19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

स्वप्नहरू

कविता इश्वर वल्लभ September 21, 2013, 8:12 am

त्यसो त एउटा स्वप्नजस्तो

रङ्गी-विरङ्गी

अनेकौं विम्बहरू

कति परीहरू उड्छन्,

पुतली र चराहरू

माथि, कहिले आकाशको नीलोमा

र गहिरोमा समावेश हुन्छन्

फेरि विस्तारै-विस्तारै फूल बन्दै

विस्तारै-विस्तारै झिनो पर्दा बन्दै,

पारदर्शी समायोजनको उत्सव

ओर्लिन्छन्,

उक्लिन्छन् ।

पर कतै पर्वतको फेदीमा,

जवाकुसुमको वासना

अरून्धतीको दुःख र पीडाको

उत्सव,

दुःखको वासना कि

पीडाको वासना,

र्स्पर्शको मोहसित विस्तारै, अल्झिन्छन्

त्यसो त

स्वप्नमा

बिहान हुन्छ,

साँझ पर्छ

रात पर्छ

क्षितिज र आकाशका गुम्बजले

वास बस्छन्

ती बिहान र साँझसित स्वप्नमा

ती दिन र रातसित स्वप्नमा

सूर्य उदाउँछ,

सूर्य थाक्छ र

फेरि अस्ताउँछ पनि,

यात्रा सतत् र चिन्ता भइरहन्छ

उसले उदाउने र उसले अस्ताउने

उदयाचल छुने,

अस्ताचल छुने क्रम निरन्तर

भइरहन्छ

पानीको विम्बमा सर्वाङ्ग हेर्ने क्रम,

आफूलाई ऐनामा हेर्ने र

माया गर्ने क्रम,

सधैँ भइरहन्छ

तलसम्म लत्रेर झरेको,

भुइँ नै छुन खोजेको,

उज्यालोको मजेत्रो हो कि,

अथवा अहिल्याको दुःख, अँध्यारो

प्रस्तर नै हुन परेको

अवसादले ढुङ्गा बनेको,

श्रापको मिथक र कथाले

निस्तार खोजिरहेको

त्यसो त,

एउटा असत्य जस्तो भ्रान्ति र

भ्रमहरू

अझै कति कठिन र क्रूर स्वप्नहरू ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।