आमा मलाई माया गर्न छोडिदेऊ
किनकि जीवनको अनगिन्ती गोरेटो देखाउन
यो संसारमा जन्माए पछि,
ममाथि तिमीले थुप्रै सपनाका पर्खालहरु लगाएका थियौ
थुप्रै आस्था र विश्वासको दियो जलाएका थियौ
तर तिमीले ममाथि निर्माण गरेको सपनाको पर्खाल त
गाल्र्यामगुुल्र्युम ढलेको छ ।
किनभने वसन्तमा पलाएको कलिलो मुना
शरदमा फक्रिन नपाउदै
सामाजिक ठूलो भुकम्पले चुडाएको छ ।
अनि त्यहीँ बेला तिमीले लगाएको
सपनाको पर्खाल पनि
गाल्र्यामगुुल्र्युम ढलेको छ ।
ठीक त्यसैबेला , सामाजिक भुकम्पको ठूलो विष्फोटले
अाँधी र हुरी पनि चलेको छ
त्यही ठूलो हुरी चलेपछि
तिमीले जलाएको आस्था र विश्वासको दियो पनि
निष्पट्ट अँध्यारोमा परिणत भएको छ ।
यसैले म यही अँध्यारो भित्र
उज्यालोको बाटो खोज्दा खोज्दै
साह्रै अलमलमा परिरहेछु ,
यसैले तिम्रो मायालु काखमा
लुटपुटिन आउन मन लागेर पनि
सामाजिक भुकम्पको चोटले सकिन
यसैले आमा ! मलाई माया गर्न छोडिदेऊ ।
किनकि यहाँ बाँच्नुको सार्थकता भित्र
मृत्युलाई चुम्नु पर्दोरहेछ ।
मानवीय प्रेमको हुल भित्र
निष्ठुरता र धोकालाई चुम्नु पर्दोरहेछ ।
यसैले पनि आमा मैले यहाँ जन्मेर
न तिम्रो स्तनपानको मूल्य तिर्न सकेँ
न तिम्रो सपनालाई पूरा गर्न सकँे
तर यसको बदलामा मैले त अचेल
मानवीय फट्याइँ र धोकालाई पाएँ
अनि भित्रभित्रै खोक्रिएका
सिङ्घो अस्थिपञ्जर मात्र पाएँ ।
यसैले आमा मलाई माया गर्न छोडिदेऊ
आमा माया गर्न छोडिदेऊ ।
प्रिन्सिपल, लिटिल स्टार इङ्लिस स्कुल
मन्थली, रामेछाप ।