14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

प्रवासमा प्रमिथस

निबन्ध महेन्द्र महक October 26, 2013, 2:50 am

जिन्दगी एउटा प्रमिथस भोग्दै छ ।

जिन्दगी एउटा ढुङ्गा बोग्दै छ । दिनहुँ– सिसिफस बनेर । दिनहुँ पहाड उक्लिन्छ जिन्दगी ।

तर यहाँ फुर्सद छैन पर्खेर सोच्ने । सोचेर पीडा अनुभूति गर्ने ।

घडीको अलार्मसँगै उठ्छन् प्रमिथसहरु यहाँ । यहाँ रात निदाउनका लागि रात पर्दैन । बरु जतिबेला पनि ड्युटी पर्छ । म सुतेको बेला अर्को कुनै प्रमिथस ड्युटीबाट आएर सुत्छ । म जाँदै गर्दा अर्को कुनै प्रमिथस भर्खरै आइपुग्छ– र, फेरि सुत्छ जिन्दगीको ढुङ्गामा । रातभरि प्रमिथसको हृदय कौवाले ठुङ्गछ ।

बिहान फेरि पलाउँछ हृदय ! र दौडिन्छ हतार हतार ड्युटीमा । (उसो त उसका लागि रात र दिनका सीमानाहरु भत्किएका छन् ।)

म ड्युटीबाट फर्कदै गर्दा अर्को कुनै प्रमिथस ड्यटी जाँदै हुन्छ ।

अर्थात् जतिबेला पनि ड्युटी जतिबेला पनि निन्द्रा !

यो चक्र । यो साइकिल ।

हृदय पलाउँछ । रातभरि कौवाले ठुङ्गेर दुःखाउँछ । बिहान फेरि पलाउँछ । फेरि खाइसक्छ । निरन्तर...निरन्तर ।

भागदौडको ड्यटी...।

– स्काइपमा एकादेशकी परीसँगका रसिक बात !

– नीला चलचित्र र उत्तेजित मन !

– रक्सीको बोतल र आवेगको बाढी !

– एउटा एक्सन मुवी र मनोरञ्जन !

– छुट्टीको दिन र समुन्द्रको स्नान !

(कहिले काहीँ कुनै कुनै प्रमिथस बदलिन्छन् कामदेवमा र रतीको खोजीमा निस्कन्छन् !)

–परीका अनुहारको रसिक कल्पना...

काली, गोरी होची, अग्ली, मोटी...

–परीको स्वर्गलोकको विविधताको खोजी...

चाइनिज–अफ्रिकन–बंगाली–नेपाली–फिलिपिना ...।

– आदर्शका कुरा अनि आनन्दका बात !

– अवसादले भरिएका निद्रालु रात !

– जुवाको खाल र जितहारको मात !

एकासाथ बाँच्छ जिन्दगी । केहि पनि त छुट्टिदैन । केहि पनि त टुक्रिदैन ।

यहाँ रात पर्दैन । दिन रातको नाममा ब्यूँझिन्छन् । दिन रातमा र रात दिनमा बदलिदैन । केवल ड्युटीका शिप्mट बदलिन्छन् ।

राति काम गरेर दिउँसो सुत ।

बिहान काम गरेर राति सुत ।

दिउँसो काम गरेर मध्यरातमा सुत ।

चोरभैंm चुपचाप किचेनमा पस्नु– फ्रिजको चिसो खाना तताएर पेट भर्नु– हेडसेटले कान छोपेर फिल्म हेर्नु– एक दुई वटा ईपेपर हेर्नु र सुत्नु ।

फेरि उठ्नु फेरि ड्युटी जानु ।

एउटा साइकिल ।

साइकिलको पैडल घुमाइरहनुपर्छ । मान्छे दौडिरहन्छ ।

साइकिलको गन्तव्य हुन्छ । मान्छेको गन्तव्य हुन्छ र ?

प्रवासी प्रमिथसको गन्तव्य– दुई वर्ष÷ चार वर्ष÷छ वर्ष ...।

दिन उस्तै छ । दिनका नाम–महिना–वर्षका नाम बदलिन्छन् ।

समयसँगै उसै गरी अनुहार बदलिन्छन् ।

शिप्mट बदलिन्छन् ।

प्रमिथस बदलिन्न् ।

यो प्रमिथस आगो चोरेको आरोपमा खाडी नामको कारकस पहाडमा बाँधिएको होइन । प्रवासको यो प्रमिथसले आगो चोर्नु पर्दैन पनि । ऊभित्र नै आगोको ज्वाला छ । र, पनि आप्mना मानिसलाई त्यो आगो दिन सक्दैन !

यो प्रमिथस पसिना बगाउन पसेको हो ।

र, पनि उसको हृदय ठुङ्गछ निर्दयी पन्छी ।

प्रमिथस प्रवासमा छ !

प्रमिथसकै हल्लाहरु बोकेर आउँछन् प्रमिथसहरु ।

– रातो बत्तिमा बाटो काट्ने प्रमिथसलाई गाडीले हानेर ठहरै पा¥यो ।

–रक्सी खाएर सुतेको एउटा प्रमिथस अर्को दिन मृत फेला प¥यो ।

– भान्सा विवादले एउटा प्रमिथसले अर्को प्रमिथसको ज्यान लियो ।

– सुपरभाइजरको कञ्चट बजाएपछि एक्कासी टर्मिनेन भयो एउटा प्रमिथस ।

अरु पनि थुप्रै थुप्रै हल्लाहरु ।

दिनहुँ ओर्लिन्छन् यी प्रमिथसहरु एयरपोर्टमा । (पेन्डोरा र पेन्डोराको बक्सको खोजीमा !)

आपूmले मन पराएका मानिसहरुलाई छोडेर ‘कारकसको पहाड’ भएठाउँ आइपुग्छन् भर्खरका तन्नेरी प्रमिथसहरु जहाँ उनीहरु अभिशप्त छन् आप्mनो हृदय ठुङ्गने पन्छीको निर्दयीता सहन !

(हो यहीँ, जिन्दगीको ढुङ्गा धकेल्छन् जिन्दगी बाँच्ने लालसा बोकेका आधुनिक सिसिफसहरु पनि ।)

यो प्रमिथसलाई कुनै ज्यूसले बाँध्न लगाएको होइन कारकसको पहाडमा । र, पनि पेन्डोराको बक्समा रहेको अन्तिम ‘आशा’ ले उसलाई बिउँझाउँछ हरेक पटक र दौडाउँछ ड्युटीमा ।

काममा खटिएको बेला जब उसको अपमान हुन्छ र बताइन्छ उसको देशको गरिबी, र सुनाइन्छ उसको माटोको दुर्दान्त व्यथा ।

त्यतिबेला उसले केवल आशा गर्छ ।

एउटा हर्कुलसको आशा ।

एउटा हर्कुलस जसले उसलाई र उसको देशलाई मुक्ति दिन सकोस् ।

पीडा भोग्छ सिसिफस । पीडा भोग्छ प्रमिथस ।

बदलामा पाउँछ–

– केहि हजार दिराम÷ रियाल÷ रिङ्गेट ...।

– अथवा मोबाइल सेट ...।

– अथवा एलसीडी टीभी ...।

र उसको स्वर्गले पाउँछ रेमिटान्स !

गर्वसाथ हरेक वर्षको बजेटमा यो रेमिटान्स समावेश हुन्छ ।

त्यो पठान सुनाउँदै थियो एक दिन मलाई– पाँच÷दस वर्ष जतिसुकै काम गर तर यहाँबाट जाँदा तिमीसँग कम्पनीले दिएको टिकेट बाहेक केहि हुने छैन । घरका समस्या बिर्सेर थोरै पैसा आप्mना लागि राखेनौ भने घर गएको बेलामा ऋण कारेर आपूm फर्किएको खुशियाली मनाउनु पर्ने हुन्छ !

ऊ पनि एउटा प्रमिथस !

“खाली हात आए थे हम खाली हात जाएँगे !”

उसले गुनगुनाएको थियो र हँसाएको थियो ।

पीडाले भरिएको हाँसो ।

लेबर्स फिलोसफी । प्रमिथसले भोग्ने जीवनदर्शन ।

‘यसै गरी बिताइदिन्छु म यो जिन्दगी ।’

अर्को विकल्प नभएको जिन्दगी ।

या विकल्प नखोजेर ‘यसैगरी’ बाँच्न चाहेको जिन्दगी ।

धेरै फरक छैन ।

एउटै नियती भोग्छन् । एउटै ढुङ्गा बोक्छन् । उसैगरी पहाड उक्लन्छन् । अनेकौं सिसिफसहरु ।

विकल्प बोकेका सिसिफसहरु ।

निर्विल्प प्रमिथसहरु ।

“म फर्केर आउने छैन यो परदेशमा !” दावी गर्दै फर्कन्छन् केही प्रमिथसहरु ।

र छ महिना नपुग्दै फर्केर आउँछ– प्रमिथस बनेर । सिसिफसको ढुङ्गा बोक्न ।

ऊ विकल्प खोज्दैन या खोजेका विकल्पमा असफल हुन्छ ।

बाँकी रहेको विकल्प निर्विल्प अपनाएर त्यो प्रमिथस प्रवास पस्छ ।

र ‘त्यसै’ गरी बिताइदिन्छ उसले जिन्दगी ।

– प्रमिथस ऋण तिर्नका लागि बिताउँछ जिन्दगी,

– प्रमिथस घडेरी किन्नका लागि बिताउँछ जिन्दगी,

– प्रमिथस घर बनाउनका लागि बिताउँछ जिन्दगी,

– प्रमिथस बा÷आमाको उपचार÷ श्रीमतीका गहना÷ छोराछोरीको पढाई र भाइबहिनीको विवाहका लागि बिताउँछ जिन्दगी,

– प्रमिथस बेरोजगार बस्नुको पीडा भुल्नका लागि बिताउँछ जिन्दगी,

–प्रमिथस जिन्दगी बिताउनका लागि बिताउँछ जिन्दगी ।

यसैगरी बिताइदिन्छ उसले जिन्दगी ।

जिन्दगी बदलिएका छन् । फर्केर जाने प्रमिथसको जिन्दगी । गएर फर्कने प्रमिथसको जिन्दगी । वा गएर नफर्कने प्रमिथसको जिन्दगी ।

बदलिएका त छन्, ‘थुप्रै–थुप्रै’ कुरा बदलिएका छन ।

जस्तो कि अधूरो आउने बजेट पूर्ण बनेको छ,

जस्तो कि भरिपूर्ण छोडेको घर अधूरो बनेको छ,

जस्तो कि सुन फल्ने माटो बञ्जर बनेको छ,

जस्तो कि विस्थापित भएको छ प्रेम र हुर्कदै छ घृणा र घात,

जस्तो कि भाँचिएका छन् मनहरु र टुटेका छन् सम्बन्धहरु ।

हो त, हामी भन्न सक्छौं थुप्रै थुप्रै कुरा बदलिएका छन् ।

र पनि जिन्दगीको ढुङ्गा बोक्ने सिसिफसको नियती त उस्छै छ ! चक्र उस्तै छ । प्रक्रिया उस्तै छ ।

यस प्रक्रियामा ‘त्यसै गरी’ बिताइदिनु हो जिन्दगी, जसरी बिताउँदै छु म पनि एउटा प्रवासी प्रमिथसको जिन्दगी र लेख्दैछु प्रवासी प्रमिथसको कहानी ।

हाल: आबुधाबी– यूएई

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।