19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हराएका बिम्बहरु

कविता टीका बस्नेत October 19, 2013, 5:25 pm

एकाबिहानै हराएका नानीहरु

लम्किएछन् क्षितिजतिर

रातभर नभेटेका

जुनहरु खोज्न ।

सम्साँभैंm

बस्तीमा रात पर्न थालेपछि

सुटुक्क बसाइ सरेछन् हर्कमानहरु

समानताको बस्ती बसाउन

राटामाटे भिरतिर ।

झिसमिसेमै हलो र जुवासँगै

वेसी झरेका धामी काइलाहरु

बस्ती कैल्यै नफर्किने गरी

सोझिएछन् बगरतिर

पसिनाको मूल्य खोज्न ।

कोक्रामा नानी बोकी

जंगल छिरेका हेलेनहरु

फर्केर संघार नटेक्ने भन्दै

उतै सुरु गरेछन्–जीवनको नौलो अध्याय ।

नानी

धामी काइला

हर्कमान

हेलेनसँगै

हराएको छ परिवेश

हराएका छन् खुसीहरु ।

नानी–पाठशाला

काइला–पौरख

हर्कमान–इमान्दारिता

हेलेन–प्रेमालाभ

सबका सब गुमनाम हुँदा

मुर्झाएको बस्तीभित्र

यतिखेर

छोइछिटाले लपक्क भिजेको पुरेत

बाँझो खेत देखेका आँखा बोकि

उक्लिएका साहुबा

बाटो बिराएकोे जँड्याहा

सबका सब साखुल्ले भई

सुनसान बस्तीमा

मञ्चन गर्दैछन्–दर्शकविहीन नाटक ।

यसैघडी

हुँदा हुन् त

नानी

हेलेन

हर्कमान

धामी काइलाहरु

बद्लाभमा खोज्थे होला

पसिना

जिज्ञासा र यौवनका मूल्यहरु ।

म भने,

चौतारीमूनि

भावसून्य परिवेशमा

खोज्दैछु–हराएका बिम्बहरू ।

घोराही,दाङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।