रन्थनिरहेको मेरो मस्तिष्क
हिर्काउँछ सून्यता
लगातार तर बन्द कोठामा
शान्त पीडा भएको छ
कुनै आयामको खोजीमा
थाह छ मलाई
कुनै साधारण पीडा हुने छैन
त्यो मस्तिष्कको स्पर्शले खोजेको
तिलस्मी आयाम
पूर्णता होइन
एउटा पीडारहित भएको छु
माफ गर्नुहोला
मृत्यु पूर्णता थियो या थिएन
मैले त्यो तस्वीर
अनुमान गर्न सकिनँ
मैले आफूलाई सून्यतामा सम्झाइरहँे
उन्मुक्ति पाइसकेको तिम्रो
जीर्ण शरीर
कसरी रुमल्लिन सक्छ र !
तिम्रो चेत मष्तिस्क
उन्मुक्तिको स्वागत्मा छ
कुनै आयामको अभ्यातगतलाई
लाग्दैन अब कुन अवतार फेरिँदैछ
म प्रश्नहीन छु
कतै आक्रोश लाग्छ
कतै उद्धेलित लाग्छ
मैले खोजेको आयाम
म आफ्नै सामिप्यमा खोजिरहेछु
भौंतारिरहेका मेरा सून्यताहरू
थाहछैन मलाई यसको पूर्णता कहाँ छ ?
पूर्णताको साहस बुद्धले गरे होलान्
तर म सून्य होइन
महासून्य खोजिरहेछु
त्यहाँ म होइन
सबै हुनेछन् ।