खै कसरी सुनाउँ
मेरो ढुकढुकीको आवाज ?
तिमीले गाउँ छाड्दा
शीत ओभाएकै थिएन
चराहरू ब्यूँझिएकै थिएनन्
मलाई लागिरहेथ्यो–
‘अस्ताउँदै छ मेरो जून’
मलाई लेख्न मन छ कवितामा–
‘देशको स्वतन्त्रताभन्दा ठूलो हो
तिम्रो उपस्थिति यो माटोमा’
सुनेको हुँ –
सहरी आकाशमा पूल हुन्छ रे
परदेशमा त पानीभित्र पनि घर हुन्छ रे
मलाई त डर पो लागिरहेछ
त्यै आकाशे पूल
तुइनजस्तै चुँडियो भने !
पानीको घर
बाढीले बस्ती बगाएजस्तै बगायो भने !
ओहो !
कस्तो अपशकुन सोचिरहेछु
यस्तो बेलामा
सुन्न मन छ –
तिम्रो प्रेमिल आवाजको धून
तिमीलाई पठाउनु छ खबर –
गाउँमा भर्खरै डोजरले बाटो खनेको छ
अस्तिदेखि प्रौढशिक्षा शुरु भएको छ
अझ भन्नु छ–
मेरो दुक्खभन्दा ठूलो हो देश
र यो देशभन्दा महत्वपूर्ण छ
तिम्रो उपस्थिति यो आँगनमा
देखेको छैन मैले
क्षितिजको पल्लापट्टि के छ ?
मैले देखेको छु –
आलुबखडाको बोटमा फूलेका गाउँले सपना
भोगेको छु –
तुषारोमा टेकेर हिँडेका पाइतालाका पीडा
तिमीलाई भेट्नेवित्तिकै भन्नुछ –
मेरो प्रतीक्षाभन्दा लामो हो
तिमी फर्कने बाटो
त्यो बाटोभन्दा लामो हो
हाम्रो सपनाको गोरेटो
सपनाको गोरेटोभन्दा लामो हो
पसिनाको नदी
सबभन्दा लामो हो –
तिम्रो उपस्थिति हुनुपर्ने कारणको फेहरिस्त
खै कसरी सुनाउँ
अन्तरहृदयको कुनामा लेखिएको कविता !
काभ्रे