14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

भारतमा नेपाली गजल समालोचना-एक फस्टाउँदो अवस्था

विचार नवीन पौड्याल October 5, 2013, 2:13 am
नवीन पौड्याल
नवीन पौड्याल

१.आमुख:

मनका भावलाई सुन्दर रूपमा प्रस्तुत गर्ने एउटा माध्यम कविता हो।यो विधा सबैभन्दा लोकप्रिय,प्रयोगशील र लचिलो रहेको हुन्छ। यसका अनेक परिभाषा छन् र सबैलाई यहाँ प्रस्तुत गर्न सम्भव छैन। कविताका अनेक स्वरूप छन् र अझै नयाँ नयाँ स्वरूप पनि निर्माण भइरहेछन्। यसको क्षेत्र दुई पंक्तिको युग्मकदेखि लाख श्लोके विशालकाय महाकाव्यसम्म फैलिएको छ। कविताकै परिधिभित्र महाकाव्य, खण्डकाव्य, लामो कविता, फूटकर,मुक्तक,गजल,शायरी, हाइकु, ताङका, सवाइ, रूवाइ, गीत, सनेट इत्यादि सबै समेटिएका हुन्छन्। कविता छन्दोबद्ध तथा छन्दका नियमदेखि खुल्ला र छन्दमुक्त पनि लेख्न सकिन्छ। हुन पनि सिकारू कविदेखि महाकविसम्मका लागि प्रतिभा दर्शाउने माध्यम कविता हो।

२. गजलको सामान्य सैद्धान्तिक चिह्नारी- कविताको एक प्रयोगका रूपमा रहेको गजल निकै लोकप्रिय रहेको छ।मूलतः यो अरबी भाषाबाट आएको शब्द हो। पछिबाट यो शब्द फारसी, उर्दू, हिन्दी हुँदै नेपालीमा आएको हो। हो। गजलका तीनवटा अर्थ छन्-

२.१ व्युत्पत्तिगत अर्थ- गजल शब्द अरबेली भाषाको तीन शब्द मिली बनेको छ। ग को अर्थ बोली वा वाणी वा कुराकानी हो। ज को अर्थ नारी हो र अलको अर्थ साथ वा सँग हो। यसर्थ, गजल शब्दले नारीका साथ प्रयुक्त हुने वाणी अर्थात् प्रेयसीसित मधुर वार्तालाप बुझाउँछ।

२.२. विस्तारित अर्थ- गजल शब्दको अर्थ नारीसितको प्रेमालाप भन्ने व्युत्पत्तिगत अर्थका अतिरिक्त फारसी र उर्दूका अनेक विद्वानहरूले यसका विभिन्न अर्थ लगाएका छन्। एउटा रोचक उदाहरण यस्तो छ- शिकार खेल्दा जब शिकारीको काँड हरिणको मुटुमा रोपिन्छ, त्यसबेला त्यो हरिणले विक्षत ह्रदयले गरेको आर्तनाद्लाई नै गजल भनिन्छ। यस उदाहरणबाट के प्रस्टिन्छ भने गजल भनेको अन्तर्मनका दुःख-पीडा, आर्तनाद, विह्वलता, परिताप र छट्पटी व्यक्त गर्ने शब्द हो। यसर्थ, यसले गजलको अझै अर्थविस्तार भइ प्रेमिकासित प्रेमको दुःख-सुखादिबाहेक कुनै पलि प्रकारको पीडा व्यक्त गर्ने शब्द हो। अतः कुराकानी मात्र सीमित नभई एकाकी आर्तनाद्लाई समेत गजलले ब्यक्त गर्ने भयो। आधुनिक गजलमा प्रणयको भावनाको मात्र नभएर समसामयिक हरेक कुराका संवेदना ब्यक्त गर्ने भयो।

२.३. आध्यात्मिक अर्थः गजलको व्युत्पत्तिगत अर्थले प्रेमालाप हो भन्ने बुझिएपछि फारसी र सुफी धारणामा त्यो कस्तो खालको प्रेम रहेछ बुझ्न सकिन्छ। फारसी प्रेम कवितामा परमात्मालाई नायिकाको र जीवात्मलाई नायकको रूप दिइन्छ। जीवात्म परमात्मा प्राप्तिका निम्ति सदा लालयित हुन्छ र त्यसका लागि सदैव प्रयत्न रहन्छ। नायिकास्वरूपा परमात्माको रूप-सौन्दर्य र गुण-सौन्दर्यमा मुग्ध भई मिलनका लागि आतुर रही अनुनय,विनय,प्रार्थना,अनुरोध गरिरहन्छ। अतः प्रेममा आध्यात्मिक अर्थ पनि सापेक्षित छ।

३.गजलको रूपगत चिह्नारीः गजलको वास्तविक चिह्नारी नै यसको रूपगत हो। अन्य कवितात्मक रचनाभन्दा यसको भिन्दै रूप-संरचनात्मक परिपाटी हुन्छ। गजल मूलतः अरबीबाट फारसी, उर्दू र हिन्दी हुँदै नेपालीमा आएको हुनाले यसमा प्रयुक्त हुने पद्धति र संरचनाका इकाईहरूका नाम अरबी वा फारसी पुन्छन्। गजलका केही प्राविधिक र संरचनात्मक शब्दहरू केलाउने प्रयास गरिन्छ।

३.1. काफिया- अरबी भाषामा काफिया शब्दको अर्थ पछिपछि हिँड्ने वा बारबार आउने भन्ने लाग्छ।(कृष्णहरि बराल, पूर्ववत्,) गजलमा रहेको पूर्वान्त्यानुप्रास वा रदीफभन्दा अघि आउने अनुप्रासयुक्त शब्द काफिया हो। यसका पनि अनुप्रास पूर्ण रूपमा मिलेमा पूर्ण काफिया र आङ्शिक मात्र मिलेमा आङ्शिक काफिया भनिन्छ।गर्छ,मर्छ,झर्छ जस्तो मिलेमा पूर्ण काफिया हुन्छ औ हेर्छ- लेख्छ, भन्यो-गाँस्यो जस्तो मिलेमा आङ्शिक काफिया हुन्छ।

३.२. रदीफ- गजलको प्रत्येक दोस्रो पंक्तिमा मिल्ने अन्त्यानुप्रासलाई रदीफ भनिन्छ।

३.३ तखल्लुस- गजलकारले रचनामा आफ्नो नाम वा उपनाम विशेषगरि मकतामा हाल्ने कामलाई तखल्लुस भनिन्छ। पहिले धेरैले गजल लेख्दा आफ्नो रचनाको पहिचान होस् भन्ने हेतूले तखल्लुस राखिएको हो भन्ने भनाइ छ।

३.४. मतला- यसको अर्थ शुरू हो। गजलको शुरूको दुई पंक्ति वा शेर मतला हो। यसका दुवे पंक्तिमा काफिया र रदीफ हुनु आवश्यक छ।

३.५. मकता- गजलको अन्तिम शेरलाई मकता भनिन्छ। यसने सिङ्गो गजलकै निष्कर्षात्मक अभिव्यक्ति दिन्छ। कसैले यसैमा तखल्लुस पनि प्रयोग गर्छन्।

३.६. मिसरा- गजलको एक पंक्तिलाई मिसरा भनिन्छ।

३.७. शेर- गजलको दुई पंक्तिको एक परिच्छेदलाई शेर भनिन्छ। प्रत्येक शेर स्वतन्त्र भावका हुन सक्छन यद्यपि गजलको मूल भावसँग सम्बद्ध हुनुपर्छ।

३.८. मध्यभाग- मतला र मकताको बिचको भाग मध्यभाग ङो। यस भागमा भएका शेरहरूका पहिलो मिसरामा सामान्य अनुप्रास मिलेको हुन पर्छ वा नमिलेको पनि हुनसक्छ भने दोस्रो पंक्तिमा काफिया र रदीफ हुनैपर्छ।

३.९. मतला-ए-उला- मतलाको पहिलो मिसरा वा पंक्तिलाई मतला-ए उला भनिन्छ।

३.१० मतला-ए-सानी- मतलाको दोस्रो मिसरा वा पंक्तिलाई मतला-ए उला भनिन्छ।

३.११. बहर- गजलको छन्दलाई बहर भनिन्छ।गजलमा अनिवार्य रूपमा कुनै न कुनै बहर प्रयोग हुनुपर्छ भन्ने मान्यता छ। अरबीमा उन्नाइसवटा र फारसी संख्या बढेर पैंतीसवटा बहर भएका हुन्। यद्यपि बाह्रवटा जति बहर मात्र प्रचलनमा आएका हुन्। केही प्रचलित बहरहरूमा बजज, गमल, मुतकारिब, रमल, कामिल, वाफिर, मुतदारिक, मजर इत्यादि हुन्। यी बहरहरूका पनि धेरै उपभेद हुन्छन्।

३.१२. अर्कान- संस्कृतको वार्णिक छन्दमा केलाइने गण जस्तै बहर केलाउने गणलाई रूक्न औ रूक्नहरूको समूहलाई अर्कान भनिन्छ। यसमा पनि ह्रस्व-दीर्घको प्रयोग हुन्छ। फऊलुन, फाइलुन, मफाइलुन, मुस्तफ्इलुन, फाइला-तुन, मुतफाइलुन, मफाइलतुन र मफऊलात गरी आठवटा रूक्न हुन्छन्।

३.१३. फर्द- गजल लेख्न बस्ता एक शेरभन्दा बढी लेख्नै नसकिएको अवस्थाको एक शेरको गजललाई फर्द भनिन्छ।

३.१४. कत्वा- गजल लेख्न बस्ता दुई-तीन शेरभन्दा बढी लेख्नै नसकिएको अवस्थाको दुई-तीन शेरको गजललाई फर्द भनिन्छ।

३.१५. अन्दाजे वया - श्रोतासामु गजललाई प्रभावकारी ढङ्गमा कौतूहलपूर्ण अभिव्यक्तिलाई अन्दाजे वया भनिन्छ।

३.१६ तासिरः गजल सुनेर श्रोताहरूमा परेको आनन्दमय प्रभाव तासिर हो।

४. संस्कृतका छन्द र गजलका बहरबीच समानता-

संस्कृतका केही छन्द र बहरबिच धेरै समानता पाइन्छ। यी दुवै लघु-गुरूका आधारमा गणना हुन्छन्। संस्कृतका तेइसवटा वार्णिक छन्द र बहरका उपभेदहरूको मेल देखिन्छ।संस्कृतको भुजङ्गप्रयात छन्द मुतकारिब मुसम्मन सालिम बहर, तोटक छन्द हजज अखरब अवतर मुसद्दतबहरसँग मेल खान्छ।(कृष्णहरि बराल,पूर्ववत्,पृष्ठ-९६)

५. गजलसँग मिल्दा-जु्ल्दा केही कवितात्मक रूपहरू-

गजलसँग केही मिल्दा-जुल्दा अरबी-फारसी मूलका कविताहरूमा कसिदा, नज्म,रूवाइ,मस्नवी,कत्तआ र गीत हुन्।

५.१. कसिदा- कसिदा लगभग बीसदेखि शयसम्मको काफिया भएको भक्ति र प्रेममा डुबेको काव्यात्मक रूप हो।

५.२. नज्म- यो पनि एकै विषयमा आबद्ध लामो कवितात्मक रूप हो। यसमा व्यङ्ग्य र प्राकृतिक विवरण पाइन्छ।

५.३. रूबाई- चार पंक्तिमा आबद्ध काफिया मिलाइएको धार्मिक,रत्यात्मक र रहस्यात्मक विषयमा लेखिने रूबाई हो।

५.४. मस्नभीः प्रारम्भमा अल्लाह स्तुति हुँदै कथात्मक रूप दिएर अति लामो शेरहरू भएको र काफियाको प्रयोग रहेको कविता मस्नभी हो।

५.५. कत्तआ- गजलकै संरचना भए पनि यसमा शेरहरूले जस्तो स्वतञ्त्र र मुक्तकीय अभिव्यक्ति दिने नभई अर्थ बुझाउन एउटा शेर अर्को शेरसँग आश्रित हुने कत्तआ हो।(डा कृष्णहरि बराल)।

५.६. गीत- स्थायी र अन्तरा भएको हृदयका कोमल भाव हुने गीत हो।

६. भारतमा नेपाली गजल लेखन भारतमा-

नेपाली गजल लेखन परम्परा शुरू गर्ने पारसमणि प्रधान हुन् भनेर तोक्न सकिन्छ। यद्यपि उनका गजलमा गजलका लेखन ढाँचा र शिल्प नपुगे पनि प्राथमिक प्रयास थियो। जे भए पनि उनले गजलको ढोका खोलेका हुन्। उनले तत्कालीन नेपाली गजलकार शम्भुप्रसाद ढुङ्गेल, पहलमानसिंह स्वार आदिका गजल-लेखनबाट प्रभावित भई शुरू गरेका हुन् भनी अनुमान गर्न सकिन्छ। गजलकार शम्भुप्रसाद ढुङ्गेलले ‘पारसमणिका गजल साह्रै असल’ भनी टिप्पणी गरेको पाइन्छ। यस्तैगरि सन् १९३८ सालमा देहरादूनका बहादुरसिंह बराल र अन्य कविहरूका संयुक्त कविता सङ्ग्रह प्रकाशित हुन्छ जसमा त्रिचालीसवटा गजल समावेश छन्। बरालका गजलमा एकाक्षरी काफियाको प्रयोग पाइन्छ भने केहीमा आंशिक अनिप्रास र केहीमा पूर्ण अनुप्रासमा आधारित काफियाको प्रयोग पाइन्छ। उनले जातिधर्म जोगाउनु पर्ने सन्देश धेरै गजलमा दिएको पाइन्छ।उनले भगवानसँग गोर्खालीको नामअनुसार काम भए हुन्थ्यो भन्ने आग्रह गर्नका साथै मद-मदिराको सेवनले सबैको विनास गर्छ भनी उपदेश पनि दिन्छन्। यसमा माया-प्रीतिका भाव साथै केही नैतिक उपदेश पनि दिन्छन्। उनका गजलमा आक्षरिक लयमा आधारित छन्दको प्रयोग पाइन्छ। उनीबाहेक त्यस बरालको आँसु संग्रहमा दुर्गा मल्ल, गङ्गावती, मैतराम, पवित्रादेवी, शमसेरसिंह, मित्रसेन थापाका पनि एउटादेखि चारवटासम्म गजल छन।

यसपछि भारतमा नेपाली गजलको परम्परा निकै वर्ष बाँझो रह्यो। बेला बेलामा पत्र-पत्रिकातिर गजलका नाममा सीप र ढङ्ग नपुर्या्एका रचनाहरू प्रकाशित हुँदैआएका देखिन्छन्। यता भारतबाट सम्भवत् पहिलो गजल-संग्रह २००१ सालमा प्रकाशित सञ्जीव छेत्री र सन्तोष गुप्ताको तरल मुटुहरू हो।

पुस्तकाकार र विभिन्न पत्र-पत्रिका फाट्ट-फुट्ट रूपमा गजल लेखिए। भारतभूमिका वर्तमान पीँढीका गजलकारहरूमा गोविन्दसिंह घतानी गोविन्दे, गोविन्द शाण्डिल्य, खुसेन्द्र राई, दीपक ठटाल जलन,वासुदेव पुलामी, अनिलकुमार छेत्री, सुवास श्रेष्ठ, वीरेन्द्र खँड्का, असीम सागर, मनोज बोगटी, राजा पुनियानी, कमल रेग्मी, लीलाबहादुर छेत्री गोठाले, बलराम सापकोटा, डिल्लीप्रसाद अधिकारी, सुरेन्द्र चामलिङ, मनोहर शर्मा अविनाश, पवन नामदुङ, ध्रुब चौहान, शैलेन्द्र समदर्शी, सरिता समदर्शी, सन्तोष गुप्ता, सञ्जीव छेत्री, महेश दाहाल, कर्ण विरह, युवराज घलेभाइ, प्रकाश राई बादल, नवीन पौड्याल, कमल भट्टराई भावुक, मोहन ठकुरी, सपन प्रधान, पदम पराजुली, सूरज रेसूरी, सूरज सुब्बा, मिलन बान्तवा, केवलचन्द्र लामा, नोर्ज्याङ स्याङदेन, जस योञ्जन प्यासी, धिरेन छेत्री, धिरेश आचार्य, रोशन राई चोट, अरूण साङपाङ, छुदेन काविमो, सुकुमार बराइली, विकाश वान्तवा, योगेन छेत्री, दीपेन्द्र आचार्य सुमी, आई.के सिह, नैना राई, ज्ञानेन्द्र सुब्बा, विक्रम राई, दीलिपराज राई, बुद्ध राई, सुरज सुब्बा, प्रदीप कँडेल विप्लव, सुकुमार बराइली, शरद् रावत, दिलकुमारी छेत्री, दिवाकर ठकुरी, दिवाकर आले आदि प्रमुख हुन्।

७. भारतबाट प्रकाशित नेपाली गजल सङ्ग्रहहरू-

यता दार्जीलिङ-सिक्किमतिरबाट लगभग बीसवटा जति गजल-सङ्ग्रह प्रकाशित भएको पाइन्छ। एउटा उल्लेखयोग्य कुरो के छ भने सन् २००१ सालदेखि मात्र यतातिर गजल-सङ्ग्रह प्रकाशित हुनथालेको देखिन्छ। अहिलेसम्मको भारतबाट प्रकाशित नेपाली गजल-दीवान(सङ्ग्रहहरू)-

१) तरल मुटुहरू- संजीव छेत्री र सन्तोष गुप्त (२००१)

२) मेरा एकाउन्न गजल- खुसेन्द्र राई (२००५)

३) गजल गान्धार- गोविन्द शाण्डिल्य ( असमका,२००६)

४) जून पोखिएको रात- असीम सागर (२००७)

५) भविलाल लामिछानेका दुई नज्म केही गजल- भविलाल लामिछाने

६) अस्तित्वका आवाजहरू- असीम सागर (२००८)

७) गजल जल- वीरेन्द्र खँड्का, अनिल छेत्री र सुवास श्रेष्ठ (२००८)

८) गजल दीप- वीरेन्द्र खँड्का र सुवास श्रेष्ठ (२००९)

९) गजल महक- लीलाबहादुर छेत्री,बलराम सापकोटा र बुद्ध राई (२००९)

१०) गोविन्देका गजल- गोविन्दे- (२००९)

११) गजल कानन- दीपक ठटाल जलन(२००९)

१२) केही घाउ केही मलम- छुदेन काविमु (२००९)

१३) समुद्र रोएको साँझ- सुवास श्रेष्ठ (२०१०)

१४) कालो गुलाब- अरूण साङपाङ र सुरज सुब्बा (२०१०)

१५) शुरूआत(बालगजल)- शैलेन्द्र समदर्शी (२०१०)

१६) मनोराग- धिरेन संघर्ष (२०१०)

१७) मनचरी- मिलन बान्तवा(२०१०)

१८) ऋतुगीत- कमल रेग्मी (२०१०)

१९) शुरूआत शैलेन्द्र समदर्शी (२०१०)

२०) फूलबारी सुवास श्रेष्ठ (२०१०)

२१) कमलकोठी- कमल रेग्मी (२०११)

२२) गजल- भविलाल लामिछाने (२०११)

२3) सुनगाभाका स्वरहरू (कवितासंग्रहभित्र २४वटा गजल समावेश)- डिल्लीप्रसाद अधिकारी(२००९)

२४) स्वर्ग पुग्ने सपनाहरू (गजल वाचन सिडी अल्बम) -असीम सागर र अन्य (२००९)

८. भारतमा गजलको विकासका निम्ति संस्थागत रूपमा गरिएका प्रयासहरू-

यी गजल-सङ्ग्रहबाहेक गजलसम्बन्धी यस्ता मुख्य कार्यक्रम सञ्चालन भएका हुन्-

१) गजल लेखन एकदिने कार्यशाला,कालिम्पोङ,२००७, संयोजक- असीम सागर

२) गजल गोष्ठी- सिलगडी देवकोटा सङ्घ,सिलगडी,२०१०.

३) गजल गोष्ठी-आकाशवाणी खरसाङ,२०११.

४) गजल गोष्ठी-खुला साहित्यिक गोष्ठी मञ्च, संयोजकद्वय-डा.रूद्रराज मास्के र कमल भण्डारी (२०११,सितम्बर)

५) दैनिक सुनचरी समाचारले लगभग छ - सात वर्ष जति प्रत्येक शुक्रबार गीत-गजल स्तम्भ प्रकाशित गरिरह्यो।

६) यताका केही युवा गजलकारले फेसबुक र वेबसाइटमा गजल हाली यसलाई व्यापकता दिएका छन्।

९. भारतमा नेपाली गजल समालोचनाको स्थिति-

भारतमा लेखिएका नेपाली गजल लेखनसम्बन्धी समालोचना पनि अब फस्टाउँदो अवस्थामा छ। यो कतै गजल सङ्ग्रहको भूमिकाका रूपमा ,कतै स्वतञ्त्र टिप्पणी र कतै सैद्धान्तिक समालोचनाका आधारमा लेखिएका छन्।यस दिशातिर बासुदेव पुलामी, डा दिवाकर प्रधान, डा जस योञ्जन, शैलेन्द्र समदर्शी, सुबास श्रेष्ठ, मिलन बान्तवा, असीम सागर, सपन प्रधान आदि सक्रिय रूपमा संलग्न छन्। सन् २००१ सालमा सञ्जीव छेत्री र सन्तोष गुप्ताको संयुक्त गजलसङ्ग्रह तरल मुटुहरू प्रकाशित भएपछि अर्को वर्ष २००२ सालमा बासुदेव पुलामीले तरेली पत्रिकामा तरल मुटुहरू : एक अवलोकन शीर्षक दिई एउटा समीक्षा लेखेका छन्। यही नै यता भारतीय सन्दर्भमा गजल समालोचनाको प्रारम्भ विन्दु मान्न सकिन्छ। उनले उक्त गजल सङ्ग्रहका बारेमा गजलको सैद्धान्तिक पक्षभन्दा भावपक्षमाथि जोड दिएका छन्। गजल समालोचना विशेष गरी गजलसङ्ग्रहको भूमिकाको रूपमा देखिन्छ। कमल रेग्मीको गजल सङ्ग्रह ऋतुगीत (२०१०) को भूमिकामा बासुदेव पुलामीले उक्त सङ्ग्रहमा रहेका गजलहरूको समीक्षात्मक अध्ययन गरेका छन्। उनले उक्त भूमिका समकालीन सन्दर्भ र कमल रेग्मीका गजलहरू मा गजल समालोचनाको कमी रहेको महसुस गरी यसतर्फ पनि समालोचकहरू अग्रसरित हुनुपर्ने कुरामा जोड दिएका छन्। गजलका केही तकनिकीगत नियमहरू रहे पनि सर्जकहरू अघि सरेका छन्। अहिले नेपाली गजलमा बहर पाइन्नन् तथा काफिया र रदीफ मिलाएर मात्र नै गजल लेख्ने चलन बसेको कुरा उनले पुष्टी गरेका छन्। उनका अनुसार गजलमा भाव अनुकूल वर्ण संयोजनमा ध्यान पुर्यानएको हुनुपर्छ। रेग्मीका गजलमा उनले शृङ्गारिक, भाव बढी हुनाका साथै युगीन विषयवस्तु, सांस्कृतिक धार्मिक आस्था, उपभोक्तावादी संस्कृति, राजनैतिक विसंगति, विद्रुपता, अराजकता अनास्था आदि प्रवृत्ति पाउँछन्।

डा जस योञ्जन पनि दिशातिर सक्रिय छन्। उनले पनि भूमिकाकै रूपमा भए पनि गजल समालोचना लेखेका छन्। उनले गजलको सैद्धान्तिक र तात्विक पक्षबाट कृतिको केलाइ-कुलाइ गरी पाठकलाई पस्केका हुन्छन्। उनले शैलेन्द्र समदर्शीको बालगजल सङ्ग्रह शुरूआत को भूमिकामा बालमनोविज्ञानलाई अंगीकार गरी समदर्शीले त्यसमुताविक बालसुलभ गजल लेखेका छन् जो अत्यन्त स्तुत्य छ भनी सह्राहना व्यक्त गरेका छन्। उनका अनुसार भारतमा बालगजल लेख्नेहरू संख्या बढ्दै झाँदो छ। शैलेन्द्र समदर्शा, सुवास श्रेष्ठ र दिलकुमारी छेत्री आदि प्रमुख हुन्। योञ्जनका अनुसार गजलमा खिया महत्वपूर्ण तत्व हो तर यसको प्रण चाँहि होइऩ। काफियाबिना नै उर्दू भाषाका गजल प्रतिष्ठाता वाली महम्मद वाली तथा नेपाली भाषाका गजल प्रतिष्ठाता मोतीराम भट्टकै कुनै गजलमा काफिया नभए पनि राम्रा गजलको दर्ता पाएका छन्।

मिलन बान्तवा पनि यस दिशामा अघि बढ्दै गरेको देखिन्छ। उनले कर्ण विरहको गजल-सङ्ग्रह भक्कानिएका भावनाहरू को भूमिकामा उनले भारतबाट प्रकाशित केही गजल- सङ्ग्रहको सूची दिएर यस दिशातर्फ भविष्य उज्ज्वल नै रहेको कुरो उल्लेख गरेका छन्। यसैगरी उनले कर्ण विरहका गजलको भाव पक्ष पक्रिई संरचनातर्फ पनि केही चर्चा गरेका छन्। उनले बहर पछ्याएर गजल लेखनतिर जानुपर्ने कुरामा जोड दिएका छन्। उनले कमल रेग्मीको कमलकोठी गजलसङ्ग्रहको भूमिका पनि भाव, शिल्प र संरचनाका बारेमा प्रकाश पारेका छन्। उनले भातमा नेपाली गजल लेखन फस्टिएको नभई टाक्सिएको देखेका छन्। यसका निम्ति विभिन्न कारण पनि केलाएका छन्।

असीम सागर पनि कालिम्पोङ बसेका बेला यस दिशामा निकै सक्रिय देखिन्छन्। उनले आफै लेख्नका अतिरिक्त केही युवाहरूलाई गजल लेख्न प्रोत्साहन दिने, गजलका नियम रीति सिकाइदिने र भूमिका लेखिदिने गर्दथे। उनले कालो गुलाब नामक गजल-सङ्ग्रहको भूमिकामा सुरज सुब्बा र अरूण साम्पाङका गजलमा सङ्गीत चेतनाको अभाव भए पनि भाषा अभिव्यक्ति र समुचित संरचनाको सशक्तता अनि व्यङ्ग्यको स्वर पाइन्छ भन्ने कुरा व्यक्त गरेका छन्। गजल-दीपको भूमिकामा उनले भाव पक्ष केलाउँदै यसका एक सुवास श्रेष्ठ अहिलेका युवा पुस्ताका अब्बल गजलकार हुन् भनी निर्क्योल गरेका छन्। दुईजना गजलकारको गजलगत प्रवृत्ति केलाउदै मूल्याङ्कनात्मक निष्कर्ण दिएका छन्। यस भूमिकालाई उनी आफैले पाठकलाई गजलबारे गजलबारे जानकारी र बुझ्न सहायकका रूपमा मानेका छन्। उनको गजल समालोचना विशेषगरी भावपक्ष केलाउनका साथै गजलका शिल्पपक्ष निकै सचेतता रहेका देखिन्छ।

सपन प्रधान पनि यस दिशातर्फ सक्रिय छन्। उनको समालोचनात्मक लेखसङ्ग्रह कृति-कीर्तिमा एउटा लेख समकालीन नेपाली गजलको सन्दर्भमा दार्जीलिङका युवा गजलकारहरूमा गजलको व्युत्पत्तिगत अर्थ, परिभाषा, विकास, परम्परा केलाउँदै यसको सैद्धान्तिक परिचयसमेत प्रस्तुत गरेका छन्। यसमा दार्जीलिङका केही युवा गजलकारहरूमध्ये सुवास श्रेष्ठ, मिलन बान्तवा, कमल रेग्मी, कर्ण विरह, शैलेन्द्र समदर्शी, बलराम सापकोटा, वीरेन्द्र खँड्का, असीम सागर, मोहन ठकुरी आदिका गजलमा समग्रमा पाइने भाव र शिल्प सौन्दर्य, शब्द-शय्यामाथि चर्चा गरेका छन्। उनले विशेषगरी सुवास श्रेष्ठको गजलमा पाइने बहरको उदाहरणसहित परिचय दिएका छन् र श्रेष्ठले मुतकारिब र मुजारे सहित मुफरद् बहर (मूल छन्द) र मुरक्कब बहर (मिश्रित छन्द) दुवैको सफलतापूर्वक प्रयोग गरेको ठहर गरेका छन्। उनका अनुसार यताका गजलमा वैयक्तिकता, गेयता र अनुप्रासिकता पाइन्छन् तर अधिकांश गजलमा काफिया र रदीफलाई मात्र ध्यान पुर्याुएर लेख्ने गरेको पाइन्छ।

डा दिवाकर प्रधानले पनि गजल समालोचनाको क्षेत्रमा भूमिका कै रूपमा भए पनि केही महत्त्वपूर्ण काम गरेका छन्। यसमा उनले गजल लेखनका सिद्धान्त. तकनीक, प्रणाली, इतिहास र नियमका अनेक पक्षबारे लेखेका छऩ्। सुवास श्रेष्ठ, अनिल छेत्री र वीरेन्द्र खँड्काको गजलसंग्रह गजल-जल, सुवास श्रेष्ठ र वीरेन्द्र खँड्काको गजलसंग्रह गजल दीप, गोविन्देका गजल इत्यादि पुस्तकको भूमिकामा डा प्रधानले गजलको संरचना, भारतीय गजल परम्परा तथा ती ती गजलकारका गजलमा पाइने भाव, शिल्प र वैशिष्ट्य आदि विषयमा गम्भीर अध्ययन गरी समालोचना लेखेका छन्। उनले गोविन्देका गजलमा आध्यात्मिक अनुभूति, लोकतत्व, स्थानीय जनजीवनको चित्रण, प्रणय-प्रीतिका अनुभूति वैशिष्ट्यका रूपमा केलाएका छन्। पूर्व आध्यात्मिक चिन्तनमा मोक्षको, कैवल्य र निर्वाणको वातावरण चेतना चाहना आदि पाइन्छन्। डा प्रधानको गजल समालोचनामा आध्यात्मिक चिन्तनको सन्धान गरिनाका साथै भाव र शिल्प- सौन्दर्यमाथि जोड दिने प्रवृति पाइन्छ। यसका साथै उनले गजलमा कमजोरी पक्षमाथि पनि औंल्याउने गरेको पाउँछौँ।

यस क्षेत्रमा सुवास श्रेष्ठ पनि अघि देखिन्छन्। उनले गुवाहाटीको हाम्रो ध्वनि पत्रिकामा भविलाल लामिछाने गजल नामक गजलसंग्रहको लगायत अन्य एक दुईवटा गजलसंग्रहको भूमिकामा समीक्षा लेखेका छन्। उनी गजलमा भाव र यसको शिल्प संरचनाको सन्धान गर्दछन्। धिरेन संघर्षको गजलसङ्ग्रह मनोराग को भूमिकामा उनले यसमा रहेका भाव, शिल्प, सबल र दुर्बल पक्षमा निर्भीक समालोचना गरेका छन्। गजलमा काफियाको परिपालन भए-ऩभएको, भावगत संगति मिले-नमिलेको कुराको पुर्पछे गरेका छन्। उनी आफै गजलका नियमका राम्रा जानकार साथै बहरबद्ध गजल लेख्ने हुनाले धिरेनका गजलबारेमा राम्रो अध्ययन गरेका छन्।

अर्का समीक्षक शैलेन्द्र समदर्शी भने गजल समालोचनाका एक प्रखर र सचेत व्यक्तित्व हुन्। उनले खुसेन्द्र राईको गजल सङ्ग्रह मेरा एकाउन्न गजलमाथि गहकिलो समालोचना लेखेका छन्। यसमा उनले गजलको सैद्धान्तिक पक्ष र यसको लेखन प्रक्रिया, रचनागत शैली तथा भावपक्षमाथि गहन अध्ययन प्रस्तुत गरेका छन्। उनी वास्तविक गजल समालोचक हुन्। उनको गजल समालोचनाको एउटा पुस्तकै देखिन्छ गजल सिद्धान्त र सिर्जनावलोकन (२०११)। यसको प्रकाशने यताका गजलकारहरूलाई निकै उत्साह मिलेको देखिन्छ। उनी गजलको संरचना पक्षका राम्रा अध्येता र जानकार देखिन्छन् र आफ्नो गजल विषयक ज्ञानलाई समालोचनामा ढालेका छन्।

गजल समालोचनामा लीलाबहादुर छेत्री पनि देखा परेका छन्। उनेलो छुदेन काबिमोको गजलसङ्ग्रह केही घाउ केही मलमको भूमिकामा यसका भाव पक्ष केलाएका छन् भने शिल्प पक्षमाथि पनि नजर पुर्याघएका छन्। उनका अनुसार काबिमोका गजलमा जातीय अस्मिता र मुक्तिको कामना, देश वर्तमान राजनैतिक व्यवस्थाप्रति अनास्था र व्यङ्ग आदि मूलभाव पाइन्छन्। काबिमोका गजलमा काफिया र रदीफको सामान्य प्रयोग, बिम्ब र प्रतीकको प्रयोग अक्षर संयोजनामा एकरूपता नभएको केही शिल्पगत कमजोरीसमेत खुट्याएका छन्।

१०. भारतमा नेपाली गजल समालोचनाको विशेषता र कमी कमजोरी-

क) भारतमा नेपाली गजल लेखन नै ढिलो गरी शुरू भएका गजल समालोचना भर्खर फक्रिँदै गरेको मात्र देखिन्छ।

ख) विभिन्न गजलकारका गजल-सङ्ग्रहको भूमिकाबाट नै गजल समालोचना देखा परेको पाइन्छ। यस दिशातर्फको पहिलो खुड्कि लो नै गजलसङ्ग्रहको भूमिका बनेको छ।

ग) शैलेन्द्र समदर्शीको गजल समालोचनाको पुस्तकाकार कृति पाइनाले यसलाई अघि बढाउन निकै टेवा मिलेको देखिन्छ। अब यो छिपछिपे अवस्थाबाट अगि बढेर एउटा फस्टिँदो स्वरूप बनिइसकेको देखिन्छ।

घ) एकाध छोडी प्रायः गजलकारहरूका गजलमा काफिया, रदीफ, मतला आदि मिलाइएको मात्र पाइन्छ। यसको जटिल नियम र संरचनाका पक्षहरूको गम्भीर अध्ययन गरी गजल लेखिएका पाइन्नन्। यसो हुँदा यताका गजल समीक्षक-समालोचकहरूले पनि गजलका जम्मै नियम र संरचना पक्षमाथि समीक्षा गरेको पाइन्न।

ङ) यहाँ गजल समालोचनाको नाममा गजलका सामान्य भाव पक्षमाथि बढी केन्द्रित पाउँछौँ। गजलका आन्तरीक लयविधान, बहर-विधान, पंक्तिगत सामञ्जस्य, शब्द शय्यागत वैशिष्ट्य आदि विषयमा समीक्षण-समालोचन भएको त्यति पाइन्न। यद्यपि शैलेन्द्र समदर्शी, जस योञ्जन प्यासी, डा दिवाकर प्रधान, सुबास श्रेष्ठ यसतर्फ सचेत देखिन्छन्।

च) भारतमा नेपाली गजल विधा नै शैशव अवस्थामा भएकाले गजल समालोचनामा गजलका सम्पूर्ण थोक खोज्नु पनि त्यति उपयुक्त देखिन्न।

छ) समीक्षकहरूले गजलकारका गजलका सकारात्मक पक्षमाथि ध्यान दिई प्रशंसामूलक समालोचना लेखेको पाइन्छ। गजलमा भएका शिल्प-सौन्दर्यगत कमी-कमजोरीमाथि त्यति प्रकाश पारेको देखिन्न।

११. उपसंहार- गजल एउटा लोकप्रिय कवितात्मक उपविधा बनेको छ। यसलाई कविता विधाभित्र राखी एउटा बलियो उपविधाका रूपमा लिनु उचित देखिन्छ। हुन पनि कविता अति व्यापक विधा हो। कविता कै विभिन्न रूपहरू जस्तै महाकाव्य, खण्डकाव्य, लामा कविता, फुटकर कविता, मुक्तक, गीत, गजल, रूबाइ, ताङ्का, हाइकु, जस्ता अनेक उपविधा पर्दछन्। यीमध्ये गजल दिनानुदिन लोकप्रिय भएर देखा पर्दैछ। यसमा रहेको प्रभावकारिता, वाचनमा सशक्तता, संक्षिप्तता, तीब्रताले यसलाई लोकप्रिय बनाएको हो। यसले विषय व्यापकतालाई समेट्ने क्षमता राख्दछ।

भारतमा नेपाली गजल भर्खरै फस्टिएको हुनाले यसले पूर्ण रूपले विकसित भएको पाइन्न। यसका साथै यता गजलको समालोचना पनि भर्खर मात्र टुसाउँदो अवस्था छ। बासुदेव पुलामीले विद्यार्थी अवस्थामा नै २००१ सालमा प्रकाशित सञ्जीव छेत्री र सन्तोष गुप्ताको गजलसङ्ग्रह तरल मुटुहरूको समीक्षा गरी यस दिशातर्फ पाइला राखी मार्ग देखाउने काम गरेको पाइन्छ। त्यसपछि भने शैलेन्द्र समदर्शी, जस योञ्जन प्यासी, डा दिवाकर प्रधान, मिलन बान्तवा, सपन प्रधान आदि सक्रिय देखिन्छन्। यहाँको गजल समालोचनामा बढी भाव पक्ष केलाउने र कसै-कसैले संरचनाका विभिन्न तह, बहर व्यवस्थाको विवेचना गरेका छन्। यस क्षेत्रमा केही कमी कमजोरी पाइए तापनि यसको भविष्य आशालाग्दो नै देखिन्छ।

सहायक प्राध्यापक

स्नातकोत्तर नेपाली विभाग

दार्जीलिङ सरकारी महाविद्यालय, दार्जीलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।