19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रभो तपाई तेश्रो आँखा खोल्नुहोस

कविता ओमप्रसाद शर्मा घायल September 8, 2013, 8:20 am
ओमप्रसाद शर्मा घायल
ओमप्रसाद शर्मा घायल

प्रभो

तपाई बर्षौदेखि यो कस्तो अनन्त ध्यानमा हुनुहुन्छ ?

हामीले तपाईलाई बुझ्न सकेनौं

हामीले देखिरहेका छौं

प्रभोको न्यायको शिविरमा

निरन्तर अन्यायको श्रृङ्खला ।

अनर्थ हुँदैछ प्रभो

तपाई आफ्नो तेश्रो आँखा खोल्नुहोस ।

प्रभो तपाईको दायाँतिर छन्–नन्दी र भृङ्गीहरु

तपाईको वायाँतिर छन्–चतुषष्ठी योगिनीहरु ।

तर त्यही तपाईको अघि बसेर

तपाईका प्रति हामीले गरेको आरधनाको

उनीहरुले गिल्ला गरिरहेका छन् प्रभो ।

तपाईका एकथरी भक्तहरुबाट

हामी अर्काथरी भक्तहरुलाई

आक्रमण शुरु भएको छ

हामी विपद्मा पर्‍यौं प्रभो

तपाई आफ्नो तेश्रो आँखा खोल्नुहोस ।

प्रभो तपाईको आदेश पाएर

आज एकथरी हामी जस्तै कुमारहरु

सुमेरु पर्वततिर दौडिरहेका छन्

अर्का एकथरी चाकडीवाज गणेशहरु

तपाईको परिक्रमा गरिरहेका छन् ।

तर तपाईका वरिपरिका

नन्दीभृङ्गीहरु र चतुषष्ठी योगिनीहरुको सल्लाहमा

कुमारहरुको त्याग विर्सेर

तपाई तिनै चाकडीवाज गणेशहरुलाई

प्रथमपूज्य घोषणा गरिरहनु भएको छ ।

प्रभो तपाईको धार्मीक शिविरमा

यो अन्यायको श्रृङखला

दोहोरिएको छ प्रभो

तपाई आफ्नो तेश्रो आँखा खोल्नुहोस ।

तपाईको शिविरमा

भक्तहरुको हिसावकिताव छैन

पाप र धर्मको मूल्याङ्कन छैन

तपाईको अघि भष्मासुर आएर तपस्या गरेपनि

रावण र तारकासुर आएर तपस्या गरेपनि

तपाई अनवरत तथास्तु भनिरहनु भएको छ

र तपाईको वरदान पाएर

शक्ति उन्मत्त भएका भष्मासुर र तारकासुरहरुले

हामीमाथि आक्रमण गरिरहेका छन् प्रभो

तपाई आफ्नो तेश्रो आँखा खोल्नुहोस

प्रभो तपाईलाई लाग्दो हो

भक्तहरुको यो पाठशालामा

देवगण/ राक्षसगण

सबै तपाईका भक्तहरु हुन भनेर

सायद त्यसैले पनि तपाई

भक्तहरुको यो द्वन्द्वमा नपर्ने वहानामा

तपाई निरन्तर आँखा चिम्लेको अभिनय गरिरहनु भएको छ ।

तर प्रभो

एकदिन भष्मासुरले तपाईको भक्त भएर

‘म जसको टाउको छुन्छु त्यसको टाउको पड्केर

भष्म होस्’ भन्ने वरदान माग्यो

रपनि तपाई नि:शन्देह वरदान दिनुभयो ।

प्रभो †

यसरी नै तपाईका तथास्तुहरुले

देवताहरुको बास उठाएको छ

मय र मृदुनमालीहरुको विल्लीवाठ बनाएको छ ।

प्रभो

तपाई त्रिकालदर्शी

भूत, वर्तमान र भविस्यको ज्ञाता

तर अब तपाईलाई पनि

चेतना भया हाम्रो आराध्य †

तपाईले नै दिएको वरदानको अस्त्र लिएर

यतिखेर बलउन्मत्त भष्मासुर

तपाईकै शिर छुन दौडिरहेको छ ।

ध्यान भंग गर्नुहोस प्रभो

तपाई आफ्नो तेश्रो आँखा खोल्नुहोस् ।

बलेवा,बागलुङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।