मान्छेको
निर्मल बस्ती
अमान्छेको
फोहोर शहरभित्र
प्रसवको स्नेहिल वेदना
र
मातृत्वको अविस्मरणीय
अनुभवमा
तीतो विष घोलिँदैछ।
विश्वासघातका
सूलहरूले घोचेर
छिया-छिया भएको
छातीको घाउ
कहिले भरिने?
चिसो रगत उम्लेर
भत्भति पोलेको मुटु
कसरी शीतल हुने?
क्रन्दन र चित्कारपूर्ण
क्रूर क्षणको कल्पनाले
ममताको ज्वालामुखी फुटिरहेछ।
करुणाको सागर उर्लिरहेछ।
धुलो-माटोले सम्म
हात नलाएको
र
मिठास घोलिएको
तोतेबोलीलाई चुंडिरहेछ बलात्........।
सुरक्षाको आँचल
थाप्न सकिँन।
रक्षाकवच बन्नसकिँन।
कठै!
बाल्यावस्थालाई
फड्को मार्नुपर्ने
बाध्यता
कटु अनुभवको सियोलाई
मुटुमा खिलेर बाँच्नुपर्ने लाचारी।
नीचता र पागलपनको
अँगारले खंग्रिएकी तिमीलाई
उजाड़ मरुभूमिका
क्याक्टसहरूबाट
जोगाउनु छ।
दामिनी र गुडियाहरूकी
असहाय आमा
र
निर्लज्ज अमान्छेको पनि आमा म।
अहँ,
अब
म सन्तान जन्माउँदिन,
विचारको नर्क
स्वर्गमा परिणत नभएसम्म
म पटक्कै गर्भधारण गर्दिनँ,
नत्र भने
एक दिन
भ्रूणले समेत
गुहार मागेको
सुन्नुपर्नेछ।
चिच्च्याएको
सुन्नुपर्नेछ
बचाऊ! बचाऊ!! बचाऊ!!!