झापाको जुरोपानी ४ मा जन्मेका कवि तथा गजलकार परशुराम पराजुली ‘पराशर’ वि.सं. २०४८ सालदेखि साहित्यका क्षेत्रमा उदाएका सशक्त प्रतिभा हुन् । फुटकर रचना देशका मुख्यमुख्य पत्रिकामा छापिएपछि एकाएक चर्चामा आएका कवि पराजुलीले कविता तथा गजलको एकमुष्ठ सँगालो ‘परिचय’ कविता सङ्ग्रह) नामक कविता–गजल सङ्ग्रह प्रकाशित गरी अझ धेरै व्यक्तिसामु परिचित बनेका छन् । उनै परशुराम पराजुली ‘पराशर’को ‘परिचय’ (कविता–गजल सङ्ग्रह) को एक अध्ययन गने प्रयास गरेकी छु ।
प्रायः शास्त्रीय छन्दमा कलात्मक ढङ्गले व्यङ्ग्य कविता लेख्न रुचाउने पराजुलीको ‘परिचय’ (कविता–गजल सङ्ग्रह) भित्र २७ वटा कविता तथा २७ वटै गजल सङ्ग्रहीत रहेका छन् । गद्य कविता लेखन अगाडि बढेको आजको समयमा पराजुलीले गद्य कविता नै लेखेकै छैनन भन्ने चाहिँ होइन । उनी जति सशक्त भएर गद्य कवितामा पोखिन्छन्, त्यो भन्दा अभैm बेजोड भएर प्रस्फुटित हुन्छ छन्द कवितामा । बालकविता हुन् वा युवा जागरणको कविता हुन्, उनका कविता उत्तिकै आलङ्कारिक, प्रतीकात्मक र बिम्बात्मक छन् । कवि युवाहरूलाई उन्नतिका खातिर उठ्न उपदेशात्मक पाराले ‘हे युवा’ कवितामा यसो भन्छन्–
मिलेर भाइ–भाइमा थपक्क काँध जोड रे
कटक्क चित्त काटिने कसैगरी नबोल रे
प्रचण्ड शक्ति हौ तिमी वितण्ड नाश पार है
उचाल देश कर्मले, छ पाखुरी तिमीसँगै ।
उनी त्यत्तिकै सशक्त भएर श्रृङ्गारिक भाव धारामा गजल लेख्न रुचाउँछन् । उनका गजलले विश्वलाई मायाप्रितीको न्यानो घुम्टोभित्र लुकाउँछन् । प्रेमी–प्रेमिकाको रसात्मक भावलाई साधारीकरण गरेर पाठकमा आनन्दानुभूति सृजना गर्दछन् । उनका गजलमा मूलतः रागात्मक सौन्दर्य प्रबल भएको पाइन्छ तापनि उनले रमसामयिक जीवन पद्धति नेतृत्वपक्षको मनोमालिन्य, देशमा पैmलिएको हिंसात्मक गतिविधिका दुष्परिणाम र ठूलाले सानालाई गर्ने थिचोमिचोलाई समेत गजलका विषयवस्तु बनाएका छन् । उनी गजलमै मायाप्रीति गाँस्छन्, गजलमै सन्त्रास र भयले काँप्छन्, गजलमै ग्लानी र आक्रोशले भयभीत हुन्छन् र जीवन जगत्का हरेका पक्षलाई गहिराइसम्म पुगेर नाप्छन् । यसरी बहर र गैरबहरमा कवि तथा गजलकार पराजुली लयात्मक ढङ्गले सर्वपक्षीय विषयवस्तुलाई शब्दचित्रमा उतार्छन् ।
आजका दिनहरूमा रस, छन्द, गति, यति आदि मिलाउनुपर्ने झन्झटको सामना विरलै स्रष्टाहरूले गर्ने गरेका देखिन्छन् । तिनै छन्दमोहीहरूका कोटिमा उभिएका पराजुलीले सामाजिक कुरीति, कुसंस्कार, शोषण, दमनका भयावह दृश्यहरूलाई रस र छन्दको परिपाक मिलाएर व्यक्त गरेका छन् । देशलाई दुख्दा आपैmँलाई दुखेको अनुभूति गर्ने पराजुली कपिलवस्तुमा घटेको हृदयविदारक घटनालाई ‘कठै कपिलवस्तु’ शीर्षकको कवितामा यसरी व्यक्त गर्छन् –
आगो लाग्न गई जली कति मरे लाला र बाला कठै
आत्था भन्न नपाइने क्षण भई कालो फिँजायो सबै
ऐया हुन्छ कतै शरीर चिमटे हो दुख्छ पोलेसरि
आधा देह जली–जली मरण भो, भोगे हुनन् के गरी ।
रवि नपुगेको ठाउँमा कवि पुग्छन् भन्ने भनाइलाई चरितार्थ गरिदिएका छन् ‘आदरणीय कविहरूप्रति’ शीर्षकको कवितामा । स्रष्टा दुःखैदुःखको सन्जालभित्र चेपिएर सुख, समृद्धि, देश, विदेश र व्यक्ति मनका संवेगहरूको विश्लेषण गर्न सक्छ भन्ने कुराको पुष्टि उक्त कविताले गरेको छ । प्रत्येक नयाँ बिहानीको रक्तिम लालीले हरेक मानिसको मनमस्तिष्कमा नयाँ जोस जाँगर उमारोस् भन्ने शुभेच्छा भाव राख्दै ‘ए ! नयाँ वर्ष’ शीर्षकको कविता लेखेका छन् । हाम्रो देशको प्राकृतिक सम्पदा, सांस्कृतिक धरोहर र मित्रवत् व्यवहारलाई स्वार्थलिप्साले निल्नै लागेको आजको अवस्थाप्रति कटाक्ष गर्दै शान्तिको गीत गाउन सबैलाई आह्वान गर्छन् । यति मात्र नभएर नेताहरूको छद्म रूप, अल्छीपना, कुर्सीमोह, ऐस–आरामजस्ता कुरालाई व्यङ्ग्यात्मक ढङ्गले खण्डन गरेका छन्, ‘नेता’ शीर्षकको कवितामा । त्यसैगरी राजनैतिक खिचातानी र सत्ताप्रप्तिपछिको घमण्डलाई गजलमा पनि व्यङ्ग्य बनाई यसरी उतारेका छन्–
मन्त्री हुँदा कर्मचारी कुट्न पाउनुपर्छ
हिँड्दा डुल्दा देशको भण्डार लुट्न पाउनुपर्छ ।
वृद्धवृद्धाका दुःख–पीडाप्रति घरपरिवार तथा राष्ट्रले खासै चासो नदेखाउँदा कुँडिएका वृद्धात्माको सजीव चित्रण ‘बूढो भैयो’ कवितामा गरेका छन् । जन्मनु, वयस्क हुनु र वृद्धवृद्धा हुनु प्रकृतिको नियम नै हो तर बालबालिकाको तोते बोलीमा मानिस आकर्षित हुन्छ भने वृद्धवृद्धाका थोते बोलीमा पाइने ढाढसमा पनि कर्कश, किचकिच मात्र सुन्छ यो समाजले । त्यसैकारण कैयौँ वृद्धवृद्धा अपहेलित हुनु परेको कुराको जीवन्त चित्रण गर्दै विवेच्य कवितामा जेष्ठ नागरिकलाई बोझका रूपमा नलिन सन्देश दिन्छन् ।
‘यसपालिको बुख्याँचाले बाली रुँगेन’ र ‘मन्त्री’ शीर्षकका कवितामा देशको शासनसत्ता आफ्नो हातमा लिएका अदुरदर्शी र अविवेकी सोचाइ राख्ने राजनेताप्रति व्यङ्ग्य गरेका छन् । जनतालाई चिप्ला कुराको ललीपप खुवाएर आपूmमात्रै माथि जाने होड गरी एकअर्कामा खेदो खन्ने नेताको फोहोरी खेल देखेर कवि ‘नेता नबन्ने म ता’ भन्दै तीन हात पर सर्छन् । बल, बुद्धि, जोस, जाँगर, आँट र साहसले निपुण युवाशक्तिलाई क्रियाशील जीवन जिउनुपर्छ भन्ने उपदेश दिँदै राष्ट्रोन्नतिमा लाग्न जोस्याउँछन् ।
यसरी कवि तथा गजलकार परशुराम पराजुली ‘पराशर’ कतै राजनीतिक खेललाई, कतै प्राकृतिक सुन्दरतालाई कतै जलवायु प्रदूषणले पारेको नकारात्मक असरलाई केलाउँछन् । यसै क्रममा उनी काठमाडौँको वस्तुस्थितिलाई कलात्मक ढङ्गले व्यङ्ग्य गर्दै यसो भन्छन् –
यो काठमाडौँ जब रात पर्छ
कालो बिरालोसरि चर्न जान्छ
हजारका नोट लिएर हात
युवा भई डुल्दछ रातरात ।।
पराशरका हरेक कविता माधुर्य गुणले युक्त, कसिला र खिरिला रहेकाछन् । प्रगतिवादी विचारधारा भएका कवि तथा गजलकार पराजुली देशको राष्ट्रिय सम्पत्तिको संरक्षण र संवद्र्धन हुनुपर्छ, घुस खाने प्रथा अन्त्य हुनुपर्छ भन्ने विचारलाई सरल सुबोध्य भाषामा व्यक्त गर्दछन् ।
पराजुली गजलतर्पm पनि उत्तिकै खारिएका र सशक्त देखिन्छन् । यस सङ्ग्रहमा सङ्ग्रहीत गजलहरू प्रायः फारसी बहरमा लेखिएका छन् । गजल शृङ्गगारिक भावमा हुनुपर्छ अर्थात् कुनै सुन्दर वस्तुको सौन्दर्यको वर्णन वा सुन्दरतासँग विमुख हुनुपर्दाका पीडा व्यक्त गर्न गजल प्रयुक्त हुन्छ भन्ने गजलको मान्यता रही आएको छ । यसै मान्यतालाई आत्मसात गरेर शृङ्गारिक धाराको संभोग शृङ्गार र विप्रलम्भ शृङ्गारका भावहरूलाई आफ्ना गजलमा कवि तथा गजलकार पराजुलीले यसरी प्रयोग गरेका छन्–
छोइँदा सुन्दरी बात लाग्ला कतै
साथमै भैदिँदा मात लाग्ला कतै । (संभोग शृङ्गार)
× ×
अहो धेर गल्ती गरेभैmँ भएछु
नजरबाट तिम्रो झरेभैmँ भएछु
सधैँ साथ बस्थ्यौँ रमाई–रमाई
म एक्लै बसाइँ सरेभैmँ भएछु । (विप्रलम्भ शृङ्गार)
समष्टिमा भन्दा कवि तथा गजलकार पराजुलीका कविताले सिङ्गो युग बुझाएका छन् भने गजलले बोकेको धार पनि कम आँक्न सकिँदैन । आपूm बाँचेको समयको सजीव चित्रण उतार्नु उनको लेखन कौसल हो भन्दा फरक नपर्ला ।
जुरोपानी –४