14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

चिनियाँ नानी हाम्रो पिरती राखे मनैमा

नियात्रा राजेन्द्र पहाडी September 8, 2013, 3:45 am
राजेन्द्र पहाडी
राजेन्द्र पहाडी

सन् १९७५ जुन २५ मा स्थापना भएको चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सी.आर.आई.) नेपाली विभागले आफ्नो स्थापनाको पच्चीसौँ बार्षिकोत्सव मनाउन मित्र राष्ट्र चीनको सुन्दर राजधानी शहर बेइजिङमा आयोजना गरिने हर्ष बडाईं कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेपछि सी.आर.आई. स्रोता क्लबहरुको राष्ट्रिय परिषद् र सम्पूर्ण नेपाली स्रोताहरुको प्रतिनिधित्व गर्दै म र मित्र ध्रुव पौडेल गत सन् २००० को जुन २० तारिखमा काठमाण्डौंबाट चाइना साउथ वेष्ट एयरलाइन्सको नियमित उडानबाट ल्हासा हुँदै जुन २१ मा बेइजिङ पुग्यौं । अघिल्लो दिन काठमाण्डौंमा स्रोता क्लबहरुको राष्ट्रिय परिषद्का पदाधिकारीहरुले दिनुभएको भ्रमण सफलताको हार्दिक सुभेच्छा थापेर विमानभित्र पसेदेखि नै पहिलो आधिकारिक विदेश भ्रमणको रौनकताले मनभित्र कुत्कुती खेलाएको थियो । त्यसमा पनि नेपालको अति हितैषी मित्र राष्ट्र चीनका बारेमा पढेका र सुनेका विषयवस्तुहरुको वास्तविकता केही हदसम्म भए पनि अनुभव गर्न पाउने उत्सुकता बढ्नु स्वभाविकै थियो । कुरा खेलाउँदा खेलाउँदै विमान कर्मचारीले उद्घोष गरे– ‘‘अहिले हामी माउन्ट एभरेष्ट माथिबाट उड्दैछौं ।’’ यति सुन्न मात्र के पाएका थिए विमानमा रहेका पश्चिमा पर्यटकहरु हतार हतारमा कोही फोटो खिच्न र कोही संसारकै उच्च शिखरलाई आफ्नै आँखाले कैद गर्न थाले । उक्त विमानमा रहेका हामी दुई नेपाली जवान पनि सगरमाथालाई हावा माथिबाटै भए पनि चुम्न किन चक्थ्यौ र १ गर्वकासाथ विमानबाटै भए पनि सगरमाथा चडाईं गरेको अनुभूति सँगाल्यौं । विमान आफ्नो मार्गमा अगाडि बढिरहेको थियो । तिब्बत क्षेत्रको पठार भूमि, नाङ्गा डाँडा र कतै कतै हरिया चउर हेर्दै करीब १ घण्टा ५ मिनेटको उडान पछि विमान ल्हासा हवाई मैदानमा उत्रियो ।

रेडियोको अनुरोधमा हामीलाई आवश्यक व्यवस्था मिलाउन विमानस्थल आउनु भएका २ जना चिनियाँ मित्रहरुबाट आवश्यक सहयोग पाएपछि हामी भोलिपल्टको ल्हासा–बेइजिङ उडन समयबारे जानकारी लिएर ती दुई मित्रकै सहयोगमा हामीलाई बस्न प्रवन्ध गरिएको होटलमा पुग्यौं । भाषाको समस्या, खानपानका परिकारमा फरक स्वाद, खुवाईको तरिका (चीनमा हात वा चम्चाले खानेकुरा नखाई चप स्टीक ‘काढे छेस्का’ को प्रयोग गरिन्छ ।) आदिमा देखिने भिन्नताले केही असहज लागे पनि आफ्नो इच्छा अनुुुसारको खानपान गरी भोलिपल्टको बेइजिङ प्रस्थानको आतुरतामा हामीले पहिलो रात ल्हासाको ‘एयरपोर्ट होटल’ मा बितायौं । भोलपल्ट बिहान निर्धारित समयमा हामीलई लिन हिजोका दुई जना मित्रहरु आइपुगे । आवश्यक बन्दोवस्त पछि हामी ल्हासा विमानस्थल पुग्यौं र त्यहाँ विमानस्थलको सबै प्रक्रिया पूरा गरेर सहयोगी मित्रहरुसँग विदा हुँदै चाइना साउथ वेष्टको बोइङ ७५७ बाट हामी बेइजिङका लागि उड्यौं । निर्धारित समयभन्दा आधा घण्टा ढिलो गरी उडेको उक्त विमान करिब साढे दुई घण्टापछि छन्दु विमानस्थलमा आधा घण्टाका लागि उत्रियो । छन्दु चीनका गनिएका शहरमध्येमा नै पर्दोरहेछ । यहाँ पर्यटकीय महत्वका धेरै ठाउँहरु भएको कुरा सोही विमानमा यात्रा गर्ने एक अष्ट्रेलीयन नागरिकले हामीलाई बताएका थिए । उनी एउटा बहुराष्ट्रिय कम्पनीमा विगत दुई वर्षदेखि चीनमा बसेर काम गर्दै रहेछन् । हामी चडेको विमानको केन्द्रीय कार्यालय पनि यहीँ रहेछ । केही यात्रुहरुको फेरबदल पछि पुनः विमान बेइजिङका लागि उड्यो । बाटोमा देख्न पाइने केही दृश्यहरु अवलोकन गर्दै र धेरैजसो समय ‘वादलुको देशमा’ हराउँदै करीव ३ घण्टाको उडानपछि बेइजिङ समयअनुसार राति ८.२० बजे विमान बेइजिङ विमानस्थलमा उत्रियो ।

हामीले अघिल्लो दिन ल्हासाबाट बेइजिङ टेलिफोन सम्पर्क गर्दा नै थाहा पाइसकेका थियौँ कि हामीलाई विमानस्थलमा स्वागत गर्न सी.आर.आई. नेपाली विभागका प्रमुख श्रीमती छाङ हो (कुशुम दिदी) र वरिष्ठ रेडियो पत्रकार सु–हाउ आउनुहुनेछ । आफ्ना सामानहरु बुझेर विमानस्थल बाहिर निस्कन लागेका थियौं, टाढैबाट उहाँहरुलाई देखिहाल्यौं । अभिवादन आदान–प्रदानपछि रेडियोको मोटरबाट हामी खुशी, उमंग, नयाँ अनुभूति र विदेशमा पनि खुलेर नेपाली भाषामा भावनाहरु साट्दै, विविध विषयमा कुराकानी गर्दै बेइजिङ शहरतिर हानियौं । विमानस्थल मुख्य शहरदेखि धेरै नै टाढा भएकाले शहर पुग्न केही समय लाग्ने रहेछ । गाडीभित्र सञ्चो बिसञ्चोका र राष्ट्रिय परिषद्ले सञ्चालन गरिरहेका विविध गतिविधिका बारेमा कुराकानी भए । कुराकानी गर्दागर्दै बाटो काटिएको थाहा नै भएनछ, हामी त बेइजिङ आइपुगेछौं । बेइजिङ पुगेपछि हाम्रो भ्रमण अवधिका लागि सहयोग पु¥याउन सु–हाउ दाजु छानिनु भएको कुरा थाहा भयो । उहाँको सहयोगमा हाम्रो चीन भ्रमण र त्यसमा पनि बेइजिङ वरपरका दर्शनीय र पर्यटकीय क्षेत्र एवम् ठाउँहरुको नजिकबाट अध्ययन गर्ने र बुझ्ने काम सहज बनेको हामीलाई अनुभव भयो । हाम्रो चीन भ्रमणको १८ दिन र बेइजिङ बसाइका १५ दिनहरुका अनुभव र अनुभूतिहरु वास्तवमा नै रोमाञ्चक, विशिष्ट र अतुलनीय रहेको हामीलाई अनुभूत भएको छ । किनकि मानिसले यस्तो स्तरसम्म विकास गर्न सक्दो रहेछ, विज्ञान र प्रविधिको सीमा धेरै फराकिलो रहेछ, विकास र उन्नतिको दायरा हामीले सोचेभन्दा धेरै बिस्तृत हुने रहेछ भन्ने कुरा हामीले देख्न पायौं ।

सीआरआई नेपाली विभागले आफ्नो स्थापनाको पच्चीसौं रजत महोत्सव मनाउन बेइजिङमा आयोजना गरेको औपचारिक कार्यक्रमले हामीलाई बेइजिङमा रहनु भएका नेपालीहरु, महामहिम नेपाली राजदुत, राजदुताबासका कर्मचारीहरु, नेपालका लागि चीनका भूतपूर्व राजदुत, सीआरआईका निर्देशक लगायत रेडियोका अन्य उच्च पदस्थ अधिकारीहरुसँगको भेटघाट र भलाकुसारीलाई सहज बनाइदिएको थियो । जुन २५ मा आयोजित उक्त कार्यक्रममा महामहिम नेपाली राजदुत राजेश्वर आचार्यले नेपाल–चीनबीचको सदियौं पुरानो सम्बन्धबारे बोल्दै जनकवि केशरी धर्मराज थापाको ‘हे चिनियाँ नानी यो हाम्रो पिरती राखे मनैमा’ बोलको गीत गुनगुनाउँदा सभाको रौनकता बढेको थियो । त्यस्तै नेपालका लागि चीनका भूतपूर्व राजदुत लित प्याओ, रेडियो निर्देशक लि तान आदिले दुइपक्षीय सम्बन्धका बारेमा महत्वपूर्ण विषय उठाएका थिए भने नेपाली विभागका १२ जना कर्मचारीहरुले एकैसाथ नेपाली राष्ट्रिय गीत गाउँदा हामीलाई आफूहरु नेपालमै रहेको जस्तो लागेको थियो । उक्त समारोहमा हामीले सी.आर.आई. का पदाधिकारीहरुलाई नेपालबाट लगेका उपहारहरु आदान–प्रदान ग¥यौं ।

रेडियोको औपचारिक कार्यक्रम समाप्ति पछिका सबै दिनहरु हाम्रो लागि अति व्यस्ततापूर्वक भ्रमणका लागि छुट्टाइएका थिए । बेइजिङ बसाईमा हामीले भ्याएसम्म सबैजसो महत्वपूर्ण ठाउँहरु घुम्ने अवसर पायौं । त्यस्ता स्थलहरुमध्ये कतिपय ऐतिहासिक एवम् पुरातात्विक महत्वका र कतिपय चीनको आधुनिक विकास र प्रगतिको द्योतकका रुपमा रहेका छन् । जसले विगतको चीन र आजको नयाँ चीन बीचको भिन्नता सँगसँगै विकसित र आधुनिक चीनको विकासक्रमलाई प्रष्टाउन सहयोग पु¥याउँछ । चीनको राजधानी बेइजिङको मुटुमा रहेको तियान मेन चोक, वीर शहीदहरुको स्मृतिमा स्थापना गरिएको शहीद स्तम्भ, ग्रेट हल अफ द पिपुल (यहाँ चिनियाँ जनकाँग्रेसको बैठक बस्ने गर्दछ), आदि ठाउँहरुलाई तियान मेन चोकको खुला र फराकिलो मैदानमा उभिएर देख्न सकिन्छ । यही चोकको बीच भागमा रहेको शहीद स्तम्भको ठीक अगाडि चिनियाँ क्रान्तिका नेता अध्यक्ष माओत्से तुङको समाधि रहेको भवन रहेको छ । संयोग नै भनौं विरलै खुल्ने उक्त स्मृति भवनमा हामीले पनि लाखौँ पर्यटकहरुको बीचबाट माओत्से तुङको मृत शरीरलाई देख्न पायौं । आश्चर्य लाग्यो हामीले फोटोमा देख्ने गरेको माओ त दुरुस्त रहेछन् । त्यसैगरी तियान मेन चोक अगाडिको विशालद्वारबाट छिरेपछि निषेधित शहर (ँयचदष्ममभल ऋष्तथ) भित्र पुगिन्छ । निश्चित मूल्यको टिकट काटेपछि यो पुरानो दरबार संग्रालयभित्र घुम्न पाइने रहेछ, जुन मिङ राजवंशको शासन गर्ने थलोको रुपमा चिनिन्छ । यो क्षेत्र धेरै ऐतिहासिक कला, दृश्य र वस्तुकलाले भरिपूर्ण छ । यसभित्र कोको म्युजियम, घडी संग्राहलय, ज्याङसान पार्क, तात्कालीन शासकहरुले तयार गरेका विभिन्न मूर्ति, बगैंचा, कुवा, सुन्दर र भव्यद्वारा आदि रहेका छन् । उल्लेखनीय कुरा के रहेछ भने यस क्षेत्रभित्र रहेका प्रत्येक वस्तुहरुको आफ्नो विशिष्ट इतिहास र कथावस्तु रहेको छ । चिनियाँहरुको के कुरालाई प्रशंसा गर्नै पर्दछ भने उनीहरुले आफ्ना स–साना लाग्ने र कमै महत्वपूर्ण ठानिन सक्ने हर ऐतिहासिक एवम् पुरातात्विक बस्तुहरुको ज्यादै मेहेनत एवम् इमान्दारिताकासाथ संरक्षण र सम्बद्र्धन गरेका रहेछन् । यसैगरी हामीले प्राचिनकालमा चीन गएका नेपाली कलाकार अरनिकोले निर्माण गरेको स्वयत्त स्तुप रहेको ठाउँ भ्रमण गर्ने अवसर पायौं । चीन सरकारले ठूलो महत्वकासाथ यसको संरक्षण र सुरक्षा गरेर नेपाल–चीनबीचको मित्रताको ऐतिहासिक प्रतीकको रुपमा मानेको पाउँदा हामीलाई धेरै खुशी लाग्यो । उक्त अवसरमा हामीले नेपालबाट लगेका साहित्यकार सत्यमोहन जोशीले स्वयत्त स्तुपबारे लेख्नु भएको पुस्तक स्तुपका सम्बन्धित अधिकारीलाई हस्तान्तरण गरेका थियौं ।

‘यदि तपाईं ग्रेटवाल पुग्नुभएको छैन भने तपाईं मानिस नै होइन’ भनेर आम चिनियाँहरुले भन्ने गरेको ग्रेटवाल चढ्ने अवसर हामीले पनि गुमाएनौं । विश्वका सात आश्चर्यमध्येको एक र अन्तरिक्ष समेतबाट देखिने एकमात्र पृथ्वीको भौतिक संरचना लामो पर्खाल अर्थात् ग्रेटवाल चढ्न जाने त्यस बिहान वास्तवमै हाम्रो लागि रोमाञ्चक र कौतुहलतापूर्ण बनेको थियो । सधैं झै हाम्रो भ्रमण कार्यक्रमका सहयोगी सु–हाउ हामीसँग थिए नै, त्यसदिन अर्की नेपाली कार्यक्रम सञ्चालिका सुश्री च्याङ वे पनि हामीसँग मिसिएकी थिइन । भएको के रहेछ भने सु–हाउलाई लामो पर्खाल चढ्न स्वास्थ्यको कारणले अलि समस्या पर्ने हुनाले उनले च्याङ वेलाई अनुरोध गरेका रहेछन् । रेडियोको मोटरद्वारा बेइजिङबाट सिमसिमे पानी परिरहेको त्यो दिन बिहानै हामी ग्रेटवालको फेदीतर्फ हानियौं । फेदीमा आइपुगेपछि देखियो ठूला ठूला अक्षरमा चिनियाँ भाषामा अध्यक्ष माओको भनाई लेखिएको रहेछ– ‘‘ग्रेटवाल नचढेको मानिस बहादुर होइन’’ हामीमा अझै उत्साह बढ्यो, घमण्ड चढ्यो, किनकि सबैले ग्रेटवाल चढ्न पाउँदैनन् त्यसैले सबै बहादुर हुँदैनन् तर हामी बहादुर हुन पाइने भो । सु–हाउ दाजुले म, ध्रुवजी र च्याङ वेजीका लागि टिकट किनेर ल्याए । उनी ग्रेटवालको फेदीमै हामीलाई पर्खेर बस्ने हामी माथि पर्खाल चढ्ने योजना अनुसार च्याङ वे ग्रेटवालका बारेमा बताउँदै अघि लागिन्, हामी उनका पछि पछि । दुई सय मिटर जति माथि पुगेपछि च्याङ वे ले हामीलाई सोधिन– ‘तपाईंहरु जीवनमा पहिलोपटक ‘‘बहादुरी’’ बन्दै हुनुहुन्छ । कस्तो लागिरहेको छ ?’ मेरा मित्र ध्रुवजीले भनिहाल्नुभो– ‘रमाइलो लागेको छ, हामी गौरवान्वित भएका छौं ।’ तर मलाई यो उत्तर असहज लाग्यो र थपेँ– ‘बहादुर बन्नु हामी नेपालीका लागि नौलो छैन किनकि हामी गोर्खालीका सन्तान हौं । हामी जन्मैदेखि बहादुर । हाम्रो इतिहास बहादुर । अनि हामी पनि बहादुर ।’ मैले अझै थपेँ– ‘चिनियाँ र हामीमा यही फरक रहेछ–हामी जन्मैदेखि बहादुर–तपाईंहरु ग्रेटवाल चढेपछि बहादुर ।’ मेरो भनाई सुनेर भर्खर–भर्खर नेपाली भाषा सिक्दै गरेकी च्याङ वे अक्कवक्क परिन भने ध्रुवजी मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो । हामी विस्तारै विस्तारै ग्रेटवाल चढ्दै गयौं । पानी परिरहेको भए पनि पर्खालमाथि पर्यटकको भीड थपिइरहेको थियो । हामी भने छिटो छिटो उक्लिरहेका, अगाडि बढिरहेका थियौं । पर्यटकहरुलाई अगाडि नबढ्न सुझाव लेखिएको विन्दु आइपुग्यो । हामी रोकियौं र मेहेनती चिनियाँ जनताको निर्माण कौशल र परिश्रमको प्रशंसा गर्दै फिर्ति बाटो समात्यौं । तल फेदीमा ओर्लिदासम्म सु हाउ दाजुले हामीलाई पर्खेर बसिरहनुभएको थियो । हामीले थाहा पाएअनुसार, उत्तरपूर्व चीनदेखि उत्तर पश्चिम चीन समेट्ने यो ग्रेटवाल ीष्बयलष्लन, ज्भदष्वष्ल, क्जबलहष्, क्ष्ललभच ःयलनयष्बि, ब्जबबलहष्, ल्ष्लनहष्ब बलम न्बलकग हुँदै पाँचहजार किलोमिटरको दुरीमा फैलिएको मानिन्छ । क्राइष्ट पूर्वको सानो शताब्दीमा स–साना राज्यहरुको सुरक्षा योजनाको रुपमा खण्ड खण्डमा ग्रेटवालको निर्माण शुरु गरिएको थियो भने पछि क्राइष्ट पूर्वको २२१ मा त्तष्ल वंशका प्रथम शासक त्तष्ल कजष्जगबलन ले पूरै राज्यलाई एकीकरण गरी पर्खाललाई जोडेको र थप निर्माण गरेको इतिहास रहेको छ ।

बेइजिङ भ्रमणका अन्य उल्लेख्य स्थलहरुमा आकाश देवताको पूजा गर्ने ठाउँ, तात्कालीन शासकहरुको चिहान राखिएको ठाउँ मिङ थङ, ग्रीष्म प्यालेस, सि तान साँस्कृतिक प्रासाद आदि पर्दछन् । हामीले त्यतिखेर यी सबै स्थानहरुको भ्रमण सम्पन्न गरेका थियौं । यसैगरी बेइजिङदेखि ४०० किलोमिटर टाढा रहेको होपेइ प्रान्तको छन्त शहरमा रहेको गर्मी भगाउने ठाउँ, ल्हासाको पोतला दरबारको दुरुस्त नक्कल गरेर बनाइएको मिनी पोतला दरबार, केही वर्ष अघिसम्म एशियाकै लामो मानिएको केबुलकार चढेर जानु पर्ने पहाडमा रहेको ढुंगाको प्राकृतिक ‘ढिस्को’ आदि अन्य उल्लेखनीय भ्रमणस्थल पर्दछन् । बेइजिङमा र वरिपरिका शहरमा रहेको ४०–४२ डिग्री सेल्सियसको गर्मीका बाबजुत पनि हामीले उल्लिखित पर्यटकीय स्थलहरुलाई हेर्न भने चुकेनौं । यो भ्रमणको अर्को अनुभव के पनि रह्यो भने हामीले चीनको पूर्वी भागमा रहेको थाङ कु बन्दरगाह शहर र चीन–जापानको सीमाना छुट्टाउने पोहाई समुद्रलाई नजिकैबाट हेर्ने अवसर पायौं । वास्तवमा समुद्र देखेको यो हाम्रो लागि पहिलो अनुभव थियो । यसैगरी बेइजिङको मुटुमा रहेको सि.सि.टि.भी. को २३८ मिटर अग्लो प्रशारण टावरबाट सम्पूर्ण बेइजिङको दृश्यावलोकन गर्न पाउनु हाम्रो लागि अर्को महत्वपूर्ण कुरा थियो । यो टावरको उपल्लो भागमा रहेको घुम्ने रेष्टुरेन्टमा प्रति व्यक्ति ७० युआन (करिब ६०० नेपाली रुपयाँ) भुक्तान गरेपछि त्यहाँ उपलब्ध परिकार २ घण्टाको अवधिमा जे खाए पनि र जति खाए पनि खान पाइने रहेछ । हामीले पनि यो सुविधा लिन पछि परेनौं । यस्तै बेइजिङदेखि ५० किलोमिटर टाढा पर्ने स स्वा तोङ गुफाको भ्रमण पनि अविस्मरणीय रह्यो । २ हजार मिटरभन्दा लामो र सात तल्ला भएको यो गुफामा ९९ वटा हेर्न लायक विभिन्न चित्र र आकृति रहेका छन् । यी उपलब्ध प्राकृतिक आकृतिलाई सजिसजाउ र चिटिक्क राख्न चिनियाँहरुले गरेको मेहेनतलाई भने मान्नै पर्दछ । बेइजिङमा रहेको वेहाईपार्क, चिडियाखाना, भूमिगत रेल्वे, वाङ फु चिङ बजार, सरकारी सस्ता पसल, सी.आर.आई. को पुरानो र नयाँ भवन, नेपाली राजदुतावास भवन आदि हामीले घुमेका अन्य भ्रमण स्थलहरु हुन् ।

वास्तवमा चिनियाँहरुले विज्ञान र प्रविधिको सहयोगले आफ्नो समाजलाई धेरै उन्नत स्थितिमा पु¥याएका रहेछन् । सफा र सुन्दर सडक, व्यवस्थित यातायात सेवा, योजनाबद्ध शहरीकरण, व्यक्तिगत र सामाजिक अनुशासनको परिपालनाबाट स्थापित सामाजिक सु–व्यवस्था आदि चिनियाँ जनजीवनको विशिष्ट पक्ष रहेछ । हाम्रो समाजलाई फेर्नको लागि हामीले र हाम्रा शासक वर्गले पनि छिमेकीबाट सिक्नु पर्ने थप्रै पक्ष रहेछन् भन्ने सोच्दै हाम्रो भ्रमण सकेर जुलाई २१ मा बेइजिङलाई बाइबाइ गर्दै बेइजिङ–छन्दु–ल्हासाको पुरानै रुटबाट जुलाई २२ मा हामी काठमाण्डौं भित्रियौं ।

आज पनि मैले १३ वर्ष अगाडि आफूले देखेको बेइजिङलाई झल्झल्ति सम्झेको छु । आजको बेइजिङ कति सुन्दर भएको होला । आज हाम्रो छिमेकी देश चीन विश्वकै सशक्त आर्थिक शक्तिका रुपमा विकास भैरहेको छ । चिनियाँ विशेषतामा आधारित समाजवादको उच्चतम अभ्यास गर्दै अघि बढेको चीनले सारा दुनियालाई चकित पार्दै विकासमा फड्को मारिरहेको छ । शिक्षा, स्वास्थ्य, कृषि, विज्ञानप्रविधि, अन्तरिक्ष लगायत सबै क्षेत्रमा चीनले दरिलो अगुवाई गरिरहेको स्थिति छ । अबका केही वर्षभित्र नै चीन विश्वको सम्पन्नशाली मुलुक बन्ने कुरा निश्चित छ । यस्तो महान् देशमा सन् २००० मा सी.आर.आई. नेपाली विभागको स्रोताका रुपमा भ्रमण गर्न पाएकोमा म आफूलाई अत्यन्त भाग्यशाली सम्झिरहेको छु ।

हाम्रो निकटको छिमेकी देश चीनले अझै उन्नती प्रगति गर्दै जाओस् भन्ने हार्दिक सुभेच्छा प्रकट गर्दछु । नेपाल–चीन बीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बन्न सकोस् । धन्यवाद ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।