18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हृदय चन्द्र सिंह प्रधानका उपन्यासमा नारी मुक्तिको बाटो

कृति/समीक्षा डा. यदु नन्दन उपाध्याय September 8, 2013, 4:48 pm

१. विषय प्रवेश

साहित्यकार हृदय चन्द्र सिंह प्रधान (१९७२–२०१६) नेपाली साहित्यका उपन्यास, नाटक, निबन्ध, समालोचना, कथा, व्याकरणजस्ता वाङ्मयका विविध क्षेत्रमा कलम चलाउने बहुमुखी व्यक्तित्व हुन् । उनका साहित्यको उपन्यास विधामा ‘स्वास्नीमान्छे’ (२०११) र ‘एक चिहान’ (२०१७) गरी दुई मात्र कृति प्रकाशित छन् । यी उपन्यासका माध्यमबाट प्रधानले लेखनकालीन नेपाली समाजका नारीहरूले भोग्नु परेका पुरुषका यातना, किसानहरूमाथिको आर्थिक शोषण, सामाजिक अन्ध विश्वास र त्यस प्रकारका विकृतिहरूबाट मुक्तिको मार्ग निर्देश गरेका छन् । प्रधानका उपन्यासले सामाजिक विकृतिका विभिन्न पक्षलाई केलाएका भएपनि प्रस्तुत लेखमा उनका उपन्यासका विषयमाथि सामान्य प्रकाश पार्दै नारी समस्याको चित्रण र तत्सम्बन्धी मुक्तिको सन्देशको पक्षलाई मात्र केलाउने प्रयत्न गरिएको छ ।

२. प्रधानका उपन्यासमा नारी मुक्ति चेत

हृदय चन्द्र सिंह प्रधानका दुई वटा उपन्यासमा अभिव्यक्त नारी मुक्तिको चेतनालाई पहिल्याउन उनका दुबै उपन्यासको विषय सन्दर्भलाई केलाउनु पर्ने हुन्छ । सो कुरा तल प्रस्तुत गरिएको छ ।

२.१ उपन्यासको विषय सन्दर्भ

प्रधानका दुबै उपन्यासको विषय स्रोत लेखनकालीन नेपाली समाज हो । ‘स्वास्नीमान्छे’ मा नेपाली समाजका पुरुषहरूले नारीमाथि गरेका घृणित व्यवहारको चित्रण गरी त्यस व्यवहारका विरुद्ध सशक्त प्रतिकारको सन्देश प्रस्तुत गरिएको छ । उपन्यासकी प्रमुख नारी चरित्र मोतीमाया आफ्नो लोग्ने प्रमोदले कान्छी स्वास्नीका रूपमा कमलालाई भित्र्याएपछि अनेक यातनामा पर्छे । कमलाले सौता मोतीमायालाई घरबाट निकाल्न कहिले रातिमा घरको मूल ढोका आपैm गएर खोली मोतीमायाको परपुरुषसँग आइजाइ रहेको प्रमाणित गर्न खोज्छे भने कहिले कमल नामको व्यक्तिले मोतीमायालाई प्रिय भनी सम्बोधन गरी लेखेको किर्ते चिठी प्रमोदका अगाडि राखी घरबाट निकाल्न उक्साउँछे । छिमेकका मानिसको अबगाल सहनु पर्ने भएकोले प्रमोदले मोतीमायालाई घरबाट त निकाल्दैन तर भित्रभित्र तीव्र घृणा गरी शारीरिक आक्रमण समेत गर्न थाल्छ । यस प्रकारको मानसिक एवं शारीरिक प्रताडनामा परेकी असहाय मोतीमाया आफ्नो हृदयको टुक्रा ५ वर्षे छोरा विनोदलाई अनायासै छोडेर आत्महत्या गर्न निस्कन्छे । संयोगवश उसलाई मोहन बहादुर भन्ने व्यक्तिले बचाउँछ । उसले आत्महत्या कायरता हो, मानिसले बाँच्नको निम्ति संघर्ष गर्नु पर्छ भन्दै घर फर्कन आग्रह गर्छ । पतिको असह्य घृणा एवं सौताको निन्दनीय व्यवहार झेल्न नसकेकी मोतीमाया पुनः घर फर्कन पनि सक्तिन । यस्तो अवस्थामा मोहन बहादुरले मोतीमायालाई आफ्नै बहिनी बनाएर घर राख्ने तथा छोरा विनोदसित पनि लुकीचोरी भेट्ने प्रबन्ध मिलाइ राख्ने वचन दिएपछि ऊ राजी हुन्छे । केही समयपछि प्रमोद र कमलाले मोतीमाया मोहनसँग गएको थाहा पाउँछन् । कमलाले आपूmले मोतीमायाको चरित्रबारे पहिलै गरेको शङ्का प्रमाणित भएको कुरो पतिलाई सुनाउँछे भने भित्रभित्रै लज्जित भएको प्रमोदले छोरा विनोदलाई मोतीमायासित भेट्न नदिने सतर्कता अपनाउँछ ।

मोहन बहादुर नारीलाई केवल सुखभोगका साधन ठान्ने दुष्ट चरित्रको स्वार्थी व्यक्ति हुन्छ । उसले मोतीमायाभन्दा पहिले पनि तिन तिन वटी युवतीलाई फँसाएर तिनीहरूको शारीरिक सौन्दर्य घट्नासाथ छोडि सकेको हुन्छ । मोतीमायालाई पनि उसले केही महिनासम्म बहिनी बनाएरै राख्छ तर उसको आश्रयहीनता र कमजोरीको फाइदा उठाएर सहशायिनी बनाइ छोड्छ । सती सावित्रीजस्ती मोतीमायाले धुरुधुरु रुँदै आफ्नो चरित्र पतनको पीडा भोग्न बाध्य हुनु पर्छ । महिना र वर्षहरू बित्दै जान्छन् । विनोद पनि १५÷१६ वर्षको पुगि सक्छ । मोतीमायाको रूप लावण्यमा पनि कमी आउँछ । अब मोहन बहादुर मोतीमायालाई पन्छाउने सुरमा लाग्छ । उसले पहिलेदेखि भेटघाट गराइ रहेको विनोदसित मोतीमायालाई भेट्न दिन्न । त्यसै कुरामा सामान्य भनाभन हुनासाथ मोतीमायालाई चरित्रहीनताको लाञ्छना लगाउँदै घरबाट निकालि दिन्छ । आफ्नो पति र सौताको तिरस्कारबाट मर्माहत भएकी मोतीमाया मोहन बहादुरबाट समेत लुटिएर बहिष्कृत भएपछि झनै दयनीय अवस्थामा पुग्छे । यसै क्रममा ऊ भाँैतारिदै वेश्यावृत्ति गराई पैसा कमाउने मिस्री दिदीको सम्पर्कमा पर्दै अत्यन्त नारी उद्धार संस्थाकी प्रमुख सञ्चालिका मैयानानीका सम्पर्कमा पुग्छे । मोतीमायाको दुखपूर्ण कथा सुनेपछि मैयानानीले उसको मनोभाव बुझी त्यहीँ गीत गाउने काममा लगाउँछे । मैयानानी समाजमा दुराचारी पुरुषहरूका काम वासना र अत्याचारका सिकार महिलामा जागृति उत्पन्न गराई समाज सुधारको काममा सक्रिय रहन्छे । त्यस कामका निम्ति पैसा जुटाउन वेश्यावृत्ति गर्नु गराउनुलाई पनि अपराध ठान्नु हुँदैन भन्ने उसको दृढ धारणा छ ।

त्यसपूर्व प्रमोद र कमला पोइला गएकी मोतीमायालाई छोरा विनोदले भेट्ने गरेको थाहा पाएर आक्रोशित हुन्छन् । उनीहरूले विनोदलाई धम्क्याउँदै पढ्नका निम्ति कलकत्ता पठाइ दिने डर देखाउँछन् । आमालाई भेटि रहे अंश समेत नपाउने भनी कागजमा सही गराउँछन् । पत्नी मार्फत सुध्रिन्छ कि भनेर बिहेको कुरो चलाउँछन् । विनोद कुनै पनि अवस्थामा आफ्नी जन्मदात्री आमासँगको सम्बन्ध त्याग्न तयार हुन्न । उनीहरूले पोइ फेर्दै हिँड्ने वेश्यालाई आमा भन्न लाज लाग्दैन भनी मोतीमायाप्रति घृणा जगाउने प्रयत्न गर्दछन् । यस्ता कुराले विनोदको मनमा ठूलो चोट पर्छ र ऊ तथ्य बुभ्mन मोहन बहादुर कहाँ पुग्छ । मोहन बहादुरले आपूmले गरेका घृणित व्यवहारलाई लुकाएर सबै दोष मोतीमायामाथि थुपार्दै आपूmलाई छोडेर वेश्या बन्न गएकी भनी अनर्गल कुरो सुनाउँछ । विनोद झन् रन्थनिदै आमालाई खोज्न कस्सिन्छ र खोज्दै मैयानानीको वेश्यालयमा पुग्छ । उसका मनमा आमाप्रति तीव्र घृणा भरिएको हुन्छ र सौतेनी आमा र बाबाले भनेजस्तै आफ्नी आमालाई चरित्रभ्रष्टा ठानी खुकुरीले आक्रमण गर्न समेत तम्सिन्छ । मैयानानीले मोहन बहादुरका अत्याचारको बेली विस्तार लगाएपछि र मोतीमायाको कुनै दोष नभएको कुरा सम्झाएपछि विनोद थामिन्छ । उसका मनमा आमाप्रति श्रद्धा र आमालाई घरबाट निकाल्ने परिस्थिति निर्माण गर्ने बाबाप्रति आक्रोश उत्पन्न हुन्छ । उसले आमालाई घर लैजाने कुरो राख्छ । त्यसका निम्ति परेका खण्डमा बाबासँग संघर्ष गर्ने तत्परता पनि देखाउँछ । घरमा कुनै अप्रिय स्थिति उत्पन्न हुने आशंका गर्दै मैयानानी पनि उनीहरूसितै घरमा पु¥याउन हिँड्छे । घरमा बाबुछोराका बिचमा चर्काचर्की पर्छ । वेश्या बनि सकेकी मोतीमायालाई घर भित्र्याउन प्रमोद तयारै हुन्न र उल्टो नोकरचाकर लगाएर तिनीहरूलाई धपाउन तम्सिन्छ । विनोदले त्यसको सशक्त प्रतिवाद गरेपछि प्रमोदले छोरा विनोदमाथि बन्दुक पड्काउँछ र घाइते बनाउँछ । स्थिति बिग्रेको देखेपछि मैयाँनानीले प्रमोदमाथि गोली चलाउँछे । त्यहीँ कमलालाई पनि गोली लाग्छ । यही हत्या प्रकरणमा मैयानानी थुनिन्छे र न्यायाधीशका अगाडि उभ्याइन्छे । मैयानानीले आजीवन कारावासको सजाय पाएपछि नारीहरूमा आउन लागेको जागरणले आपूm हर्षित भएको धारणा व्यक्त गर्छे र उपन्यास टुङ्गिन्छ ।

हृदय चन्द्र सिंह प्रधानको अर्को उपन्यास ‘एक चिहान’ मा काठमाडौँ उपत्यकाभित्रको कुरिया गाउँको एउटा किसान परिवारलाई प्रस्तुत गरिएको छ । ६५ वर्षे किसान अष्ट नारान बिरामी भई बिछौनामा पल्टेको छ । उसका छोराहरू जेठो शिव नारान, माहिलो पुन नारान र कान्छो हर्ष नारान उसलाई कुरिरहेका छन् । अष्ट नारानकी पत्नी, लतमाया, छोरी नानीथकुँ तथा बुहारी हाकुमाया पनि त्यहीँ छन् । प्रगतिशील विचारको अष्ट नारानले आपूm मर्दा गर्नु पर्ने काजकिरियामा छोराहरूलाई ऋण लिन नपरोस् भनेर अलि अलि जम्मा गरी ढिकीनिर गाडेर राखेको २५ रुपैयाँले नै आफ्नो मृत्यु संस्कारको काम सम्पन्न गर्नु भन्छ । उमेर ढल्कि सकेका गरिबहरूले बढी खर्च गरेर उपचार गर्न नहुने कुरो सुनाउँदै आफ्नो सेवामा बसेर खेती बिगार्न नहुने कुरो पनि बारम्बार सम्झाउँछ । किसानले खेतीकर्मलाई नै पूजा सम्झनु पर्छ भन्ने उसको मान्यता छ । छोराहरू बाबुको उपचार गर्न वैद्य, कविराज र डा. गोदत्त प्रसादलाई गुहार्न पुग्छन् । बाबुले नै मृत्यु संस्कारका निम्ति भनेर जम्मा गरेको रकमले नै उपचारको प्रयत्न गर्छन् । तर पनि अष्ट नारानको मृत्यु हुन्छ । घरमा अन्तिम संस्कारका निम्ति समेत खर्च नभएकाले डा. गोदत्त प्रसादकहाँबाट सापटी लिएर काम चलाउँछन् ।

अष्ट नारानको मृत्यु पश्चात् घरका सबै कामहरू पूर्ववत् चल्न थाल्छन् । आर्थिक सहयोग दिने गोदत्त प्रसाद आपूm तिन छोराछोरीको बाबु तथा सचेत नारी रञ्चना देवीको लोग्ने भएर पनि नानीथकुँको तारुण्यमा आँखा गाडि रहेको हुन्छ । उता सुरमान सुब्बा आपूm ५७ वर्षको बुढो भए पनि नानीथकुंँसित बिहा गर्ने चाहनामा रमाइ रहेको हुन्छ । उसले सित्तैँमा देसी तान ल्याइ दिनुका साथै थुपै्र प्रलोभनका कुरा सुनाएर लतमायालाई प्रभावित पारि सकेको भए पनि छोराहरूले सो कुरा ठाडै अस्वीकार गर्छन् । त्यस्ता कुरा गर्ने सुरमानमाथि आक्रामक तरिकाले जाइ लाग्नुका साथै नोकरचाकर समेतलाई गलहत्याएर धपाउँछन् ।

डा. र नानीथकुँका बिचको भेटघाट मायाप्रीतिमा परिणत भएर एक कान दुई कान मैदान हुँदै टोलमा पैmलिन्छ । रञ्जना देवीले सो कुरा थाहा पाएपछि हडबडाउँदै नानीथकुँलाई सम्झाउन दगुर्छे र आफ्नो लोग्ने डा.लाई पनि सुध्रन चेतावनी दिन्छे । भावुक मायाजालामा हुरुक्क भएर प्रेम गर्न पुगेकी सोझी केटी नानीथकँु रञ्जना देवीले भनेका नारी अस्मिता र पुरुषज्यादतीका कुराबाट केही हच्किन्छे । दाजुहरू र परिवार सबैका कुरा सुनेर सचेत भई डा.सित सम्बन्ध तोड्न तयार हुन्छे । नानीथकुँको मन आपूmतिर फर्केको कुरा थाहा पाएपछि धूर्त स्वभावको डा.ले नानीथकुँलाई केही घण्टापछि बेहोस हुने सुई लगाएर झुक्याई नोकर्नी मार्फत कालिका स्थान भन्ने एकान्त ठाउँँमा पु¥याउँछ । त्यहाँ नानीथकुँले प्रतिवाद गर्दागर्दै बलात्कार गर्छ । रञ्जना देवी र शिव नारानहरूको एक महिने खोजतलासपछि मात्र तिनीहरू फेला पर्छन् । शिव नारानहरू रिसले मुर्मुरिएका भए पनि रञ्जना देवीका अनुरोधमा सामान्य कुटपिटपछि डा.लाई छोडि दिन्छन् । तत्पश्चात् प्रचलित सामाजिक परिपाटीभन्दा भिन्न तरिकाले नानीथकुँलाई तराईको राम खेलावन राउत भन्ने व्यक्तिसँग विवाह गरि दिन्छन् ।

अब पुनः शिव नारानको किसान परिवार आफ्ना कठोर परिश्रमबाट आर्थिक स्थिति सुधार्न जुट्छ । शिव नारान पत्नी र छोराछोरी समेत खेतको घरमा बस्न थाल्छ । अरू सबै घरमै बस्छन् । यही क्रममा एक पटक अविरल वर्षा हुन्छ र ७२ घण्टासम्मको अतिवृष्टिबाट आएको बाढीले खेतको घर डुबाई शिवनारान, हाकुमाया र छोराछोरीहरूको मृत्यु हुन्छ । उता घर भत्केका कारण घरमा अरू सबैको पनि मृत्यु हुन्छ र सम्पूर्ण परिवारको एक चिहान हुन पुग्छ । समाजका खराब मानिससँग कडा संघर्ष गर्दै विजय हासिल गरेर बसेका किसानले अन्त्यतः प्राकृतिक विपत्तिको प्रहारबाट हार खानु पर्दछ ।

यसरी ‘स्वास्नीमान्छ’े र ‘एक चिहान’ दुबै उपन्यासले समाजमा विद्यमान कुरीति र कुप्रथाहरूको अन्त्य तथा सामाजिक आर्थिक क्षेत्रमा सुधारको सन्देश व्यक्त गरेका छन् । दुबै उपन्यास सामाजिक विकृति र विसङ्गतिबाट जन्मेका यथार्थ कथ्यमा आधारित छन् (सुवेदीः २०५६, ः १४४) । तिनले नारी अधिकारको सम्मानका कुरालाई सशक्ततापूर्वक उठाएका छन् । प्राकृतिक विपत्तिका कारण एक चिहानको अन्तिम प्रभाव नैराश्यपूर्ण रहे पनि त्यसपूर्वको आर्थिक शोषण, नारी अधिकार र विवाह सम्बन्धी नयाँ मान्यताले उपन्यासको विचार पक्षमा सबलता प्रदान गरेको देखिन्छ ।

२.२ उपन्यासहरूमा प्रस्तुत नारी समस्याको विश्लेषण ः

हृदय चन्द्र सिंह प्रधानका ‘स्वानीमान्छे’ तथा ‘एक चिहान’ दुबै उपन्यासले नेपाली समाजका नारीहरूले भोग्दै आएका शारीरिक एवं मानसिक यातनाका सन्दर्भहरूलाई केलाएका छन् । नेपाली समाज अहिले पनि थुपै्र खालका पुरुष सत्तात्मक अन्ध विश्वासहरूमा जकडिएको छ । महिला र पुरुषको समान अधिकार वा पैतृक सम्पत्तिमा महिलाको समान अधिकार भन्ने कुरो विद्यमान समाजमा पनि विवाद र बहसका विषय बनि रहेका छन् । कतिपय प्रबुद्धजनहरू समेत यस्ता परिवर्तनबाट सामाजिक जीवन पद्धतिमा ठूलै खैलाबैला मच्चिने ठान्दछन् । एक्काइसौँ शताब्दीमा प्रवेश गरि सकेको नेपालीको सामाजिक संस्कार त यस्तो छ भने अझ आजभन्दा करिब ५ दशकपूर्वको नेपाली रीति रिवाज कस्तो थियो होला ? प्रधानका उपन्यासले त्यसै बेलाको सामाजिक प्रवृत्तिलाई केलाउने प्रयत्न गरेका छन् । ‘स्वास्नीमान्छे’ विशेष गरी पुरुष प्रताडनाका सिकार नारीको सशस्त्र विद्रोहको आवश्यकता व्यक्त गर्नमा केन्द्रित छ । वेश्या भएर पनि वेश्यावृत्ति निर्मूल गर्न खोज्ने वेश्याहरूको क्रान्तिकारी काम र विवश जीवनको कथा ‘स्वास्नीमान्छे’ मा वर्णित छ (प्रधान, २०४३ ः २४३) । नेपाली समाजमा प्रचलित बहु विवाहको समस्या र त्यसले सिर्जना गरेको विकराल परिस्थितिको विश्लेषण यसमा राम्ररी गरिएको छ । पति परमेश्वर हुन् भन्ने पतिभक्त र चरित्रवान् मोतीमाया पतिकै तीव्र घृणा र सौतेनी ईष्र्याका कारण घर छोड्न बाध्य भएकी छ । आश्रय नपाएर पोइला गएकी छ र सच्चरित्रता डगाउँदै अन्त्यमा त वेश्यालयमा गएर बस्न विवश भएकी छ । त्यसको प्रमुख दोषी को हो ? उपन्यासले केलाउने प्रयत्न गरेको छ ।

समालोचक इन्द्र बहादुर राईले उपन्यासकारको आशय केलाउँदै भनेका छन् । ‘मोतीमायाका यातनाहरू पति व्यक्तिको नैतिक चरित्रको कारणत्वले भएका होइनन् पुरुष अभिभावी व्यवस्थाका कारणभूत छन्, कुनैबेला व्यक्ति विशेष होइन व्यवस्था नै स्त्रीवञ्चक छ (राई, २०५०, ः १३१) । हुन पनि हो हाम्रो समाजमा पुरुषले आपूूmलाई जेठी मन नपरे कान्छी स्वास्नी भित्र्याउनुमा कुनै ठूलो कुरो ठान्दैन । अझ भनुँ ‘मर्दका हजार हुन्छन्’ भन्ने घृणित संस्कारमा ढलीमली गरेर बसेको पुरुषले दोस्रो विवाहलाई स्वाभाविक रूपमा लिन्छ । यसै सामाजिक प्रचलन मुताबिक प्रमोदले जेठीलाई हेला गरी कमलालाई भित्र्यायो । यसरी भित्र्याउनुमा कुनै जायज कारण पनि चाहिएन । मोतीमाया सुन्दरी थिई र पुत्रवती पनि । आपूm कान्छी स्वास्नी भएकाले पतिको एकलौटी प्रेमकी अधिकारिणी बन्न उद्धत भई । यसै कारण उसले मोतीमायामाथि चरित्रहीनताको दाग लगाउन विभिन्न हत्कण्डाको प्रयोग पनि गरी प्रमोदले कमलाका कुरामा लागेर मोतीमायालाई हेला र घृणा मात्र गरेन शारीरिक आक्रमण समेत गरेर धुरुधुरु रुवायो । चरित्रहीनताको लाञ्छना र अत्याचार ब्यहोर्न नसकी मोतीमाया “प्रमोद म गएँ, विनोद तिम्रो पनि हो, अब उसको आधार यो संसारमा फगत तिमी मात्रै छौ, मेरो भूल भए क्षमा गर (प्रधान, २०४७, पृ.४४) ।” भनेर एकालाप गर्दै आत्महत्या गर्न निस्की । यस प्रकारको परिस्थिति निर्माण गर्नमा तत्कालीन समाज नै मुख्यतः दोषी रहेको छ । बहु विवाहलाई सहज तुल्याउने हाम्रो सामाजिक वातावरणले नै प्रमोदलाई जन्माएको हो । महिलालाई भोग्या जीव ठानेर उनीहरूलाई आर्थिक, सामाजिक र अन्य खालका अधिकारबाट वञ्चित गराएकोले उक्त परिस्थिति जन्मिएको हो भन्ने उपन्यासकारको धारणा रहेको छ । उपन्यासकारले महिलामाथि निन्दनीय व्यवहार मच्चाउने प्रवृत्तिको सशक्त र सशस्त्र प्रतिकारको आवश्यकता महसुुस गरेका छन् ।

प्रधानका उपन्यासमा पुरुष ज्यादतीका अत्यन्तै निकृष्ट रूपहरू प्रस्तुत गरिएका छन् । ‘स्वास्नीमान्छे’मा मोहन बहादुरको निचता तथा ‘एक चिहान’मा डा. गोदत्त प्रसाद र सुरमान सुब्बाको विकृत व्यवहार स्पष्टताका साथ प्रकट भएको छ । मोहन बहादुरले आत्महत्या गर्न हिँडेकी मोतीमायालाई बचाउने र आफ्नै घरमा बहिनी बनाएर राख्ने कुरो गर्दा उसको सकारात्मक स्वभाव प्रदर्शित भएको थियो तर उसका मनभित्र लुकेको कुटिल मनोवृत्ति पछि देखा पर्छ । बहिनी बनाएर राख्ने भनिएकी मोतीमायालाई मोहन बहादुरले भोग्या बन्न बाध्य पार्छ । असहाय मोतीमाया दाजु भनाउँदो व्यक्तिबाट त्यस्ता कुरा सुन्दा छाँगाबाट खसेजस्ती हुन्छे । विवशतावश “यसरी लोग्ने भएकी आइमाईमाथि हमला गर्नु ठीक छ त ? के मलाई नरकमा पठाउन तपाईँहरूलाई रहर लागेछ (प्रधान, २०४७ ः ७३) ।” भन्छे मात्र । कहाँ दाजु र बहिनीको पवित्र सम्बन्ध र कहाँ भोग्या बनाउने घृणित लालसा । मोहन बहादुरको चरित्र त अझ उसकै साथी रामानन्दले भनेका यी भनाइबाट पनि छर्लङ्ग हुन्छ । ऊ भन्छ –“हेर मुला मोहन यो चाहिँ भाउजू त राम्री मात्रै होइन सारै असल र सिधी होलिन् जस्ती देखिन्छन् अब त चितुवाको हजार गोठ गर्नु भएन है (प्रधान, २०४७ ः ८१) स्वयं उपन्यासकारले पनि “बीस नाघ्यो कि स्वास्नी मानिसहरूमा मोहन बहादुर यौवन पन्चर भएको देख्थ्यो (प्रधान, २०४७ ः९८) ।” भन्ने टिप्पणी गरेका छन् । यसरी मोतीमायाभन्दा पहिलै तिन वटी युवतीको जीवन बर्बाद गर्ने मोहन बहादुरले ३२ वर्ष पुगि सकेकी मोतीमायालाई घरबाट निकाल्न कुनै ठूलो कुरो ठानेन । यस प्रकार मोहन बहादुरको अत्यन्त क्षूद्र रूप यस उपन्यासमा चित्रित छ ।

‘एक चिहान’ को डा. गोदत्त प्रसाद पनि अझ घृणायोग्य भएर प्रस्तुत भएको छ । ऊ तिन छोराछोरीको बाबु एवं समाजको प्रबुद्ध व्यक्तित्वमा पर्छ । उसको मनस्थिति भने काम वासनाको डङ्गुरले भरिभराउ छ । घरमा सुशिक्षित पत्नी र आर्थिक सम्पन्नता पनि छ तर डा.को दिमाग परनारीगमनमा भुतुक्कै भएको छ । ऊ आफ्नै घरमा काम गर्ने बेली भन्ने केटीका पछि पनि हुरुक्कै हुन्छ । नानीथकुँसित गहिरो प्रीति बसेको स्वाङ रच्न पनि सफल हुन्छ । अष्ट नारानको उपचारका क्रममा त्यस घरमा सम्पर्क बढाउन पाएको डा.ले नानीथकुँलाई देखेपछि अतिरिक्त चासो बढाउँछ । अन्य काम र सरसहयोगमा घनिष्ठता बढाई सोझी र सरल नानीथकुँको मनमा प्रीति जगाउन सफल हुन्छ । नानीथकुँ हो न हो डा.ले आपूmसँग आत्मीय प्रेम गरेको र साँच्चि नै पत्नी बनाएर राख्न खोजेको भ्रममा पर्छे । त्यसैले उसलाई सुरुमा डा.का विरुद्ध सम्झाइ बुझाइ गर्न खोज्ने आमा, दाजु शिव नारान र रञ्जना देवीका कुरामा पत्यार लाग्दैन । पछि डा.का बदमासीको पोल खुल्दै गएपछि ऊ सचेत हुन्छे । तर पनि झुक्याएर अपहरण गरी डा.ले ज्यादती मच्चाउँछ । डा.को पन्जाबाट मुक्त हुने प्रयत्न गर्दागर्दै पनि काम पिपासु डा. को बलात्कारको सिकार हुन पुग्छे । यस प्रकारको घृणित कुकर्म गर्ने डा.जस्ता दुष्टजनहरूको आन्तरिक नियत र दुराशयलाई उपन्यासकारले छर्लङ्ग हुने गरी केलाएका छन् । डा.ले नानीथकुँको रूप यौवनमा आँखा गाड्नुमा गरिबहरूलाई हेप्ने सामाजिक प्रवृत्ति र नारीमाथिको अन्यायपूर्ण सामाजिक व्यवहार जिम्मेवार छ । बहु विवाहको सामाजिक मान्यताका आडमा उसले नानीथकुँलाई पत्नी बनाएर सम्मान दिने भ्रम फिँजाउन पाएको छ । त्यस कुरामा अल्लारे भावुक प्रेममा लठ्ठिएकी नानीथकुँ पनि भ्रमित भएकी छ । आर्थिक अभावको चपेटामा परेका शिव नारानहरूलाई पैसाको सहयोग गर्न पाएको डा. गोदत्त प्रसादले त्यस परिवारलाई हेपेर नानीथकुँसित मायाजाल रच्ने दुस्साहस गरेको छ । यस प्रकार समाजको आर्थिक असमानता एवं नारीमाथिको अन्यायपूर्ण सामाजिक व्यवहार नै मुख्य दोषी देखा परेको छ । यस्ता थुपै्र घटनाहरू नेपाली समाजमा अद्यापि हुने गरेको कुरालाई यस सन्दर्भमा स्मरण गर्न सकिन्छ ।

उता सुरमानको प्रसङ्ग पनि घृणापूर्ण छदैँछ । ५७ वर्षको सुरमान नातिनी भने पनि हुने उमेरकी १७ बर्से नानीथकुँसित बिहा रचाउन हुरुक्क भएको छ । सामन्ती अन्ध संस्कृतिमा हुर्केकाहरू जातीय विभेदका कुरालाई आफ्नो हितमा मात्र उपयोग गर्छन् भन्ने कुरा सुरमानले नेवार समुदायमा तल्लो जातकी मानिने नानीथकँुंसित आपूm माथिल्लो जातकोले बिहा गरे शिव नारानको परिवारै सम्मानित हुने भन्ने खालको कुरा गरेबाट प्रस्ट हुन्छ । सुरमान माथिल्लो जातको भए पनि नानीथकँुंको यौवनमा लठ्ठिएकाले मात्र जातीय भेदभाव हटाउने भन्ने कुरामा उद्दत भएको छ । उसले लतमायालाई गत वर्षको कुत मिनाहा गरि दिने, सन्तानहरू पढैया र जागिरदार हुने कुरा मात्र गर्दैन देसी तान पनि सित्तैँमा उपलब्ध गराउने प्रलोभन दिन नोकर राम बहादुरलाई पठाउँछ । मरि सकेको अष्ट नारानले आपूmलाई नानीथकुँको कन्यादान दिने वचन पहिलै दिएको भन्ने ढाँट कुरो पनि सुनाउँछ । यस्ता अनर्गल कुरा र घटिया व्यवहार प्रदर्शन गर्ने सुरमानका क्रियाकलापबाट नारीलाई केवल भोग्या र मनोरञ्जनका सुलभ साधन ठान्ने सामन्ती संस्कार प्रकट भएको छ । आर्थिक रूपले निम्न वर्गका गरिबहरूमाथि उच्च वर्गका तल्सिङ र साहुमहाजनहरूले जे गरे पनि हुन्छ भन्ने असमान व्यवहार सुरमानले नानीथकुंसित बिहे गर्न खोजेको प्रसङ्गले प्रस्ट पार्दछ । यसरी ‘स्वास्नीमान्छे’ का प्रमोद र मोहन बहादुर तथा ‘एक चिहान’ का डा. गोदत्त प्रसाद र सुरमान तत्कालीन नेपाली समाजका दुराचारी, काम पिपासु र नारीमाथि अत्याचार मच्चाउनुलाई बहादुरी ठान्ने चरित्र गिरेका व्यक्तिका प्रतिनिधि हुन् । महिलाको असहायपना र परिवारको आर्थिक कमजोरीको फाइदा उठाएर नारीमाथि क्षूद्रतम व्यभिचार गर्ने र गर्न खोज्ने त्यस्ता दुष्टहरू समाजका शत्रु हुन् भन्ने धारणा उपन्यासकारले प्रस्ट गरेका छन् । साथै उपन्यासकारले नारीमाथि दमन थोपर्न सघाउनेमा पुरुषहरू मात्र होइन नारी पनि पर्दछन् भन्ने कुरा कमलाजस्ता चरित्रका खराब क्रियाकलाप देखाएर प्रस्तुत गरेका छन् भने कतिपय पुरुष पनि नारी अधिकारका पक्षमा छन् भन्ने कुरा शिव नारान, उसको बाबा र भाइहरू र मोतीमायाको छोरा विनोदका क्रियाकलापबाट प्रकट गरेका छन् ।

२.३ उपन्यासमा प्रस्तुत नारीमुक्तिको बाटो

प्रगतिवादी चिन्तनद्वारा अभिप्रेरित प्रधानले आफ्ना उपन्यासमा नारीहरूले भोगेका असह्य व्यवहारको चित्रणका साथै मुक्तिको मार्ग पनि दर्शाएका छन् । ‘स्वास्नीमान्छे’ मा त्यस्तो मार्ग सशस्त्र प्रतिरोध गर्ने तहसम्म पुगेको छ भने ‘एक चिहान’ मा शारीरिक आक्रमणका साथै चरित्र सुधारको सङ्केत गरी टुङ्गिएको छ । ‘स्वास्नीमान्छे’ की मैयानानी तथा ‘एक चिहान’ को शिव नारानको परिवार र रञ्जना देवीको महत्त्वपूर्ण विचारले नारी मुक्तिको मार्ग निर्देश गरेका छन् । विभिन्न प्रलोभन देखाएर नानीथकुँसित असमान उमेरको बिहा गर्न चाहने सुरमान सुब्बा र उसका नोकर चाकरहरूलाई शिव नारानको परिवारले सामूहिक प्रतिरोध गरी गलहत्याएर धपाएको प्रसङ्ग रोचक र जोसपूर्ण छ । महिलामाथि कुदृष्टि राखी आक्रमण गर्न तम्सिनेका विरुद्ध सशक्त प्रतिकार आवश्यक छ भन्ने कुरा यसबाट प्रस्तुत भएको छ । त्यसै गरी डा. गोदत्त प्रसादले पनि नानीथकुंमाथि गरेका दुव्र्यवहारप्रति क्षमा याचना गरेको देखाइएको छ (यद्यपि साझा प्रकाशनको नयाँ संक्षेपीकृत संस्करण (२०६७)मा यस्ता केही प्रसङ्गहरू हटाइएको छ) । निकृष्ट र चरित्रहीन डा.को क्षमा याचना मात्र पर्याप्त नलागे पनि रञ्जना देवीसँगको पूर्वसर्त मुताबिक उसलाई छोडिएको छ । चरित्र सुधारको सङ्केत त्यसबाट प्रकट भएको छ । साथै नानीथकुँलाई शिव नारानहरूले घरमा फिर्ता लगी उसको विवाह अर्कै व्यक्तिसँग गरेको कुराले बलात्कृत महिलाको स्वच्छता र उसको भावी विवाहको अधिकारलाई स–सम्मान स्थापित गर्ने मान्यता प्रस्तुत गर्न खोजिएको छ । यसरी ‘एक चिहान’मा एकातिर समकालीन समाजको यथार्थ चित्रण छ भने अर्कातिर भावी आदर्श समाजको कल्पित रूपरेखा पनि कोरिएको छ (पौड्याल, २०४१, ः ६२) । स्वास्नीमान्छे उपन्यासमा आपैmले घरबाट निस्कन बाध्य पारेर वेश्यालयमा पुगेकी मोतीमायालाई पुनः घर भित्र्याउन नमानेपछि त्यसको सशस्त्र प्रतिरोध गरिएको छ । नारी जागरणमा काम गर्ने मैयानानीले अत्याचारी पुरुषको दमन चक्रलाई पराजित गर्न हतियार उठाउने कुरालाई सही ठह¥याउने प्रयास गरेकी छ । त्यति मात्र होइन राजनीतिक नेतृत्वमा बसी नारीहरूसँग भोग विलास गर्ने र नेपाली नारीलाई विदेशीसामु बेची देशको गौरव र अस्तित्वलाई नै समाप्त पार्न खोज्ने नारी अस्मिता विरोधी, दुष्टहरूलाई सार्वजनिक स्थलमै गोली हानी हत्या गरेको प्रसङ्गले पनि अत्याचारका विरुद्ध हतियार उठाउने कुरालाई जायज ठह¥याउने प्रयत्न गरिएको छ । नारीमाथिको भेदभावपूर्ण व्यवहारका निम्ति सामाजिक प्रचलन र प्रवृत्ति मुख्य दोषी रहेको र त्यस्तो दोषपूर्ण कार्य देखाउने खराब व्यक्तिमाथिको सशक्त कारबाहीले समाज सुधार गर्न सकिन्छ भन्ने अवधारणा उपन्यासमा प्रस्तुत छ । मोतीमायामाथि अत्यन्त निर्लज्ज व्यवहार प्रदर्शन गर्ने मोहन बहादुरलाई कुनै सजाय नहुनाको खड्किँदो पक्ष भने स्वास्नीमान्छे उपन्यासमा पाइन्छ । यस क्रममा वरिष्ठ समालोचक गोविन्द भट्टले नारी स्वतन्त्रता र समानताका उहाँ (प्रधान) अघोर पक्षपाती हुनु हुन्छ (भट्ट, २०५५ ः १३०) भन्ने भनाइ उपयुक्त लाग्छ । समष्टिमा भन्दा उपन्यासकार प्रधानले नारी जागरण र अत्याचारका विरुद्ध सशक्त प्रतिरोधको आवश्यकता छ भन्ने बाटो दुबै उपन्यासमा देखाएका छन् ।

३. निष्कर्ष ः

नेपाली उपन्यास परम्परामा हृदय चन्द सिंह प्रधानले नारीलाई आफ्ना अधिकारका निम्ति जागरुक हुन तथा पुरुष अत्याचारका विरुद्ध सशक्त प्रतिरोध समेत गर्न प्रेरित गरेका छन् । प्रधानपूर्व नेपाली उपन्यास लेखनमा नारीलाई कमजोर चरित्रका रूपमा प्रस्तुत गरी उनीहरूलाई सहनशीलता र आत्म वञ्चनाको पाठ पढाइएको थियो । रुद्रराज पाण्डेबाट थालिई रूप नारायण सिँह, लैनसिंह बाङ्गदेल, डायमन शम्शेर राणा, लील बहादुर क्षेत्रीसम्मका आधुनिक उपन्यासकारहरूले नारीलाई विद्रोही र आक्रामक शक्तिका रूपमा प्रस्तुत गर्न सकेका थिएनन् । प्रधानले नै पहिलो पटक नारीलाई अत्याचारका विरुद्ध सशक्तताका साथ र हतियारै उठाउन समेत अभिप्रेरित गरेका छन् । नारीलाई भोग विलासका साधन ठानेर पिपासु आँखा गाड्ने पुरुषका विरुद्ध सशक्त आक्रमण गरी नारी स्वयंले पुरुषलाई धराशायी पारेका छन् र ‘एक चिहान’मा नारीमा आफ्नो अस्तित्व र अधिकारप्रतिको सजगता रहनु पर्ने कुरा प्रस्तुत गर्दै दुष्ट व्यक्तिमाथि कारबाही गरी चरित्र सुधारको सम्भावना प्रस्तुत गरिएको छ ।

प्रगतिवादी विचार धाराबाट प्रेरित र प्रभावित प्रधानले ‘एक चिहान’ मा नारीमुक्तिको अभियानलाई वर्गीय मुक्तिसँग जोड्न खोजेका छन् । उच्च वर्गका डा. गोदत्त प्रसादलाई माफी मगाएर तथा सुरमानलाई गलहत्याएर पराजित गरिएका प्रसङ्गले निम्न वर्गको विजयलाई प्रकट गरेको छ । ‘स्वास्नीमान्छे’मा उच्च र निम्न वर्गको द्वन्द्व वा संघर्ष नभई पुरुष र नारीको संघर्षको स्थितिलाई मुख्य बनाएर प्रकट गरिएको छ । वर्षौँदेखिका पुरुष सत्तात्मक सामन्ती संस्कृतिका अभिप्रेरणामा आफ्नो एकछत्र हैकम जमाएर बसेका नेपाली पुरुषहरूले नारीमाथि शासन चलाउनुलाई आफ्नो नैसर्गिक अधिकार नै ठानि रहेका छन् । नारी स्वयंले पनि पतिको प्रताडनालाई आफ्नै खोटो कर्म ठानेर भोगि रहेका छन् । यस परिप्रेक्ष्यमा समग्र समाजका आर्थिक सामाजिक समस्या र सम्बन्धलाई गहिराइका साथ केलाई आंशिक विद्रोहबाट समाधान खोज्नु अवस्तुवादी कुरो ठहर्छ । मूल संघर्ष नारी र पुरुषबिच होइन, मूल संघर्ष शोषक र शोषितबिच हुनु पर्दछ भन्ने कुरामा माक्र्सवादले पनि जोड दिन्छ (बराल, २०५२, ः १४६) प्रधानले ‘स्वास्नी मान्छे’मा निर्देश गरेको प्रतिशोधको बाटोमा पुरुष विरोधी भावावेगले काम गरेको छ । उपन्यासकारले नारीमुक्तिका निम्ति तय गरेको बाटो पुरुष प्रताडनका अतिशयताका कारण जागेको आवेगजन्य प्रतिक्रिया हो । दमनका विरुद्धको स्वाभाविक प्रतिकार हो । त्यस खालको अभियानलाई कुनै नारी संस्था वा पुरुष संस्थाबाट मात्र होइन समग्र वर्गीय मुक्ति अभियानसँग जोडेर वैज्ञानिक तरिकाले अघि बढाउनु आवश्यक छ । यस कारण नारी मुक्तिको प्रगतिवादी दृष्टिमा ‘एक चिहान’ उपन्यास जति सबल छ त्यसका तुलनामा ‘स्वास्नीमान्छे’ सफल देखिन्न ।

सन्दर्भ सामग्री:-

चापागाईँ, नरेन्द्र (२०३८), केहीकृतिः केही प्रतिकृति, काठमाडौंः साझा प्रकाशन ।

पौड्याल, शर्मा हीरामणि (२०३९), समालोचनाको बाटोमा, पर्वतः इन्दिरा शर्मा पौड्याल ।

प्रधान, कृष्णचन्द्र सिंह (२०४३), नेपाली उपन्यास र उपन्यासकार, दोस्रो संस्करण ललितपुर ः साझा प्रकाशन ।

प्रधान, हृदय चन्द्र सिंह (२०४८), स्वास्नीमान्छे,, सातौँ संस्करण, काठमाडौंः साझा प्रकाशन ।

( २०४८), एक चिहान, आठौँ संस्करण, काठमाडौं ः साझा प्रकाशन ।

बराल, ऋषिराज (२०५२), माक्र्सवाद र उत्तरआधुनिकतावाद, विराटनगर ः सविता बराल ।

भट्ट, गोविन्द (२०५५), गोविन्द भट्टका समालोचना, सम्पा. रविलाल अधिकारी, नेपालः बगर फाउण्डेशन ।

राई, इन्द्र बहादुुर (२०५०), नेपाली उपन्यासका आधारहरू, दोस्रो संस्करण, ललितपुर ः साझा प्रकाशन ।

श्रेष्ठ, सुदर्शन (सम्पा.) (२०५४), साथी, १३ ः ८–९, काठमाडौंः साथी प्रकाशन ।

सुवेदी, राजेन्द्र (२०५३), नेपाली उपन्यास परम्परा र प्रवृत्ति, वाराणसी ः भूमिका प्रकाशन ।

सहप्राध्यापक, पृथ्वी नारायण क्याम्पस, पोखरा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।