19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कविताकृति बाडुली र सुदूर सम्झना सङ्क्षिप्त अवलोकन

कृति/समीक्षा अमर नेम्बाङ लिम्बू September 21, 2013, 8:15 am

आजको हाईटेक तथा नानोटेकको जमानामा परम्परागत कविता पश्चिमेली सभ्यता र संस्क्रितिमा विलीन भएर एउटा नयाँ काँचुली फेर्दै अर्कै स्वरुप र सन्देश लिएर जन्मिरहेका देख्छौं हामी आधुनिक विश्व साहित्यमा। त्यस्तै हाम्रो नेपालमा पनि उत्तर क्रान्तिकालमा(१९५१)नेपाली साहित्यको आधुनिक युग पदार्पण भएपछि त्यही पश्चिमेली साहित्यको प्रभावले गर्दा हाम्रो साहित्यमा पनि आश्चर्यजनकरुपमा अनेकौँ सशक्त विचारधारा एवं आन्दोलनहरूको एउटा उर्लंदो लहर आएको देखिन्छ । यही क्रममा पहिलो समूहमा स्वच्छन्दवादी यथार्थवादी प्रगतिवादि,घनत्ववादी प्रयोगवादी( तेस्रो आयामेली )आदि उच्च कोटिका साहित्यिक प्रव्रित्तिहरूसमेत देखिन्छन् भने पछिल्लो समूहमा उत्तर आधुनिक लेखन, नव मार्क्सवाद , ग्लोबलिजेसन ,फेमिनिजम ,डायस्पोरा साहित्य ,सबाल्टर्न तथा इथनिक संस्क्रिति र मिथकहरूसमेतको व्यापक प्रयोग भइरहेको देखिन्छ । यही पछिल्लो समूहको नवपरिवर्तनकामी प्रखर स्रष्टाहरूमध्ये स्वर्गीय स्वप्निल स्मृति एक हुनुहुन्छ जसका आधुनिक तथा उत्तरआधुनिक ट्रेट्ससमेत बोकेका कविताहरू उहाँका समकालीन सहयात्री कविहरूका दुरूह तथा सङ्कुल कविताक्रितिका अपेक्षाक्रित धेरै सहज , स्फुर्तिदायक , व्यङ्ग्यात्मक ,प्रगीतात्मक ,बोधगम्य र अभिधात्मक शैली भएको देख्छौँ हामी। यति मात्र होइन कवि स्व. स्वप्निल स्म्रिति नेपाली साहित्यमा स्थापित भइसकेका एक शक्तिशाली कवि हुनुको साथै उहाँका कविताक्रितिसमेत उल्लिखित विषेशणहरूले युक्त छन् भन्ने कुरा प्रस्तुत कवितासङ्गालो “बाडुली र सुदुर सम्झना”को प्रिष्ठ आवरणमा छापिएका विद्वज्जनद्वयका दुई वटा संक्षिप्त एन्नोटेसनहरूबाटै पनि केही आभास पाउँछौँ हामी ।

यसबाहेक परम्परागत नाम पद्धतिलाई भञ्जन गर्दै कविले राखेका आफ्नो अन्तिम नाम ‘’स्म्रिति’’ तथा प्रस्तुत पुस्तकको शिर्षक “बाडुली र सुदुर सम्झना’’समेत तीनै शब्दहरू संयोगवश एउटै हारमा उभिन्न आएका र तिनीहरूका शाब्दिक अर्थ पनि एउटै सम्झना हो भन्ने बुझिए तापनि अलिक गहिरिएर हेर्यौँ भने ती तीनैका केही बेग्ला बेग्लै अर्थ पनि हुनसक्छ । पहिलो शब्दको अर्थ सम्झना(समसामयिक) ,दोस्रो शब्दको अर्थ बाडुली लागेकै बेला कसैले गरेको सम्झना (हिन्दू तथा रसिएन संस्क्रिति) र तेस्रो शब्दको अर्थ धेरै पहिले समयको कुहिरोमा हराएको अस्पष्ट एवं धूमिल सम्झना हो भन्ने बुझिन्छ जसलाई हराएको वा नष्ट भएको सम्झना(मार्सल प्रौस्ट) पनि भन्नसक्छौँ हामी ।

सुरुवातमा नै कविले आफ्नो “लेखक” भन्ने कवितामा “ठीक यतिखेर भने /म पनि केही न केही नलेखी रहन सक्दिन” भने झैँ कुनै निर्दिष्ट समय र स्थानमा कुनै न कुनै घटनाहरू घटिरहेका हुन्छन् भन्ने इङ्गित गर्दै समय र स्थानको दार्शनिक अवस्थितिकोसमेत स्पर्श गर्नुभएको देखिन्छ । यो कविता पढ्दा मलाई प्रसिद्ध अमेरिकन उपन्यासकार थोर्टन वाइल्डरले धेरै अघि लेखेको प्रसिद्ध उपन्यास "सान लुइस रेको पुल "को सम्झना आउँछ । त्यस उपन्यासमा प्रतक्ष्यदर्शीका अनुसार r सन् १७१४ जुलाई २० तारीख शुक्रवारको दिन ठीक १२ बजे दक्षिण अमेरिका अन्तर्गत पेरुको सबभन्दा राम्रो पुल एक्कासि चुँडिएर पुल तर्दै गरेका ५ जना व्यक्तिहरूको खसेर तत्कालै दु:खद अवसान भएको सम्बन्धमा लेखिएको छ । किन उक्त घटना त्यही समयमा घट्नु र ५ जना व्यक्तिहरू तत्कालै खसेर मर्नु ? के यसरी घटना घट्नुको पछाडि कुनै अज्ञात शक्तिको हात छ कि भन्ने सम्बन्धमा हजारौँ लाखौँ अड्कलबाजी र सम्भाव्यताहरू हुनसक्छन् तर त्यसको कुनै जवाफ पाउँदैनौ हामी । किनभने यो विराट ,व्यापक र असीमित समयले प्रत्येक क्षण र स्थानलाई साङ्लाले जस्तै अविच्छिन्नरुपले जोडेको हुन्छ र यही निस्सीम समयभित्रको नियमित आकस्मिताको सिद्धान्तले गर्दा कतिखेर कुन घटना घट्छ हामीलाई थाहै हुँदैन ।

यसको साथै यही समयको संयोग र ऐतिहासिक अनिवार्यताले गर्दा हजार वर्षको रूढिग्रस्त मूल्य र मान्यतालाई तहस नहस गर्दै कवि पि. बि .सेल्लीको " अड टु द वेष्ट विन्ड "ले बोकेको प्रखर प्रजातान्त्रिक भावनालाई उजागार गर्दै देशव्यापीरुपमा आमुल परिवर्तनको लागि क्रान्तिको भयानक आँधी आएको शंखघोष गर्छन् कविजी आफ्ना क्रान्तिकारी कविता "आँधीको आख्यानमा " फलस्वरुप क्रान्तिको यही प्रचण्ड आँधी र बतासले गर्दा हजार वर्षको रूढिग्रस्त ‘सत्य त्यही थिचिएर’ मरेको उद्घोष गर्दै क्रान्तिमा अभूतपूर्व गतिशीलतासमेत आएको कुरा पनि यसरी व्यक्त गर्नुहुन्छ कविज्यू :

“जब आँधी आइपुग्यो सहरमा /शोकमा सधैँ झोक्राइरहेको राष्ट्रिय झण्डा /जोड जोडले फर्फराउन थाल्यो । "

यसरी पहिलो कालखण्डमा निरंकुशतालाई हटाउन हजार वर्ष लाग्यो भने दुई हजार वर्ष लाग्यो दरबार ‘चमेनाग्रिहमा’ परिणत हुन । तर यसरी निरंकुशता र रूढिग्रस्त ईश्वरलाई लखेटिए तापनि निरंकुशतालाई हटाउने व्यक्तिनै निरंकुश बन्नसक्छ भने झैं(नित्ज्से) o६२/०६३ को महान जनअन्दोलान पश्चात् क्रान्तिको दोस्रो फेजमा जनतालाई गुमराहमा पारी स्थापना भएको नयाँ निरंकुशताले राजधानीको चक्रपथभित्र र बाहिर गरेर ‘रगतको धर्साले’ कोरिएको दुई वटा मुलुक सिर्जना गरेको तथ्य औँल्याउँदै अघिल्लोमा ‘नयाँ जङ्गबहादुर’को सालिक स्थापनभएको र पछिल्लोमा चाहिँ संघीयताको आधारमा गणतन्त्रात्मक लोकतन्त्रको संस्थापनार्थ आन्दोलनरत शोषित पीडित नेपालको एउटा नाङ्गो चित्र प्रस्तुत गर्नुहुन्छ कविज्यू ।

प्रस्तुत संकलनमा कविज्यूले आफ्ना कविताहरूमा((जसमा आधाभन्दा बढी कविताहरू आत्मपरक शैलीमा लेखिएका छन् ) देशमा व्याप्त सङ्गीन परिस्थितिमा विदेशीहरूको चलखेल बढेको , पहाडे तथा मधेसी स्वरहरूको सही आँकलन नभएको, सरकारले जनतामा झुट्टो अफवाह फिंजाई भ्रष्टाचार एवं ढिलासुस्तीसमेत गरी लोकतन्त्रको उपहास गरेको , लेण्डुपदोर्जेहरूको (देश बेचुवा )हुलिया खुलाउँदा पत्रकारहरूको जघन्य हत्याहिंसा भएको, धेरै पहिलेका क्रुर तानाशाहरूको अत्यासलाग्दो क्रुरता(सुदूर सम्झना) तथा भयाक्रान्त युद्धको विभीषिकाका सम्बन्धमा अत्यन्त तीक्षण व्यङ्यात्मक प्रहार गर्नुका साथै नोस्टाल्जिया, स्थानीयता , ,गरिबी, प्रेम, आत्मालाप ,दर्शन एवं खण्डित मनस्थिति आदि बारे पनि बडो सरस र सलील ढङ्गले आफ्ना गम्भीर भावाभिव्यक्ति व्यक्त गरेका पाउँछौँ हामी । अझ बिषयक्रम मिलाएर छुट्टाछुट्टै उपशिर्षक अन्तर्गत कविताहरूलाई समायोजन गर्नुभएको भए पाठकवर्गलाई बुझ्न धेरै सजिलो हुन्थ्यो ।

कविका सङ्ग्रिहीत कविताहरूमध्ये “नयाँ वर्ष” सबभन्दा सानो कविता(इपिग्राम) भए तापनि यो एउटा अति उम्दा कोटीको इपिग्राम हो र यसले तत्कालीन सरकारलाई ढिलासुस्ती सम्बन्धमा सबभन्दा चोटिलो व्यंग्यात्मक प्रहारसमेत गरेको देख्छौँ हामी ।त्यस्तै “बुबा” , "इँटाको रातो जङ्गल”, “पश्चिम क्षितिजबाट… “फूलहरूको पहाड” आदि कविताहरू प्रशस्त नोस्टाल्जिक बिम्ब बोकेका र स्थानीयतासँग आत्मा गाँसेका गहकिला कविताहरू हुन् । यसबाहेक “ओ मेरो प्रिय यूद्ध’’ भन्ने युद्धकविता कविका अर्को उत्कृष्ट कविता हो जसमा परमाणु विस्फोटास्त्र ,आणविक विकिरण तथा सामुहिक विनाशका अस्त्रहरू ग्यासच्याम्बर प्रक्षेप्यास्त्र आदिद्वारा मानिसले विश्वमा आम विनाश लीलाको ताण्डव न्रित्य मचाएको देखिएको हुँदा युद्धसँग कदापि ‘सहवास’ गर्न तयार हुँदैनन् कविज्यू। बरु रोमन(अक्टोभियस क्लियोपेट्रा) ग्रिसेली मिथकहरूको(सोफोकलको नाटक इडिपस) प्रयोग गरेर अत्यन्त तीव्र शब्दमा युद्ध तथा यसको तामसी भावनाको भन्डाफोड गर्नुभएको छ उहाँले । तर यति हुँदाहुँदै पनि पश्चिममा होमरका महाकाव्य इलियाड , ओडिसी तथा पूर्वमा वाल्मिकी वेदव्यासका रामायण महाभारत आदि महाकाव्यहरूले युद्धको भरपुर कीर्तिगान गरेका देखिन्छन् । अझ दार्शनिक नित्ज्सेले त झन् दयाभन्दा साहसले नै अभागीहरूलाई बचाएको छ भनी युद्धलाई अति गौरवान्तित पारेका छन् । तर यहाँ कविज्यूले एकातिर युद्धसँग सम्बन्ध विच्छेद गरेको घोषणा गर्नुहुन्छ भने अर्कोतिर निरंकुश बादशाहलाई हतियार उज्याई समाप्त गर्ने गराउँने धम्की पनि दिनुहुन्छ । सायद कविज्यूको यस भनाइमा चाहिँ कता कता केही विरोधाभास भएको जस्तो देखिन्छ। उदाहरणस्वरुप उहाँ लेख्नुहुन्छ्:”

जब भरिनेछन् --/केही थोकले हाम्रा हातहरू /सम्झनू!/त्यतिखेर तिम्रो हातमा /के हुनेछैन, के हुनेछ(अरू सम्बोधन- प्रि. १८ )।

त्यस्तै “कथा -घुमाउने चौतारीमा काभ्राको..” सुदुर सम्झनाको एउटा उत्तम नमुना हो । यसो झट्ट हेर्दा सघनरुपमा फ्यान्टासी तत्व प्रयोग गरिएको एउटा फेबुलेसन जस्तो देखिए तापनि यसको पनि केही याथार्थिक धरातल हुँदैन भन्न सक्तैनौ हामी । हिजआजको आधुनिक साहित्यमा गध्यलाई पढ्यसङ सङ्करण ( hybridization ) गर्छन् कविहरूले। जस्तै चिनिया कवि बै ह्वा (Bai-Hua)ले गद्य, उपन्यास ,पत्रकारिता, सङ्गीत आदिलाई पद्यसँग सफलतापूर्वक् सङ्करण गर्नुभएको छ। त्यस्तै कवि स्वप्निल स्म्रितिज्यूले पनि उक्त “कथा -घुमाउने चौतारीमा काभ्राको..” भन्ने उपकथालाई पद्यसँग बडो सुन्दर ढङ्गले सङ्करण गरेको देखिन्छ।

कविको अर्को आत्मपरक कविता सपना-३मा संकेत्, संसर्ग(juxtaposition),आत्मचेतना, विखण्डन, इन्टटेक्स्ट्युअलिटी (intertextuality) संशयात्मक स्थिति ,वास्तविक संसारलाई सामना गर्ने असमर्थता ,नेपाली साहित्येतर शब्द तथा संस्कृतिको ग्रहण आदि उत्तरआधुनिक विशेषताहरू समावेश भएको देखिन्छ। यसमा सियोको टुप्पोजत्रो विषाणु मस्तिष्कमा पसेर भैँसीजत्रो भइ उनका गिदीमा हानी “छ्यालब्याल पारेको कुरा लेख्नुहुन्छ कविज्यू । यसले अमेरिकी कवि कार्ल शापिरोको कविता “द डर्टी वर्ड”मा अश्लील शब्दले पोन्डिचेरीको गिद्धजस्तै मनको पिञ्जरामा उफ्रेर आफ्नो क्रुरतापूर्ण चुच्चाले गिदीको मीठो मासु च्यातेको कुरा सम्झना गराउँछ । त्यस्तै असंख्य भँसीहरूको ‘ब्रेकडान्स’ले उनका शरीर धुलोपिठो भइ केही अंश मात्र बाँकीरहेको कुराले पनि उत्तरआधुनिक कवितामा हुनुपर्ने विखण्डन तत्वको बोध गराउँछ हामीलाई।

यसबाहेक आफ्ना कविताकृतिमा आङ्ग्ल भाषाका समसामयिक चेत बोकेका लगभग जम्मा ८३ वटा बिम्बात्मक तथा प्रतीकात्मक शब्द तथा वाक्यांशहरू र लिम्बू भाषाका लगभग २६ वटा शब्दहरू प्रयोग गर्नुभएको छ कविज्यूले जसले कृतिलाई हरेक दृष्टिभकोणले शक्तिशाली ,ओजपूर्ण र गहन बनाएका छन् । कतिपय शब्दहरूलाई नेपाली भाषामा हुबहु अनुवाद गर्न सक्दैनौ हामी जस्तै अङ्ग्रेजी शब्द imagism ,coat आदि। यदि गर्यौँष भने पनि अर्थको अनर्थ पनि हुनसक्छ। त्यसैले जसरी आएका छन् ती शब्द र वाक्यांशहरू त्यसरी नै ग्रहण गर्नुपर्छ तिनीहरूलाई हामीले । बरू सर्जकज्यूले हरेक शब्द र वाक्यांशको पाद टिप्पणी दिनुभएको भए पाठकवर्गलाई धेरै सहज र बोधगम्य हुने थियो । त्यस्तै प्रस्तुत कविताक्रितिमा कविज्यूले थुप्रै ठाउँमा लगभग २८/२९चोटि) निरपेक्ष संयोजक (coordinators) “कि” प्रयोग गरेर अभिव्यञ्जनमा एउटा नयाँ स्वाद थप्नुभएको देखिन्छ । यो शैली कवि हाङ्युग अज्ञातको कवितामा पनि कहीँ कहीँ देख्न पाउँछौँ हामी(ककपिक)।

कविज्यूका कवितामा ठाउँठाउँमा धन्यानुकरणात्मक शब्दहरू (onomatopoe ),वीप्सा, मानवीकरण,रुपक ,उपमा, अक्सिमोरोन ( oxymoron) , मिथक, प्रतीक ,बिम्ब आदि यथेष्टरुपमा प्रयोग भएका पाउँछौँ हामी। स्थानाभावले गर्दा निम्न बमोजिम केही उदाहरणहरू मात्र यहाँ उद्द्रित् गरिएका छन्: १.धन्यानुकरणात्मक शब्द(नेपाली भाषामा)—गर्ल्याम्म(प्रि. ३ ), झुर्ढुङ झडङडङ झ्वाम् झ्वाम्(प्रि. ३५)तथा लिम्बू भाषामा च्याब्रुङ बुरुङ…बुरुङ..,लुम्…लुम्…काड्याङ…कुदुङदुङ दुङ….हा?याक्(प्रि. ८१,८२) २.वीप्सा- फररर….( प्रि.3),सिरिरिरिरि…रिरिरि..( प्रि. ८२ ) ३. मानवीकरण--कि कहिलेसम्म हिँडिरहने हुन् नयाँ सालहरू ?/बूढो महेन्द्र राजामार्गमा ४. रुपक-- लेण्डुपदोर्जे(प्रि.. ३०) बुवाले बेचेको त्यो सुनको फूल आकाशमा घामजून भएछ(प्रि. ७६) । ५.उपमा-- सेती जस्तै गहिरो (प्रि. १७) ६. अक्सिमोरोन (oxymoron) -सुन्दर कालो चारकोसे मधेस (प्रि . ११) ७. मिथक— इदिपस(ग्रीक, प्रि. ८८ )।सेहोनाम्लाङ्(लिम्बू, प्रि. ६१ ) ८. प्रतीक - टैटानिकहरू (प्रि. ८ ) ९. बिम्ब - कि फूल गोड्दागोड्दै/ जन्माउनुभयो आमाले मलाई फूङबारीमा /अझै छ फूलको वासना ममा आदि ।

यसबाहेक नेपाली भाषाका वाक्यांशहरू ,लिम्बू भाषाका अनेक शब्द एवं वाक्यांशहरू ,दन्त्य, कथा एवं मिथकहरू , आङ्ग्ल भाषाका प्रशस्त वाक्यंशहरू , थुप्रै सम्झना एवं सुदूर सम्झनाहरू(कथा घुमाउने चौतारीमा काभ्राको ...,दरबार आदि) ग्रीक तथा रोमन मिथकहरू , विभिन्न म्युजिक्यालिटिहरू तथा अन्य धार्मिक आख्यानहरु , आकर्षक शैली एवं अनेक शब्दालंकारहरू आदि काव्यिक वैशिष्ट्यहरू भएको एउटा कोलाज काव्यक्रिति भन्नुपर्छ कवि स्वप्निल स्मृजतिज्यूको “बाडुली र सुदुर सम्झनालाई "।

बिसौँ शताब्दीका एक सर्वोत्क्रिष्ट अङ्ग्रेज कवि टेड ह्युजेसका अनुसार आधुनिक युगमा अत्यधिक कल्पनाशीलतालाई परित्याग गरेर व्यावहारिक प्रकारको कविता लेखनतर्फ उन्मुख भइरहेका छन् आधुनिक कविहरू । त्यस्तै कवि स्वप्निल स्मृातिज्यू का कविताहरू पनि अत्यधिक संवेगलाई छोडेर देशको विध्यमान असमञ्जसपूर्ण परिस्थितिको ससक्तपूर्ण प्रतिरोधकोरुपमा आएका व्यावहारिक, व्यङ्ग्यपूर्ण एवं टड्कारा अभिव्यक्तहरू हुन् जसले हामीलाई विकाशशील देशहरूमा भइरहेको एउटा घोर असन्तुष्टी र रुग्ण मानसिकताको स्पष्ट अवबोधन गर्छ । तर युगसापेक्ष तथा व्यावहारिक मात्र नभएर व्यक्तिको गहिरो धारणा ,मनोभाव ,मनोव्रित्ति र एहसासको पनि सम्प्रेषण गर्छन् उक्त कविताहरूले । निचोडमा भन्नु हो भने समग्र देशको जीर्ण आर्थिक, सामाजिक, राजनीतिक, सांस्क्रितिक र सैद्धान्तिक अवस्थालाई झकझोर पारी ‘संरचनामा पुनर्संरचना’ र ‘विनिर्माण’ को लागि देशव्यापी आव्ह्वान गर्नुहुन्छ कविज्यू आफ्ना कविताहरूमा । अन्तमा आगामी दिनहरूमा अझ श्रेयस्कर रचनाहरू पस्किंदै जानुहुन्छ भन्ने आशा गर्दछु। शुभकामना छ कविज्यूलाई ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।