गाउँबाट बर्खाले बेसुरको
क्रान्ति गर्दै सङ्गीत भर्छ, खोल्चा-खाल्चीमा।
अनि खोल्चा-खाल्चीको सुर संत्रास भएर
र्यानप बजाउँदै साल्दाइको चेप्टिएको नसा सन्काउँछ।
• क्रान्तिले फुकाएको
साल्दाइको घोक्रो
• क्रान्तिले सुकाएको
साल्दाइको छाला
• क्रान्तिले चुसेको
साल्दाइको रगत
डरको संग्रहालयमा पत्रांश भएर जडित छन्।
साल्दाई गायक पनि हो!
प्रायः उसले गाइरहने
गाउँको गीतमा- गखलेतो, तितेपाती,
बनमारा, बन्सो अनि अभिजालजस्ता-
शब्दहरूले मीत लगाइरहन्छन्।
गाउँबाट साल्दाइ
‘भाग्य’को डोको बोकेर निस्किएपछि
जीवनको सङ्गीत गुञ्जिन थाल्छ।
भस्मेको सुनसान पाखामा।
सधैं खुन चुस्ने भुसुनाहरू पनि
मर्माहत भएर साल्दाइको लाम्टा चुस्दै
उसको निरस जिन्दगीबाट निस्किएको धुन सुनिरहन्छ। अहो!
समयअनुसार बज्दै जानु पनि क्रान्ति हो.....
तर यहाँ क्रान्ति केवल क्रान्ति छ!
क्रान्तिले सुकाएको खोल्चा-खाल्चीको
ह्याकुला टेक्दै भाग्यको तालु मसार्न
साल्दाइले बिर्सेको छैन।
यो उसको पुस्तेनी इलम हो।
इलमले साल्दाइको थाप्लोमा पुस्तेनी रेखा खिचेको छ,
जहाँबाट ऊ दिनहुँ मर्दै-बाँच्दै हिँड्ने गर्छ।
जति गाउनु थियो उसले
गाए गाउँको गीत तर गीतले क्रान्ति नै
नगरेपछि साल्दाइले गाउन छोडे।
साल्दाइले गाउन छोडेपछि यो गाउँको गीत
हिजअस्ति मात्रै
भोटेले गाएर गयो-
“हातको मैला सुनको थैला के गर्नु धनले
साग र सिस्नु खोएको बेस आनन्दी मनले।”
पेशोक चियाबारी