म ऐना अगाडि कविता लेख्न बस्दा
भागेको एउटा नाम मात्रको कवि हुँ
मैले रोजेर बिहे नगरेको भए
एउटा बेश्याले देखेको सपनाको हत्या हुने थिएन होला
भर्रखरै अल्झिएर लड्नेलाई के थाहा ?
यो साँघुरो गल्लिमा अलिकति उसलाई पनि ठाउँ दिएको भए ?
बेपर्वाह एउटा विरता उभिन्थ्यो होला
ढुङ्गै नहानिदिएको भए पनि त्यो गुँडमा,
चराहरुको यहाँ आफ्नै एउटा देश हुन्थ्यो होला
समातेर ननिमोठी दिएको भए कोपिलाहरु,
यहाँ फूलहरुको आफ्नै एउटा प्रदेश हुन्थ्यो होला
मैले चुपचाप नहेरी दिएको भए
जलेर मर्ने थिएनन् यसरी पुतलीहरु
र भत्कने थिएनन् आँखाहरुमा सुन्दरता
फेरी पनि निसंकोच उनिहरुको उडान लिएर
म ऐना अगाडी कविता लेख्न बस्दा
भागेको एउटा नाम मात्रको कवि हुँ
त्यो क्यानभास मैले न हराइदिएको भए
रङ्गहरुले जिवन बोल्थ्यो होला
र हरेक आँखाहरुमा घान्द्रुक रमाउथ्यो होला
त्यो एउटा पात्र मात्रको पनि मैले हत्या नगरेको भए
रङ्गमञ्चले इन्कलाब उभिन्थ्यो होला
र उसकी बुढी आमाको सपना पूरा हुन्थ्यो होला
आज फेरी केही धुनहरु हराएको छ मैले गर्दा
यि पहाडहरु छिचोलेर उनिहरु कतै गएको सुन्छु
घनघोर बस्तीहरुमा आफ्नो बिरानी बेचिरहेका छन् रे
एक क्षितिज आयतन नापेर आँखाहरुमा
जिन्दगीको हिसाब किताब गर्दैछन् रे
रेडियोले हिजो आज कता कता भनेको सुन्छु
मुटुले आफ्नो चाल बिर्सिएर
उनिहरु घर फर्किएका छन् रे
यो आर्यघाट जस्तो जिन्दगी
आज मैले गर्दा जलिरहेछ हरेक आँखाहरुमा
यो मसानघाटको जस्तो शून्यता
आज मैले गर्दा गुन्जिरहेछ हरेक कानहरुमा
एकनास बलिरहेको त्यो आगोमा
जल्दै गरेको सपनाहरु मैले गर्दा नै हो
फेरीपनि त्यही आगोबाट एउटा राप चोरेर
म ऐना अगाडि कविता लेख्न बस्दा
भागेको एउटा नाम मात्रको कवि हुँ
चन्द्रनिगाहपुर-१, रौतहट