14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

राजेश्वर देवकोटाको ‘उत्सर्ग प्रेम’ उपन्यासमा पूर्वीय चिन्तन

कृति/समीक्षा टीकाराम आचार्य November 16, 2013, 8:54 am

१. विषय प्रवेश

गोर्खा जिल्लाको लिगलिग गा.वि.स.मा वि.सं. १९८६ सालमा जन्मिएका राजेश्वर देवकोटा मध्यमवर्गीय परिवारका हुन् । उनले पिता हरिभक्त देवकोटा र माता बसुन्धरा देवकोटाका जेठा सुपुत्रका रुपमा जन्मी, हुर्की, आफ्ना पण्डित पिताबाटै आरम्भिक शिक्षा ग्रहण गरेका हुन् । उनले संस्कृत साहित्यमा शास्त्री, अंग्रेजीमा बी.ए. र हिन्दीमा साहित्यरत्नसम्मको औपचारिक अध्ययन गरेको बुझिन्छ (पौडेल, २०६९ः १२५) । उनले औपचारिक अध्ययनका अतिरिक्त, कला, साहित्य र दर्शनका बारेमा प्रशस्त स्वाध्ययन गरेको पाइन्छ । हिन्दी भाषाबाट कलम चलाएका देवकोटाले कविता विधाबाट लेखनको आरम्भ गरेका पनि खुल्न आउँछ । साहित्यका क्षेत्रमा देवकोटा निबन्ध, बालसाहित्य, जीवनी साहित्य, कविता, कथा र उपन्यास विधामा क्रियाशीलता रहेको देखिन्छ । उनका कृतिहरू निबन्ध विधातर्फ ‘शाही भोज’ (२०१४) ‘नेपाली निबन्धावली’ (२०१८) (सहलेखन), बाल साहित्यतर्फ ‘बाल साहित्य’ (सहलेखन), जीवनी साहित्यतर्फ ‘हाम्रा पुर्खाहरू’ (२०२४), कविता सँगालोका रूपमा ‘युगकाव्य’ (२०३९) र उपन्यास विधातर्फ ‘आवर्तन’ (२०४१), ‘द्वन्द्वको अवसान’ (२०४२), ‘पूर्वकथा’ (२०४३), उत्सर्ग प्रेम (२०४४), ‘पूर्णिमा’ (२०५४) र ‘डबली’ (२०५९) प्रकाशित रहेको पाइन्छ । यसका अतिरिक्त विभिन्न साहित्यिक पत्रपत्रिकामा उनका फुटकर साना कथा, कविता र निबन्ध पनि प्रकाशित रहेका देखिन्छन् । यसरी हेर्दा देवकोटाले गद्य र पद्य विधातर्फ कलम चाए पनि पद्यविधामा भन्दा गद्य विधामा बढी क्रियाशील रहेको देखिन्छ । त्यसमा पनि गद्याख्यान उपन्यासमा उनको विशेष रुचि र सीप रहेको पाइन्छ । निबन्ध तथा अन्य विधामा प्रशस्त अभ्यास गरेर मात्र देवकोटा उपन्यास लेखनतर्फ आकर्षित भएका र उनको पूर्वाभ्यासले उपन्यास लेखन लाभान्वित भएको पाइन्छ । उनका उत्कृष्ट कृति ‘पूर्वकथा’ र ‘उत्सर्ग प्रेम’लाई साझा र मदन पुरस्कार पनि प्रदान गरिएको छ । ‘द्वन्द्वको अवसान’ उपन्यास त्रि.वि. स्नातक तहको ऐच्छिक नेपाली विषयको पाठ्यक्रममा समावेश गरिएको छ । उनका आधा दर्जन उपन्यासमा आफ्नो स्वाध्ययनबाट प्राप्त पूर्वीय दर्शन चिन्तनको रन्को पनि भेटिन्छ । त्यसैले उनका उपन्यासले बौद्धिक पाठकको अपेक्षा गरेका पाइन्छ ।

२. विषय विश्लेषण

देवकोटाले आफ्ना उपन्यासमा विषयका रूपमा भाव वा चिन्तनलाई विशेष रूपमा समावेश गरेको देखिन्छ । उनले ईश्वर, प्रकृति, मानव, जीवन, कला र भौतिक विज्ञान जस्ता सांसारिक विषयमाथि आफ्ना विचारहरू प्रतिपादन गरेको पाइन्छ । उनका उपन्यासमा प्रकृतिको गति र रहस्यात्मकता माथि प्रकाश पार्दै अन्त्यमा आएर प्रकृतिको गतिसँगै जीवनलाई समयोजन गर्नुपर्छ भन्ने विचारहरू प्रस्तुत गरिएको पाइन्छ । खास गरेर पूर्वीय साङ्ख्य दर्शनको प्रभाव र प्रेरणा उनका कृतिहरू प्रशस्त रूपमा परेको पाइन्छ ।

२.१ साङ्ख्य दर्शनको परिचय

साङ्ख्य दर्शनको सम्बन्ध संख्यासँग रहेको हुन्छ । यसका प्रकृति, पुरुष आदि चौबिस तत्त्वलाई प्रथमिकता दिएर विवेचना गरिने हुनाले यस दर्शनको नाम साङ्ख्य रहन गएको हो भन्ने मत रहेको छ । साङ्ख्य दर्शनको परिचय साङ्ख्यसूत्रम्मा प्रस्तुत गरिएको छ । उपनिषद्, श्रीमद्भगवद्गीता, स्मृति ग्रन्थ, पुराण र ब्रह्मसूत्रम्मा यस दर्शनको चर्चा गरिएको हुनाले यस दर्शनको प्राचीनता स्वतः स्पष्ट हुन आउँछ । ‘सत्कार्यवाद’ साङ्ख्य दर्शनको बीजभूमि हो । कार्यकारिणी सिद्धान्त नै सत्कार्यवाद हो । कार्य आफू उत्पत्ति हुनुभन्दा पहिले कारणका रहेको हुन्छ । मिथ्या वस्तुको सत्ता हुँदैन । सत्य वस्तुको असत्य हुँदैन यो दार्शनिक चिन्तन हो (चालिसे, २०६९ ः२८) ।

संसारमा दुःखको सार्वभौमिकतालाई स्वीकार गरी त्रिविध ताप (आध्यात्मिक, आदिदैविक, आदिभौतिक) बाट छुटकारा पाउनु मानवीय लक्ष्य हुन पुग्छ । यसैलाई मोक्ष पनि भनिन्छ ।

संसारको सृष्टिमा ईश्वर कारण रहँदैन भन्ने मान्यता राख्ने यो दर्शनले आत्मालाई पुरुषको रूपमा मानेको हुन्छ । पुरुष सबै ज्ञानको अधिष्ठाता हो प्रकृति भनेकी भोग्या हुन् । भोक्ता मात्र पुरुष हो । दुःखमय संसारभन्दा पर आत्मामा अशरीर पुरुष रहेको हुन्छ । त्यही नै आत्मा हो भन्ने मान्यता सांख्यदर्शनको रहेको हुन्छ । अन्धो र लङ्गडो व्यक्तिले एक अर्काको सहयोगमा हिँडे झैँ जड प्रकृति र चेतन पुरुष एक अर्काका स्वार्थ सिद्लिे चल्ने गर्दछन् । साङ्ख्य दर्शनलाई एक प्रकारको नियमित आकस्मिकताका रूपमा पनि कतिपय विद्वान्हरूले व्याख्या गरेका छन् । सृष्टिकर्ता ईश्वर नभए पनि व्यवस्थापिकीय हैसियत ईश्वरले ग्रहण गरी अस्तित्त्वप्राप्त गरेको हुन्छ, भन्ने मान्यता सांख्यदर्शनको रहेको छ (चालिसे, २०६९ ः२९) ।

३. ‘उत्सर्ग प्रेम’ उपन्यासमा वैचारिकता

राजेश्वर देवकोटाको चौँथो उपन्यास ‘उत्सर्ग प्रेम’ (२०४४) हो । यस उपन्यासमा जम्मा सय पृष्ठ रहेका छन् । यस किसिमको उपन्यासको लम्बाइले मध्यम आकृति सिर्जना गरेको छ । खास गरेर दर्शनका तीन ओटा केन्द्रहरू रहेका हुन्छन् । ईश्वर, प्रकृति र मानव । यी तीन केन्द्रका बारेमा अध्ययन गर्दा र यी तीनैका सम्बन्धमा आफ्ना विचारहरू प्रस्तुत गर्दा दर्शन बन्न पुग्दछ । ईश्वरलाई केन्द्र मान्दा ईश्वरीय र रहस्यात्मक दर्शन बन्न पुग्छ भने प्रकृतिलाई केन्द्रमा राख्दा प्रकृतिवादी दर्शन बन्न पुग्छ । मानवलाई केन्द्रमा राख्दा मानवतावादी दर्शन बन्न पुग्दछ ।

यो उपन्यास मानवीय जीवन के हो ? भन्ने प्रश्नका साथ उठान गरिएको छ । त्यही वास्तविक जीवनको खोजी नै ‘उत्सर्ग प्रेम’ को खोजी हो । त्यसको उत्तरमा भनिएको छ । ‘वृथा हो भन्ने जान्दाजान्दै पनि प्रवृत्त भइरहनु जीवन हो’ पृ. १ । यो वाक्य नै ‘उत्सर्ग प्रेम’को बीज वाक्य हो । उपन्यासको आरम्भमा भनिएको छ ः ‘जसको आदि र अन्त्य छैन त्यही त सबैको साझा हो ।’ यहाँ आदि भनेको आरम्भ र अन्त्य भनेको समाप्ती हो भनिएको छ । आदि र अन्त्य नभएको रहस्यात्मक कुरा मात्र ईश्वर हुन सक्ने र त्यो पनि रहस्यात्मक ईश्वरको आत्म हुन सक्ने कुरा व्यक्त गरिएको छ । यहाँ उपस्थित ‘जस’ सर्वनाम शब्दले मात्र कुनै रहस्यात्मक वस्तुलाई संकेत गर्न खोजेको छ । त्यसैले त्यस रहस्यात्मक ईश्वरलाई कसैले पेवा बनाउन सक्दैन । त्यसैले त्यो सबैको साझा हो । जसरी पानीलाई जस्तो भाँडोमा राख्यो त्यस्तै स्वरुपमा परिवर्तन हुन्छ । ठीक त्यस्तै गरी ईश्वरलाई पनि जसले जसरी ग्रहण गर्छ त्यसरी नै त्यस ग्राहकका मन मस्तिकमा उपस्थित हुन्छ ।

यस उपन्यासको बीजवाक्यमा आएको ‘वृथा’ शब्दले कुनै पनि अर्थ नभएको, व्यर्थ, निरर्थक र बिना उपयोगी भन्ने अर्थ बुझाउँछ । यसको अर्थ के हो भने मानवीय शरीर वृथा भए पनि त्यसैप्रति प्रवृत्त (सक्रिय सांसारिक जीवनप्रति सक्रिय तरिकाले भाग लिनु) भइरहनु, जीवन हो । अर्थात् शरीर नश्वर (नाशवान्) छ, भन्ने ज्ञान हुँदाहुँदै पनि शरीरकै पछाडि लाग्नु जीवन हो । यस सन्दर्भले यस उपन्यासलाई एकातिर असत्यको बाटोबाट सत्यको खोजी गर्नुपर्छ भन्ने तर्फ आकृष्ट गरेको छ भने अर्कातर्फ प्रेमको नित्यता, नवीनता र शालीनतातर्फ पनि सङ्केत गरेको छ । प्रेमको आदि र अन्त्य छैन । प्रेम नित्य छ । प्रेमको कुनै दायरा, घेरा, सीमा र बन्धन हुँदैन, भनिएको छ भने अर्कातिर शाश्वत सत्य (ईश्वर) को खोजी पनि गरिएको छ ।

यस उपन्यासर्कोे पात्र बिरामको धारणा छ ः ‘आफूलाई बिर्सिदिनु जीवन हो’ पृ.१. । यसको धारणा के हो भने आफ्नो बाहिरी शारीरिक आवरणलाई बिर्सिदिनु नै जीवन हो । अर्थात् बोक्रालाई फालेर गुदीको चिन्तन गर्नु नै जीवन हो । जबसम्म ‘म’ र ‘तँ’ भन्ने भेद रहन्छ तबसम्म आत्माको साक्षात्कार हुन सक्दैन । त्यसैले आत्माको साक्षात्कारका लागि आफूलाई बिर्सेर आत्माको स्मरण गर्नुपर्छ भन्ने धारणा बिरामको हो । वास्तवमा अधिकांश विद्वान्हरूले जुन सत्वलाई आत्मा भनेका छन् त्यही सत्तालाई साङ्ख्य दर्शनले पुरुष भनेको छ । पुरुष र आत्मा एउटै तत्त्वका विभिन्न नाम हुन् । साङ्ख्य दर्शनले पुरुषलाई शुद्ध चैतन्य मानेको छ । त्यो चैतन्य सदैव आत्मामा निवास गर्दछ । वास्तवमा आत्मालाई जाग्रत्, स्वप्न र सुषुप्ति जुन अवस्थाको माने तापनि त्यसमा चैतन्य रहिरहने हुनाले त्यो आत्माको गुण नमानेर स्वभाव मान्नुपर्दछ । आत्मा ‘ज्योति’ अथवा प्रकाश हो । जसले आफूलाई मात्र प्रकाशित नगरेर संसारका सबै वस्तुहरूलाई प्रकाशित गर्दछ । आत्मा शरीर, इन्द्रिय, बुद्धि र अहंकार भन्दा पनि भिन्न तत्त्व हो ।

गीत ३.४२ मा भनिएको छ ः स्थूल शरीर ‘विषय’ हो । इन्द्रियहरू बाह्यकरण हुन् भने मन र बुद्धि अन्तःकरण हुन् । यिनमा स्थूल शरीर (दृश्यमान) भन्दा श्रेष्ठ, सबल र प्रकाशक इन्द्रिय हुन् । इन्द्रिय भन्दा श्रेष्ठ, सबल, प्रकाशक र सूक्ष्म बुद्धि हो । बुद्धिभन्दा श्रेष्ठ अहम् हो । अहम् नै कर्ता हो । त्यही अहम् (कर्ता) मा नै लौकिक इच्छा लुकेर रहेको हुन्छ ।

यस उपन्यासमा बिरामले आफूलाई जड वा प्रकृतिजन्य शरीरका रूपमा व्याख्या गरेको छ । जब चेतना जड वस्तुका साथ तदाकार हुन्छ तब ‘अहम्’ को उत्पत्ति हुन्छ । त्यसको स्वरुप कर्ता बन्न पुग्दछ । यस प्रकार कर्तामा दुई ओटा अंश हुन्छन् जड र चेतन । जब मानवमा ‘जड’ को अंश बढी हुन्छ तब संसारतर्फ आकर्षित हुन्छ भने ‘चेतन’को अंश बढी हुँदा ईश्वरतर्फ आकर्षित हुन्छ ।

यस उपन्यासमा अर्की पात्र छे सुरुपा । सुरुपा पनि अनन्त र बिराम जत्तिकै विदुषी नारी हो । ऊ उमेरले सानी देखिए पनि विचारमा तेजिली छ । एउटा मामुली वस्तुले पनि शाश्वत नियमको पालना गरे जस्तो मानिसले पनि कुनै शाश्वत नियमको पालना गर्नै पर्छ भन्ने धारणा सुरुपाको रहेको छ । उसको धारणा यस्तो छ ः

‘..... एउटा–एउटा सानो पन्छी पनि आफ्नो–आफ्नो जीवन चलाउनका लागि जुन नियमको पालना गर्छन् त्यही त जीवन हो । जीवनको दर्शन गर्न न अनन्तमा चाहर्नुपर्छ न त त्यसको कही बिराम नै छ’ पृ.३ ।

‘आफूतिर हेर’ पृ.४ ।

सुरुपाको यस भनाइले प्रकृतिवादी दर्शनतर्फ आमुख गराएको पाइन्छ । सबै जीवजन्तुका आफ्ना नियम छन्, वास्तविकता छन् र उनीहरू बाँच्नका लागि चाहिने आवश्यकताहरू छन् । अर्थात् उनीहरूलाई सञ्चालन गर्न कसैको नियम चाहिदैन मात्र प्रकृतिको नियम काफी छ । आफ्नो जीवन दर्शनका लागि अनन्तमा चाहार्नु आवश्यकता छैन । न त त्यो चाहाराइको कुनै अन्त्य छ । त्यसैले आफूले आफूलाई चिन अथावा ‘आफूतिर हेर’ । त्यही सुरुपाको भनाइलाई लेखनाथले यसरी भनेका छन् ‘बुद्धिविनोद’मा ः

कहाँ थियो बास अघि म को थिएँ

कसो हुँदा यो पिँजरा लिँदो भएँ

कहाँ छ जानु कुन साथ लिइकन

तँलाई मालुम छ कि यो कुरा मन ।

बुद्धिविनोद १.१

खासमा लेखनाथको यस भनाइले मानिसको पूर्वबास अव्यक्तमा थियो । मानिस त्यही अव्यक्तमा लीन थियो । अज्ञानको कारण जन्म लियो र जहाँबाट आएको हो त्यहीँ फर्केर जानुपर्छ भन्ने भाव व्यक्त गरेको छ । यो लेखनाथ पौड्यालको उत्तरले ईश्वरको छिटाबाट मानिस बनेको र फेरि त्यहीँ गएर लीन हुने कुरा व्यक्त गरेको छ भने सुरुपाको कुराले प्रकृतिबाट उत्पन्न भएको मानिस प्रकृतिमा नै बिलाउँछ भन्ने कुरा स्पष्ट भएको छ । श्रीमद्भगवद्गीता ३.२७ मा पनि सुरुपाकै कुरालाई यसरी भनिएको छ ः यो सम्पूर्ण संसार प्रकृतिको नियमबाट सञ्चालित छ । प्रकृतिले नै सम्पूर्ण प्राणीहरूका जीवनका नियम प्रदर्शन गरेको छ । त्यसैले सम्पूर्ण संसारको नियामक प्रकति हो । यसका अतिरिक्त अरु केही छैन । अझ स्पष्ट रूपमा भन्नुपर्दा जुन समष्टि शक्तिले वृक्ष, शरीर, जन्तु आदि उत्पन्न हुन्छन्, बढ्छन्, नास हुन्छन्, नदी प्रवाहित हुन्छन् । त्यही समष्टि शक्तिबाट मनुष्यले खाने, पिउने, देख्ने, सुन्ने आदि काम सम्पन्न गर्न सक्छ । तर मानिस घमण्डले मोहित भएर अज्ञानताका कारणले मैले नै काम सम्पन्न गरेको हुँ भन्ने ठान्दछ । प्रकृतिबाट उत्पन्न सत्व, रज र तम गणहरू यिनै तीन गुणका कार्य बुद्धि, अहंकार, पञ्चमहाभूत (जल, तेज, वायु, आकाश, पृथ्वी) दश इन्द्रिय र इन्द्रियका विषय पनि प्रकृतिकै गुण हुन् । अतः ‘अहम्’ (कर्ता) पनि प्रकृतिको एकै अंश भयो । अब कर्ताले गरेको काम पनि प्रकृतिले गरेको काम नै हुने भयो । त्यसैले सबै काम प्रकृतिले नै सम्पन्न गर्ने भयो । अतः प्रकृति वा त्यसका गुणले नै संसारलाई सञ्चालन गर्ने भयो ।

सुरुपाले समाजमा उपस्थित भएर स्थापित भइसकेका जीवन दर्शन उपेक्षा गर्दै प्रेम, आशा र उत्साहको जीवन दर्शन प्रक्षेपण गरेकी छे । उसले रहस्यले भरिएको सिङ्गो ब्रह्माण्डको खोजी गरेकी छे । उसले जीवनलाई बिर्सिदिनुमा ‘आनन्द छ’ भनेकी छे । उसका विचारसँग पूर्वीय आचार्यका विचार मिल्न गएका छन् ः ‘सत्यम् ज्ञानमनन्तम् ब्रह्म’ । सत्य ज्ञान स्वरुप र अन्त नभएको कुरा नै ब्रह्म हो । त्यसैले त्यही सत्यको खोजीका लागि अनन्त र सुरुपा पात्र उपस्थित भएका छन् । सुरुपाले ‘रहस्यात्मक आत्मा भनेको केही मलाई थाहा छैन । कुनै कुरा ठोकेर भन्नु र त्यसैमा आफू अल्मलिनु भविष्यका लागि अभिशाप हो । त्यसैले ठोकेरै आफ्नो आत्मा यस्तै छ भनी कसैले भन्न सक्दैन’ भनेकी छे । यस धारणाबाट वर्तमानलाई सुधार गरियो भने भविष्य राम्रो हुन्छ भनिएको छ ।

यस उपन्यासको पात्र अनन्त विश्वास हो र ऊ आजको यथार्थ हो । अनन्त मनुष्यातीत यथार्थ पनि हो । संसारका सबै चिज चालचलन चलायमान छन् । चलायमान संसारको नियन्ता ईश्वर हो । ईश्वरसँगैको सहबासका लागि वैराग्यको आवश्यकता पर्दछ । वैराग्यको तात्पर्य संसार नश्वर छ भन्नु हो । धन, दौलत, घर, गृहस्थी र संसारका यावत् भौतिक पदार्थहरू निरर्थक छन् । मात्र ईश्वरीय चिन्तन शाश्वत कुरा हो । मानिसमा विभिन्न किसिमका पशुत्वहरू विद्यमान रहेका हुन्छन् । ती पशुत्वहरूबाट उन्मुक्त रहनु नै जीवन दर्शन हो । जीवनको लक्ष्य हो । आशा ब न्धन(आत्मासँग पक्कै मिलन हुन्छ भन्ने विश्वास)ले मानिसलाई ईश्वरप्रति प्रवृत्त बनाइरहन्छ । तर सांसारिक आशा (तृष्णा) ले मानिसलाई ईश्वरबाट विमुख बनाइदिन्छ । त्यसैले निराशा (ईश्वर प्राप्त हुन्न) मानिसको स्वभाव होइन पृ.११ ।

मान्छेको जीवन सौन्दर्यले भरिएको छ । त्यसैले जीवन सौन्दर्य हो । अनन्त स्वभाव हो भने बिराम बिराम नै हो । बिरामको अर्थ पूर्णता ‘आफूलाई बिर्सिदिनु जीवन हो’ भन्ने बिरामको बिर्सिदिनु भन्ने भनाइ नै बिराम हो । बिराम एक सानो प्राणी भएर आफ्नो जीवन टुङ्ग्याउन चाहन्छ तर जीवन त्यति छोटो र त्यति हल्का छैन । जीवनको रहस्य धेरै छ । जीवनलाई चिन्ने मार्गहरू धेरै छन् । ती सही मार्गमध्ये सही मार्ग भनेको आफ्नो आवरणलाई बिर्सिदिनु हो । सुरुपाले यही भनेकी छे उपन्यासमा ः

सूर्यको प्रकाश अनन्त छ दिग्दिगन्त छ

कयौँ तारा नक्षत्र छन् समीपमा चन्द्रमा छ

तर मलाई मेरो आफ्नै टुकीको भर छ

जो मेरो कुटीभित्र मेरै अधिनमा छ । पृ. १३

यस सुरुपाको भनाइबाट जति पनि अर्थ निस्कन सक्छ । अर्काको प्रकाशको भरमा नपरी आफ्नै टुकीको सहायताले आँखा देख्नुपर्छ । त्यो टुकी भनेको भित्री ज्ञान हो । ज्ञानबिना मानिसले आफ्नो जीवनको वास्तविकता पत्ता लगाउन सक्दैन । ज्ञान नै संसारको सबै भन्दा ठूलो वस्तु हो । त्यसैले मानवले आफ्नो जीवन चिन्नका लागि ज्ञानको आवश्यकता पर्दछ । तिमी भित्र प्रकाश (सूक्ष्म ईश्वर) छ । त्यही ईश्वरद्वारा प्रकाशित तिमी आफूले आफूलाई नै राम्ररी चिन्ने प्रयास गर । जसका लागि असल ज्ञानको आवश्यकता पर्दछ । भन्ने यस कथनको आशय हो । गीतामा पनि ज्ञानभन्दा सत्य कुरा यस संसारमा केही पनि छैन, त्यो ज्ञान लामो समयसम्म निरन्तर अभ्यास गर्नाले प्राप्त हुन्छ भनिएको छ ।

मनुष्यको जीवन आशा र संकल्प हो । आशाले मानिसलाई प्रवृत्तितर्फ डो¥याउँछ भने सङ्कल्पले काम गर्ने ‘उत्साह, प्रेरणा र शक्ति’ प्रदान गर्दछ । मान्छेको मन चञ्चल छ । मनलाई सङ्कल्प र विकल्पको भण्डार भनिन्छ । सङ्कल्प र विकल्प भएर नै मानिस मानिस भएको हो ।, यदि संकल्प नै नभए मानिस मानिस हुने थिएन । मानिस हुनु नै मान्छेको जीवन हुनु हो । जीवन हुनु नै त्यसभित्र रहस्य हुनु हो । सरुपा भन्छे ः ‘यत्रतत्र जीवन छ, जहाँ जीवन छ त्यहाँ जवानी छ’ जीवन पनि सिर्जनशील हुन आवश्यक छ । नयाँ–नयाँ वस्तुको खोजीमा लाग्ने जीवन नै जीवन हो । निराशावादी हुनु जीवन होइन ।’

उपन्यासअनुसार पुरुषलाई ‘जड’ भनिएको छ तर ईश्वर कृष्ण र कपिल मुनिद्वारा प्रवर्तन गरिएको सांख्य मतअनुसार पुरुषको अर्थ नजन्मने, न उत्पादक, निष्क्रय तथा प्रकृतिको दर्शक भनिएको छ । यहाँ बिराम प्रकृतिको दर्शक भएर आएको छ । सरुपा प्रकृति हो । बिराम पुरुष हो । त्यसैले सिर्जनातर्फ पुरुषको भन्दा प्रकृतिको महत्त्वपूर्ण हात रहेको हुन्छ । उपन्यासमा प्रकृतिलाई सिर्जनशील भनिएको छ भने पुरुषलाई जड भन्दा अधिक केही होइन भनिएको छ । यसरी नारीलाई सृष्टिको मूल कारकका रूपमा मानेर प्रकृतिको उदारता, शालीनता र सिर्जनात्मकताको प्रतिपादन गर्ने सांख्य दर्शनको प्रभाव प्रस्तुत उपन्यासमा छ ।

४. उपसंहार

यस उपन्यासमा कपिल मुनि तथा ईश्वर कृष्णद्वारा प्रवर्तन र संवर्धन गरिएको साङ्ख्य दर्शनको प्रभाव मुख्य रूपमा छाडिएको छ । प्रकृति र पुरुषको आकर्षणबाट सृष्टि सम्भव हुन्छ । प्रत्येक गुणले आफूभन्दा भिन्न गुण भएका वस्तु तथा पदार्थलाई दबाउन प्रयत्न गर्दा एक प्रकारको प्रतिक्रिया उत्पन्न हुन्छ । त्यही प्रतिक्रियाको हलचलबाट सृष्टि आरम्भ हुन्छ । जब पुरुषलाई आफ्नो शुद्ध स्वरुपको ज्ञान हुन्छ तब पुरुष मुक्त हुन्छ भन्ने साङ्ख्य दर्शनले पुरुषको स्वरुपको अज्ञानतालाई बन्धन भनेको छ । जब आत्मा (पुरुष) मुक्त हुन्छ । तब उसमा विकार आउँदैन । कुनै गुण वा धर्मको आविर्भाव हुँदैन । मोक्ष वा कैवल्य कुनैको पनि पूर्ण अवस्था हुन सक्दैन । मुक्ति वा मोक्षको अर्थ आत्मा देशकाल भन्दा श्रेष्ठ र मनभन्दा भिन्न स्वभाविक रूपमा मुक्त, नित्य र अमर हुन्छ भन्नु हो । यस्तो अनुभूति हुँदा सम्पूर्ण शरीर र मनका सम्पूर्ण विकारहरू बन्द भएका हुन्छन् भनी भनिएको छ । यस ‘उत्सर्ग प्रेम’ उपन्यासमा कपिल मुनिको साङ्ख्य दर्शनको जालो बुनिएको छ र प्रकृति र पुरुषको व्याख्या गर्दै भविष्य सपार्नका लागि वर्तमानमा सत्कर्म गर भनिएको छ ।

सन्दर्भ ग्रन्थ सूची

चालिसे, नारायण (२०६९), प्रथम सं. पूर्वीय दार्शनिक मान्यतामा कोइरालाका उपन्यास दाङः वी.पी. चिन्तन केन्द्र ।

देवकोटा, राजेश्वर (२०४४), उत्सर्ग प्रेम, दोस्रो सं., ललितपुरः साझा प्रकाशन ।

पन्त, नयनराज (२०६०), बुद्धिविनोद प्रश्नावली र त्यसको उत्तर, काठमाडौं ः खिलशर्म राजीवलोचनजोशी स्मारक प्रतिष्ठान

पौडेल, विष्णुप्रसाद (२०६९), समकालीन नेपाली साहित्य चिन्तन र उपन्यास समालोचना, पोखरा ः सुलोचना खनाल ।

बराल, कृष्णहरि र एटम, नेत्र (२०५३) दोस्रो सं. उपन्यास सिद्धान्त र नेपाली उपन्यास, ललितपुरः साझा प्रकाशन ।

श्रीमद्भागवद्गीता, (२०६६) उनसाठिऔं संस्करण, गोरखपुर ः गीताप्रेस ।

स्वामी रामसुखदास, श्रीमद्भागवद्गीता साधक संजीवनी, (२०६९) आठत्तरौं संस्करण, गोरखपुर ः गीताप्रेस ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।