14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

आमा

कविता राजु आत्रेय November 30, 2013, 3:22 pm

तेत्तिसकोटी देउ देउतालाई ढोगेर

जसै म अतृप्त बन्छु

फकत तिम्रो एक र्स्पशले

म भित्रका जम्मै व्याथा बिघ्निहरु

अर्न्तधान हुन्छ आमा

आमा तिमी त इश्वरहरुकी पनि आमा ।

आमा !

थाहा छ मलाई

तिमी कति कोमल बन्न सक्छ्यौ

तिमी कति दया पलाउन सक्छ्यौ

अनि कति माया फलाउन सक्छ्यौ

अनि यो पनि थाहा छ आमा

म बिरुद्ध रचिएका अनेक दाउपेचहरुलाई

तिमी एक्लै थेग्न सक्छ्यौ

षडयन्त्रका चक्रव्यूहहरुलाई एक्लै भेदन सक्छ्यौ

ममताकी खानी मेरी आमा

तिमी जस्तो चौकस र सजग अरु कसैलाई देखिन मैले

आमा !

सदैव म जहाँ बाट शुरु हुन्छु

अनि म जहाँ पुगेर अन्त हुन्छु

पद पदमा तिमीलाई आबिष्कार गर्छु

ठिङ्ग उभिएकी

यी औँला समाइरहेकी

बाटो देखाइरहेकी

आमा तिमी एउटी अभिज्ञ पथप्रदर्शक

दन्तेकथाका कति पात्रहरुले

मुग्ध पार्छन नानीहरु

आमा कथा सुनाउँछिन

अनि आफैँ कति पात्रमा रुपान्तरित हुन्छिन

एका देशकी राजकुमारी पनि तिमी नै हौ आमा

पिँजडामा थुनिएकी रानी पनि तिमी नै हौ आमा

आमा !

तिमी कति निख्खर अभिनेत्री

प्रयोजन सापेक्ष

हिँउ सरी पग्लिने पनि आमा

आगोमा झ्वाम्म फाल हाल्ने पनि आमा

समुन्द्रमा पौडिने पनि आमा

आमा तिमी साहसकी प्रतिमूर्ती

मातृत्व जोख्छु

ममता तौलीन्छु

कहिले जोखिएन

अब कसैले नतौलियोस

ए साँची

म जन्मेको दिन

तिमी धेरै खुसी थियौ अरे

तिम्रो खुसी सँधै कायम राख्न सकुँ

तिम्रो हाँसो सँधै कायम राख्न सकुँ

आसाम , भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।