19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मैले लेखेको कवितामा

कविता तेजविक्रम कार्की October 19, 2013, 5:07 pm

त्यो बतासको एउटा गीत चोरेर

मैले लेखेको एउटा कविता

अक्षरहरुको विच

कालो भएर उभिएको छ

मन्दिरबाट कुनै चोरले भेटी चोरेपछि

गरिबको चुल्हो बलेर अघाएको पेट जस्तै मेरो कविता

मन्दिरमै चढाएर बगेको दुधको सेतो रङ्ग चोरेर

त्यतै कतै छेउको नालिमा धमिलिएको छ

घोषणा पत्रहरुको कालो अक्षर चुहिएर

टल्किरहेको आमाको अनुहारको आभा चोरेर

लेखेको आशाको यो कविता

गाउँको नक्शा भुलेर जानेहरुको

पदचापसँगै हराएको छ

आज फेरी कसो-कसो बाटो भुलेर आएका एकहुल मानिसहरु

मेरो आगनीमा जम्मा भएकाछन्

र फेरी मैले माफीको एउटा कविता

लेखिदिएको छु उनिहरुको लागी

आस्थाकै अर्को एउटा कवितामा

आगो सल्काएर

कालो उभिएको छु ।

मैले लेखेको कवितामा

निर्रवस्त्र उभिरहेकी छिन् कुमारी आमा

र भर्रखरै ज्युँदै गाडिएको छ नवजात छोरीसँगै एउटा कथा

आदिम उभिएर मान्छे

गाडिरहेछन् आफ्नै भ्रुण

र खिया लागेर पत्र पत्र बनेकाछन्

क्रान्तिका आदिम स्वरहरु

मैले लेखेको कवितामा

आकाश नियालेर खोज्दै थिएँ

हराएको एउटा चम्किलो तारा,

सुसाउन छाडेको नदी खोला

र युग सजाउने सपनाहरु

तर मैले गिट्टी कुट्दै गरेका साना नानीहरुको आँखाको भाव चोरेर

जिवन गीत लेखेको कवितामा

आज फेरी एउटा हाँसो हराएको छ

र हेर्दा हेर्दै पाना भरि

इश्वरको दुर्भाग्य कोरिएको छ

सक्ने भए उभ्याउने थिए एउटा बहस

मन्दिरको त्यो छिँडीमा र जलाउने थिए लासहरु

जो भोकै मरेका थिए मैले लेखेको कवितामा ।

चन्द्रनिगाहपुर-१, रौतहट

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।