19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नरिसाउन

कविता उषा शर्मा October 11, 2013, 8:57 pm

नरिसाउन मेरी कविता,

नहोउन टाडा अब ता

हृदयकी रानी,

सुख दुःखकी सङ्गिनी,

बिर्सेकी छउइनँ मैले तिमीलाई,

मन मन्दिरमा राखेकी छु सँधैभरिलाई।

दायित्व र कर्तव्यको

शङ्ख-घण्टी बजाउँदै,

स्नेह, प्रेम र सम्मानका

ध्वजा र लुङदरहरू फहराउँदै,

जिन्दगीको आरोह-अवरोहमा

उक्लिँदै-ओर्लिँदै,

आगन्तुकहरूसँग

मालकोश र वृन्दाबनी सारंग अलाप्दै,

दादरा र रूपक तालमा झुम्दै,

श्रद्धाका अबिर र अक्षताहरू लिई,

अन्तर्हृदयबाट तिम्रै आराधनामा लीन थिएँ।

धर्म र कर्मका फल-फूल लिएर

तिम्रै अर्चनामा आतुर थिएँ,

आकाशबाट बादलको घुम्टो उघारेर

चिहाउने मेरा श्रद्धेय गुरूजन,

धरतीमै प्रेरणाका झ्याल खोलिदिने

थुप्रै शुभचिन्तकहरू,

हुँदाङुँदै,

कसरी म तिमीदेखि

अलग्ग रहन सक्छु र ?

कोठेबारी करेसाका

कोपिलाहरू फक्रिएपछि

मुर्झिएकी तिमीलाई सह्यार्ने धोको छ।

साधना र प्रयासका काँटा र कर्नीले,

सुन्दर बनाउने रहर छ।

जिन्दगीको ब्यस्त वाहनमा चढेर

तिमी मदेखि टाढा नभाग,

समयको आकाशमार्गमा उडेर

समीपमा आउन,

नजिकमा आउन अब,

नरिसाउन मेरी कविता।

गान्तोक

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।