19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एकपटक पढनै पर्ने कृति “डोरीको पासो”

कृति/समीक्षा रमेश ढुङ्गेल October 19, 2013, 5:57 pm

“हे ! मेरी आमा ! दुःख र सुख यसरी मेटौला,

म कुनै दिन आउछु आमा स्वर्गमा भेटौला ।”

मथिका पंक्तिहरू नव प्रतिभावान् स्रष्टा उद्धवप्रसाद आचार्यद्धारा लिखित “डोरीको पासो” नामक शोककाब्यबाट लिइएको हो ।

नव प्रतिभावान् स्रष्टा उद्धवप्रसाद आचार्यद्वारा लिखित “डोरीको पासो” नामक शोककाब्य एकपटक सबैले पढनै पर्ने पुस्तकका रुपमा आएको छ ।

रामेछापको सुनारपानी गाविसको वडा नं ९ मा जन्मेर २०६१ सालदेखि साहित्य सृजनागर्न लागेका आचार्य आफनो प्रेरणाको स्रोत मन्थली उमाविका नेपाली विषय शिक्षक पेशल आचार्यलाई मान्दछन् ।

उनको “डोरीको पासो” नामक शोककाव्य हालैमात्र काठमाण्डौमा विमोचन गरिएको छ । जसलाई आफूले साहित्य सृजनाको प्रेरणाको स्रोतका रूपमा लिएका थिए उनैको हातबाट आफ्नो कृति विमोचन गराउन पाउँदा आचार्य निक्कै खुसी र सुनौलो अवसर प्राप्त भएको अनुभव सुनाउछन् ।

आमाको ४० वर्षको अल्पायुमै भएको मृत्यु र आफूलगायत दाजुभाइ र दिदिबहिनी एवं घर परिवारमा त्यस समयमा भएको पिडाका वेदनाहरु यस कृतिले समेटेको पाइन्छ । भनिन्छ सबै कुरा किन्न पाइन्छ तर आफुलाई जन्म दिने वाबु र आमा कहिल्यै किन्न पाइन्न । त्यसैले होला आचार्यले आफनो आमाको मृत्युपछि आफनो मनमा सल्केको आगोलाई केही शीतलता दिलाउन यो काव्यको रचना गरेको हुनुपर्दछ । २०६३ साल असार १७ गतेका दिन आफ्नी आमालाई कहिल्यै नफर्काउने गरी त्यो पापी कालले घर परिवारबाट खोसेर लगेपछि मातृ शोकमा आँसुले लेखिएको जस्तो लाग्ने यो काव्य पढिसकेपछि आमा नहुनेहरूका लागि एकपटक आँखा रसाउने र हुनेहरूका लागि पनि एकपटक तुरुन्तै गएर भेट गरी हालौं जस्तो अवस्था बनाइदिन सफल यो कृति एकपटक हामी सबैलै पढ्नै पर्ने देखिन्छ ।

आफ्नो दोस्रो कृतिकारुपमा उभ्याउन सफल यस “डोरीको पासो” नामक शोककाव्यभन्दा अगाडि नेपालमा काम नपाएर विदेशमा भौंतारिएका नेपाली दाजुभाइहरूको कारुणिक अवस्थाकोे बारेमा उल्लेख गरी ‘विदेशी भूमिमा’ नामक झ्याउरे छन्दको खण्डकाव्य पनि २०६२ सालमा प्रकाशन गरी जिल्ला सदरमुकामको तत्कालीन अवस्थामा आफू पढने विद्यालय मन्थली उमाविमा नै विमोचन गराइसकेका थिए ।

उक्त कृति धेरैले मनपराएपछि आचार्यले यसलाई दोस्रो कृतिका रूपमा प्रकाशन गरेका हुन् । २०६३ सालमा उनलाई मातृशोकका कारण केही समय साहित्यिक क्षेत्रमा ओझेलमा परेका आचार्य रामेछाप जिल्लामा गठित अनौपचारिक साहित्यिक मञ्चका संस्थापक सहसचिवका रूपमा पनि केही वर्ष काम गरेका थिए ।

४२ पृष्ठ रहेको यस काव्यमा १६० वटा असारे झ्याउरे छन्दका श्लोकहरू रहेका छन । १ हजार १ प्रति छापिएको यस काब्यको प्रकाशन सविना घिमिरे (आचार्य) र इन्दिरा कार्की (घिमिरे) ले गर्नुभएको हो । साथमा सालुका शक्ति घिमिरेद्वारा लिखित “यसरी म¥यो माया” नामक वियोगात्क काव्य पनि यसै पुस्तकमा समावेस गरिएको छ, जुन २२ पृष्ठको रहेको छ । पुस्तकमा साहित्यकार पेशल आचार्यको ‘शब्दहरूको नमन आमा तत्वलाई’ शीर्षकको भूमिका रहेको छ भने लेखक आफैँको “डोरीको पासो” भित्रको अर्को पासो नामक आफना विचारहरु पनि रहेका छन । त्यसैगरी बौद्धिक दर्पण प्रकाशनका के पी भण्डारी को शुभकामना पनि यसमा रहेको छ ।

“डोरीको पासो”को साथमा रहेको “यसरी म¥यो माया” नामक शोककाव्यमा पनि नेपालमा प्रशस्त रोजगारीका अवसरहरु नभएर बिदेशमा भौतारिनुपरेको कारुणिक अवस्था र पतिपत्नीबिच हुने माया र प्रेमको गहिराई र हाम्रो समाजमा पति परेपछि पत्नीले वर्षभरी बरखी वारेर वस्नुपर्ने दोस्रो विवाह गरेर जान नहुने बाध्यतालाई चिर्नुपर्छ भन्ने सन्देश समेत यस काव्यमार्फत उजार गर्न खोजिएको छ ।

समीक्षा भन्ने बित्तिकै राम्रा र सुधार गर्नु पर्ने पक्षलाई आंैल्याइदिनुपर्ने हुन्छ । “डोरीको पासो” नामक शोककाब्य धेरै राम्रो हँुदा हूँदै पनि केही कुराहरू सुधार हुन सकेको भए अझ राम्रो हुने थियो जुन यसप्रकार रहेको छ ।

* १६० वटा श्लोकहरुलाई बढाएर पुरै किताब शोक काब्यको मात्र प्रकाशन गर्न सकेको भए राम्रो हुने थियो ।

* स्वर्गीय ममतामयी माताको नाम पृष्ठ नं ३ को समर्पण गरिएको ठाउँमा नै उल्लेख गरिदिएको भए अझ प्रभाबकारी हुन्थ्यो ।

* किताब अनुसारको मूल्य अलि बढि भएको होकी ? यसलाई समायोजन गरेर केही कम मूल्य राखेको भए राम्रो हुन्थ्यो ।

* कभर पृष्ठको अगाडि भागमा रहेको लेखकको थर र लेखकद्वय उल्लेख गरीएको अन्तिम पृष्ठमा रहेको लेखको थर एउटै भएको भए अझ राम्रो हुन्थ्यो ।

* भाषा, लय र शैली केहीकेही ठाउमा बिग्रेको भेटिएको छ, पटकपटक हेरेर सकेसम्म बिग्रिन नै नदिन सकेको भए राम्रो हुने थियो ।

* लेखकद्वयको जन्ममिति पनि लेखक परिचयमा राखिदिएको भए पाठकहरुलाई लेखकहरुको बारेमा बुझ्न अझ सजिलो हुने थियो ।

त्यसैगरी “डोरीको पासो”सँगै रहेको यसरी “यसरी म¥यो माया” नामक वियोगात्मक काब्य पनि कम राम्रो छ्रैन । शक्ति घिमिरेले आफ्नो कलिलो उमेरमानै यत्तिको साहित्य रचना गर्न सक्नु चानचुने कुरा होइन । नाम अनुसारको काम हो कि भन्ने आभाष हुन्छ, साहित्य सृजना गर्न शक्ति घिमिरेलाई परमेश्वरले ठूलै शक्ति दिएछन् जस्तो लागेको छ ।

फुटकर कविताहरु नै त्यति धेरै नलेखी सिधै कृति प्रकाशन गर्न आट गर्नु नै ठूलो कुरा हो । घिमिरेको यो कृति पहिलो र अन्तिम नहोस् भन्ने हामी आम पाठकले चाहेका छौं । जिल्लाको साहित्यको क्षेत्रमा घिमिरेले पनि इँटा थप्ने काम गर्नुभएको छ एउटा मात्र इटा हैन धेरै वटा इँटाहरू थपेर जिल्लाको साहित्यिक अभियानमा साथ र सहयोग गरेको हामी हेर्न चाहान्छौ ।

पहिलो पटक भएर पनि हुन सक्छ उहाका धेरै कुराहरु राम्रा हँुदाहूँदै पनि केही कुराहरु भने सुधार गर्नुपर्ने देखिन्छ ।

* केहि केही ठाँउमा भाषा र लय अझै मिलाउनु पर्ने देखिन्छ ।

* कतै ४ हरफको श्लोक त कतै दुई हरफको श्लोक नगरी सबै ठाउमा एकै प्रकारको श्लोकहरू राख्न सकेको भए अझ राम्रो हुने थियो ।

* कृतिलाई अझ लामो बनाएर छुट्टै पुस्तकका रुपमा प्रकाशन गर्न सकेको भए अझ राम्रो हुने थियो ।

सरसरती हेर्दा धेरै कुराहरु राम्रा छन् केहि कुराहरु भने सुधार गर्नुपर्ने अबस्था देखिएको छ । गल्ती भयो भन्दैमा निराश हुनुपर्ने अबस्था देखिदैन । काम नगर्ने मान्छेको गल्ती नै हुँदैन काम गर्नेको केही न केही कतै न कतै केही गल्ती हुन्छन नै ती औल्याइदिएका गल्तीहरुलाई शुभ चिन्तकहरुको सुझाबका रुपमा लिएर अगाडि बढ्न म दुबै नव प्रतिभावान् काव्यकारहरुलाई सुझावात्मक अनुरोध गर्न चाहान्छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।