18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शारदा पाठक ‘केवल’को टिपन–टापन नियाल्दा

कृति/समीक्षा सदानन्द अभागी October 5, 2013, 2:32 pm
सदानन्द अभागी
सदानन्द अभागी

परिचय

शारदा पाठक ‘केवल’ को जन्म लाङ्दी, गोरखामा बुबा स्व. लोकनाथ पाठक र आमा स्व.टुल्ककुमारी पाठकको सुपुत्रीको रूपमा भएको थियो । हाल उहाँको बसोबास रवि भवन , कठमाण्डौंमा छ । उहा,ँ जनप्रशासन, त्रिभुवन युनिभर्सिटी , नेपाल बाट एम्.पि.ए. र ःब् न्भलमभच ध्यmभल बलम म्भखभयिऊभलत क्ष्क्क्, ल्भतजभचबिलमक बाट डिग्री हाँसिल गरिसक्नुभएकी एक विदुषी नारीहस्ताक्षर हुनुहुन्छ । बालबालिका तथा महिला उत्थान क्षेत्रमा उहाँको सेवा पुगि रहेको छ । उहाँले हालसम्म तस्वीरभित्रको मन(गीत, कविता र गजल, २०६९), लरबरिएका आवाजहरू (गजलसङ्ग्रह, २०६९) र टिपन–टापन( लेख–रचनासङ्ग्रह, २०७०) प्रकाशित गरिसक्नु भएको छ । उहाँको लेखरचना हामीले मेचीकाली, नेपालभूमि र विविध पत्रपत्रिकामा अध्ययन गर्न पनि पाउँछौं । उहाँको केवलका गजलहरू (गजलसङ्ग्रह) प्रकाशोन्मुख कृतिको रूपमा तयार रहेको छ । उहाँ पल्लव साहित्य प्रतिष्ठान, चितवनको आजीवन सदस्यमा आवद्ध हुनुहुन्छ ।

शारदाजीसँग ,२०७०÷५÷१० गते चितवन नारायणगढमा नेपालभित्रका मात्र नभएर, भारत, बङ््गला देशमा रही साहित्य साधना गर्ने सहभागी कविहरूको बृहत, साहित्यिक गोष्ठीमा, उहाँको यो कृति विमोचन भएको थियो । विदुषी शारदासँग सात्क्षातकार त भइयो, कृति विमोचन पछि यो कृति पनि हात लाग्यो तर बोलचाल भने हुनसकेन । जेहोस् उहाँको कृतिले उहाँको परिचय गरायो । टिपन–टाजन पढें । मलाइ पनि लाग्यो केही टिपन–टापन गरिहालुँ न त भनि केही शब्द कोर्ने प्रयास गरेको छु । उहाँले यस कृतिमा पोखेका अभिव्यक्तिले के जनाउँछ भने उहाँ हृदयबाटमात्र नभै, मष्किबाट पनि सञ्चालित हुनुहुन्छ ।

कृतिको संरचना कृति (२६+७२)=९८ पृष्ठको छ । बरिष्ठ साहित्यकारहरूका शब्दसुमनले सिङ्गारिए छ कृति । २०वटा टिपन–टापन कृतिभित्र छरिएका छन् र तिनै टिपन टापनले भरिएका छन् कृतिका पानाहरू ।

विभिन्न साहित्कारको नजरमा शारदा र शारदाका टिपन–टापन

यस कृतिको भूमिका लेखन बरिष्ठ साहित्यकार केशबराज आमोदीले लेख्नु भएको छ ।उहाँले शारदाको बारेमा लेख्नुहून्छ–‘शारदाको कवि–हृदयमा कविताका छाँगा–छहराहरूविद्यमान छन् , किनकि उनी विद्याकी अधिष्ठात्री देवी शारदाकी मानसपुत्री शारदा हुन्’। कृतिको बारेमा आमोदीजी लेख्नुहुन्छ– ‘म यतिखेर टिपन–टापनभित्रै पौडिदै र डुब्दै छु मलाई यसले चरम आनन्द दिईरहेको छ । म अह्लादित हुँदै पङ्क्ति–पङ्क्तिमा छचाल्किरहेछु । यसभित्रजम्मै ब्रह्माण्ड समाहित भएको छ । देश र जनताको वास्तविक चित्र उतारेको छ । यो कृति , मानवतावाद देखि स्वच्छन्दतावादसम्म तन्किएको छ र युगवोधदेखि विश्वजनीनवोधसम्म फैलिएको छ ’

‘आख्यान, कथा, आलेख र अनुभूतिहरूको सँगालो टिपन–टापन’ शीर्षकमा मेदिनी प्रसाद पौडेलज्यूले आजसम्म कुनै कृतिको भूमिका लेखेको छैन भन्दा –भन्दै पनि यस कृतिको सन्तुलित र यथार्थपरक भूमिका लेख्नु भएको छ । उहाँले लेख्नुहून्छ –‘ आफ्ना अनुभवहरूलाई अति सुन्दर कथाशिल्पमा रूपान्तर गर्नसक्नु शारदाजीको साहित्यिक विशिष्टता हो’ ।

‘दुर्गम भोगाइ सुगम सोचाइ’ शीर्षकमा सन्तोष सिटौललाले यस टिपन–टापनको बारेमा टिप्पणी गर्नु भएको छ –‘सिङ्गो जीवन एउटा साहित्य हो अनि जीवन भोगाइका पाटाहरू यसका विधाहरू हुन् । कसले कसरी जीवन भेग्यो भन्नु भन्दा पनि जीवन भोग्दा भेटिएका अप्ठ्यारो र उकालाले कुन साहित्य जन्मायो भनेर विश्लेषण गरिनुपर्छ जस्तो मलाई लाग्छ । हो त्यही दुर्गम भोगेर सुगम साहित्य जन्माउने स्रष्टाको यो तेस्रो कृतिको बारेमा केही लेख्न पाउँदा म फुर्किएको छु’ । सिटौलाजीले छोटो तर मीठो टिप्पणी गर्नु भएको छ । उहाँले शारदाजीलाई सशक्त नारी हस्ताक्षर ठान्नुहुन्छ र उहाँको साहित्यमा वास्तविकता पाउँनुहुन्छ ।

‘टिपन –टापनलाई नियाल्दा’ शीर्षकमा स्वयम् कृतिकारको कथनहरू पनि मनन् योग्य छन् । उहाँको धारणा कसरी लेखनयात्राको थालनी हुन्छ भन्ने कुरालाई सर्बप्रथम प्रष्ट्याउन खोज्नुभएको छ । हामीले ठूला ठूला व्यक्तित्वहरूको तथा साहित्यकारको जीवनी केलाउँदा जीवनका भोगाई तथा जीवनका चोटहरूले मन मस्तिष्कलाई छुन्छ अनि भावनाको भल बग्छ । वाल्मीकि, सुरदास र आदिकवि भनुभक्तको जीवनमा परेका भोगाइको नतिजा नै हो रामायणजस्ता महाकाव्यको सिर्जना । यहाँ शारदाजी पनि लेख्नुहुन्छ –‘समथर खोज्दा–खोज्दै बाटो बाङ्गिन लाग्दा खुट्टामा ठेस लाग्छ । अनि मन मस्तिष्कमा चोट लाग्दछ । जब चोटको झट्का लाग्दछ अनि शब्द तथा भावना बनेर विस्फोट हुन्छ । समय–समयमा लागेका झट्काको प्रतिबिम्ब बनेर यो टिपन–टापन पाठकको बीचमा आएको छ’ ।

साहित्य समाजको दर्पण हो । समाजका यथार्थ घटनाक्रमलाई जबसम्म प्रदर्शन राम्रोसँग गर्न सकिदैन तबसम्म पाठकले स्वाद मानेर साहित्य चाख्दैन । जबसम्म समाजले यथार्थतालाई अङ्गिकार गर्दैन तबसम्म समाजमा परिवर्तन आउँदैन । शन्देस भनेको सिर्जनाको लागि परिवर्तनको लागि प्रदान गरिने मार्गदर्शन हो । यहाँ मैले प्रष्ट्याउन खोजेको यथार्थता भनेको शारदाजीको यो टिपन–टापन समयसापेक्ष भएका घटेका घटनालाई, आफ्नै जीवनमा घटेका तथा भोगेका भोगाइलाई लिपिबद्ध गरिएको छ ।

कृतिभित्र प्रवेश गर्दा–

प्रथम शीर्षक छ ‘जन्मदिनको उपहार’ । मलाई भन्न मन लाग्छ, यस लेखमा शारदाजीले आफ्नो श्रीमानको जन्म दिनमा उपहारको लागि तयार पारिएको, जीवन घटनाको अभिनन्दन पुष्पपत्र हो । यस अभिनन्दमा श्रीमान श्रीमतीका बीचमा भएका तथा जीवनमा घटेका घटनाक्रमलाई भावनात्मकरूपमा प्रस्तुत गर्नु भएको छ । यसमा शारदाजीले प्रेमिका र श्रीमतीमा फरक हुने फरक, असल श्रीमानमा हुने गुण र असल श्रीमतीमा हुनुपर्ने गुणहरूको बारेमा प्रष्ट्याउनु भएको छ । जो जस्ताको त्यस्तै यहाँ राखिदिन मन लाग्यो –

प्रेमिका

१ बराबर सम्मान (भावनाको कदर) –

२ अनुभूतिको अधिकार (मनोवैज्ञानिक)–

३ लवाइ खवाइमा ध्यान तथा विशेष रुचि–

४ आत्मसन्मानमुखी झगडा –

५ उपहारमुखी( खर्चको हिसाब नमाग्ने नगर्ने–

६ गोप्य–

७ चन्द्रमुखी–

श्रीमती

१ सामाजिक भूमिकाको अवलम्वन

२ सामाजिक वैधानिक अधिकार

३ विशेष ख्याल नगरिने

४ आधारभूत आवश्यक्ता सम्बन्धी झगडा

५ बजेटको एक÷एक हिसाव माग्ने

६ सार्बजनिक

७ ज्वालामुखी

शारदाजीको प्रेम विवाह सफल देखिन्छ किनकि उहाँले एक श्रमितीको भूमिक के र एक प्रेमिकाको भूमिका के भन्ने कुरालाई आत्मसात गरेर आफ्नो जीनको गोरेटोमा अगाडी बढीरहनु भएको छ । कतिपय प्रेमविवाहहरूको नतिजा दर्दनाक भएको पाइन्छ । किनकि ती जोडीहरूले माथी उल्लेखित बुँदाहरूलाई ख्यालै नगरी आफ्नो आफ्नो अडानको बाटोको –प्रेमिका र प्रमीको बाटोमा नै रहेर आफ्नो जीवन मार्ग अगाडी बढाएका छन् र श्रीमती श्रीमानको भूमिकाको मार्गलाई अवलम्वन गर्न सकेका छैनन् ।

असल श्रीमानमा हुनुपर्ने गुण

शारदाजीले असल श्रीमान हुनलाई चाहिने गुणहरूको बारेमा पनि आफ्ना धारणा राख्नु भएको छ – अम्मल नगर्ने (जाँड, रक्सी चुरोट आदि), श्रीमतीसँग सरसल्लाह लिने, भावनाको कदर गर्ने, रोजगार प्राप्त गरेको हुनुपर्ने, श्रीमतीलाई नपिटने र अरू केटीहरूप्रति आँखा नलगाउने, श्रीमतीको माइतको वास्ता गर्ने, ससुरालीबाट धनसम्पत्ति नखोज्ने, छोराछोरीको हेरविचार गर्ने, घरयासी काममा सहयोग गर्ने । समाजका कुराकानीमा श्रीमतीको भूमिकाको महत्त्व दिने । बास्तवमा माथी लेखिएका बुँदाहरूलाई मनन गर्दा सबै बुँदा सबैमा लागु नहुन पनि सक्छन् जस्तै रोजगारको कुरा नै उदाहरणमा लिन सकिन्छ तर एउटा श्रीमानमा हुनुपर्ने गुण भनेको एउटा श्रीमानले भएको नाताले आफ्नो दायित्वलाई बुझेकै हुनुपर्दछ र समाज र श्रीमतीले मन नपराउने खालका कुकर्महरूलाई अङ्गाल्दै हिड्न अवश्य हुन्न ।

शारदाजीले असल श्रीमतीमा हुनुपर्ने गुणहरू पनि औंल्याउनु भएको छ –

हँसिली, जाँगरिली, घरपरिवार तथा पाहुनाहरूको सम्मान गर्ने, शिक्षित , विवेकी, चेतनशील भएकी,लोग्नेको विशेष ख्याल राख्ने वा माया गर्ने, घरको सुख दुःखमा साथ दिने, लोग्नेका केही साथीहरूप्रति राम्रो व्यवहार गर्ने, र नम्रस्वभावकी , नझोक्किने लक्षिन भएकी ।

शारदाजीका यी सारगर्भित उद्गारहरू निश्चय नै एउटा आनन्दित र सुखमय पारिवारिक जीवनको लागि मार्गदर्शन बन्न सक्छन् । तर जीवनपथमा अग्रसर हुँदा हाम्रो समाजिक रीतिरिवाज र समाजिक चेतनाले गर्दा निश्चय नै जीवनामार्ग संघर्षशील छ । संघर्षमा जुट्नभने अवश्य पर्दछ ।

‘मोवाइलले थर्कायो अनि फकायो युवकलाई’ः– यस लेखमा शारदाजीले आजको युवा तथा युवतीहरू मोवाइलमा अकर्षित छन् र यसबाट फाइदा पनि छ र वेफाइदा पनि छ भन्ने यथार्थता पस्कनु भएको छ । कतिको जीवन नै बबादिैतिर धकेलिएको छ । कतिको जीवनमा यो सहयोगी सिद्ध भएको छ । शारदाजीले एकजना किशोरीले एकजना जड्याहा युवकलाई कानुनको दायरामा ल्याएर सज्जन बनाउन र पछि उसैसँग विवाहको बन्धनमा बाँधिन तयार रहेको घटनालाई उदाहरणको रूपमा प्रस्तुत गर्नुभएको छ ।

‘धेरैपछि रत्नपार्क घुम्दा’ः–यो लेखमा शारदाजीले एउटा यथार्थपरक र मार्मिक अनुभवलाई प्रस्तुत गर्नु भएकोे छ । कुनै पनि महिला साँझपख रत्नपार्कमा प्रवेशगर्दा, कुभावना तथा कुदृष्टिको शिकार हुनुपर्ने समभावना धेरै रहेको र त्यसमा सरकारको ध्यान जानुपर्ने र यस्ता कुकर्मलाई समयमै रोकथाम गर्नुपर्ने सुझाव कृतिकारको छ ।

‘कलाशिल्पी पोडेलजीलाई भेटेपछि’ः– यस शीर्षकमा कृतिकारले रमेश पौडेलजीको जीवनघटना, पारिवारिक जीवनमा उहाँले पारेको सकरात्म प्रभाव, उहाँको सहयोगी भावना र धारणाको मुद्धकण्ठले प्रसंसागर्न र उहाँले लगाएको गुणको अमूल्य व्यक्तित्वको प्रश्सा गर्दै यो लेख पस्कनुभएको छ ।

‘लाइबे्ररीमा बस्दा’ः– यो लेखमा शारदाजीको ध्यान महिलाहरूले आफ्ना बालबालिक तथा घरको व्यवस्थापनको साथै जागिरमा सहभागी भएर कार्यालयको जिम्मेवारी बहन गर्दछन् भन्ने धारणा राख्नु भएको छ । महिललाले कार्यालयमा स्वीटर बुन्छन् भन्ने विरोधको कुरा पनि उठाउनु भएको छ र उनीहरूले आफ्नो काम पुरुषसरह नै गर्न सक्नुपर्दछ भन्ने धारणा पनि राख्नुभएको छ । मेरो धारणामा कार्यालयको काम सकिएपछि या काम नभएपछि हावादारी गफमा अलमलिनुभन्दा हातखाली नराख्नु सिर्जना र आर्थिक उत्पादनलाई टेवादिनु हो र यस्ताकर्म गर्दा व्यक्ति तथा राष्ट्रलाई नै आर्थिक टेवा मिल्छ ।

‘मिस कल’ –यो लेखमा शारदाजीले मिसकल शब्दप्रति नकरात्मक प्रभाव रहेको, मिसकल गरिने कारणमा छवटा कारणको प्रस्तुति ( कुनै कुराको स्मरण गराउन ÷सम्झना आएर, व्यालेन्स नभएर,आफ्नो व्यालेन्स सकिन्छ भन्ने लोभले, जिस्काउने वाहनामा, सम्पर्क बढाउनका लागि र काममा व्यस्त नभएर) गर्नु भएको छ । एकजोडीको विवाह यही मिसकलले तोडिएको उदाहरणसमेत प्रस्तुत गर्नु भएको छ । शारदाजीको यो कथनमा मेरो भोगाइको कुरा पनि राख्न मन लाग्यो । मलाई आउने कलहरू सबै जसो मिसकल हुन्छन् कारण मैले प्राय कलको घन्टी सुन्दिन । तर एक पटक रामेछापको धोवीको नजिकैको गाउँमा गोठेमल तालिमको व्यवहरिक कक्षा सिध्याएर बाटोमा हिडिरहेका थियौं । तीन जनाको मोवाइलको घन्टी एकैचोटी बज्यो तर तीनवटै मिसकल थिए । कति मिसकल गर्ने हुन् एक जना किशोरीले झर्किदै भनिन् । अर्किले भनिन् अव के गर्ने ? म मजाक गर्ने मानिस, मैले पनि किसकल गर्ने भने । समूहमा १५÷२० जना थियौं सबैले गडगडाहट छाडेर हाँसियो । म प्रशिक्षक भएको र मेरा साथमा भएका सबै प्रशिक्षार्थीहरूले किसकलको पनि जानकारी गराउनु प¥यो भन्न थाले । मैले घन्टी आएर उठाउन नपाउँदै या घन्टी आएर नउठाए पछि देखिने कल भनेको मिसकल भयो । अनि मोवाइलमा दुबैतिरबाट कुरा गरियो भने किसकल भयो मैले अथ्र्याएँ । पुन ः एकपटक गडगडाहटको हँसाइ हाँसियो र म मेरो मिसकलको लागि कलगर्न थाले दुर्भाग्य त्यो मिसकल नभएर दुःखान्त घटनालाई सुनाउन नचाहेर गरिएको मिसकल थियो ।

‘महिला जनसङ्ख्या बढेको त्रास’– यो लेखमा जनगणाले महिलाको सङ्ख्या बढी देखाएको र पुरुषले यसमा व्यङ्ग गर्दै एक जनालाई दुईटी महिला पुग्ने भए तथा अब लोग्ने पाउन गाह्रो छ भन्ने आवाजमा शाराजकिो कथन यस प्रकार छ – ‘आशाजस्ता अधकल्चा मनस्थितिहरूको नकरात्मक मनोवैज्ञानिक सोचाइ बढिरहेको छ । ’ यसको प्रभाव समाजमा नकरात्मक पर्ने भएकोले जनशङ्ख्या विदले जनसङ्ख्याको चाप कुन उमेर–समूहमा सो प्रष्ट्याउन पर्ने सुझाव दिनुहुन्छ र हल्लाको पछाडी गुड्ने समाजलाई ठीक ट्रयाकमा ल्याउने हो कि भन्ने प्रश्न खडा गर्नु भएको छ । बास्तवमा यहाँ हामीले बुभ्mनपर्ने कुरा के भने जबसम्म हाम्रो समाजले छोरा र छोरीमा कुनै भेदभाव छैन बाबुको सम्पत्ति खानको लागि र बाबुआमालाई तर्पण दिएर किरिया गरेर स्वर्ग पठाउनको लागि छोरो नै चाहिन्छ भन्ने अवधारणाबाट मुक्ति पाउँदैन तबसम्म छोरीको संख्या बढ्छ नै किनकी छोरी जति जन्मे पनि छोराको जन्म नभएसम्म परिवार नियोजन नगर्ने चलन छ र यसमा पुरुष भन्दा महिलामै धेरै जागरुकता आउनु आवह्श्यक छ ।

‘मेरो फिल्ड भ्रमणको एक हिस्सा’ः– यो लेखमा एक जना मानिसले रक्सी पिएको हुन्छ । ऊ खाना नखाई पल्टन्छ अनि कृतिकारलाई छोराछोरी सबै सज्जन राम्रो अध्ययनमा रहेको र उहाँ पनि एक राम्रो मानिस भएको जानकारी होटेलवालीले दिन्छिन् । लेखिकाले विहान उक्त व्यक्तिलाई –‘यो छातिभित्र सबैलाई अटाउन मनलाग्छ । बिकृति र बिसङ्गति हटाउन मन लाग्छ तर के यस्तो तत्त्व छ यो रक्सी भन्ने चिजमा’ भन्ने प्रश्न राख्दा दुई घन्टापछि यसको उत्तर दिने जवाफ पाएपछि कृतिकारले स्वीकृति जनाउनु र कृतिकार लक्षहाँसिल गरेर सदरमुकाम फर्केको सातौं दिनमा एकजना अपरिचत मानिसले कृतिकारलाई एउटा खाम दिएर जान्छ । ‘खाममा लेखिएको थियो’, ‘मैले किन रक्सि खाएँ र आजैदेखि नै म रक्सि पिउने बन्द गर्ने सङ्कल्प गर्दैछु ।’ उक्त पत्र ५पृष्ठको रहेको र पत्रको सारमा रक्सी पिउन सिकाउने पनि महिला र रक्सी खान बन्द गराउन जोड गर्ने पनि महिला नै रहेको लेखिएको थिये । कृतिकारमा, यस घटनाले कौतुहलताले डेरा जमाउँछ र उहाँ प्रश्नबाची हुनुहुन्छ – ‘नारीमा के त्यस्तो तत्त्व छ , जसले राम्रो र नराम्रो दुबैको हिस्सेदार हुनुपर्ने ? ’

‘अनलाइनमा हजुरआमा’ः– यस लेखमा आजको फेसबुकको करामत दर्शाइएको छ । यसमा एउटा युवकले बेस्ट गर्लफ्रेण्डको खोजी गर्दा, खोजीमा युवतीहरूले साथ नदिए पछि एकजना आमाको उमेरकी महिलाले उसले गर्न खोजेको बार्तामा स।थदिनु र बेस्ट फ्रेण्ड बनाउँछु भन्दा, यो बनाउनेकुरा नभएर आँफै हुने प्रकृया हो भन्ने जानकारी गराएपछि पनि युवकले वेस्टफ्रेण्ड बनाउने आग्रह गर्दा त्यो आग्रह स्वीकार्य गरेरे जीवन घटनाको बारेमा दुबैमा भावनाको आदानप्रदान हुँदै शुभसन्देश र सुमार्गमा चल्ने मार्गदर्शन युवकले पाउनु र युवकले ‘ मेरो हजुरआमा मेरो बेस्ट फ्रेण्ड अनलाइनमा आजभोली भनेर ठूलो आवाजमा कराए पछि लेख समाप्त हुन्छ ।

‘धन्य जीवन ! धन्य मित्रता! !!’– दसौं बर्ष पुरानो विदेशी भूमिमा भेट भएको एक जान मित्रले इमेल पठाउनु र इमेलमा धन्यवाद फर्काउनु, यसरी धन्यवाद फर्काए पछि जागिरे जीवनमा हलचाल आउनु, पारिवारिक मनमा पनि केही चिसो पस्नु, उसको लेखाई आकर्षक भएको र उसको केही लेखाइमा कृतिकारले कमेन्ट गर्ने, उसले पनि कृतिकारको लेखाइमा कमेन्ट गर्ने । तर उसले फ्रेण्डको रूपमा रेक्वेस्ट पनि नगर्ने र रेक्वेस्ट पठाउँदा एक्सेप्ट पनि नगर्ने तर कृतिकारको लेखाईमा भने कमेन्ट गर्ने यो कृयाकलापमा लेखकको भनाइ छ –‘मैले यो बुभ्mन सकिनँ । साँच्चै हो अपरिभाषित अन्तरसम्बन्धको कुरा बुभ्mन त मैले पनि सकेको छैन’ । दुबै जना पवित्र धारणामा रहेर पनि मित्र नेपाल आउँदा भेट गर्ने दुबैको चाहना हुँदाहुँदै नाटकीय ढङ्गबाट भेटहुन गुम्यो । पछि उसले टेलीफोन गर्दा पारिवारिक कुरा सोद्धा र उसले फोन गर्दा कृतिकार निदाउँदा फोन सम्पर्क हुन सकेन र त्यस पछि कुनै सम्पर्क रहेन र नाता पनि रहेन । ‘पागलप्रेमीहरू बढ्दै छन्’ – यस शीर्षकमा पनि फेसबुक ÷मोवाइलको विकृतिसँग सम्बन्धीत छ । अनमेल जातसँगको मोवाइल सम्पर्क ्विवाह हुन नसकेको तर मोवाइल वार्ता भङ्ग नभएको साथै फेसबुकमा विपरीत लिङ्गीहरू यौनसम्बन्धी बार्ता गर्न चाहने, चाहे प्रौढ युवा युवती हुन् या किशोरी र बृद्ध, सानो उमेरका वालक र बृद्धाको बीचको बार्ता सम्बन्धमा यो लेख लेखिएको छ । कृतिकारको ठम्याईमा यौन आवश्यकता र स्वतन्त्रता खोजी रहेको छ समाजले भन्ने धारणा छ । कृतिकारले इन्टरनेटको प्रभाव या समाजको बदलिँदो स्वभाव हो यस सम्बन्धमा अनुसन्धान हुनुपर्ने र यस लेखबाट पागल प्रेमीको संख्या बढ्दो छ भन्ने सन्देश दिन चाहेकी छन् कृतिकारले ।

‘यौनसँग जोडिएको महिलाको जिन्दगी’ – यस लेखमा दुबै विवाहित महिला पुरुष एउटै अफिसमा काम गर्दछन् । दुबै जनाबीच सम्पर्क बढ्न थालेपछि महिलाको पतिले सम्बन्धबिच्छेद गर्नको लागि मुद्दा दिएको हुन्छ । महिलाले अलग डेरा गरेर बस्न बाध्य हुन्छिन् । अलग्गै डेरा गरेर बस्न थालेपछि प्रेमी पुरुषलाई सम्पर्कमा आउन सजिलो हुन्छ । त्यही अफिसको अर्को युवकले ती महिला माथी यौन शोषण गर्दा पहिलो पुरुषलाई थाहा लाग्छ र उसले ती महिलालाई गालामा हानेर हिड्छ । ती महिला हस्पिटलमा उपचार गराउँदा गर्भवती भएको जानकारी पाउँछिन् । यसरी तहसनहस हुन्छ ती महिलाको जिन्दगी । यहाँ पुरुषले गरेको यौन शोषणलाई प्रमाणिकरूपमा दर्शाइएको छ ।

‘छोरीलाई पत्र’ – यस लेखमा एउटी प्रौढ महिलासँग आफ्नै छोरीको उमेरको केटाले फेसबुक माफर्त भावनात्मक प्रेम–सम्बन्ध( यौनिक सम्बन्ध होइन)मा छोरीलाई आमामाथि सङ्का उब्जन्छ । त्यो सङ्का निवारणको लागि आमाले छोरीलाई पत्र लेख्छिन् ।

‘विश्वास’– कृतिकारले कुनै कामको थालनी तथा यात्रागर्दा हात्ती देखेमा साइतपर्ने ÷काम सुसम्पन्नहुने विश्वास, आफ्नो जीवनमा घटेका घटनाको आधरमा, गर्नु भएको धारणा राख्नु भएको छ ।

‘हाकिमहरूको रासलीला’, – यस लेखमा २०५४साल, पौष १७ गते बुटवलबाट प्रकाशित हुने नयाँ दिशा दैनिकमा उहाँको नाम जोडेर भूmटा समाचार प्रकाशित भएको हुन्छ । यस समाचारमा कृतिकारलाई निकै तनाव बढ्छ । यस समाचारप्रति कसैले गहिरो विश्लेषण गर्नुभन्दा समाचार फैलिनेकाम बढ्ता हुन्छ र केन्द्रसम्म पुग्छ । केन्द्रले पनि यो समाचारमा सत्यता छैन भन्नसक्दैन र शङ्काको दृष्टिले नै हेर्दछ । आखिरमा कृतिकारले स्वविश्लेषण गरेर भन्नुहुन्छ –‘ केन्द्रले तेरो अग्रपङ्क्तिको स्टाटसलाई ईष्र्याा गरिरहेको छ भने जिललामा तँबाट कसैले पनि व्यक्तिगत मुनाफा पाउन सकेनन् । त्यसैले चरित्रहत्या गरेर नैतिकता घटाउन लेखिएको यो समचारले पनि चारगुना आत्मसम्मान बढाएको देख्दा यो लेखिका दङ्दास छे ।’ बास्तवमा पत्रकारले पनि समाचार बनाउँदा कसैको व्यक्तिगत जीवनसँग खेलवाड गरेर समाचार लेख्न हुँदैन । यस्ता समाचार लेखनले पत्रकारको पनि व्यक्तित्वमाथी नै प्रश्न चिन्ह खडा गर्दछ र पत्रिका र पत्रकार दुबैको स्तर घटेर जान्छ ।

‘दुर्गम र म’ – यस लेखमा लेखिकाले दुर्गममा काम गर्न जानको लागि समस्या हुन्छ । गए पछि गाउँमा खुट्टातान्ने परम्परा, तल्लो लेबलको राजनीति, जाँडरक्सी, बालविवाह, बहुविवाह चलन, विकासका मोडेल, विकासका काम गर्ने मान्छे, दुर्गमको परिस्थिति, अनुगमन, मूल्याङ्कन आदिमा तारतम्य मिलेको हुँदैन । यस्ता कारणले गर्दा दुर्गमको विकास हुन सकेको छैन । लेखिकाको, दुर्गमको विकास नै चाहने हो भने ‘ दुर्गममा जागिर खान होइन, काम गर्न आउने वातावरणको सिर्जना हुनुपर्दछ भन्ने सुझाव पनि छ ।

‘रोबोटजस्ता मान्छे’ – यस लेखमा राष्ट्रिय अन्तराष्ट्रिय संस्थामा काम गर्ने मानिसहरूले रोबटजस्तै काम गर्ने र तिनीहरूमा विवेकमा शून्यता, बोलाइमा मीठासले भरिएको, कुटनीतिक शब्दको प्रयोगमा सिपालु, युवाहरूलाई प्रयोग गर्ने, रगत निकाल्ने र युवाहरूबाट काम लिइसकेपछि सजिलै प्mयाक्ने प्रबृत्ति हुन्छ । कृतिकारले उनीस्हरूलाई स्थायी मेशीनको रूपमा लिनु र अस्थायी मेशीन जम्मा गर्नु, अस्थाइ मेशीन काम नलाग्ने बनाएर फ्याकिदिनुजस्ता व्यङ्गबाणले लेखलाई सिङ्गारर्नु भएको छ ।

‘सुइट सिक्स्टिन’ ः– यस लेखमा लेखिकाले एक जना बृद्धव्यक्तिसँग फेसबुकमा कुरा गर्नु हुन्छ । बृद्धव्यक्तिले विदेशी बृद्धमहिला र नेपाली महिलामा देखिने व्यवहारिक भिन्नताको बारेमा कुरागर्दै मानिसको उमेर बृद्ध भए पनि मन बूढो नहुने मीठासपूर्ण धारणाहरू राख्दछन् । बास्तवमा मलाई पनि कस्तो लाग्छ भने सिर्जनशील मानिस उमेरले बूठो भए पनि सिर्जनामा कहिलै बूढो हुँदैन । मानिसमा हुनुपर्ने सकरात्मक सोच, बिचार, व्यवहार र सिर्जनाको कर्मशीलता छ भन्ने सिर्जनालाई व्यवहारमा उतार्न मानिसको उमेरले छेक्दैन, जीवनको उत्तरार्ध पनि सकृय जीवनमा बाँच्न सकिन्छ । लेखिका र बृद्धमानिस बीचको गफलाई लेखिकाले यो गफमात्रै नभएर त्यसमा दम भएको र यथार्थता भएको पाउनु र हाम्रो समाज परिमार्जन हुन खोज्दै छ भन्ने सन्देश दिन पनि पछिपर्नु भएको छैन ।

‘टिपन–टापन’ ः– यसै शीर्षकबाटै कृतिकोे नामाकरण गरिएको छ । यो पद्यमा रचिएको छ भने अरू सबै गद्यमा रचिएका छन् । १३वटा गजलका शेरहरूकारूपमा देखिएका छन् भने पाँचवटा मुक्तकहरू समावेश गरिएको देखिन्छ साथै एउटा सातहरफको कविता पनि समावेश गरिएको पाइन्छ । यस कृतिमा समावेश गरिएको यो एउटा नौलो प्रस्तुति हो भन्न सकिन्छ । टिपन –टापनका एक दुई श्लोक हे¥यौं–

सागर रिक्तिएको बेला तिमी र्खिायौ , संयोग न हो

मरिसकेको लाशमा , फेरि हिर्कायौ, संयोग न हो

ड्ड ( ८ ( ८

फोटो राम्रो हुँदैमा मान्छे राम्रो हुन्छ र ?

अब मैले नयाँ कथा सिर्जनु नै पर्छ

ड्ड ( ८ ( ८

लाली लगाएँ , गाजल लगाएँ ।

छमछम बज्ने पायल लगाएँ ।

चौबन्दि चोली छ, छिटको फरिया

मुटुलाई देखाउन मलमल लगाएँ

‘गोली चलेको रात’ – यो २०६२ सालज, चैत्र महिनाको १० गते शुक्रबार कपिलबस्तुको सदरमुकाममा माओवादीले आक्रमण गरेको घटनालाई प्रस्तुत गरिएको छ । यो घटनामा ७ जना आतङ्ककारी र ३ जना प्रहरी तथा आर्मीहरूले वीरगति प्राप्त गरेका थिए । ५–७वटा अफिसहरू ध्वस्त भएका थिए । कृतिकारलाई पिसाब लागेर पिसाब फेर्न जान पनि नसकेर एउटा कुनामा ब्ल्यान्केट थुपारेर त्यसैमा पिसाब फेरेको र कृतिकारको मानसपटलमा गोली चलेको रात कालो रात बनेर घुमिरहेको छ भन्ने धारणा यहाँ प्रस्तुत गरिएको छ । यस देशले भोगेको दन्दको परिणतिलाई यहाँ दर्शाउने प्रयास गरिएको छ ।

यहाँ लेखिएका यी टिपन–टापन काठमाण्डौ, नवलपरासी र दुर्गम जिल्ला जाजरकोटको परिवेशमा लेखिएका हुन् । भाषाशैली सरल र सबैले बुभ्mन सक्ने खालको छ । अधिकांस घटनाक्रमहरू सत्यतामा आधारित छन् । लेखन शैली राम्रो छ । भन्न चाहेका सबै भावनाहरू सलल बग्ने गरी बगाइएका छन् । लेखले आज देशमा देखिएको विकृति, विशङ्गति, हत्या, हिंसा, अराजकता, अतिचार, व्यभिचार, यौनाचार, युवाबर्ग मोवाइल, अन्लाइन र फेसबुकतिर झुकेको, पतिपत्नीमा यिनै कारणले गर्दा जीवन नै तहसनहसमा पुगेको, फेसबुकमा बातचित गर्न उमेरले नछेकेको , पत्रकारले गलत समाचार सम्प्रेपण गर्ने परिपाटी, आजको परिपर्तित युगमा समाजमा परिवर्तन आउन नसकेको तर समयले र समाजले भने परिवर्तनतिर उन्मुख हुन खोजेको आदि विविधताले भरिएका छन् लेखहरू । यस कृतिमार्फत कृतिकारले समाजलाई चनाखो हुन, आजको सकरात्मक अग्रगमनमा सहभागी हुन र नकरात्मक पक्षलाई त्याग्ने सन्देश दिएको पाइन्छ ।

सङ्क्षेपमा भन्नु पर्दा साहित्य समाजको दर्पण हो । समाजका यावत कृयाकलापहरू साहित्यमा अट्दछन् भन्ने उदाहरण सहित शारदाले यस कृतिमा तीतोसत्य समावेश गर्न सफल देखिनु भएको छ । सत्यतामा आधारित यो सुन्दर भावनाले भरिएको यो कृति साच्चि नै पठनीय छ, सङ्ग्रहणीय र अनुकरणीय छ । के कृतिमा कुनै कमीकमजोरी छैन भन्ने प्रश्न उठ्न सक्छ । त्रुटिहरू अवश्य रहन्छन् तर सुधारहुँदै जानेक्रम भने निरन्तरताले ल्याउँछ नै । यस्ता यथार्थपरक लेखले बिकृतिलाई घटाउँदै समाजलाई सुमार्गमा चल्न सिकाउने भएकोले शारदाजीले निरन्तरता दिनुहुने नै छ । अतः टिपन–टापनकी कृतिकारलाई मुरी मुरी धन्यवाद छ भन्दै विदा चाहान्छु ।

शान्तिचोक, कावासोती–१, नवलपरासी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।