18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आतङ्क उपस्थिति

कविता पेशल आचार्य October 5, 2013, 2:52 pm
पेशल आचार्य
पेशल आचार्य

अनुहारै तर्सेको छ नदीको

यसअघि

नदीहरू कहिल्यै

डराएर बगेका थिएनन्

पहाडहरू टुक्रुक्क बसेर

जूवामा च्याँखे थाप्नेजस्ता देखिएछन्

यसअघि

पहाडहरू कहिल्यै

जुवाडे भएका थिएनन्

झरनाहरू

सदाकाल

धाराप्रवाह कविता लेख्थे

वरपीपलका सियाँल

अपनत्व÷परत्व

नविचारी

ओत दिन्थे÷शीतलता बाँड्थे,

यसअघि झरनाहरूमा कहिल्यै

पीप र रगत बगेको देखिएन

वरपीपलका जोडी वृक्षमुनि

यसअघि

‘एम्बुस’ ओथारो बसेको कहिल्यै सुनिएन

डराएर बगेका नदीहरू

जुवाडे पहाडहरू

रगत र पीप झरेको झरना

साथै ‘एम्बुस’ ओथारो बसेको वृक्षले

वरिपरि आतङ्क उपस्थिति जनाएको छ,

छि ! कस्तो नमीठो

मान्छे सडेको गन्ध !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।