17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘सकस’ उपन्यासका महत्त्वपूर्ण केही पक्षहरू

कृति/समीक्षा डा. विष्णु प्रसाद पौडेल November 16, 2013, 10:56 pm

सार– यस लेखमा जगदीश घिमिरे (२००२–२०७०) को व्यक्ति जीवनी र साहित्यिक यात्रालाई सामान्य सङ्केत गरी उनको पछिल्लो कृति सकस (२०६९) उपन्यासका महत्त्वपूर्ण पक्षहरूलाई कृतिगत आधारमा केलाइएको छ । यस क्रममा उपन्यासको विषय वस्तु र त्यसको प्रस्तुतिको शिल्पको चर्चा गरी अनि त्यसका मुख्य प्रतिपाद्य कुराहरूलाई बुँदागत आधारमा स्पष्ट पारिएको छ । यो मुख्यतः राजनीतिक विचार प्रधान उपन्यास हो । यसमा पृथ्वी नारायण शाहदेखि २०६९ सालसम्मका शासकहरूको विलासी र सन्की स्वभाव एकातिर देखाइएको छ भने अर्कातिर उनीहरूले दिएको कुशासनका कारण १७००० भन्दा बढी नेपालीले ज्यान गुमाउनु परेको र अन्य लाखौँ जनसामान्यले सकसपूर्ण जीवन बाँच्नु परेको तितो यथार्थ प्रस्तुत गरिएको छ । उपन्यासको निर्माण मुख्यतः आलोचनात्मक यथार्थवादी र अंशतः स्वैरकाल्पनिक ढाँचामा गरिएको छ ।

१. उपन्यासकारको चिनारी

‘सकस’ उपन्यासका लेखक जगदीश घिमिरे हुन् । यिनी उच्च मध्यम परिवारका इन्द्र प्रसाद घिमिरे र पद्म कुमारी घिमिरे (दाहाल) का छैटौँ छोराका रूपमा २००२ साल चैत २८ गते रामेछापको मन्थलीमा जन्मिएका थिए । यिनले समाज शास्त्र विषयमा स्नातकोत्तर तहसम्मको औपचारिक शिक्षा हाँसिल गरे पनि सरकारी जागिरमा नलागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेवामुुुुुखी गैरसरकारी संस्थामा लामै समयसम्म काम गरेको बुझिन्छ । यिनीे २९ वर्ष हुँदा विराट नगरकी उच्च शिक्षित र राजनीति सचेत दुर्गा आचार्यसँग विवाह गरी एक छोरा (हिमाल) र एक छोरी (जून) का पिता पनि बने । यिनकी श्रीमती महिला अधिकारकर्मीका रूपमा क्रियाशील रहँदै आएकी छन् । चुस्त, दुरुस्त र आकर्षक शरीरका जगदीश २०६३ सालबाट भने रक्त क्यान्सर (मल्टिपल माइलोमा) जस्तो अत्यन्त घातक रोगबाट पीडित बने । एकदमै खर्चिलो र पीडादायी रोगको शिकार बनेका यिनलाई अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत हुँदा सो संस्थाले उपचारको बिमा गरि दिएकाले उसैको खर्चले संसारका राम्रा अस्पतालहरूमा उपचार गराउँदै एकदमै नजिकिएको काललाई छक्याउँदै आए पनि २०७० साल कार्तिक १३ गते बिहान ५बजे निष्ठुरी कालले यिनको प्राण लिएरै छाड्यो ।

साहित्य सिर्जनामा घिमिरेको संलग्नता २०२० को दशकको थालनीबाटै भएको हो । २०२७ सालमा प्रकाशित ‘लिलाम’ उपन्यास नै यिनको पहिलो पुस्तकाकारको कृति हो । अहिलेसम्म यिनका जम्मा दस वटा साहित्यिक कृति प्रकाशित भएका छन् । तीमध्ये तिन वटा उपन्यास (लिलाम, साबिती २०३२ र सकस २०६९), दुई वटा कथा सङ्ग्रह (जगदीशका कथाहरू २०२९ र बर्दी २०६६), दुई वटा संयुक्त सङ्ग्रह (केही कथा, कविता र संस्मरण २०३० अनि स्थान, काल र पात्र २०६६), एउटा नाटक (सन्तान २०३४), एउटा आत्मकथा, (अन्तर्मनको यात्रा २०६४) र एउटा कविता सङ्ग्रह (अग्निसूत्र २०६६) रहेका छन् । विधागत स्तरणका दृष्टिले हेर्दा समालोचना, नाटक, संस्मरण, फुटकर कविता, कथा, उपन्यास र आत्मकथामा यिनको साहित्यिक लेखनको स्तर क्रमशः उकासिँदै आएको पाइन्छ (पौडेल,२०६७ ः ९४) । ‘सकस’ भन्दा अघि घिमिरेलाई चर्चामा ल्याएको कृति ‘अन्तर्मनको यात्रा’ नै हो । त्यसले ‘उत्तम शान्ति’ र ‘मदन’ पुरस्कार पनि पाएको थियो । पछिल्लो कृति ‘सकस’ ले पनि प्रचुर चर्चा पाएको छ । त्यसको साक्षी २०७० सालमै प्रकाशित डिमाइ साइजको १४८ पृष्ठको ‘सकस मन्थन’ नामक कृति छ । यसमा ‘सकस’ उपन्यासका बारेमा मात्रै ४० जना सचेत पाठकहरूले प्रस्तुत गरेका समालोचना र छोटा टिप्पणीहरू प्रस्तुत गरिएको

छ । यही पृष्ठभूमिमा ‘सकस’ उपन्यासका महत्त्वपूर्ण केही पक्षहरूका बारेमा सङ्क्षेपमा यहाँ चर्चा गरिएको छ ।

२. ‘सकस’ उपन्यासको बाह्य स्वरूप

जगदीश घिमिरे प्रतिष्ठान, रामेछापले २०६९ साल भदौमा प्रकाशन गरेको ‘सकस’ उपन्यास डिमाइ साइजका ३०६ पृष्ठ (भूमिका, आभार आदि बाहेक) को छ । यसमा विषय वस्तुलाई तिन चरणमा विभाजित गरी जम्मा ५७ वटा शीर्षकहरू (एक, दुई र तिन चरणमा क्रमशः १–२३, २४–४१ र ४४–५७ शीर्षक) मा प्रस्तुत गरिएको छ । यसको २०७० वैशाखमा छैटौँ संस्करण निस्किएको छ । एउटा संस्करणमा कति प्रति निस्किन्थ्यो त्यो त खुलाइएको छैन र पनि नौ महिनामै छ संस्करण निस्कनुले यो पाठकहरूबिच निकै लोकप्रिय रहेको पुष्टि हुन्छ । तर यसको विषय र प्रस्तुति हेर्दा यो सामान्य वा सरदर पाठकले पढ्ने जस्तो सरल र हलुङ्गो उपन्यास भने देखिँदैन । तथापि यसको संस्करणको दाबी अनुसार नेपाली उपन्यासका स्तरीय पाठकहरूको सङ्ख्या पनि राम्रै बढेको देखिन आउँछ ।

यस उपन्यासका पृष्ठ र मूल्य भने छैटौँ संस्करणसम्म पनि समानै पाइन्छन् । तर नयाँ संस्करणमा कतिपय सुरुका विषय र प्रस्तुति भने केही परिवर्तन पनि गरिएको पाइन्छ । जस्तै पहिलो संस्करणमा एक पृष्ठभरि उपन्यास निर्माणमा विविध कोणबाट सहयोग गर्नेहरूलाई आभार व्यक्त गरिएको थियो भने पछिल्लोमा त्यो आवश्यक नठानेर होला हटाइएको छ । त्यस्तै पहिलोमा “अपारे काव्य संसारे....” नामक संस्कृत श्लोकको स्रोत “अग्नि पुराण ३३९÷१०” दिइएको थियो भने पछिल्लोमा त्यसका ठाउँमा “–विश्वनाथ” राखिएको छ । थप स्रोत खुलाइएको छैन । लेखकको भूमिकाको भाषामा पनि सामान्य परिवर्तन गरिएको छ । यस्ता कुराले परिवर्तनको खासै औचित्य पुष्टि गर्दैनन् । तर उपन्यासको मूल अंशका कतिपय विषय जो अगाडि त्रुटिपूर्ण थिए (जस्तै पहिलो संस्करणको पृ.२७९ मा रुकुमको होलेरी भनिएको अनि पृ.२८५ मा संविधान सभाको निर्वाचनपछि गिरिजा प्रसाद कोइरालाको संयुक्त सरकारमा मधेश अधिकार पार्टीका नायक उपेन्द्र यादव उपप्रधान मन्त्री र परराष्ट्र मन्त्री थिए भनिएको) तिनलाई परिवर्त गर्ने सकारात्मक काम भने भएको छ । पाठकहरूको प्रतिक्रियाले नै यस्ता तथ्यहरू सच्याउन घिमिरेलाई प्रेरित गरेको बुझिन्छ ।

३. उपन्यासको मूल विषय वस्तु र प्रस्तुति

उपन्यासको ‘सकस’ शीर्षकले नै यसको विषय एकदमै पीडाले भरिपूर्ण छ भन्ने सङ्केत दिन्छ । यसको थालनी नै महिला अधिकारका क्षेत्रमा काम गर्ने देवी (सादृश्य लेखककी श्रीमती दुर्गा) लाई एउटी पीडित महिलाले डायरी छाडेकी छ र त्यो डायरी उसले ‘म’ पात्र (सादृश्य लेखक) लाई पढ्न दिँदै गरेको सन्दर्भबाट भएको छ । यसै क्रममा देवीले भनेकी छ– समाजमा बाल्यकालदेखि नै नारीप्रति चरम अत्याचार भइ रहेछ । टाढाकाले होइन उनीहरूका नजिकका आफन्तले नै नारीलाई बाल्यकालदेखि नै यौन शोषण गर्ने, बेच्ने, घरेलु हिंसाले तडपाउने जस्ता अनेक यातना दिँदै आएका छन् । यी कुरा उसले आप्mनो पुनः स्थापना गृहमा आएका नारीहरूको व्यथा सुने बुझेरै भनेकी छ । यही क्रममा त्यो डायरी दिने नारी को थिई भन्ने कुरा खुल्दै जान्छ । ऊ पुनः स्थापना गृहमै रहेर हुर्केकी अनि पढे लेखेर स्वावलम्बी नर्स बनी गृहस्थी जीवनमा पसेकी कुमारी

हुन्छे । कुमारी आप्mनो बाबुद्वारा ७ वर्षमै बलात्कृत भएर पुनः स्थापना गृहमा आएकी थिई । उसको बाबु सोही कारण जेल परेको थियो भने आमा केही समयमै मरेकी थिई । तराई मूलकी भए पनि ऊ नेपाली राष्ट्रिय भावनाले भरिएकी हुँदा आप्mनो नामको पछाडि नेपाली लेख्थी । उसले शरदसँग प्रेम विवाह गरी शान्ति सम्झौता भएकै दिन एउटी छोरी पाएकी थिई । तर ७ बर्से छोरी पनि संविधान सभा भङ्ग भएकै दिन बलात्कारमा परेकी थिई ।

जनक पुरमा बस्ने उनीहरूलाई पहाडिया भनी मधेश आन्दोलनका नाममा अनेक यातना दिइएको थियो । शरदलाई अपहरण गरी ३ लाख भारु फिरौती मागेका हुँदा कुमारीले आप्mनो गहना, घडेरी सबै बेची रिन समेत काँढी बल्लतल्ल छुटाएकी थिई । तर छुटेको केही दिनमा नै एकोहोरे बनेको शरद आप्mनो डायरीसँगै मलाई नखोज्नू भन्ने लेखी हराइ दियो । यता कुमारीकी आमाछोरीमाथि सँगै अपस्तालमा काम गर्ने लालले आँखा गाढेको हुन्छ । ऊ एक रात मासु र रक्सी लिएर कुमारीको कोठामा आयो । शरदका अपहरकारीलाई फिरौती बुझाउन सहयोग गरेको ठानी उसप्रति कृतज्ञ बनेकी कुमारीले उसको पछिल्लो कृत्य देखेपछि निकै खिन्न बन्छे र धैर्य नगुमाई आपूmमाथि गलत काम नगर्न अनुरोध गर्छे तर रक्सीले लठ्ठिएको उसको चर्को आक्रोश देखिन थाल्छ । सोही क्रममा शरदको अपहरण र छोरीको बलत्कारमा पनि उसकै भूमिका रहेको खुल्छ । त्यसपछि आपूmलाई बलात्कार गर्न तम्सेको लाललाई बियरको बोतलले हानेर मार्छे अनि बिहानैको बसबाट काठमाडौँ हानिएर पुनः स्थापना गृहकी देवीकहाँ पुग्छे । त्यहाँ देवीलाई आप्mनो सबै व्यथा सुनाई छोरीको संरक्षण गरि दिन अनुरोध गर्दै शरदले लेखेको डायरी पनि उसैलाई जिम्मा लगाएर हिँड्छे । त्यस डायरीको सुरुमा नै ठुला अक्षरमा सकस लेखिएको हुन्छ । त्यो अनौठो शैलीमा लेखिएको हुन्छ । पढ्दा संस्मरण, डायरी, कथा, लेख, इतिहास, पुराण, रिपोटिङ (पृ.३) जस्तो विविधताको अनुभूति दिने खालको हुन्छ । ‘म’ पात्र त्यसप्रति आकर्षित हुन्छ र सबै पढ्न थाल्छ । उपन्यासको मूल विषय यहीबाट खुल्न थाल्छ ।

डायरीको सुरुमा शरदको इतिवृत्त छ । ऊ सैलुङमा जन्मेको हो । उसको अतीत पनि कुमारीको जस्तो टिठ लाग्दो छ । उसको बाबु चोर र धेरै स्वास्नी थुपार्ने भएको हुँदा आमा ड्राइभरसँग पोइला आउँछे तर ड्राइभर पनि महा जड्याहा भएको हुँदा अन्ततः आमा हामफालेर मर्छे । टुहुरो शरदलाई घरभेटी जीबाले नै पाल्छ । शरदले पत्रकारिता लिएर स्नातक उत्तीर्ण गर्छ । त्यही क्रममा क्याम्पसमा अनेक राजनीतिक तनाब देखेको हुन्छ । २०४६ सालको आन्दोलनमा भारतीय नेताहरू आएर भाषण गर्छन् । त्यसपछि आन्दोलन सफल भएर सरकारमा काङ्ग्रेस पुगेको हुन्छ । तर सरकार र प्रतिपक्षी एमालेबिच चर्काे द्वन्द्व बढ्छ । एमालेले सरकार विरुद्धको आन्दोलनमा सडक बाल बालिका, गुन्डा, लठैतहरूको प्रचुर उपयोग गर्छ । सत्ता सङ्घर्षका कारण सांसदहरू पनि पैसामा बिक्न थाल्छन् । त्यस्तो देखेर शरद रनभुल्लमा पर्छ । अनि शरदको अभिभावक बनेको जीबाले राजनीति भनेको यस्तै हो भन्दै सम्झाउन थाल्छ ।

यसपछि पुनःस्थापना गृहमा अन्तर्वार्ता लिन गएको शरदले त्यहाँ कुमारीलाई देख्छ र उनीहरूबिच निकटता बढ्दै

जान्छ । त्यो थाहा पाएपछि जीबाको अनुमतिले उनीहरूको विवाह हुन्छ र उनीहरू जीबाकै घर बस्छन् । जीबा रोगाउँदै जान्छ । उसले अब धेरै बाँच्दिन होला भन्छ । अनि शरदकै आग्रहमा धेरै देखेभोगेको अनुभवी जीबाले आप्mनो अतीत कथनलाई एकोहोरो ढङ्गमा व्यक्त गर्न थाल्छ । त्यसैलाई शरदले टेप गरेर पछि डायरीमा टिप्दै जान्छ । त्यही डायरीलाई यहाँ ‘म’ पात्रले प्रस्तुत गरेको छ । यसरी अतीतलाई संस्मरणात्मक ढाँचामा वा जीबाको आत्मकथाका रूपमा उपन्यासको धेरै विषय वस्तु खुलाइएको

छ । यसको प्रस्तुति भने पुराणको जस्तो “... उवाच÷... भने” शैलीको छ ।

जीबा हरिवंश पुराण लगाएर जन्मेको हुँदा उसको नाम पनि हरिवंश अधिकारी थियो । पुजारी पण्डित परिवारमा जन्मेको हुँदा उसलाई बाबुले भनसुन गरी काठमाडौँको तिनधारा संस्कृत पाठशालामा पढाउन राखेका थिए तर हरिवंशले त्यहाँ राजनीतिक परिवेश पनि पाउन थालेको हुँदा राजनीतिमा तानिँदै गयो । उसले नेपालको सुदूर अतीतदेखि वर्तमानसम्मको राजनीतिलाई गहिरिएर नियाल्यो र कतिपय आफैले देख्यो भोग्यो पनि । तर उसले नेपाली राजनीतिको सुरूप भन्दा कुरूप पक्ष नै बढी देख्यो र व्यहो¥यो पनि । त्यसैलाई उसले यहाँ बयान गरेको छ । यसक्रममा यहाँ मुख्यतः पृथ्वी नारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मका शासक र त्यस समयका अन्य राजनेताहरूको गतिविधि पनि उसले बयान गरेको छ भने त्यसपछि संविधान सभा विघटनसम्मका विषय पनि यहाँ आएका छन् ।

पहिला कम्युनिस्ट भएर हिँडेको हरिवंश वा जीबा पछि बी पी र बोधदादासँग सङ्गत बढाउँदै गएर काङ्ग्रेसमा लागेको थियो । काङ्ग्रेसले सुरु गरेको २००७ सालको विद्रोहमै लागेको यो २०१७ सालमा राजा महेन्द्रका विरुद्धको सशस्त्र विद्रोहमा पनि सक्रिय भएर लागेको हुँदा सर्वस्व हरण सहित जेल पनि परेको थियो । त्यतिखेर ठुलै नेताहरू पनि कागज गरेर निस्केका हुँदा ऊ पनि त्यसरी नै निस्क्यो । तर बाहिर आप्mनो घर परिवार बेहाल भएको र अन्य उपाय नदेख्दा राज महेन्द्रसँग शरण पर्न

गई पञ्चायत कालमा मन्त्री समेत बन्यो । तर त्यो व्यवस्था “राज्यकोष लुट्ने प्रक्रिया मात्र” (पृ.१७१) भएको देखेर सन्तुष्ट भने भएन । मन्त्री हुँदा कमाएको सबैजसो सम्पति छोरा बुहारीका नाममा गरि दियो तर पछि असजिलो पर्दा उनीहरूले वास्ता

गरेनन् । श्रीमती रोगाएर मरीे अनि विधवी फुलवालीलाई बुढेस कालको सहारा बनाएर देशको उदेक लाग्दो राजनीति नियाली रह्यो । पछि उसले पञ्चायत भन्दा पनि वर्तमान राजनीति “हजार गुणा भ्रष्ट” (पृ.१७२) देख्न थाल्छ र आकस्मिक रूपमा मर्छ । शरद र कुमारीले आपूmलाई गरेको सेवा बापत घर उनीहरूकै नाममा पास गरि दिने सोचाइ बनाएको भए पनि पास गर्न नभ्याई मर्छ ।

बाबु मरेको थाहा पाएपछि जीबाको छोरो सुन्दरले घरमा हक दाबी गर्न आएको हुँदा शरद र कुमारी त्यो घर छाडी मन्थलीमा डेरा सर्छन् । उनीहरू दुबैले त्यहाँको अस्पतालमा काम गर्छन् । देशमा माओवादी युद्ध चर्किँदै गएको हुन्छ । माओवादीले जबर्जस्ती चन्दा आतङ्क सारै चर्काएका हुन्छन् । आप्mनो हुकुम नमान्नेलाई अत्यन्त निर्दयतापूर्वक बीभत्स ढङ्गमा मार्दछन् । कुमारी र शरदसँग पनि व्यक्तिगत एक एक लाख र संस्थागत अलग्गै चन्दा माग गरिएको हुन्छ । उनीहरूको वर्षभरिको कमाइ पनि एक एक लाख नहुने हुँदा चिन्तित बन्छन् । शरद सकेजति तिर्ने भनी चन्दा बुझाउन जान्छ । त्यहाँ आप्mनो पुरानो मित्र आकाश भेटिन्छ र उसलाई केही राहत हुन्छ । पछि आकाशको आग्रह र देशकै समग्र परिवेशका कारण शरद माओवादीमा लाग्छ । त्यो थाहा पाएपछि सेनाले उसलाई समातेर ठुलो यातना दिन्छ । तर मानव अधिकारकर्मीहरूको सक्रियता बढ्न थालेको हुँदा छाडि दिन्छ । त्यसपछि शरदको मनस्थिति झन् असन्तुलित जस्तो देखिन थाल्छ । माओवादी र सेनाका क्रूर मानव हिंसा देखिन थाल्छन् । माओवादीले हरेक घरबाट एक जना पार्टीमा काम गर्न जानु पर्ने उर्दी जारी गर्छ । कुमारीलाई माआबादीले पहिल्यै पनि आप्mना घाइतेको उपचारका लागि आउन भनेको हुँदा उनीहरू मन्थली बस्न नसकिने ठानेर जनक पुर गएर काम गर्न थाल्छन् । त्यहाँ उनीहरूका दिन केही समय राम्रैसँग बित्छन् ।

देशमा दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शासन सत्तामा पुग्छन् । त्यसपछि झन् झन् राजनीतिक तरलता बढ्दै जान्छ र अन्ततः राजा ज्ञानेन्द्रले माओवादी र संसदवादी दुबैलाई ठेगान लगाउन खोज्छन् । त्यो देखेर भारत समेतको सहयोग लिई माओवादी र संसदवादी दुबै मिली राजा ज्ञानेन्द्रलाई ठेगान लगाउँछन् । तर मधेस आन्दोलनसँगै जन्मेका अन्य जातीय, क्षेत्रीय र साम्प्रदायिक आन्दोलनले फेरि जन जीवन सकसपूर्ण बन्न थाल्छ । त्यसको प्रत्यक्ष मार उपन्यासको सुरुमा देखिएकी कुमारीको परिवारले व्यहोरेको छ । उसका परिवारका तिन सदस्य नै तिनतिर बनेका छन् । ३ लाख भारु फिरौती बुझाएर छुटेको शरदले आप्mना श्रीमती र छोरीलाई धेरै माया गर्ने भए पनि आप्mनो आर्थिक समस्या र मानसिक तनाबका कारण पनि “मेरो खोजी नगर्नू” भनी हराएको थियो । कुमारीले त्यसपछि आप्mनी ७ बर्से छोरीको बलात्कार र आपूm पनि लालबाट बलात्कृत हुने अवस्थाको झन् ठुलो सङ्कट झेल्नु परेको थियो । त्यसबाट बच्न नै उसले छोरी र लोग्नेको डायरी पुनः स्थापना गृहकी देवीलाई जिम्मा लगाई र हत्याको अभियोगमा समातिइने हो कि भन्दै लुकी लुकी आप्mनो हराएको लोग्नेको खोजीमा हिँडेकी छ । देशका घुम्ने मेचमा अन्धा मानिसहरू बसि दिँदा यस्ता अनेक सकस जनसामान्यले भोग्नु परेको यथार्थता यहाँ देखाइएको छ । यसरी उपन्यासको सुरुको कुमारीको विषयसँग अन्त्यको विषय जोडिएर उपन्यास टुङ्गिएको छ ।

उपन्यासमा अन्त्यको घटना सुरुमा दिएर त्यो कसरी घटेको थियो भन्ने कुरा देखाइएको हुँदा उपन्यासको विषय विन्यास व्यतिक्रमी ढाँचाको बनेको छ । मृत जीबासँग शरदले भेट्न खोजेको र त्यसलाई अघोरी बाबाले वशीकरणको मन्त्रले सम्भव तुल्याइ दिएको, यमराजले विलासी र सन्की शासक रण बहादुरको आत्मालाई आउँदो २०० वर्ष (२०६३ साल) सम्म “नेपालका राजा, मन्त्री, भारदार, सेना, पुलिस, विद्रोही, क्रान्तिकारी, नेता, न्यायाधीश, कर्मचारी, व्यापारीदेखि सामान्य पियनसम्म सबै जनसरोकारवालाहरूको आत्मालाई तैँले वशीभूत गर्न सक्ने छस् ।” (पृ.१७०) भनी दिएको आदेश जस्ता कुराले उपन्यासको विषय प्रस्तुतिमा स्वैरकल्पनाको पनि संयोजन रहेको देखाउँछ । यस्तै चौबिसै घन्टा कामिनी भोगमा लिप्त रहने राजा अग्निवर्णले चाकरी गर्न आउने जन सामान्यलाई आप्mनो एउटा खुट्टा झ्याल बाहिर देखाएर दर्शन दिए झैँ सिंह दरबारको झ्यालबाट धेरै चरणहरू बाहिर झुन्डिएका देखिनु, संविधान सभाको चुनाबपछि त्यस्ता खुट्टा पाँच वटा देखिनु, शान्ति सम्झौता भएकै दिन कुमारीकी छोरी जन्मनु र संविधान सभा विघटन भएकै दिन बलात्कृत हुनु, नेपालका पार्टीहरूलाई लाल, पीत र निलो रङ्गले सङ्केत गर्नु जस्ता कुराले विषयको प्रस्तुतिमा प्रतीकात्मकता पनि राम्रै देखाएको छ । कतिपय स्वैरकाल्पनिक प्रतीकात्मकतामा व्यङ्ग्यको मात्रा निकै सघन रहेको छ । यस्ता कुराले पनि यो कृति नेपालको कुरूप बन्दै आएको राजनीतिक दस्ताबेजलाई प्रस्तुत गर्ने साहित्यिक रचना वा उपन्यास बनेको छ । उपन्यासका लागि अपेक्षित समाज र जीवनको विस्तृत आयाम, विषय वस्तुको आख्यानीकरण, त्यसको समसामयिकता, यथार्थता र दृष्टि घनत्व सहितको सहज सम्प्रेषणीयताको यसमा निर्वाह गरिएको छ । साहित्यका अन्य विधाभन्दा उपन्यास अधिकतम लचिलो विधा भएको र यसको यथार्थवादी लेखनमा समकालीन सङ्कट ग्रस्त यथार्थले बढी स्थान पाउने हुँदा पनि यसको औपन्यासिक विषय अनि त्यसको बुनोट र बनोटमा सन्देह गर्ने ठाउँ देखिन्न ।

४. उपन्यासका प्रतिपाद्य सन्दर्भहरू

विचारलाई नै साहित्यको मेरुदण्ड ठान्ने साहित्यकार घिमिरेको प्रस्तुत उपन्यास पनि मूलतः विचार प्रधान लेखनका रूपमा आएको छ । यो नेपालको लामो राजनीतिक कालखण्डमा देखिएका विद्रूपता निरूपणमा केन्द्रित छ । यसमा नेपालको क्रमबद्ध राजनीतिक परम्पराको विश्लेषण भने गरिएको छैन । नेपालका शासकहरूको अदूरदर्शिता र दुश्चरित्र निरूपणमा यो बढी केन्द्रित छ । एक युगको प्राप्ति ठानिएको संविधान सभाको पनि अकाल मृत्यु भएको र देशमा अनिष्टका बादलहरू चारैतिर मढारिइ रहेका देखेपछि एउटा विचार प्रबल साहित्यकर्मी आप्mनो देशको राजनीतिक गतिविधिलाई वास्ता नगरी बस्न सक्ने अवस्था नहुनु स्वाभाविक नै हो । त्यसैले समकालीन राजनीतिक परिप्रेक्ष्य नियाल्ने क्रममा यस उपन्यासमा धेरै अघिदेखिको अतीत पनि तानिएर आएको छ । त्यो तानिनुको एउटा कारण के पनि हो भने नेपालमा २०६४ सालमा विधिवत रूपमा २५० वर्षदेखि चल्दै आएको राजतन्त्रको अवसान भएर गणतन्त्र स्थापना भयो । त्यसैले राजतन्त्रको वंश परम्परा कस्तो थियो भन्ने आकलनका क्रममा यो पृथ्वी नारायण शाहअगिका नर भूपाल शाह, प्रताम मल्ल हुँदै पौराणिक कालीन कुशासक राजा अग्निवर्णसम्म पनि तानिएको छ तर ती कुरा प्रसङ्गवश आएका मात्र हुन् । खासमा भन्दा पृथ्वी नारायण शाह र उनीपछिका उनका वंशजका कतिपय कुरूप राजनीतिक परिदृश्य र २०४६ सालपछि (विशेषतः माओवादी द्वन्द्वकाल र गणतन्त्र काल) मा सर्व साधारण नेपालीहरूले बेहोर्नु परेको सकसलाई विशेष महत्त्वका साथ प्रस्तुत गरिएको छ । तिनको आलोचनात्मक यथार्थवादी प्रस्तुति नै यसका प्रतिपाद्य मूल सन्दर्भ हुन् । तिनलाई बुँदागत रूपमा तल सङ्क्षेपमा चर्चा गरिन्छ–

४.१ विलासी र सन्की शासकका कुकृत्यहरूको निरूपण

नेपाल लामो समयदेखि राजाहरूद्वारा शासित मुलुक हो । पर्याप्त स्रोत र सम्भावना भएर पनि गतिलो नेतृत्व नपाउँदा यो मुलुक अतिकम विकसित मुलुकहरूको सूचीमा पनि धेरै तल परेको छ । त्यसैले यस उपन्यासमा विलासी र सन्की राजाहरूको कुकृत्यलाई विशेष महत्त्वका साथ प्रस्तुत गरिएको छ । यस क्रममा गोरखा राज्यको विस्तार गर्दै नेपाल राष्ट्रको निर्माण र देशबाट गलत नियतका विदेशी (फिरङ्गी र मुसलमान) लाई हटाउने पृथ्वी नारायण शाहको कामलाई प्रशंसा गरे पनि युद्धकालमा जय प्रकाश मल्लको सेनापति बनेको जयन्त राना मगरलाई लोभ देखाई आप्mनो पक्षमा ल्याउन खोजे पनि ऊ नमानेको भनी नुवाकोट जितपछि छाला तारेर नुनचुक दली उसलाई तडपाएर मार्न लगाएका, आपूmले दश दश वटी भोग्या रानी राखेका (पृ.७६) र आपूm मरेपछि सबै रानी सती जान बाध्य पारिएको प्रसङ्गद्वारा उनको आलोचना गरिएको छ । त्यसपछि उनका जेठा छोरा प्रताप सिंहले आप्mना काका दलजित शाह र भाइ बहादुर शाहलाई अकारण नजर बन्द गर्ने, चौतारिया काकाहरूको सर्वस्व हरण गर्ने, राज्य विस्तारको क्रम रोक्ने, तान्त्रिक अनुष्ठानको ढोँग रच्ने (नवयोनि पूजनका लागि नौ वटी खोट रहित कन्या छान्ने र उनीहरूलाई माछामासु र मदिरा सेवन गर्न लगाई बिचेत र निर्वस्त्र तुल्याएर सम्भोग गर्ने, त्यतिखेर वीर्य स्खलित गर्न नहुने, भए वीर्यलाई अलग्गै भाँडोमा राखेर प्रसादका रूपमा सेवन गर्नु पर्ने) जस्ता अनेक सन्की काम गर्थे । उनले पौने तिन वर्ष शासन गरेपछि रगत मासीले मरे । त्यसपछि उनका दुधे बालक जेठा छोरा रण बहादुर शाहलाई राजगद्दीमा राखेर राजमाता राजेन्द्र लक्ष्मीले राजप्रतिनिधि भई शासन चलाउन थालिन् । उनले नवयोनि पूजनमा आएका सबैलाई राजाको सती पठाउने, महाराजलाई कच्चा तन्त्र साधनामा लगाएर अकालमा मारेको भनी तन्त्र साधना गराउनेहरूलाई काट्ने, तीमध्ये बाहुन भए चारपाटा मुडेर देश निकाला गर्ने, आपूmले वर्षभरि बरखी नबारी बिचमै छाडी सधवा भेष गर्ने जस्ता काम गर्न थालिन् । उनलाई मूलकाजी सर्वजित राना मगरसँग अवैध यौन सम्बन्ध राखेको अभियोग पनि लाग्यो ।

वयस्क भए पछि रण बहादुर आफैले शासन हाक्न थाले । उनी बाबुभन्दा झन् धेरै विलासी र सन्की राजाका रूपमा देखिए । “नित्य नूतन कन्या, नाचगान, पशुपक्षीको लडाइ र कुस्ती खेल” (पृ.८४) उनका प्रियवस्तु बने । साँढेप्रति उनको अनौठो मोह रह्यो । उनले “साँढेहरूको खान्कीमा दालभात र मरमसला हालेको तिहुन, तरकारी नछुटाउनू” “सिपाही र रखवालाहरूले मात्र होइन, भारदारले पनि साँढेलाई राजपरिवारलाई जस्तो ढोगभेट र मान सम्मान गर्नू । साँढेलाई झुल हालिदिनू ।” (पृ.८४) जस्ता हुकुम दिन्थे । आपूmलाई मन परेको घोडालाई नै सिनेटर (मन्त्री) बनाउने रोमको तानाशाह कलिगुलाको जस्तो सन्की स्वभाव रण बहादुरमा थियो ।

१०÷१२ वर्षदेखि नै कन्या विलासमा लागेका रण बहादुरलाई कन्या व्यवस्थापन गर्नु नै भारदारहरूको मुख्य प्राथमिकता हुन्थ्यो (पृ.८५) । “कामशक्ति वृद्धिका लागि रण बहादुर वैद्यको सल्लाह अनुसार कस्तुरी बिना र अरू रसादि नियमित सेवन गर्थे” (पृ.८९) । राजेश्वरी र सुवर्ण घोषित पटरानी भए पनि अघोषित रानी धेरै थिए तापनि मधेशबाट पशुपति दर्शन गर्न आएकी मैथिल परिवारकी विधवी बाहुनी कान्तवतीलाई देखेर उनी भुतुक्कै भए । आप्mनो परम्परा, रीति रिवाज सबै बिर्सेर उनैलाई पटरानी बनाई भित्र्याए र सुवर्णतिरका रणोद्योत र समर शेर छोराहरू भए पनि कान्तवतीकै सन्तान गीर्वाणलाई राजगद्दीको उत्तराधिकारी समेत बनाए । उनका लागि नियम कानुन केही रहेन । आफैले एक वर्ष अघि एउटा क्षेत्रीले विधवा बाहुनीसँग करणी गर्दा दिएको कठोर दण्डलाई आफैले भुले । उनको इच्छा र हुकुुुुुुमका अगाडि शास्त्र र विधि विधान निरीह देखियो । उनी विष्णुका अवतार भएका हुँदा उनका कर्म र सोच आफै प्रमाण मानिन थालियो । धर्मशास्त्रका दरबारिया ठेकेदारहरूले पनि पुराणका त्यस्तै दृष्टान्त खोजेर राजालाई रिजाए । तर आप्mनै काका बहादुर शाहले त्यसको विरोध गरे । त्यही कारण अन्ततः षड्यन्त्रपूर्ण ढङ्गमा उनको ज्यानै लिइयो । अरूले बोल्नै सक्ने अवस्था रहेन । त्यसपछि निर्विध्न रूपमा कान्तवतीसँग केही वर्ष “चर्काे मैथुन यज्ञमा लिप्त भए” (पृ.९६) तर अतिभोगले कान्तवती क्षय रोगग्रस्त भइन् र जति उपचार गराए पनि ठिक नभई केही दिनमै मरिन् ।

राजाबाट स्वामी निर्वाणानन्द बनेका रण बहादुरले आप्mनी प्यारी रानीलाई मारेका भनी तलेजु भवानीलाई लास बनाई दागबत्ती दिने, भक्तपुरको बेताललाई बन्चरोले फोरेर विष्ठाको थुप्रोमा फाल्ने, स्वयम्भूकी हारती मातालाई गुहुको धूप दिएर उखेली फाल्ने, कुम्भेश्वरको शिवलिङ्गमा गुहुको लेप लगाउने, गीर्वाणलाई बिफर सर्न सक्छ भनी तिनै सहरका बाल बालिका सबैलाई चार भन्ज्याङ् कटाउन अनि राज्यका सबै गिद्ध र बिराला मार्न लगाउने जस्ता अनेक आवेगी र सन्की काम गरे । त्यतिमात्रै होइन बहादुर शाहलाई गोप्य रूपमा मार्ने सर्तमा उनले पोडेलाई क्षत्री जातमा उकास्ने, मन नपरेका बाहुन र वैद्यलाई दमै र पोडेमा झार्ने जस्ता काम पनि गरेका थिए । कान्तवतीको राम्रो उपचार गरेन भनी राजवैद्य लक्ष्मी नारायणलाई अत्यन्त घृणित यातना दिने, कविराज मिल्हम वैद्यालाई काटेर टुक्क्रा टुक्क्रा पार्न लगाउने, उनीहरूका श्रीमतीहरूलाई दमै र पोडेसँग जान बाध्य पार्ने काम पनि गरे । “अपराधका निहुँमा भारदारलाई मात्रै नभई तिनका पत्नी, बुहारी, कमारी, सुसारेदेखि दुई वर्षसम्मका छोरा, नाति, पनाति पनि काटिएका लिखत पाइन्छन् । यस्तो काम सबभन्दा बढी रण बहादुर, भीमसेन थापा र माथवर सिंहले गरे, गराए” (पृ.११५) भन्ने दाबी उपन्यासमा पाइन्छ ।

उपन्यासमा सबैभन्दा बढी यौन विलासी र सन्की शासकका रूपमा रण बहादुर शाहलाई चित्रण गरिएको छ । स्वामी निर्वाणानन्द बनेका राजा कान्तवतीको मृत्युको केही समयपछि पुन स्त्री लम्पटकै रूपमा देखिन थाल्छन् । त्यसैले यिनलाई रघुवंश महाकाव्यमा देखिने रघुकुलका तेइसौँ राजा अग्निवर्ण चरम कामलिप्त र कुशासनका लागि कुख्यात भएका हुँदा उनैसँग तुलना गरिएको छ । त्यो भन्दा पनि अझ मार्मिक र व्यङ्ग्यात्मक कुरा के छ भने रण बहादुरलाई उसैका सौतेने भाइ शेर बहादुरले मारेपछि यमलोक पुगेका उनलाई यमराजले आजैका मितिले २०० वर्ष (२०६३ साल) सम्म “तेरो आत्माले नेपालको राज्यसत्ताका सबै अङ्गमा रहेका ठुलासाना सबैको आत्मामा शासन गर्ने छ” (पृ.१७०) “तेरो नेपालका सबै नेतालाई त्यो लालसा छ” (पृ.१७१) भनेका छन् । यसबाट उनीपछिका ज्ञानेन्द्र शाहसम्मका नेपालका सबै तहका शासकमा त्यही चरम विलासी र सन्की प्रवृत्ति हाबी भएको हो भन्ने उपन्यासको व्यञ्जना प्रकट भएको छ । त्यसपछि पनि “रणात्मको प्रतापले ऐले नेपालमा अग्निवर्णको राज छ” (पृ.१७०) भन्दै गणतन्त्र कालपछिको नेतृत्व वर्ग पनि त्यही काम लिप्त र कुशासनका लागि कुख्यात अग्निवर्णको छाया देखाइएको छ ।

उपन्यासमा शाह वंशका पृथ्वी नारायण र बहादुर शाहको राष्ट्र निर्माण र विस्तारमा महत्त्वपूर्ण भूमिका रहे पनि अरूको प्रशंसनीय पक्ष देखाइएको छैन । नेपालमा प्रताप मल्लकै पालामा पादरी मार्फत अङ्ग्रेज प्रवेश गर्न चाहेका हुन् । पृथ्वी नारायणले उपत्यकालाई घेरेर आक्रमण गर्दै जाँदा मल्ल राजाहरूले अङ्ग्रेजलाई गुहार्दै आप्mनो राज्य नै सुम्पने तहसम्म पुगेका थिए । तर बहादुर सैनिक वंशराज, श्रीहर्ष पन्त, वीरभद्र र बंसु गुरुङ्हरूले सिन्धुलीमा एकदमै वीरतापूर्वक लडेर अङ्ग्रेजहरूलाई परास्त गरेका थिए । (तर विडम्वना तिनै सैनिकहरूलाई प्रताप सिंहकी रानीले आप्mनो क्षुद्र स्वार्थका लागि वीभत्स ढङ्गमा हत्या गरेकी थिइन् ।) त्यसपछिका रण बहादुरले त भारतको अङ्ग्रेज गभर्नर जनरललाई नेपालको सम्प्रभुता सुम्पने सर्त समेत राखेर पत्र पठाएका थिए (पृ.१४४) । राजा त्रिभुवनले त सपरिवार भारतीय राजदूतावासमै शरण लिई दिल्ली सम्झैता गरेर फर्किएका हुन् । पारिवारिक सम्बन्धका आधारमा हेर्दा पनि प्रताप सिंह, सुरेन्द्र विक्रम, त्रिभुवन र महेन्द्रका मावली भारतीय राजपुत नै रहे । त्यसैले पृथ्वी नारायण र बहादुर शाह बाहेक अरू शाह शासकहरूमा न त सुशासनको क्षमता रह्यो न त दरो राष्ट्रिय अडान नै देखियो । २०५८ सालको दरबार हत्याकाण्डले त त्यहाँ भित्र बढ्दै गएको लागू पदार्थको दुव्र्यसन र पारिवारिक अराजकता समेतलाई देखायो भन्ने उपन्यासको विश्लेषण छ ।

उपन्यासमा राजाहरूको सन्की र विलासी चरित्रलाई मात्रै बयान नगरी २०१५ सालपछि शासन सत्तामा पुगेका पार्टी र तिनका प्रमुखहरूको समेत चरित्र बयान गरिएको छ । यस क्रममा बी पी कोइराला, गणेश मान र कृष्ण प्रसाद भट्टराईहरूलाई सकारात्मक चरित्रका रूपमा लिइए पनि अरूका गतिविधिलाई त्यति सकारात्मक रूपमा लिइएको छैन । अरू सबैजसो उही यौन विलासी र कुशासनका लागि ख्यात अग्निवर्ण राजाकै प्रतिरूप जस्ता ठानिएका छन् । सिंह दरबारको भ्mयालबाट धेरै चरणहरू बाहिर झुन्डिएका प्रतीकले त्यसैको सङ्केत गरेका छन् (पृ.३०१) । साथै यस्ता चरम विलासी र कुशासक नेताहरूको चरण दर्शन गर्दै फर्किने नेपाली जन मानसको अन्धो स्वामीभक्तिमा परिवर्तन नभएसम्म देश उभो नलाग्ने भएकाले त्यस स्वभावमा तत्कालै परिवर्तन हुनु प¥यो भन्ने अपेक्षा पनि उपन्यासमा ध्वनित भएको छ ।

४.२ परम्परित धार्मिक अन्ध आस्थाको उपहास

हिन्दू धर्मको प्रबलता रहेको नेपाली समाजमा धर्मभीरु अन्ध विश्वासी चरित्र प्रशस्त देखिने हुँदा त्यस पक्षलाई यहाँ उपहास वा अर्थहीन सिद्ध गर्ने काम भएको छ । यस क्रममा कालिदासको कुमार सम्भवमा शिव र पार्वतीले रतिक्रीडा गरेको प्रसङ्ग, व्यासको महा भारतमा महाजनले जे गर्छन् त्यही ठिक हो वा धर्म पनि बल या शक्तिका पछि लाग्छ

(महाजनो येन गताः स पन्था वा बलं धर्माेनुवर्तते) भनिएका कथन, पौराणिक पात्रहरूको अन्तर्जातीय विवाह (क्षत्रीय कुलको यायाति र ब्राह्मण कुलकी शुक्राचार्यकी पुत्री देवयानी), वृद्ध ऋषिमुनिको पनि सुन्दरीप्रतिको आशक्ति (माधवीप्रति वृद्ध विश्वामित्रको), राजा पाण्डु माद्रीसँग सम्भोगरत हुँदा नै मरेर माद्रीले आप्mनो यौन इच्छा पुरा नभएको हुँदा सो इच्छा पुरा गर्न उनैसँग सती गएको प्रसङ्ग, काशीका पैसा प्रेमी पण्डालाई खुसी बनाउन सके थरगोत्र सबै परिवर्तन गरि दिने प्रचलन, पृथ्वी नारायणले गोत्र परिवर्तन (काश्यप) गरेको दृष्टान्त, रण बहादुरको हुकुमले पोडे पनि क्षत्री बनेको तथ्य, राम्री स्त्री भए विधवी र फरक जातभातकी पनि ल्याउने राजाको कर्म, सोही कर्मलाई उचित ठह¥याउने राजपण्डितहरूको शास्त्रीय तर्क, नारीलाई पहिला क्रमशः चन्द्रमा, गान्धर्व र अग्निले भोग गरेपछि मात्रै पुरुषले भोग्ने हुँदा ती कहिल्यै बिटुला हुन्नन् भन्ने याज्ञवल्क्यको धारणा, राजालाई भगवान् विष्णुको अवतार मान्ने अन्ध विश्वास जस्ता अनेक प्रसङ्ग ल्याएर परम्परित जाति, गोत्र, वैवाहिक सम्बन्ध, यौनको पवित्रता, धर्म जस्ता कुराहरूको उपहास वा तिनको अर्थहीनताको पुष्टि गरिएको छ ।

४.३ कम्युनिस्ट शासन व्यवस्थाप्रति कटाक्ष

घिमिरे २०२०–२४ तिर छापामार शैलीको माओवादी राजनीतिमा आकर्षित भएर भूमिगत रूपमा कम्युनिस्ट समाज निर्माण गरी त्यसको विस्तारमा लागेका भए पनि चीनको माओको सांस्कृतिक क्रान्ति सुनेबुझेपछि २०२६ सालतिरै उनी त्यसबाट अलग्गिएको बुझिन्छ (घिमिरे, २०६४ ः ३६–३७) । त्यसपछि राजनीतिप्रति तटस्थ बन्दै गएका यिनलाई पन्चायत कालमा राजाका सचिव र जाँचबुझ केन्द्रले उपयोग गर्न खोजे पनि आपूm त्यसरी उपयोग हुन चाहेनन् । २०४६ पछि भने नेपाली काङ्ग्रेसमा सक्रिय देखिएका घिमिरे काङ्ग्रेसको त्यसपछिका गतिविधिबाट (विशेषतः गिरिजा प्रसादको शैलीबाट) सन्तुष्ट नभई त्यसबाट पनि टाढा रहन थालेका हुन् । पार्टी निरपेक्ष रहे पनि बोल्ने र प्रकाशन गर्ने स्वतन्त्रता, बहुलवाद अनि मानवतावादका पक्षमा यिनको दृढ अभिमत पाइन्छ । खान दिने तर बोल्न नदिने चीन र बोल्न दिने तर खान नदिने भारतको शासन व्यवस्था दुबैप्रति यिनको विमति छ । खान र बोल्न दुबै दिने व्यवस्थाका पक्षमा यिनको अभिमत पाइन्छ । त्यसैले यिनी पार्टी वा सर्वहाराको अधिनायकत्वको वकालत गर्ने कम्युनिस्टप्रति प्रचुर विमति राख्छन् । त्यसको अभिव्यक्ति जीबा मार्फत् उपन्यासमा ठाउँ ठाउँमा प्रकट भएको छ । जीबा पनि पहिला “राजनीतिक शक्ति बन्दुकको नालबाट निस्कन्छ र संसद भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो” (पृ.१०९) भन्ने सोचको थियो तर “पछि बुझेँ बन्दुक असफल नभई संसार सफल हुँदैन” (पृ.१०९) भनेको छ । यसले क्वान्टम फिजिक्स सिद्धान्तको आगमन पछि माक्र्सको द्वन्द्वात्मक भौतिकवाद खण्डित भएको ठान्दछ (पृ.३६) । त्यस्तै २०३७ सालको जनमत सङ्ग्रहमा नेपालका उग्र कम्युनिस्टहरू निर्दलको पक्षमा लागेका, भारतमा पनि महात्मा गान्धीले चलाएको अङ्ग्रेज विरोधी आन्दोलनको विरोध गरी भारतीय कम्युनिस्ट पार्टीका ठुला नेता श्रीपाद अमृत डाँगेहरूले अङ्ग्रेजको समर्थन गरेका सन्दर्भ यहाँ ल्याइएको छ (पृ.१०९) । उपन्यासको अर्काे चरित्र मुक्तात्माबाट भनाइएको पनि छ– “कम्युनिस्टको यौटै सिद्धान्त सही छ, त्यो हो शक्तिको सिद्धान्त । उनीहरू शक्ति प्राप्त गर्न जति पनि सिद्धान्तहीन हुन सक्छन्” (पृ.१११) ।

(यसको थप पुष्टि २०७० भदौमा प्रकाशित सुधीर शर्माको प्रयोगशालामा आएका नेपाली माओवादीका गतिविधिले पनि गरेको छ ।)

उपन्यासमा जीबासँगै कम्युनिस्ट बनको साथी बद्रीलाल पनि छ । ऊ पञ्च, माले, एमाले, पातलो मसाल, मोटो मशाल, एकता केन्द्र हुँदै माओवादी बनेको छ । उसको सम्पन्नता र परिवारको विलासी जीवन देखेर जीबाले प्रश्न गर्दा भएको संवाद यस्तो छ–

“हाम्रा कति कामरेडहरू खर्बपति छन् । कत्रा कत्रा उद्योग धन्दाका मालिक छन् । काठमान्डुमा कत्रा कत्रा टावर बना’का छन् । विदेशमा कति लगानी छन्, तिमीलाई के थाहा ! तिमी मलाई चिनेको भएर मेरो देख्छौ । तिमीले नदेका कति छन् कति !”

“के तिमीहरूको आचरण माक्र्सवादी आदर्श अनुरूप छ ?”

“के सम्पन्नता तिमीहरूको मात्रै पेवा हो ? महान् एङ्गेल्स सम्पन्न भएकाले नै माक्र्सवादले विश्वव्यापी मान्यता पा’को हो । साम्यवादमा जाने बाटो नै पुँजीवाद हो । यो हामीले गम्भीर बहस गरेर निकालेको निष्कर्ष हो । कम्निस्टहरू गरिब हुने जमाना गए । पैले आफू बलियो हुनु नै आजको कम्निस्टको मूल रणनीति हो ।”

उपन्यासमा द्वन्द्वकालमा माओवादीले मच्चाएको चन्दा आतङ्क र शान्ति सम्झौतापछि उनीहरूले जिउन थालेको भड्किलो जीवन शैलीका प्रसङ्गबाट पनि यसको पुष्टि भएको देखिन्छ ।

यस्तै जीबाले आजका कम्युनिस्टहरूको खास सञ्चालक सीआईए नै हो भन्दै तर्क गरेको छ– “रिभोल्युसनरी इन्टर नेसनल मुभमेन्ट रिमको केन्द्रीय कार्यालय लन्डनमा छ । मङ्गल ग्रहमा के के छ भनेर पत्ता लगाउने अमेरिकाले रिमको कार्यालय र नेतालाई पत्ता लाउन किन सक्तैन ? किनभने रिमलाई सीआईएले सञ्चालन गरेको छ” (पृ.१३७) । जीबाको उक्त भनाइलाई बद्रीलालले “यो सामन्तवादी सोच हो”(पृ.३१३७) भनेर ओठे जबाफले टार्न खोजे पनि तार्किक खण्डन गर्न सकेको

छैन । यस्तै अमेरिकाले भारतलाई आप्mनो पक्षमा लिइ सकेपछि उस मार्फत दक्षिण एसियामा आप्mनो परराष्ट्र नीति प्रक्षेपण गरेको सन्दर्भमा नेपालका माओवादीहरूको कहिले दरबार र कहिले भारतसँग हुने गरेको निकटता अनि राजतन्त्रको अवसानपछि नेपालका सबै राजनीतिक पार्टीहरूले दिल्लीलाई रिझाउन गरेको सार्वजनिक कसरत, अमेरिकाले माओवादीलाई आतङ्वादीको सूचीबाट हटाएको जानकारी पाउँदा त्यस पार्टीभित्र छाएको खुसीको लहर जस्ता सन्दर्भले ‘र’ को प्रत्यक्ष र सीआईएको अप्रत्यक्ष छत्रछायामा नेपालका धेरै पार्टीहरू रहेको बुभ्mन सकिन्छ । नेपालका शक्तिशाली भनिएका पार्टीहरू र त्यसमा पनि माओवादीलाई त ‘र’ ले कसरी नचाउँदै आएको छ भन्ने कुरालाई त सप्रमाण प्रयोगशालले विस्तारपूर्वक देखाएकै छ । यस उपन्यासमा पनि तिनै सन्दर्भहरूलाई सङ्केत मात्रै गरी कम्युनिस्ट शासन व्यवस्थाका पक्षपातीहरूलाई राम्रैसँग कटाक्ष गरिएको छ । माओवादी द्वन्द्वका नाममा सर्वसाधारणलाई पु¥याइएको सकस मार्फत् पनि यस्तो कटाक्ष अभिव्यक्त भएको छ ।

४.४ द्वन्द्व कालीन पीडा

उपन्यासको सुरुमा तराईका मधेसी बहुल क्षेत्रबाट पहाडियाहरूलाई लखेट्ने अभियान सहित चर्केको मधेसवादी आन्दोलनका कारण पहाडिया र कतिपय मधेसमूलका नेपाली (कुमारी) हरूले पाएको सकसको बयान गरिएको छ भने उपन्यासको तेस्रो चरणका ४४ देखि ५४ सम्मका शीर्षकमा माओवादी र सुरक्षाकर्मीबिचको द्वन्द्वले सर्ब साधारणले व्यहोरेको सकसको बयान गरिएको छ । यसै क्रममा माओवादीले मच्चाएको चर्काे चन्दा आतङ्कले देशको राजधानी र जिल्ला सदर मुकामका सीमित क्षेत्र बाहेक अरू सबै क्षेत्र आतङ्कित बनेको, कतिपय जिल्लामा प्रमुख जिल्ला अधिकारी, न्यायाधीश र डीएसपीहरूले पनि चन्दा दिन बाध्य भएका, व्यक्तिको सामान्य क्षमता भन्दा धेरै चर्को चन्दाको माग गर्ने गरेको, पछि पछि हरेक घरबाट एक जना पार्टीको काममा खट्नु पर्ने उर्दी जारी गरेको, उनीहरूको आज्ञा तलमाथि गर्नेलाई अत्यन्त निर्दयतापूर्वक हत्या गरेर बाँकी समाजलाई भयभीत बनाई आप्mनो कब्जामा राख्ने रणनीति बनाएको, त्यस्तै सेनाले पनि माओवादीलाई चन्दा वा खानबस्न दिएको निहुँमा चर्काे यातना दिन थालेको, समातिएका कतिपय माओवादी कार्यकर्तालाई बेपत्ता पार्ने, चरम यातना दिने जस्ता प्रसङ्ग पनि यहाँ आएका छन् । यही क्रममा भैरव नाथ गणको ज्यादती, दोरम्बामा भएको हत्या काण्डका कुरा पनि यहाँ प्रस्तुत गरिएको छ । यसरी राज्य र विद्रोही पक्षका यस्ता अमानवीय कर्मले सामान्य नेपालीले पनि ठुलो सकस व्यहोर्नु परेको यथार्थता उपन्यासमा आएको छ ।

४.५ लोकतन्त्र र गणतन्त्र कालीन नेपालको अव्यवस्था

उपन्यासको तेस्रो चरणका ५४ देखि अन्त्य वा ५७ सम्मका शीर्षकहरूमा २०४६ सालपछिको लोकतन्त्र र गणतन्त्र कालीन नेपालको अव्यवस्था देखाइएको छ । यस क्रममा २००७ सालको दिल्ली सम्झौताले राणा शासकलाई विस्थापित गरेको थियो भने २०६२ सालको दिल्ली सम्झौताले राजतन्त्रलाई विस्थापित गरेको प्रसङ्ग उल्लेख गर्दै २००७ सालको सम्झौतालाई धोका भन्दै हिँड्नेहरू नै २०६२ मा आफै दिल्ली सम्झौता गर्न पुगेर त्यसलाई मित्रको उपहार ठान्न पुगे भनिएको छ (पृ.२७५) । यस्तै २०४६ सालपछि गणेश मानलाई राजाले प्रधान मन्त्री बन्न आग्रह गरे पनि उनले नकारेका, कृष्ण प्रसाद भट्टराईले एक वर्षे कार्यकालमै कुशलतापूर्वक नेतृत्व सम्हाली संविधान दिए पनि आप्mनै असजगता र गिरिजा प्रसाद कोइरालाको कुटिलताका कारण २÷२ पटक चुनाब हारे पनि समाजमा उनको छवि कोइरालाको भन्दा उचो रहेको भन्ने विश्लेषण गरिएको छ । आप्mनो छवि समाजमा एकदमै गिरेका कारण पछि कोइरालाले “नेपाली काङ्ग्रेसको आगामी प्रधान मन्त्री कृष्ण प्रसाद भट्राईजी”

(पृ.२७८) भनेर घोषणा गर्न बाध्य भएका र सोही नाराले नेपाली काङ्ग्रेसले चुनाबमा बहुमत ल्याए पनि भट्टराईलाई ६ महिनामै शासनबाट हटाएर आपूm प्रधान मन्त्री बनेका, गणेश मान र भट्टराईलाई पार्टी नै त्याग्न बाध्य पारिएको कटु यथार्थ देखाइएको छ । यस्तै कोइरालाको सिद्धान्तहीन कर्मलाई सङ्केत गर्दै भनिएको छ– “केही वर्षपछि गिरिजाको नेतृत्वमा काङ्ग्रेसले आप्mनो नीति र सिद्धान्त समेत परित्याग ग¥यो र माओवादीको पछि लाग्यो” (पृ.२७८) ।

यस्तै तत्कालीन समयमा माओवादी र दरबारबिच विकसित अस्वाभाविक तर कटु सत्यलाई पनि उपन्यासमा सङ्केत गरिएको छ । गिरिजा प्रसादले माओवादी विरुद्ध सेना प्रयोग गर्न खोज्दा दाजु वीरेन्द्र र भाइ ज्ञानेन्द्र दुबैले नदिने, प्रचण्डले निर्वाचित सरकारलाई नोकर र राजालाई मालिक ठानी “हामी नोकरसँग होइन मालिकसँग वार्ता गर्छाै” (पृ.२७९) भन्ने, बाबुराम भट्टराईले “प्रजातान्त्रिक पद्धति विरुद्ध माओवादी र राजा वीरेन्दको भित्री सहकार्य छ भनेर” (पृ.२७९) आप्mना आधिकारिक छापामा छाप्ने जस्ता अनेक प्रसङ्गले त्यसको पुष्टि गरिएको छ ।

यस्तै ज्ञानेन्द्रले गिरिजा प्रसादलाई हटाई देउवालाई प्रधान मन्त्री बनाउने, फेरि उनलाई असक्षम घोषित गरी प्रधान मन्त्रीको दरखास्त आह्वान गर्ने, “एमालेका सर्वाेच्च नेता माधव नेपाल हातमा दरखास्त लिएर” (पृ.२८०) पुग्ने तर नपाउने, एक वर्षपछि आफैले असक्षम घोषित गरेका देउवालाई पुनः प्रधान मन्त्री बनाउने, त्यसलाई एमालेले प्रतिगमन आधा सच्चिएको भन्दै सो सरकारमा सहभागी हुने तर सो सरकार पनि धेरै नटिकी राजा आफैले प्रधान मन्त्रीको समेत अधिकार लिई भारतलाई समेत चिढ्याउँदै वाक् र प्रकाशन स्वतन्त्रता पूर्णतः निषिद्ध गर्दै नेताहरूलाई नजर बन्द गर्ने र माओवादीलाई पनि ठेगान लगाउने प्रयत्न गर्न थाले । फलतः भारतकै सहयोगमा माओवादी र संसदवादीको गठबन्धन बनेर भएको आन्दोलनले अन्ततः राजा ज्ञानेन्द्र सहित राजतन्त्र नै फाल्यो तर देशमा भने शान्ति छाउन सकेन । मधेशवादीको उग्र आन्दोलनसँगै देशैभरिबाट जातीय, क्षेत्रीय र धार्मिक आन्दोलन सल्कन थाले । मधेशमा त झन् धेरै हतियारधारी सङ्गठनहरूको निर्माण भयो । देश आर्थिक दृष्टिले पनि लथालिङ्ग हुन थाल्यो । महङ्गी आकासिने, २१ घन्टासम्म लोड सेडिङ हुने जस्ता अनेक सकस निम्तिए ।

नेपालमा एनजीओ मार्फत समुन्द्र पारका किस्चियनहरूको स्वार्थ सल्कन थाल्यो भने मधेस मार्फत ‘र’ को नेपाललाई सिङ्गो र शक्तिशाली देख्न नचाहने स्वार्थ डरलाग्दो बनेर प्रकट हुन थाल्यो । नागरिकताहरू धेरै बाढिए । सतहमा त नेपालीहरूले आप्mनो अधिकार खोजेको देखिँदै थियो तर गहिराइमा कुरा अर्कै थियो । अधिकारको आन्दोलन हाक्ने अधिकांश अरूद्वारा परिचालित थिए । “राजनीतिमा जे देखिन्छ त्यो हुँदैन, जे देखिन्न त्यो हुन्छ” (पृ.२८१) भनेको त्यही थियो । मधेशमा रहेका बीपी कोइराला, गणेश मान, मन मोहन, भानुभक्त, लक्ष्मी प्रसाद जस्ता राष्ट्रिय महत्त्वका व्यक्तिका सालिकहरू “पहाडिया” घोषित गर्दै तोड्ने, पहाडियाहरूलाई लुटपाट गर्ने, घरमा आगो लगाइ दिने, इज्जत लुट्ने, अपहरण गरी फिरौती माग्ने, भएको सम्पत्ति त्यहीँ छाडी भाग्न बाध्य पार्ने, वीरगन्ज नाकाबाट पहाडतिर २०औँ दिनसम्म कुनै सामान लान नदिने जस्ता अनेक सकस नेपालीले व्यहोर्नु प¥यो । त्यतिमात्रै नभई शासन सत्तामै रहेका मन्त्रीले “हामीले भने जस्तो भएन भने मधेसका बाइस वटा जिल्ला नेपालबाट छुट्टिन सक्छन्” (पृ.२९५) जस्ता देशलाई नै अत्यन्त लाजमर्दाे र अराजक सिद्ध गर्ने किसिमका धारणा सार्वजनिक भए । यस्ता परिस्थितिबाट स्वाभिमानी नेपालीहरू सारै मर्माहत हुने किसिमको सकसमा परे भन्ने उपन्यासको विश्लेषण छ ।

४.६ बढ्दो विदेशी हस्तक्षेप

माथिका अनेक प्रसङ्गमा पनि यो कुरा खुलेको छ । सुरेन्द्र र रण बहादुरको विलासी र सन्की कर्मको परिणति स्वरूप गीर्वाणले अङ्ग्रेज सामु घुँडा टेकी सुगौली सन्धी गरी टिकेका नेपाली शासक नेपाली जनताको शोषणमै केन्द्रित

रहे । शोषणको विरोधमा झिनो स्वर निकाल्नेलाई पनि निर्ममतापूर्वक निमोठियो । त्यसले गर्दा विद्रोहीहरू छिमेकीलाई गुहार्न बाध्य भए । छिमेकी भारतले पनि बी पीलाई राणा कालीन जेलबाट छुटाउनदेखि राणा शासन, पञ्चायत व्यवस्था र राजतन्त्र हटाउन समेत निर्णायक सहयोग ग¥यो । तर त्यसपछि यहाँका हरेक सरकार गठन र विघटनमा उसको थप निर्णायक भूमिका देखिन थालेको छ । भारतसँगै अरू मुलुकको चलखेल पनि अनियन्त्रित जस्तो देखिएको छ । प्रधान मन्त्री स्वयंले समेत “हामी त कठपुतली मात्र रहेछौँ । हाम्रो मुलुकको चाबी त अर्कै मुलुकसँग रहेछ” (पृ.२९५) भनेर देशकै निरीहता देखाएका छन् । त्यसैले उपन्यामा “नेपालको इतिहासमा अहिले जति कहिल्यै क्रीतदास स्वदेशीले वातावरण बनाएर विदेशीलाई निम्त्याएका र विदेशीले निर्लज्ज हस्तक्षेप गरेका थिएनन्” (पृ.१४७) भनिएको छ । देशको यस्तै दुर्दशापूर्ण अवस्था देखेर शरदसँग जीबाले “अर्काले बनाएको बाटोमा हिँडेर आप्mनो गन्तव्यमा पुगिँदैन” (पृ.२९३) भनेको थियो ।

४.७ नारी शोषण

पुरुष प्रधान नेपाली समाजमा शासकदेखि शासितसम्म सबै नारी शोषणमा केन्द्रित छन् । उनीहरूले नारीलाई आप्mनो वासना पूर्तिको साधन भन्दा बढी ठानेका छैनन् । मर्दका दश वटी भन्ने उखान हिजो चलेकै हो । स्वास्नीले छोरीहरू मात्रै जन्माई भने अर्की कलिली स्वास्नी ल्याई हरिवंश पुराण लगाई छोरो पाउने प्रचलनको दृष्टान्त जीबाको बाबु नै छ । अतीततिर हेर्दा राजा योगेन्द्र मल्लका ३३ वटी, पृथ्वी नारायणका १० वटी, रण बहादुरका १६ वटी, जङ्ग बहादुरका १७ वटी भोग्या नारी सती जानु परेको थियो । सन्की राजा रण बहादुरले त कान्तवतीकी सेविकालाई पनि उसकै सती बनाएर पठाएका थिए । भारतमा मुसलमानले हिन्दू लोग्नेलाई मारी उसकी श्रीमतीलाई बीभत्स ढङ्गमा भोग्ने भएका हुँदा त्यो देख्नु नपरोस् भनी उनीहरू लोग्नेकै चितामा सती जान थालेका थिए । वर्तमानलाई हेर्दा उपन्यासकी महत्त्वपूर्ण पात्र कुमारी आप्mनै बाबुद्वारा ७ वर्षमै बलात्कृत भएकी थिई । उसकी छोरीलाई पनि मधेसवादी आन्दोलन कर्ताले ७ वर्षमै बलात्कार गरेको छ । शरदकी आमा पनि पुरुषहरूको अत्याचार सहन नसकी आत्महत्या गरेकी छ । पुनः स्थापना गृहका हरेक नारीहरूको आआप्mनै किसिमका व्यथामय कथा छन् । उपन्यासमा यस पक्षलाई त्यति धेरै ठाउँ नदिए पनि साङ्केति ढङ्गमा केही ठाउँ दिएर प्रस्तुत गरिएको पाइन्छ । राजेन्द्र लक्ष्मी र कुमारी बाहेक उपन्यासका अन्य नारी चरित्रमा आप्mनो शोषणको प्रतिरोध गर्ने चेतना भने देखिन्न । राजेन्द्र लक्ष्मीले शासन सत्ता सम्हाले पनि नारीका पक्षमा केही नयाँ काम गर्न सकेको देखिन्न ।

४.८ विघटित पारिवारिक सम्बन्ध

समयको गतिसँगै समाजका सदस्यहरूबिचको आपसी सम्बन्धमा परिवर्त हुनु स्वाभाविक नै रहे पनि न्यूनतम पारिवारिक, सामाजिक वा मानवीय सम्बन्ध पनि हराउँदै जान थालेको, मानिस बढी पैसामुखी बनेको अवस्थालाई यहाँ देखाइएको छ । आप्mनो अंश पनि भाइका नाममा पास गरि दिएको वा आपूm मन्त्री हुँदा कमाएको सम्पत्ति छोरा बुहारीका नाममा गराइ दिएको जीबालाई अप्ठ्यारो पर्दा उनीहरूले कुनै सहयोग गरेका छैनन् । बुढेस कालमा ऊ छोरा बुहारीबाट अलग्गिएर बस्नु परेको छ । पछि बुहारी पनि उसकै गाडी चालकसँग गएकी र छोराले पनि अर्की ल्याएको छ । नाति, नातिनाले त्यसलाई अस्वाभाविक नमानेका र छुट्टिएका छोरा बुहारीले पनि त्यसलाई सहज घटना ठानेको देखिन्छ । यता जीबाले पनि राम्रो कुलकी उपाध्याय बाहुनी भए पनि दमाईसँग प्रेम विवाह गरेर पछि विधावा बनी पशुपतिमा पूmल बेचेर बस्ने सवितालाई भित्र्याएको छ । सविताको दाजुले बहिनी आफैले रोजेको दमै केटो क्षमतावान् भएको हुँदा घरका अरूले घोर विरोध गरे पनि उसले सहजता साथ विवाह गर्ने स्वीकृति दिएको थियो । उसले बाबुसँग आप्mना नजिकका नाता गोतामा देखिएको हाडानाताको सम्बन्ध, नोकरसँगको सम्बन्ध र कुकुरसँगको सम्बन्ध भन्दा यो सम्बन्ध किन राम्रो भएन भनी उल्टो प्रश्न गरेको छ (पृ.१८३) । उपन्यासका यस्ता अनेक प्रसङ्गले नेपाली समाजको विघटित हुँदो पारिवारिक सम्बन्ध र खस्किँदै गएको यौन नैतिकतालाई देखाएका छन् ।

४.९ समाज शास्त्रीय चेतना

उपन्यासकारले समाज शास्त्र विषयमै उच्च अध्ययन गरेका र सामाज सेवाका क्षेत्रमा पनि लामो समय संलग्न रहेका हुँदा यस उपन्यासमा करिब २५० वर्षदेखि चल्दै आएको राजनीति र त्यसका आडमा विकसित सामाजिक, सांस्कृतिक सम्बन्धहरूलाई निकै घोरिएर नियाली प्रस्तुत गरेका छन् । द्वन्द्वले ग्रामीण भेकबाट पुरुष पलायन भई नारीहरू नै हलो जोत्ने, बाउसे गर्ने, जन्ती र मलामी जाने गर्न थालेका, सामाजिक सम्बन्धमा उनीहरूको भूमिका बढ्न थालेको, माओवादी युद्धसँगै गाउँमा तास खेल्ने, जाँड रक्सी खाने जस्ता कुरामा पहिला नियन्त्रण हुन थालेको तर माओवादी उद्देश्य च्युत हुँदा समाज सुधारका ती कर्म बिचमै तुहेका, परम्परित नेपाली समाजमा जात, जाति र क्षेत्रीय विभेद अहिले उछाले जस्तो नरहेको तर गलत राजनीतिक मनसायले ती उछालिएको, राजतन्त्रको अवसानले समाजमा सामन्ती व्यवस्थाको सम्बन्ध हटेको जस्ता कुरा यहाँ देखाइएको छ । यस्तै परिवर्तित राजनीतिसँगै समाजका धर्म, संस्कृति, सामाजिक र पारिवारिक सम्बन्धहरू क्रमशः खुकुलिँदै गएका र नेपाली समाज क्रमशः उदार, खुला वा पश्चिमको जस्तो व्यक्ति स्वतन्त्रता केन्द्री बनेकोमा लेखकले सन्तोष माने पनि बढी पैसामुखी र मानवीय संवेदनाशून्य हुन थालेकोमा चिन्तित पनि देखिएका छन् । यस्ता समाज शास्त्रीय कोण यहाँ प्रशस्त पाइन्छन् ।

४.१० वैचारिकता र सूक्तिमयता

घिमिरे साहित्यमा शिल्पभन्दा विचारलाई बढी महत्त्व दिने सर्जक हुँदा यिनको उपन्यासको विषयले नै विविध वैचारिक दृष्टिकोण त सञ्चार गरेकै हुन्छन् । त्यस बाहेक ठाउँ ठाउँमा प्रसङ्गवश गम्भीर जीवन दर्शनलाई सूक्तिमय बनाएर प्रक्षेपण गर्न पनि पछि परेका हुँदैनन् । जस्तै–

- मान्छेले जबानीमा माला बनाउँछन्, बुढ्यौलीमा जप्छन् (पृ.३९) ।

- जीवन भ्रम र मूर्खताहरूको शृङ्खला हो । संसार क्रूर यथार्थहरूको सम्मेलन हो (पृ.३९) ।

- संसार आँखा खोलेर भन्दा आँखा चिम्लेर चिनिन्छ (पृ.४०) ।

- मृत्यु मर्नेको होइन, बाँँच्नेको समस्या हो (पृ.५०) ।

- मान्छेले जति गुरुका पाठशालामा सिक्छ त्यसभन्दा बढी जीवनको पाठशालामा भोगेर सिक्छ (पृ.११०) ।

- वातावरण प्रकृति बनाउँछ, त्यसमा मान्छेले गरेको योगदान संस्कृति हुन्छ (पृ.१३८) ।

- राजनीति भनेको गरिखाने होइन, मागिखाने कि लुटिखाने धन्दा हो । लुट्न नसक्नेले माग्छन् । सत्तामा नपुगुन्जेल माग्छन् । बन्दुक देखाएर माग्नु पनि लुट्नु हो । सत्तामा पुगेपछि हाकाहाकी लुट्छन् (पृ.१५६) ।

- संसारीले मरिमेट्ने कुरा नाम, दाम, मान र यौन हो । शक्ति सबैको मूल हो । शक्तिको पनि मूल स्रोत राजसत्ता हो । त्यसैले सबैले सत्ताको हारालुछ गर्छन् (पृ.१५७) ।

- हरेक ढुङ्गामा मूर्ति हुन्छ । मान्छेको जीवन पनि ढुङ्गा जस्तै हो । कुँद्न जान्नेले प्रतिभा बनाउँछ (पृ.१७५) ।

- अनावश्यक कुरामा रस लिनु यौनिक आकर्षणको पहिलो पहिचान हो (पृ.१८२) ।

- स्वास्नीलाई लोग्ने र लोग्नेलाई स्वास्नी जबानीका आवश्यकता र बुढ्यौलीका अनिवार्यता हुन् (पृ.१८८) ।

- चिन्ता त डुब्न लागेको मान्छेले भुन्डिएर बाँच्ने त्यान्द्रो हो (पृ.२६१) ।

- अर्काले बनाएको बाटोमा हिँडेर आप्mनू गन्तव्यमा पुगिँदैन (पृ.२९३) । आदि ।

माथिका यस्ता कथन उपन्यासको विषय प्रस्तुतिका सन्दर्भमा आएका हुँदा तिनले त्यस विषयको सन्दर्भमा विशेष अर्थ घनत्व त दिएकै छन् । त्यस बाहेक स्वतन्त्र वैचारिक कथनको सामथ्र्य पनि देखाएका छन् । यस्तै तिनले उपन्यासको भाषिक सौन्दर्य सम्बद्र्धनमा पनि महत्त्वपूर्ण भूमिका खेलेका छन् । उपन्यासको भाषा भने सरल, स्पष्ट र चोटिलो छ । यस्ता सूक्तिमय कथन र अन्य बिम्ब प्रतीकात्मक सन्दर्भले भाषालाई चोटिलो मात्रै नभई चोपिलो पनि तुल्याएको छ ।

५. केही परिसीमा

कुनै पनि मानव कर्म पूर्णतः त्रुटि रहित हुँदैन । खोजेमा जस्तासुकै मानवीय उपलब्धिमा पनि खोट भेटिन्छ । हरेक मानिसको रुचि भिन्नताले पनि सबै वस्तु सबैका लागि समान महत्त्वका हुन्नन् । त्यही भएर उत्तर आधुनिकताले निर्णित अन्तिम सत्य अस्वीकार गरेको हो । सत्य सापेक्ष हुने मान्यता पनि स्वीकृत नै छ । यस्ता पक्ष एकातिर रहे पनि हामी तथ्य र तर्कद्वारा सिद्ध हुने कुरालाई नै वर्तमानको सत्य ठान्छौँ । यसरी हेर्दा घिमिरेको यस कृतिमा राजनीतिक इतिहासका अत्यधिक प्रसङ्गहरू छन् तर ती यहाँ अरूले चर्चा गरेका जस्ता मात्रै छैनन् । तिनको थप उत्खनन र पुनव्र्याख्या पनि गरिएको छ । तर यो कृति तथ्य र कल्पना संश्लेषण गरिएको उपन्यास हुँदा ती उत्खनन र पुनव्र्याख्याको वैधता कति हदसम्म मान्ने टड्कारो समस्या देखिन्छ । तिनको छिनोफानो गर्न त्यति सजिलो छैन किनभने त्यसका विज्ञहरूबिच नै यो विषय विवादास्पद बनेको छ । यसको सङ्केत पहिलो संस्करणको आभारमा पनि लेखकले दिएका छन् । त्यस्ता विषयमा लेखकले आप्mनो बुद्धिले ठिक ठानेको वा आपूmलाई लागे अनुसार गरेको जनाएका छन् । हरेक लेखकले गर्ने नै त्यही हो । यसलाई त्यही रूपमा नहेरी “निर्विवाद सत्य चाहियो” भन्ने किसिमले हेर्न थालियो भने समस्या हुन्छ । यति भन्दाभन्दै पनि यसले नर भूपाल शाहसँग उसको नोकर पनि सती गएको हुँदा शाह समलिङ्गी थिए, बहादुर शाह बाहेक सबै राजा सन्की र विलासी थिए, तिनमा रण बहादुर शाह अझ बढी कुख्यात थिए अनि बी पी र गणेश मान (अंशतः कृष्ण प्रसाद) बाहेक अन्य सबै जसो नेतृत्वमा तिनै विलासी र सन्की राजाको प्रभाव थियो, जुुद्ध शमशेरका सन्तान राजा र रानी दुबै भएका थिए तर जुद्धकी आमा जौहर ज्यान मुसलमान थिइन् भन्छन् जस्ता कुरा गरेको हुँदा इतिहासको नकारात्मकतालाई मात्रै बढी उछालेको, कतिपय ऐतिहासिक तथ्यप्रति त्यति न्याय गर्न नसकेको जस्ता आक्षेप लाग्न सक्ने देखिएको छ ।

अर्काे कुरा अबको विश्वमा काल्पनिक आख्यानभन्दा तथ्याख्यान (प्mयाक्ट फिक्सन) को विकास हुने छ भनी नोबल पुरस्कार विजेता भी. एस. नायपाल लगायत अनेकले भनेकोे पृष्ठभूमि एकातिर रहे पनि यो कृति आधारभूत रूपमा विगतको राजनीतिक विषयमा आधारित काल्पनिक आख्यान वा उपन्यास नै हो । यस दृष्टिले हेर्दा यसका कतिपय शीर्षकहरूमा आएका विषय प्रस्तुतिले राजनीतिक इतिहासको विवरण वा बढी बहिर्मुखी दृष्टिकोण सहितका घटना क्रमको फेरिहिस्ता पढे जस्तो अनुभूति पनि दिलाउँछन् । अर्थात् ‘अन्तर्मनको यात्रा’मा जसरी बाह्य घटनाका पृष्ठभूमिमा जीवनको अन्तर्घनत्वतर्फ यात्रा गरिएको थियो र त्यहाँ मानवीय संवेगका तरङ्गहरू छ्यालब्याल भएर रसाएका थिए त्यसरी यहाँ रसाउन भने सकेका छैनन् ।

यस्तै कतिपय ठाउँमा चयनात्मक सिपको कमजोरीका कारण औपन्यासिक कथ्यसँग त्यति सरोकारै नराख्ने गन्थन र कतिपय सरोकार त राख्ने तर सामान्य विषयलाई पनि बढी विस्तार गरेर कृतिलाई मोटो पार्ने काम पनि भएको छ । कृतिमा प्रयोग गरिएको वर्ण विन्यास पनि ज्यादै पुरानो सोचको छ । नेपाली भाषालाई सरलीकरण गर्न बनाइएको तद्भव र आगन्तुक शब्दलाई नेपाली मानक उच्चारण अनुरूप (सुरु र बिचमा ह्रस्व र पातलो स) लेख्ने बहु स्वीकृत मान्यताको पनि यहाँ अनुसरण गरिएको छैन । यस्ता कतिपय परिसीमा यसमा देखिएका छन् ।

६. उपसंहार

साहित्य लेखनमा २०२० को दशकमै प्रवेश गरे पनि जगदीश घिमिरेको २०२७ सालमा प्रकाशित ‘लिलाम’ उपन्यास नै पहिलो हो । परम्परित विषय र शिल्पको ‘लिलाम’ पछि २०३२ सालमा नवीन कथ्य र शैलीको प्रयोगशील उपन्यास ‘साबिती’ आएको हो । त्यसपछि अन्तिम उपन्यासका रूपमा २०६९ सालमा सकस आएको छ । यो नेपालको वर्तमान समयको मूल्य ह्रास भएको कुरूप र भद्रगोल राजनीतिक अवस्थाबाट आहत मनोदशाका लेखकले सोही परिस्थितिलाई गम्भीरतापूर्वक आलोचनात्मक रूपमा नियाल्दै जाँदा लेखिएको उपन्यास हो । यो मुख्यतः आलोचनात्मक यथार्थवादी र अंशतः स्वैरकाल्पनिक ढाँचामा लेखिएको छ । यसमा पृथ्वी नारायणदेखि बाबुराम भट्राईको शासन कालसम्मको राजनीतिक इतिहासको आकलन गर्दै मुख्यतः देशलाई दिन प्रतिदिन अधोगतितिर धकेल्ने र जन सामान्यलाई हुनसम्मको सकस पु¥याउने त्यतिखेरका शासक (शाह वंश र अन्य) का कुशासनको खरो आलोचना गरिएको छ । उपन्यास वर्तमानको देशको अराजकता नियाल्ने क्रममा अतीतमा पुगेर पुन वर्तमानमा नै आएर टुङ्गिएको छ । यसमा आप्mनो समयमा राजनीतिमा निकै सक्रिय तर विभिन्न परिस्थितिका कारण सफल हुन नसकेको वृद्ध चरित्र जीबाका माध्यमबाट अतीत कथन गरिएको छ भने कहरपूर्ण जीवन बाँचेका शरद, कुमारी जस्ता चरित्रका माध्यमबाट वर्तमान कथन गरिएको छ ।

“१७००+ज्यानको रगत” बगे पनि देश निरन्तर गन्तव्यहीन सुरुङमा फँस्दै गएको देखेर आम मानिसलाई सचेत तुल्याउन पुराण (अग्निवर्ण) र इतिहास (शाह वंश...) देखि वर्तमानसम्म फिँजारिँदै आएका कुरूप राजनीतिका जराहरूलाई उधुन्ने काम उपन्यासमा भएको छ । यस क्रममा सर्जकले आप्mनो काल्पनिक संश्लेषणको स्वतन्त्रता (पोयोटिक लाइसेन्स) को उपयोग पनि प्रशस्तै गरेका छन् । २००७ र २०६२ सालका दिल्ली सम्झौता र समझदारीले राणा शासन र राजतन्त्र समाप्त पा¥यो । त्यसपछिका घोषित अघोषित समझदारीले के के समाप्त पार्ने हुन् भन्ने गम्भीर चिन्ता यहाँ छ । यस्तो चिन्ताको खास आधार भनेको समकालीन समयको एकदमै मूल्यक्षय हुँदै आएको वा विदेशीलाई प्रभु ठान्ने राजनीति नै

हो । यसले राष्ट्रका सबै तहका इमान भएका देशभक्तहरूलाई गहिरो सकसमा पारेको छ भन्ने उपन्यासको प्रक्षेपण छ ।

यो राजनीतिक विचार प्रधान उपन्यास हो । यहाँ एकातिर विलासी र सन्की शासकको गलत राजनीतिले मानिसको जीवनका सबैजसो पक्षमा कति गहिरो पीडा थोपरेको हुन्छ भन्ने कुरा (कुमारी, शरद र जीबाका जीवन भोगाइ मार्फत) देखाइएको छ भने अर्कातिर राजनीतिक गतिशीलताले समाजका सामाजिक, सांस्कृति र आर्थिक क्षेत्रमा ल्याएका परिवर्तनका सन्दर्भहरू पनि सङ्केत गरिएको छ । बारम्बार राजनीतिले गलत बाटो लिँदा व्यक्ति र समाजमा निराशा छाए पनि उपन्यासको अन्त्यमा भने कालो बादल फाटी देशमा शान्ति र उज्यालो छाउने आशावादी स्वर सञ्चार गरिएको छ ।

यस उपन्यासमा जात, जाति, धर्म, सम्प्रदाय, क्षेत्र जस्ता सङ्कीर्ण भावनालाई अर्थहीन सिद्ध गर्दै उदार, खुला, सहिष्णु, समन्वयकारी र मानवतावादी समाजको अपेक्षा छ । व्यक्ति स्वतन्त्रताका नाममा घोर पैसामुखी र मानवीय संवेदान शून्य सोचप्रति भने यसको टड्कारो विमति छ । यसको वैचारिक प्रस्तुति एकदमै निर्भीक र खरो छ । यसमा नेपालका सबैजसो शक्तिशाली ठानिएका कुशासकहरूलाई नामै किटेर उनीहरूको करतुत उल्लेख गर्दै प्रहार गरिएको छ । त्यसैले त्यस्ता शासकका अन्धा भक्त वा असहमत विचारप्रति एकदमै असहिष्णु हुने अनि विचारको सौन्दर्य संश्लेषण (उपन्यास कला) प्रति रुचि पनि नराख्नेहरूका लागि मात्र यो उपन्यास अरुचिकर हुन सक्छ ।

मुख्य सन्दर्भ कृति

घिमिरे. जगदीश (२०६५). अन्तर्मनको यात्रा. सातौं सं., रामेछाप ः जगदीश घिमिरे प्रतिष्ठान ।

———————— (२०६९ भदौ). सकस. रामेछाप ः जगदीश घिमिरे प्रतिष्ठान ।

———————— (२०७० वैशाख). सकस. छैटौँ सं., रामेछाप ः जगदीश घिमिरे प्रतिष्ठान ।

घिमिरे, प्रतीक (सम्पा) (२०७०). सकस मन्थन. रामेछाप ः जगदीश घिमिरे प्रतिष्ठान ।

पौडेल, विष्णु प्रसाद (२०६७). जगदीश घिमिरेका साहित्यिक कृतिहरूको अनुशीलन. रामेछाप ः जगदीश घिमिरे प्रतिष्ठान ।

शर्मा, सुधीर (२०७० भदौ). प्रयोगशाला. काठमाडौँ ः फाइन प्रिन्ट ।

पोखरा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।