19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साँढेको साम्राज्यमा भक्लु मुसहर

कविता मणिराज सिंह November 16, 2013, 2:29 pm

जीवनसित जोतेर

खेत र बारीका पाटाहरू

बाढीको चपेटामा परेर

समयसितै खिइदै गए

मनका हरियालीहरू

हिलाम्य पारेर पानीले

आफ्नै अनुहार

लथालिङ्ग बनाएको देखेर

भक्लु मुसहर

इन्तु न चिन्तु भएको छ ।

जवानीको उर्लदो भेलसित

सुनौलो सपना जोडेर

भक्लु,

पसिनाका दाना सजाउँदै

मालिकको खेतको आली सम्याउँछ

कोदालोसित पाखुरी बजार्छ

आँधिबेरी सुस्ताएझैँ

आत्तिएको सूर्यलाई तालुमा रोपेर

आफ्नै बबुराहरूको खुसी

सितुवा र गङ्गटाको रसमा

मुसाको सितनसित

तीता भ्रमहरू चपाउँदै

दर्शन गर्न हतारिदै पुगिसक्छ

पत्थरभैmँ कठोर हृदय भएको

मालिकको सेवामा ।

मर्दामर्दै पनि बाँचेको छ

बाँच्दाबाँच्दै पनि मरेको छ

निरर्थक जीवनका गोरेटा र घुम्तीमा

उज्यालोको आस गर्दागर्दै

भक्लु मुसहर,

जिन्दगीका कोर्राहरूमा रन्थनिएर

सुरूङ्गजस्तो झुप्रोमा

बालबच्चा च्यापेर

रमाएर शङ्खेकिराको स्वादमा

रात नछिपिँदै

दिनको प्रतीक्षामा निदाउँछ

अधकल्चो पेट

पुसको जाडोमा लुगलुग काम्दै

एक धरो लङ्गौटीको भरमा

अलिकति सङ्कोच र अलि धेरै सम्मोहित भएर

आतङ्कको छाँया वरिपरि

जवानी खेलाउँदै जुनकिरीको

त्यसकै रूपरङ्गमा लहसिंंदै

सुस्तरी छामेर प्रेमिल भुमरीहरू

एकैछिनमा

उकुसमुकुस रहरहरू घुटुक्क निल्दै

नून खाएको कुखुराभैmँ

घुप्लुक्क निदाउँछ ।

गन्तव्यहीन पैतलाहरू

महत्वाकाङ्क्षाको गोरेटो र घुम्तिहरूमा

मध्यरातमा लमतन्न सुतेको सडकझैँ

बिहानै

मालिकको दर्शन गर्न जानुछ तरोताजा भएर

झुटो साक्षी बक्नु छैन घोसेमुन्टो लाएर उसले

कर्कश आवाजको चोटले किचिएर

सपनाहरू फुटाउनु छैन

मालिकको लात्ती खाएर

किन की सवेरै

उसले आँखा मिच्नु अघि नै

बुच्चा अनुभुति र सम्वेदनाहरू

प्रभाती रागमा मिसिनु अघि नै

जूनकिरीले पनि मालिकको दर्शन गरिसक्नु पर्नेछ

विचारको खाडलमा

सिर्जनशीलताको प्रयोगभन्दा पर

भक्लु मुसहर,

गोरुको नियति बाँचिरहेछ ।

साँढेको साम्राज्यमा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।