भरिला होइनन् यी फोस्रा हुन्
रसिला होइनन् यी खोस्टा हुन् ।
आफ्ना होइनन् यी अरूका हुन्
जुसका सिसी होइनन् यी दारूका हुन् ।।
त्यसैले नेता होइनन् यी लेता हुन् !
१
मालिक हँुदै होइनन् नोकर हुन्
भ्रम नहोस् हजुर, यी जोकर हुन् ।
स्वपूजित गानमा औधी रमाउछन्
जनता–जनता खूब लडाउँछन् ।।
त्यसैले नेता होइनन् यी लेता हुन् !
२
नायक होइनन् यी खलनायक हुन्
एकताका पूजारी नभई पीडादायक हुन् ।
सन्देश बाँड्ने होइनन् यी सद्भाव भाँड्ने हुन्
शान्त र कोमल देश सक्दो फाँड्ने हुन् ।।
त्यसैले नेता होइनन् यी लेता हुन् !
३
गौरव होइनन् यी रौरव हुन्
तमासे हुन् बरू बारमासे हुन् ।
वसन्त होइनन् यी मौसमी हुन्
कलरव होइनन् यी कर्कश हुन् ।।
त्यसैले नेता होइनन् यी लेता हुन् !
४
पेटेन्ट होइनन् यी एजेन्ट हुन्
बरू विदेशीका कम्पोनेन्ट हुन् ।
माटो चिन्दैनन् तर फाटो दिन्छन्
देश धकेल्ने एकौटा बाटो दिन्छन् ।।
त्यसैले नेता होइनन् यी लेता हुन् !
५
गहना होइनन् यी गएका हुन्
संरचना होइनन् यी सडेका हुन् ।
आरम्भ होइनन् यी अन्त्य हुन्
तालव्य नभएर सबै दन्त्य हुन् ।।
त्यसैले नेता होइनन् यी लेता हुन् !
(ब्यंग्य कविता)
शिक्षक, मन्थली उमावि, मन्थली