नरिसाउन मेरी कविता,
नहोउन टाडा अब ता
हृदयकी रानी,
सुख दुःखकी सङ्गिनी,
बिर्सेकी छउइनँ मैले तिमीलाई,
मन मन्दिरमा राखेकी छु सँधैभरिलाई।
दायित्व र कर्तव्यको
शङ्ख-घण्टी बजाउँदै,
स्नेह, प्रेम र सम्मानका
ध्वजा र लुङदरहरू फहराउँदै,
जिन्दगीको आरोह-अवरोहमा
उक्लिँदै-ओर्लिँदै,
आगन्तुकहरूसँग
मालकोश र वृन्दाबनी सारंग अलाप्दै,
दादरा र रूपक तालमा झुम्दै,
श्रद्धाका अबिर र अक्षताहरू लिई,
अन्तर्हृदयबाट तिम्रै आराधनामा लीन थिएँ।
धर्म र कर्मका फल-फूल लिएर
तिम्रै अर्चनामा आतुर थिएँ,
आकाशबाट बादलको घुम्टो उघारेर
चिहाउने मेरा श्रद्धेय गुरूजन,
धरतीमै प्रेरणाका झ्याल खोलिदिने
थुप्रै शुभचिन्तकहरू,
हुँदाङुँदै,
कसरी म तिमीदेखि
अलग्ग रहन सक्छु र ?
कोठेबारी करेसाका
कोपिलाहरू फक्रिएपछि
मुर्झिएकी तिमीलाई सह्यार्ने धोको छ।
साधना र प्रयासका काँटा र कर्नीले,
सुन्दर बनाउने रहर छ।
जिन्दगीको ब्यस्त वाहनमा चढेर
तिमी मदेखि टाढा नभाग,
समयको आकाशमार्गमा उडेर
समीपमा आउन,
नजिकमा आउन अब,
नरिसाउन मेरी कविता।
गान्तोक