18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शिवहरि पण्डितको पुष्पोद्यान नियाल्दा

कृति/समीक्षा सदानन्द अभागी September 14, 2013, 4:53 pm
सदानन्द अभागी
सदानन्द अभागी

परिचय

बुबा स्व.रामचन्द्र पण्डित तथा आमा भागीरथा पण्डितका सुपुत्र शिवहरि पण्डितको जन्म बि.सं२००९ साल भाद्र २५ गते तनहूँ जिल्लाको रतनपुरमा भएको र हाल उहाँ त्रिभूवनबस्ती–२ कञ्चनपुरमा बस्नुहुन्छ । सी.एडसम्मको अध्ययन गरेका शिवहरिका पुकार(कवितासङ्ग्रह, २०६३), पुष्पमाला (कवितासङ्ग्रह, २०६४) र पुष्पोद्यान (कवितासङ्ग्रह, २०७०) गरी तीनवटा कवितासङ्रग्रह प्रकाशन भएका छन् । आपूmलाई कविमा नाम दर्ज गराउन सफल शिवहरिजी पल्लव साहित्य प्रतिष्ठान चितवनको आजीवन सदस्य र महाकाली साहित्य सङ्गम कञ्चनपुरको सदस्य हुनुहुन्छ ।

कृतिको संरचना

यो कृतिको संरचना हेर्दा (१७+८७)=१०४ पृष्ठको छ । यसको प्रकाशन पल्लव साहित्य प्रतिष्ठान नारायणगढ, चितवनले गरेको छ । यसको मूल्य रु २६५÷– छ । यस सङ्ग्रहमा अनुष्टुप(सरस्वती वन्दना, नीतिश्लोक, यस्तो पुनर्वास, सुन्दर नेपाल, वेदनाका सोरहरू, ब्रम्ह सरोवर र कोटीहोमका खोजी गर्दा, आफ्नो जीवनी, माङ्गलिक कार्य, र जिन्दगीचक्र), मन्दाक्रान्ता (पुष्पोद्यान, नौलो नेपाल, राज्य जनताको , विश्वमा नेपाल, विदाइको स्मृतिमा, समयको पीडा, हामी गण्डकी अञ्चल रतनपुरबाट आएका , पुष्पाञ्जली(पुष्प र अञ्जलि), शिखरिणी (नौलो विहानी, अनुराग, रम्य तराई बस्ती, भक्तिभाव, विछोडका स्वरहरू, विछोडको पीडा, शान्ति नै स्वर्ग, पुष्प शोभा, रिस नगर र शरदयाम), स्रग्धरा (हिमाल), शार्दूलबिक्रीडित छन्दमा( विद्यार्थी अनुशासन, सुमार्ग र सृष्टि महिमा), वसन्ततिलका (मूर्खको भोज), उपेन्द्रवज्रा (पुष्पवाग र रतीराग), इन्द्रवज्रा (अनभिज्ञ पुत्र , ), शालिनी (शैशवकालको सम्झना), उपजाति (बृद्ध वय), वंशस्थ (बाल वय र नशालु र गीति(जीवनी) गरी जम्मा १३वटा छन्दमा ४०वटा छन्दमालाले सिङ्गारिएको छ पुष्पोध्यान । छन्दमा लेखिएको यस कविता सङ्ग्रहले आफ्नै खालको विशिष्ठता प्रदान गरेको छ । गद्यमा लेखिने कविताको बाहुल्यता रहेको वेला छन्दमा रचित कविताहरूले पुनः बाहुल्यतातिर लम्कदै आफ्नो छन्दको अग्रसरता देखाउन थालेका छन्, जो छन्दप्रेमीहरूको लागि यो खुसीको समय हो ।

विभिन्न साहित्यकारको नजरमा कवि र कवितासङ्ग्रह–

“पुष्पोद्यान” को सुमधुर सुगन्ध ... शीर्षकमा गोर्खे साइँलो (ऋषिप्रसाद लामिछाने)ले यस कृतिको भूमिका लेखेका छन् । यस कृतिको बारेमा उनको छोटो अभिव्याक्ति यसप्रकार छ –‘समग्रमा हेर्दा कविले आफ्ना आँखासामु भएका, देखिएका, विषयबस्तु र आपूmले भोगेका विभिन्न सुख , दुःख र खुसी उमङ्गलाई समेटेर सुन्दर काव्यमाला उन्न खप्पिस देखिनु भएको छ पण्डित शिवहरि ।’

“सम्मतिका मधुर स्वरहरू”शीर्षकमा प्रा. डा. नारायणप्रसाद खनाल लेख्नुहुन्छ– ‘प्रस्तुत सङ्ग्रहमा कतै भक्ति–अध्यात्म, कतै विरह–वेदना, कतै अतु–याम, कतै रतिराग, कतै प्राकृतिक सुषमा, मानवकल्याण, मृदुव्यङ्ग, वार्धक्य, शब्दचित्र, आत्मजीवन आदि अनेक भावबिम्बहरू कविताका विषयवस्तु बनेका छन् ।

तपाईसँग मेरा कुराहरू शीर्षकमा कविले यस कृतिप्रतिको धारणा यसरी राखेका छन्– ‘ पावन भूमि नेपाल हिमाली स्रष्टाहरूको थलो, कोशी, गण्डकी, र कर्णालीले सिञ्चित हराभरा तराई, पहाड अनि हिमाल। वसन्त र शरदले लोलाई रहेका अनुहारहरू, मनमोहक प्राकृतिक दृश्यहरू, पर्वहरूले दिएका हर्षित, उत्कृष्ट, संस्कृतिको उद्गार, यही उद्गम थलोभित्र रुमलिएर भावनाका तरङ्गरूपी छालहरू यस सङ्ग्रहको विषयवस्तुहरू बन्न पुगेका छन् ।’

बास्तवमा यस कृतिको अध्ययन गर्दा कविताका शीर्षकहरूले पोखेका भावना, प्रा. डा. नारायणप्रसाद खनालका भावपूर्ण उद्गार र स्वयम् कृतिकारको अभिव्यक्तिलाई केलाएर ÷ विश्लेषण गरेर हेर्दा यथार्थ परक देखिन्छन् ।

यस कवितासङ््ग्रहमा पहिलो कविता सरस्वती बन्दनाबाट सुरु गरिएको छ । भक्तिभावले ओतप्रोत कविताको संख्या पनि कमि छैन –

रसायो धर्ती यो रविकिरणले जगमग भयो ।

बजे शङ्खै–घन्टा धुनलय सुनिने सरसको ।।

कतै भक्ती ध्वनी शिवशिव पुकारेर हरिको ।

जपेती वेदमन्त्रै कवच सुनिए श्री धरणिको ।।४।।

अनुराग (पृष्ठ७)

यसकविता सङ्ग्रहले राष्ट्र, राष्ट्रियता, परिवर्तन, र प्रकृतिलाई गहन महत्व दिएको छ । कविता सुन्दर शैलीमा रचिएका छन् र विविधताले भरिएका छन् र भावना सलल बगेका र कवितामा छरिएका छन् । प्रकृतिको सुन्दरतामा कविलाई परमानन्दको अनुभूति हुन्छ । हिमालको सुन्दरतामा उनका कविता चाँदीझै टल्केका छन् । रारा र फेवाको नीलो र निर्ममल जलले उनका कवितालाई सिचेको छ । तराईको समथल र उर्वरक जमिन त्यसमा उत्पादन हुने खाद्यान्न, फलपूmल, वनजङ्गल तथा विविध उत्पादनका बस्तुको उपभोग र उपयोगले स्वस्थ शरीरको निर्माण गरेको छ । पहाडको हरियालीको आकर्षणले कविमा प्रफुल्लता प्रदान गरेको छ । शान्तिले दिने स्वर्गानुभूति, हरिभजन, सुकर्म, सुधर्म, भक्तिभाव, सुमार्गमा चल्न पर्ने र रिसराग गर्न नहुने मार्ग दर्शनका अभिव्यक्तिहरूले भरिएका छन् कविताहरू । प्राकृतिक स्रोत र साधनको सदुपयोग गर्नुपर्ने भावना, नेताभन्दा जनताको सर्वोच्चता ठूलो हो भन्ने धारणा, पेशागत विदाइका स्वरहरूको गुञ्जन अनि पीडा, शैशवकालको कृष्णको जस्तो लीला, रतिरागको रसपान, जीन्दगी–चक्र र जीवन–यात्राको अनुभूतिले सिङ्गारिएको यो कवितासङ्ग्रह पठनीय र अनुकरणीय छ ।

अतः आदिकवि भानुभक्तको जन्मस्थलमा जन्मलिएका कवि शिवहरिले आफ्नो जिन्दगीमा भोगेका विविधपक्षलाई समेटेर, तनहूँदेखि कञ्चनपुरसम्मको यात्रालाई कवितामय बनाएर, मिलन र विछोड, देश र परिवेश, राष्ट्र र राष्ट्रियता, रोग, शोक, भोक र प्यास, जीवनका उतार चढाऊ, मानव गाथा र व्यथालाई जीवनका भोगाइहरूसँग गाँसेर, व्यवहारिकतालाई समायर , सरल भाषामा, एउटा सुन्दर छन्दयुक्त कवितासङ्ग्रह हामीलाई प्रदान गर्नु भएको छ । यसको लागि उहाँ धन्यवादको पात्र हुनुहुन्छ । कविजीको जीवन कवितामय होस् र जीवन सुखमय रहोस् भन्ने धारणा राख्दै। उहाँका केही कविताका श्लोकहरू यहाँ पस्कदैं विदा चाहान्छु –

नेपालीको मनभरि सदा पुष्पजस्तै छ नौलो ।

नीलो सङ्लो दहबिच सधैं सृष्टि द्रव्यै छ नौलो ।।

रारा, फेवा मुसुमुसु कती मुस्कुराई छ नौलो ।

झ्यामोलङ्मा पनि पिरतिमा स्वच्छता दृश्य नौलो ।।

(नौलो नेपाल, श्लोक ।।४।। पृष्ठ–९)

बाली देऊ दनदन यहाँ दन्दनीको जुवालो ।

लड्दै–बढदै अबत उठी द्यौ चल्छ यहाँ तुँवालो ।।

राज्यै हाम्रो हिम–शिखरमा हैन नेताहरुको ।

जन्ता नै हुन् शिरउपरमा राज्य नेपाल हो यो।।

(राज्य जनताको, श्लोक ।।५।। पृष्ठ–२२)

पिएर स्वादै रसपानले गरी ।

जिएर स्वर्गै मधुरागले भरी ।।

सुतेर हाँसी सहबासमा परी ।

रमेर छर्दै रतिरागकी चरी ।।

(रतिराग, श्लोक ।।६।। पृष्ठ–६४)

नशालुमा क्रोध जमेर आसिन ।

विषालु सर्पैसरि नग्न नासिन ।।

पिपास’मा रक्त विषाक्त भो किन ?

निर्भय मै व्यर्थ गयो नशा क्षण ।।

(नशालु, श्लोक ।।८।। पृष्ठ–८१)

नवलपरासी, कावासोती शान्तिचोक

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।