संतृप्त असंतृप्त चाहना गोडमेल गर्न
प्रवासिएको भौतिक शरीर
यतिखेर गाउँबेँसीमा
शारदीय पर्वोत्सवमा
ढकमक्क फुलेका सयपत्री, लचप्पै फक्रिएका गोदावरी
र सुगन्धित पारिजातको मुस्कानले
आत्मा धेरै पटक सँघार टेक्न खोज्दैछ,
भदौमा पाक्ने भदैया धान
सनपाटको आलो बास्ना
र फूलबारीमा गाउने सेतो पाटे चरी
फिटिक्फिटिक् पुच्छर पड्कारेर
नौरथा डाक्दै होला
थाक चिउरा कुट्ने धानका रास
डोकाका डोका गेरु
पूर्व रातो नहुँदै आएका ढिकीका
खल्र्याङ् घ्याङ् खल्र्याङ् घ्याङ्
चिउराका ‘भर्जिन’ बास्नाहरू
‘नचढाई खानु हुन्न, मुख बाङ्गो हुन्छ’ भन्ने
आमा, ठूलेमा र हजुरआमाका आदेशात्मक ममता
किर्ना लागेका सिन्दुरे खसीका कानमा
भाइबहिनीको कलह
महाष्टमीमा भएको कालरात्री पूजनोत्सव
लिङ्गे र रोटेपिङ्हरूमा उरुङ केटाकेटीहरूका उत्तुङ्ग जात्रा
आर्शिवाद थापिएका शीरमा जौका पहेँला लामा जमरा
नयाँ लुगाका आला रागात्मक बास्ना
मावलमा माइजूका हातले दिएका कबाब
सेल र चम्चाले काट्दै दिँदै गरेका दही
थिए गाउँमा खुसीका अनन्तता,
दसैँ केटाकेटी वयमा केटाकेटीलाई आउँदो रै’छ
अहिले —
सौविध्यले भरिपूर्ण जीवन छ तर राग छैन
सुविधाले रंगिएका थुप्रा छन् तर माग छैन
पाखा पखेरा ‘इन्टरनेसनल फ्लाइट’ सँगै छुटेका छन्
साथीसँगी व्यवहारमै भुलेका छन्
मलाई ‘डि.भी’.को भिसाले
यो सिसैसिसाको
देशमा÷महलमा
पाहा पछारेझैँ पछारेको छ
प्रवासी मन
पखेँटा हालेर कल्पनाको
कतिपल्ट पुग्यो काँइलाको कान्लाभरि
टपटप टिप्यो घिराँैला
देवीघरमा चढाउन भनेर
हामी काँस फुलेपछि दसैँ आयो भन्थ्यौँ
कोठेबारीमा घाँस साँचेपछि दसैँ आयो भन्थ्यौँ
बालीघरे दमाई
आँगनमा आएर खिटीटीखिटीटी
हाते कल चलाउँथ्यो जब
त्यसबेला हामी दसैँ आयो भन्थ्यौँ
थुक्क जीवन !
‘पेपर मनी’ का पछि लागेर
अमेरिका आइयो
अहिले पैसाबाहेक खै ! के लाइयो ? के पाइयो ?
यो अलिकति मासुको मुटुभित्र आमाले पैँचो दिएका संवेदनाहरू
पनि नभएका भए
‘पासवर्ड’ थिचेर खुल्ने अटेरी कम्प्युटर भइने रहेछ !
यी अलिकति बाल्य जीवनका स्मृति फाँकीहरू पनि मुटुमा जगेडा नभए
‘एन्टी भाइरस’ नहालेर ‘प्रोग्राम ह्याङ्’ भएको पुरानो ‘ल्यापटप’ भइने रहेछ !
जति कल्पे पनि थोरै हुने
विदेशबाट दसैँ कल्पँदा
नेपाली मुटु असाध्यै रुँदो रहेछ
नेपाली मुटु असाध्यै रुँदो रहेछ ।