कथा संग्रह कथाहरूको सँगालो हो, कथाका पानाहरू शब्द र भावहरूको सँगालो हो, शब्दमा उनिएका भावहरू कथाकारका अनुभूति हुन् र ती अनुभूति हामी बसेको, जीवन भोगेको र पुगेको परिवेशबाट टिपिएका हुन् । कथाकार धीरकुमार श्रेष्ठको पछिल्लो कृति ‘नजन्मिनुपर्ने मान्छे’ कथासंग्रह पनि यस्तैयस्तै कथाहरूको सँगालो हो ।
कथाकार श्रेष्ठ नेपाली साहित्य भण्डारमा नवोदित स्रष्टा हुन् । उनी उपन्यासकार, कथाकार, बालकथाकार रूपमा समालोचकका आँखामा परिसकेका छन् । लेखन क्षमताले स्तरीय कथाकारको परिचय दिन्छ । उनले पनि लेखनमा आफ्नै शैली र आफ्नै स्तर स्थापित गरिसकेका छन् ।
यस संग्रहमा १५ वटा लामा तथा छोटा कथाहरू छन् । ‘आरम्भ र अन्त्य’, ‘बाकस’, ‘हनी’, ‘उफान’, ‘नजन्मिनुपर्ने मान्छे’, ‘विपर्यय’ ‘स्तरीय सिर्जना’, ‘चक्रव्युह’, ‘जुगला मामाको काठमाडौं यात्रा’, ‘सहिद’, ‘वरपीपल’, ‘हात्ती आयो हात्ती आयो फुस्सा’ रहेका छन् ।
सहिद कथामा सशस्त्र द्वन्द्वका क्रममा दोहोरो भिडन्तमा परी घाइते भएका सोझासीधा थुप्रै गाउँलेले उपचार नपाई मर्नुपरेको देखाइएको छ । कथाकी पात्र सुन्तली र पुरुष पात्र दोहोरो भिडन्त हुँदा घरबाट भागेर खेतबारीका कान्लामा लुकेको बेलामा गोली लागेर घाइते हुन्छन् र उनीहरूलाई कसैले जिल्ला अस्पताल पुर्यातउँछ, तर त्यहाँ उपचार सम्भव नभएपछि उनीहरूलाई काठमाडौं पुर्यारइन्छ । उपचार खर्च नहुँदा पालैपालो उपचार गर्ने त्यसका लागि फुटपाथमा बसेर सहयोग संकलन गर्ने निर्णय गर्छन् ।
पुरुष पात्र शरीरमा घाउ र छातीमा पीडा राखेर फुटपाथमा सहयोग माग्न थाल्छ र त्यही रकमले सुन्तलीको उपचार गर्छ । पछि सुन्तली सहयोग संकलन गर्न फुटपाथमा बस्छे तर ऊ उमेरदार युवती भएकीले लफंगा केटाहरूको फन्दामा पुग्छे । उता पुरुष पात्रको उपचार हुन नसकी मृत्यु हुन्छ । वास्तवमा द्वन्द्वकालमा दोहोरो भिडन्तमा परेर घाइते भएका थुप्रै सोझासीधा गाउँलेहरू आर्थिक अभावका कारण उपचार नपाएर मरेको तीतो सत्यलाई यस कथाले प्रस्ट पारेको छ ।
स्तरीय सिर्जना कथामा स्तरीय पत्रिकामा छापिएका रचना स्तरीय नै ठहरिन्छन्, तिनले पुरस्कारसमेत प्राप्त गर्छन् र त्यस्ता व्यक्ति नै ठूला स्रष्टामा दरिन्छन् भन्ने अहिलेका कतिपय लेखकहरूको प्रवृत्तिलाई प्रस्ट पारिएको छ । कथाकी म पात्र आफूलाई स्तरीय स्रष्टाका रूपमा उभ्याउन बिहानदेखि बेलुकासम्म स्थापित पत्रिकाका सम्पादककहाँ धाउँछिन्, आफ्ना रचना छपाउँछिन् र आफूलाई स्तरीय स्रष्टामा दरिन्छिन् । वास्तवमा यतिखेर यस्तै मानिसहरूका कारण स्तरीय रचनाहरू ओझेलमा परेका छन् नै ।
उफान कथामा कुनै काम गर्दा आफन्त नहुँदाको पीडा देखाउन खोजिएको छ । कथाको म पात्रलाई जन्मेदेखि अलि अस्तिसम्म छिमेकी भाउजू जसले आफ्नै काखमा राखेर हुर्काइन्, ठूलो बनाइन्, बिहेको तारतम्य मिलाइन्, बिहेसमेत गराइन्, तिनै व्यक्ति आफ्नो बिहेको दिन अन्मिँदासम्म नदेखिँदा म पात्रको मनमा व्याप्त उकुसमुकुसलाई प्रस्ट्याइएको छ ।
बाकस कथा वैदेशिक रोजगारमा गएर जीवनलीला समाप्त भएकाहरूको कहानी हो । विदेशबाट धन कमाएर ल्याई घरबार जोड्ने र सुखका साथ पत्नी, छोराछोरी र बाआमासँग बस्ने सपना बोकेर विदेश गएका हाम्रा दाजुभाइहरू कथाको पात्र सुबोध जस्तै लास बनेर फर्किरहेका छन् भन्ने कुरा प्रस्ट पारिएको छ ।
वास्तवमा दाम्पत्य जीवन अँगालेपछि भोगिने रमाइला र सुखानुभूति हुने प्रेमका पानाहरू बाल्यावयमै पल्टाउँदा अनौठो अनुभूति भएको वरपीपल कथाले प्रस्ट पारेको छ ।
लोकसेवा परीक्षा पास गरेर निजामतीमा प्रवेश गरेको एकजना साधारण पदको निडर कर्मचारीका अगाडि जुन शाखा र कार्यालयमा पुगे पनि त्यहाँका हाकिम झुकेको ‘नजन्मिनुपर्ने मान्छे’ कथामा देखाइएको छ ।
हनी कथामा मानिस र प्राणीबीचको सम्बन्ध उजागर गरिएको छ । डेरामा बस्दा घरबेटीले पालेको कुकुर हनी घरभरिका सबैको प्यारो भएको र मरेपछि चटक्कै बिर्सन कथाको म पात्रलाई गाह्रो भएको छ ।
हात्ती आयो हात्ती आयो फुस्सा कथामा आफ्नो जनमत बढाउन निर्वाचनको बेलामा नेताहरू आश्वासन दिइरहन्छन् तर ग्रामीण तथा दुर्गम क्षेत्रका सोझासीधा जनता अब आफ्नो गाउँको विकास र परिवर्तन हुन्छ भनेर आशा गरिरहन्छन् भन्ने देखाइएको छ । वास्तवमा अहिले पनि कथाका पात्रहरू आशाबहादुर र आशादेवीहरूको जस्तै अधिकांश नेपाली जनताको आशा आशामै सीमित हुन पुगेको छ ।
समग्रमा कथाहरू रोचक छन् । सरल छ, रसिक छ । कथामा स्थुलता भेटिँदैन । लेखाइमा खहरे छैन, नदीको प्रवाह भेटिन्छ । पढ्दापढ्दै छोड्नुपर्ने र पढिसकेपछि चित्त नबुझेर कथाको शीर्षक र लेखकको नाम केरमेट गर्नुपर्ने, हेर्न मन नलाग्ने आदि जोकोही पाठकले गर्दैन । कथाकार श्रेष्ठले आफ्ना रचनालाई रुचिपूर्ण बनाएका छन्, त्यही नै उनको रचनाकारिता हो ।