो अरु केही थिएन । एकै दिनमा महेन्द्रनगरबाट धार्चुला हुँदै महाकाली तरी आफ्नै भूमि दार्चुला पुगेर निर्धक्क निदाउने हाम्रो योजना थियो । तर हाम्रो सोचाई र सवारी चालकको सोचाई किन मिल्थ्यो । हाम्रो पुग्ने हतारो, सवारी चालकलाई कसरी हुन्छ धेरै यात्रु कोचेर बढीभन्दा बढी पैसा उठाउने चटारो । जीपले पनि पत्रिका बोकेर पैसा पाउने भए पो पत्रिका मात्र बोकोस् । पत्रिका बोक्ने त नाम मात्र । जीप चालकको पनि एक किसिमको विवशता भनौँ कि कालो धन्दा ? जसरी बुझे पनि हुने रहेछ ।

हामी जुन दिन दार्चुला जाँदै थियौँ दिन त्यो दिन हामी चढेको जीपले भने जति यात्रु पाएन । सीट त ८ जनाको हो तर कम्तिमा १० र भेटेदेखि १२ जनासम्म यात्रु कोचेर जीप कुदाउने रहेछ । त्यो दिन हामी दार्चुलासम्म पुग्ने त ६ जना मात्र भयौँ । अनि अरु ६ यात्रुको खोजीमा सवारी चालक दिनभरि रन्थनिइरह्यो । बाटामा पर्ने हरेक साना स्टेशनहरुमा ऊ कराई रह्यो । वेचैन भए झैँ । ऊ मात्र के बेचैन भनौँ कराएर हाम्रो समेत दिमाग चाटिरह्यो दिनभरि उसले ।

जे भए पनि चालक त्यति खराबै मान्छे चाहिँ होइन । रमाइलो नै थियो । अनि बोलक्कड पनि । हरेक सानातिना बजार र स्टेशन आउनासाथ ऊ लोली मिलाएर कराइ हाल्थ्यो– “हे धार्चुला धार्चुला ! पिथौरागढ ! लोहाघाट । सिट खाली धार्चुला ! पिथरागढ ! लोहाघाट ।” ..... अनि कतिपय ठाउँमा घण्टौँ रोक्थ्यो यात्रुको खोजीमा । लाग्थ्यो कराउनु उसको आदत बसिसक्यो । यति नकराई ऊ बेचैन हुन्छ । घण्टौँ रोकेपछि फेरि जब दौडाउँथ्यो फेरि उही प्रति घण्टा ९० कि.मी. को गतिमा, भीरका बाटाहरुमा । नेपालको भन्दा कुनै फरक अनुभूति भएन । फरक यति थियो कि नेपालको बाटो धुले थियो, भारतीय बाटो कालोपत्रे । “चौटा खान गएकी बुढी झोलमा डुबेर मरी” भने झैँ लागिरह्यो दिनभरि ।

अन्यत्र ठाउँमा यात्रु खोज्दै आधा घण्टा जीप रोके पनि पिथौरागढमा पुगेपछि त झण्डै डेढ घण्टा रोक्यो । हामी गाडीभित्र बन्दी जस्ता बनिरह्यौँ । सवारी चालक हाम्रै कानै खाने गरी कराइरह्यो दार्चुला दार्चुला भन्दै । ऊ जति कराउँथ्यो हामी उति निराश हुन्थ्यौँ । हामीलाई थाहा थियो दार्चुला र धार्चुला बीचको पुल राती बन्द हुन्थ्यो । उज्यालैमा दार्चुला पुगेर दार्चुला छिर्न नसके हामी धार्चुलाको आश्रित हुने पक्का थियो । तर के गर्ने सवारी चालकलाई हतारो थिएन । जतिजति ऊ विना हतारो यात्रुको खोजीमा मस्तसँग कराउँथ्यो उतिउति हाम्रो दार्चुला छिर्ने संभावना क्षिण हुँदै जाँदै थियो ।

“जल्दी चलो न भाइसाब !” हामी बेलाबेला सवारी चालकलाई अनुरोध गरिरहेका थियौँ । तर ऊ सुनेको नसुन्यै गथ्र्यो । अर्जुन नाम गरेको त्यो सवारी चालक बरु बेलाबेलामा कोनी को–कोसँग हो “अर्जुन स्पिकिङ्ग” भन्दै मोबाइलमा ठूलो ठूलो स्वरमा कुरा गरिरहेको हुन्थ्यो । दिनभरी अधिकांश समय कि उसको ध्यान मोबाइलमा थियो कि यात्रु खोज्ने काममा । कत्रो लापरवाहीपूर्ण सवारी चलाइरहेको थियो ऊ । तर अर्काको भूमि अनुरोध गर्ने बाहेक हामी केही गर्न सकिरहेका थिएनौँ, त्यही अनुरोध पनि डराइ डराइ । किंकर्तव्यविमुढ थियौँ हामी । जेलका बन्दी जस्ता थियौँ हामी । बोल्ने अधिकार हामीसँग थिएन । मात्र विकल्प थियो पर्खने । सरासर जाने हो भने जम्मा ८ घण्टाको बाटो १२ घण्टा जति लाग्यो । ४ घण्टा जति त हामीले रोकिएको गाडीभित्रै बितायौँ । खाली सिटका लागि अरु यात्रु भेटिने प्रतिक्षामा ।

जीपमा बन्दी झैँ बसिरहँदा मलाई पराधीनता र स्वाधीनताको प्रश्नले घच्घच्याइरह्यो । कुनै देश राजनीतिक रुपमा अन्य देशको पराधीन भयो भने देशभित्रै स्वाधीनताका लागि आवाज उठ्दो रहेछ । अन्तर्राष्ट्रिय चासो र चर्चाको विषय पनि बन्दो रहेछ । तर आर्थिक रुपमा देश पराधीन हुँदा खै चासो, चर्चा र चिन्ता ? राजनीतिक पराधीनताभन्दा आर्थिक पराधीनता खतरनाक हो भन्ने कुरा खै हामीले बुझेको ? आर्थिक पराधीनता मन्द विष हो । आर्थिक पराधीनताले नथापाई हामी भित्रभित्रै खोक्रो बनिरहेका हुन्छौँ । न आन्दोलन गरेर स्वाधीन हुने न अरु कुनै उपाय । आफूले आर्थिक उन्नति गर्नुको अर्को विकल्प छैन आर्थिक स्वाधीनताका लागि । सियोदेखि सुनसम्म र नुनदेखि सवारीसाधनसम्म सबै भारततिर निर्भर हामी कहिले प्राप्त गर्ने होला आर्थिक स्वाधीनता । नेपालको राजनीतिमा भारतीय हस्तक्षेप भयो भनेर बेलाबेलामा हाम्रा नेताहरुको मुखारविन्दबाट सुन्न पाइन्छ तर आर्थिक पराधीनताको कुरा खै ? आर्थिक पराधीनता स्वीकार नगर्ने अठोटसहित आर्थिक क्रान्तिको घोषणा कहिले होला ? के आर्थिक क्रान्ति विना भारतीय पराधीनताबाट हामीले मुक्ति पाउँला र कहिल्यै ?

बिहान झिसमिसे उज्यालो हुँदा नहुँदै गड्डाचौकीबाट सुरु भएको हाम्रो यात्रा १२ घण्टापछि धार्चुला पुगेर विश्राम भयो । जीप रोकिए पनि फेरि आफ्नै देश दार्चुला छिर्ने हतारो भैरह्यो । बस्न मन लागेन धार्चुलामा । तर बीचको झोलुङ्गे पुल रातपरेपछि बन्द हुने हुनाले बन्द भैसक्यो कि भन्ने चिन्ताले सताइरह्यो । जीपबाट ओर्लेर हतार हतार पुलको मुखमा पुग्यौँ । बन्द हुनै लागेको रहेछ । हतार हतार कुदेर धार्चुला त¥यौँ । पुलमा पुग्न ५ मिनेट मात्र ढीला भएको भए पुल तर्न नपाइने रहेछ । दिनभरि त बन्दी भयौँ भयौँ झण्डै रातभरि पनि बन्दी भइयो अर्काको देशमा ।

धार्चुलाबाट पुल तरेर दार्चुला पुग्नेबित्तिकै अर्कै अनुभव भयो । आफ्नै घर पुगे जस्तो लाग्यो । एकदिने जेल जीवनबाट मुक्त भएँ झैँ महसुस भयो । आफ्नैपना महसुस भयो । आफ्नै देशको संविधान नियम र कानुनको परिधिभित्र प्रवेश गर्न पाएकोमा गौरव अनुभूति भयो । पराधीनबाट स्वाधीन भए झैँ लाग्यो । धार्चुलाको तुलनामा दार्चुला बजार पुरानो जस्तो नै किन नहोस् मलाई नयाँ झैँ लाग्यो । साँगुरा गल्ली पनि पनि फराक लाग्न थाले । साना साना घरहरु ठूला देख्न थालेँ । अरु बेला प्रहरी भने पछि कता कता दिक्क मान्ने मान्छे म पुलको मुखैमा बसेका नेपाली प्रहरी देख्ने वित्तिकै सुरक्षित महसुस गर्न थालेँ । कस्तो आफ्नै दाजु भाइजस्तो आत्मीयता पलाएर आयो ।,

दार्चुला पुग्नेबित्तिकै राष्ट्रियताको भावना जाग्यो । आफ्नै परिवेश आफ्नैपना, सबै आफ्नै । होटल खोजेर बास बस्ने तरखरमा लागियो । तर बेलुका बेडमा पल्टेपछि मने एउटा कुराले मन घच्घच्याइरह्यो । प्रकृतिले संसारका कुनै मानिसलाई विभेद गरेको छैन । प्रकृतिले सिर्फ मान्छे सिर्जना गरेको छ । नेपाली, भारतीय, युरोपियन, अमेरिकन, अफ्रिकन भनेर विभेद गरेको छैन । त्यहाँ नजाऊ त्यहाँ जाऊ भनेको छैन । एक ठाउँबाट अर्को ठाउँमा जान प्रवेशाज्ञा लेऊ पनि भनेको छैन । सबैका लागि सबै ठाउँ खुला छ तर किन मान्छे आफैँले आफैँलाई बन्धक बनाइरहेको छ । आज दिनभरि मैले जुन भूमि हुँदै यात्रा गरे त्यो भूमि इतिहाको कुनै कालखण्डमा नेपाली भूमि थियो तर आज भारतको भएको छ । हुनसक्तछ भोलि अरु कसैको होला । भविष्य कसले जानेको छ र ?

यो सत्य जान्दाजान्दै पनि किन मान्छे कसैलाई आफन्त र कसैलाई पराइ देखिरहेछ । किन यो मेरो त्यो तेरो भनिरहेछ । मुखले विश्वबन्धुत्व, भातृत्व र मानवतावादलाई जपेर व्यवहारमा किन तेरो मेरोको होडबाजीमा उत्रिएको छ ? प्रश्नहरु धेरै उब्जिए । उत्तरहरु पनि पाएँ मैले, मेरो मनले त मलाई उत्तर दियो– “संसार हामी सबैको साझा हो, हामी सबै मानव जाति आफन्त हौँ ।” तर मेरो उत्तर कसैले मान्नेवाला छैन, न त मलाई कसैले चित्तबुझ्दो उत्तर नै देला ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।