भुईँफुट्टा शब्दहरू कवि मनप्रसाद सुब्बाको आठौँ कविता सङ्ग्रह हो। यस सङ्ग्रहभित्र परेका कविताहरू मिठा, पाकेका, रसिलाजस्ता विशेषणहरूले मात्र अलङ्कृत हुनसकेको छैन। कृति पढिसकेपछिको प्रभाव र कृतिभित्र लुकेका विचारहरूको निर्क्योल नै समालोचना भनेर लेखिन्छ तर यसरी लेखिएका र भनिएका कुराहरूलाई प्रभावगत हेत्वाभास र उदेश्यगत हेत्वाभास भनेर अध्येताहरूले भनेका छन्। यी दुईवटा हेत्वाभासका बिचबाट उभय मार्ग निर्माण गर्नका लागि प्रशस्तै अध्ययन र अनुभवका उज्यालो बोकेर हिड्न पर्ने हुन्छ र त्यही मार्ग नै वास्तवमा साँचो समालोचना पनि हो। त्यसैले भुईँफुट्टा शब्दहरूमाथि गरिएको यो विचार यी दुई हेत्वाभासदेखि माथि उठेको जस्तो अनुभव आफुलाई लगेको छैन। यद्यपि कृतिको काव्यिक विवेचना गर्ने र यसका गुण दोषलाई खुट्ट्याउने भरसक प्रयास गरिएको छ।
कविता सङ्ग्रहको नाम ‘भुईँफुट्टा शब्दहरू’ राखिएको छ। शब्दकोशअनुसार यसका दुईवटा अर्थहरू देखिन्छन् १. भुईँ फोरेर बाहिर निस्केको वा आफै प्रकट भएको २. अस्वाभाविक रूपमा एक्कासि उदय भएको वा गुरुविना आफैँ मन्त्रसिद्दि प्राप्त गरेको। कविताहरू पढेर विचार गर्दा शीर्षक दुवै अर्थमा सार्थक रहेको देखिन्छ। विचारणीय कुरा के देखिन्छ भने भुईँफुट्टा शब्दहरू नै शीर्षक दिएर कविता सङ्ग्रहमा कुनै कविता छैन त्यसैले प्रस्तुत कविताका शब्दहरू, विचार र कवितामा ध्वनित स्वरहरू भुईँफुट्टा हुन्, स्वयम् प्रकाश्य हुन् जसको उत्पतिमा कुनै गुरु वा आधारको आवश्यकता छैन भन्ने सङ्केत देखिन्छ। यद्यपि एक धुपौरो रातो अँगार कवितामा यी शब्दहरूको प्रयोग भने भएका छन् उत्तरउपनिवेशिक स्वर बोकेको यस सङ्ग्रहभित्रका कविताहरू र कविता सङ्ग्रहको शीर्षक मिल्दो देखिन्छ। यद्यपि सङ्ग्रहभित्रका कविताहरूको वैचारिक स्वरहरू आफैमा विरोधाभासपूर्ण देखिन्छ। परिस्थिति, परिवेश वा सामाजिक पृष्ठभूमि र इतिहासको खण्डहरूबाट विचार पलाउँछ र त्यही विचारको उद्रेक अवस्था कविता हो तर विचार नै चाहिँ कविता होइन। सङ्ग्रह हात परेपछि उत्सुकता र कौतुहल पलायो कविता कस्ता रहेछन् भन्ने तर कतिपय कविताहरू पहिले नै सुनेका पढिसकेका भएको हुनाले त्यस उत्सुकता र कौतुहलले मौलने मौका पाएन। तथापि यी कविताहरू सङ्ग्रहमा आउन अघि नपढ्ने पाठकहरूले यसलाई रोचक प्रकारले नै ग्रहण गर्ने छन्। यसमा एउटा विचार उठ्यो, पाठकले सदैव नयाँ नै खोजी रहँदो रहेछ र कविप्रति अपेक्षा ठुलै हुँदोरहेछ त्यसैले सुटुक्कै आएको कविताले जुन आश्चर्यको आनन्द प्रदान गर्छ हल्ला गर्दै आएको कविताले उतिको उत्साह नदिँदो रहेछ। किनभने, जीवन आश्चर्यको रोमाञ्चले पूर्ण छ। यही रोमाञ्चले पाठक वा हामीलाई नयाँ प्राप्त गर्ने चाहना जगाइरहन्छ। तर युग उत्तरआधुनिकको छ, लेखन र बजार व्यवस्था पनि उत्तरआधुनिक छ। त्यसैले यहाँ चुपचाप केही हुँदैन, यहाँ हल्ला गरेरै हिड्न पर्ने परिस्थिति र परिवेश छ अतः यसैलाई उत्तरआधुनिकतावादका अध्येताहरूले वहुलताबादी भनेर छोडिदिएका छन्। काव्य वा साहित्यमा अनेकौँ महत्त्वपूर्ण प्रश्न र विचारहरू हुन्छन् ती मध्ये कविता कुन तत्त्वले महान बन्दछ भन्ने एउटा महत्त्वपूर्ण प्रश्न हो। यसको चर्चामा अध्येताहरू आ-आफ्ना तर्क राख्छन्। सामान्यतः हामी ती कविताहरू राम्रा र सुन्दर भन्छौँ जसमा जीवन पक्ष हुन्छ। साथै ती तत्त्वहरूको विरोधमा स्वर उठेका हुन्छन् जसले लोक, संस्कृति र मानवीयतालाई तिरस्कार गर्छ। जीवन तत्त्वको खोजमा जति गम्भीर, व्यापक सहज औ अनुभव-समृद्ध हुन्छ कविता उति नै महान हुन्छ। यद्यपि यी सबै विचार सापेक्षित छन्। कवितामा सन्देश, उद्देश्य र यसका केन्द्रीय स्वरहरू खोजे अनेकौँ पाइन्छन् मूलतः ती स्वर, उद्देश्य आदिको इतिहास र पृष्ठभूमिको आधार खोज्नु नै कविताको मूल्यङ्कन हुन सक्छ।
दृष्टिकोण-
यस कविता सङ्ग्रहभित्र ४७ वटा कविताहरू छन्। कविताका विषयभूमि, प्रकृति, संस्कृति, जातीय अस्मिता, भाषा र आन्तरिक उपनिवेशका स्वरहरू देखिन्छ। कवि मनप्रसाद सुब्बाको पहिलो कविता सङ्ग्रह विब्ल्याँटो युगभित्र कार्टून मान्छेहरू (१९७९) मा प्रकाशित भएको हो र सन् १९८३ मा बुंख्याचाहरूको देशमा प्रकाशित देखिन्छ। हात परेको सङ्ग्रह २०१३ मा प्रकाशित। लगभग चौतीस वर्षको कविता लेखनमा कविले थुप्रै परिवर्तनहरू देखे, भोगे र अनुभव पनि गरे यद्यपि यो चौतीस वर्षको साधनामा पनि कविताभित्रको केन्द्रीय स्वर एउटै देखिन्छ। वाह्य चित्र र स्वरहरू परिवर्तन भए पनि यसले रङ फेर्दै, रूप फेर्दै अर्कै अर्कै हुँदै आएका छन् र ध्वनित मूलस्वर सन् १९७९ देखिको २०१३ सम्मको एउटै छ। यसले एउटा सन्देह र प्रश्न उत्पन्न गर्छ। के समाजको नक्सा परिवर्तन भएको छैन र नै कलाकार साहित्यकारहरू यी चित्र देख्छन् ? समय र प्रकृति परिवर्तनशील भए तापनि समाजलाई हेर्ने हाम्रो दृष्टिकोण परिवर्तन भएको छैन र नै दुखको थुप्रोमा हामी जीवनको रोमाञ्च देख्छौँ ? दुख र पीडाका लागि यसको इतिहास, पृष्ठभूमिमा हामी स्वयम् कतिका जिम्मेवार छौँ? छैनौँ त किन समाज परिवर्तन छैन? छौँ त त्यो जिम्मेवारीको सङ्कथन किन छैन? कुन सत्यको धरातलमा उभिएर काव्य रचना भइरहेको छ? यस्ता गम्भीर प्रश्न उठाएको छ, सुब्बाका यसपालिका कविताहरूले। यस सङ्ग्रहभित्रका कविताहरू प्रकार कविता हुन् यसका आद्यप्रकार हामी उनको बुंख्याचाहरूको देशमा, उष्मा, आदिम बस्ती आदिमा पाउँछौँ। यस सङ्ग्रहको पहिलो कविता पृथ्वी-दिवसमा-मा कवि लेख्छन्-
बगरमा भने—
आफ्नो दुखलाई टुक्रा टुक्रा फुटाएर
थुम्का-थुम्का गिट्टी बेचे तापनि
कहिल्यै फुटाइनसकिएको दुख थुप्रो लागेकै छ छेउमा
यो कहिले फुटाइनसकिने दुखको थुप्रोको इतिहास सुब्बाको ऋतु क्यान्भसमा रेखाहरू कविता सङ्ग्रहको बगरको एक छेउमा कविताभित्र देखिन्छ। त्यहाँ कवि लेख्छन्—
भाभरमा मान्छे कतिबेरसम्म बस्न सक्छ?
यो कुरा तल विपनाको बगरमा
अव्यक्त पीडाको रोडा कुट्दै बस्ने
सपनाका आमाहरूलाई सोधे हुन्छ।
तर बगर छेउमा खोलाको गीत कति बगिसक्यो
अनि उसको जीउबाट पसिना कति चुहिसक्यो
यो हिसाब खै कसलाई सोध्ने ?
माथिल्लो कविताको आद्यप्रकार यो तल्लो कविता हो। दुई कविता भित्रको आन्तरिक स्वर उस्तै सुनिन्छ। व्यञ्जना एउटै ध्वनित हुन्छ। धरती-१ र धरती-२ कविताको क्रमशः धरती-२ र धरती-१ गरेर मिलाइएको छ, यसको औचित्य बुझिँदैन, विषय सामान्य देखिए तापनि यी दुई कविताहरूको आन्तिरक सम्बन्ध जोड्ने प्रयास गर्दा अङ्कले कुनै नयाँ सङ्केत गरेको छैन। साथै दुवै कवितामा धरती शब्द देखेर जुन अर्थ बुद्धिमा बनिन्छ त्यो अर्थ कवितामा रहेको छैन। कविले धरतीलाई जीवन प्रवृत्ति, जीवनको इतिवृत्तको सङ्केतमा प्रस्तुत गरेका छन्। धरती-२ मा कवि लेख्छन्
भनौँ भने यो धरती
यौटा भोकोले खान पाएको
एक थाल भातभन्दा गहौँ हुँदैन।
मदर टेरेसाको झिनो हातले
कैयौँपल्ट उचालेर खेलाएको हो यो धरतीलाई।
त्यस्तै धरती-१ मा आएर कवि लेख्छन्—
धरती अहिलेसम्म कति हिडिसक्यो त?
उत्तरको एक ठेली महाभारत
ती फाटेका जुत्ताहरूमा हेर्नू
अर्थात् अनगिन्ती हरिनास फुटेका कुर्कुच्चाहरूका
चिरा-चिरा अक्षरहरूमा पढ्नु।
कुरा एउटै छ, रूप भिन्न छ। भौतिक प्रकृतिको अर्थमा भन्दा मानवीय सम्वेदना र इतिवृत्तको अर्थमा यो कविता धेर व्यञ्जित छ।
धरतीको नापजोख कविताको जुन परिकल्पना छ त्यो सुन्दर छ तर यस कविताभित्रको आख्यानले विरोधाभास खडा गरेको छ। कविताको पहिलो पंक्तिमा कवि लेख्छन्—
धरतीको खास उँचाइ कति छ
त्यो कुरो
पर्वतारोहीको ब्यारोमिटर र अल्टिमिटरलाई होइन
अग्लो रूखको टुप्पोसम्म चढेर
हाँगाबिँगा छास्ने त्यो गोठालोलाई थाह छ
या त घरको धुरीमा चढेर
चुहुने छानो टाल्ने त्यो हिमालधोजलाई थाह छ।
हो, धरतीको परिधि, यसको आयतन धरतीसँग गाँसिएर, यसकै माटोमा जीवन खन्नेहरूलाई थाहा हुन्छ। जसले धरतीलाई बुझेको छ, माटोलाई बुझेको छ उसैले मात्र यसको नापजोख गर्न सक्छ। अनुभव र भावनाले प्रकृतिलाई बुझ्नु नै वास्तविक बुझाइ हो। यो आख्यान वास्तविक लाग्छ तर अर्को पंक्तिमा त्यही आख्यानलाई समातेर लेख्छन्—
पृथ्वीको गोलाइ कति होला
यो कुरो त्यै हिमालधोजकी स्वास्नीलाई थाह छ
जसलाई छोराको आशामा फेरि चौथोपटक
विशाल पेट बोक्न कर लगाइएको छ।
यस पंक्तिमा प्रयोग भएको हिमालधोज पात्र माथिल्लो पंक्तिकै हिमालधोज नै हुन् तर ऊ यहाँ धरतीलाई बुझ्ने, धरतीको संरक्षक नभएर स्वास्नीलाई शोषण गर्ने, छोरो पाउने लालसका रूढिवादी शोषकको प्रतीक छ। अध्येताहरू नारी शोषण र प्रकृति शोषणमा धेर फरक गर्दैनन् त्यसैले पंक्तिमा प्रयुक्त सर्वनाम ‘त्यै’ संयोजक ‘फेरि’ र ‘कर’ जस्ता शब्दहरूको तनावले हिमालधोजको पहिलो चरित्रमा विरोधाभास खडा गरेको छ। कविताले निश्चय नै सौन्दर्य र भावको सन्तुलन निर्वाह गरेको छ तर कवितामा हुने जुन वैचारिक तनावले यसको सौन्दर्यको प्रकाश गर्छ यसमा तनाव नभएर आख्यानात्मक विरोधाभास देखिन्छ।
पृथ्वी अनि म कवितामा कवि नितान्त प्रकृतिको पक्ष लिएर उभिएका छन्। जीव र आत्माका कुराहरू, अलौकिक वा अपार्थिव कुरामा भन्दा भौतिक यथार्थको तर्क दिँदै कविले प्रकृति नै मानवको स्रोत र लक्ष्य हो भन्ने विचार प्रस्तुत गर्छन्। उनी भन्छन्—
जति तिमी पृथ्वीपारिको अपार्थिव कुरा गर्छौँ
उति नै म चै
रूखका जराहरूसित भित्रभित्रै फैलेर
पृथ्वीको काखभित्र घुस्रिरहन्छु।
अर्को कविता मान्छे माटो गन्हाउँछ-मा पनि कविले मान्छे माटोबाटै निर्मित प्रकृतिको विषय हो भन्ने देखाउँछन्। कवितामा प्रतीक र विम्बहरूको प्रयोगद्वारा अर्थको निर्माण गरिन्छ अथवा कथनलाई बलियो पार्ने चेष्टा गरिन्छ। प्रतीक, विम्ब र अलङ्कार आदिभित्र विचारहरू लुकाउँछन् र संवेग-आवेगको मन्थनद्वारा कविता प्रकाश गर्छन्। त्यसैले कविहरू आफ्ना विम्ब, प्रतीक र आलङ्कारिक शब्दहरूमा मोहित हुन्छन् र आफैलाई त्यो अति प्रिय लाग्ने हुन्छ र प्रत्येक सिर्जनामा त्यो चेतन-अचेतन दुवै रूपले प्रस्तुत हुन्छ। यसो हुँदा कुनै ठाउँ काव्यको सौन्दर्य वा कलापक्ष अत्यन्त बेजोड भएर निस्कन्छ भने कति ठाउँ त्यो दिक्क लाग्दो पुनरावृति भएर आउँछ। पृथ्वी अनि म- कविताको अन्तिम पंक्ति
अहिले म
पृथ्वीकै छातीमा
दुबोको यौटा सानो सुइरो उम्रेर
पृथ्वीकै एक अङ्ग छु।
-को दुबो पछि गएर सुइरो भएर मान्छे माटो गन्हाउँछ कवितामा यसरी आवृति भएको छ-
दुबोको एक सुइरो पात म
धरतीको काखीमा उम्रेको यौटा रौँ
धरतीको काखी मलाई मिठो गन्हाउँछ।
यी दुई दुबोले खासै कुनै आलङ्कारिक चमत्कार दिएको छैन तर यही कविताको (मान्छे माटो गन्हाउँछ) अर्को पंक्ति—
गौँथलीको मुखमा थोप्ला थोप्ला हिलो चेपिँदै
अन्जुली जस्तो गुँडभरि सृष्टि बोकेर
धरती मेरो घरको सिलिङमै टाँस्सिन आइपुग्छ।
यहाँ प्रयुक्त गौँथली निश्चय पनि ऋतु क्यान्भसमा रेखाहरू कविता सङ्ग्रहको एक जोडी गौँथली मेरा कविताबाट उडेर आएको हो, आवृति भएको हो। तर यस आवृतिले गौँथलीको आद्यप्रकार, यसले बोकेको सङ्कथन र प्रतीकात्मकताको सुन्दर प्रस्तुति दिन्छ र प्रकृतिलाई फर्केर हेर्ने आग्रह गर्दछ। त्यसैले काव्यमा शब्दको पुनरावृति मात्र नभएर शब्दहरूको रागात्मक प्रयोग हुन आवश्यक हुन्छ।
खेतमाथि आक्रमण : केही भिडियो क्लिपिङ कविता विधुत वा कुनै औध्योगिक परियोजनाको कारण किसानहरूबाट माटो, जमिन र आफ्नो कृषि भूमिहरू खोसिएका विरोधका स्वरहरू सुनिन्छ। यी स्वरहरूमा कविको चिन्तित मन छर्लङ्ग देखिन्छ, अर्थको लालसामा कृषि भूमि बेचेर पलायन भएका कृषक बन्धुहरूप्रति पनि कवि चिन्तित छन्। यो चिन्तामा कविको दुर्दर्शीता देखिन्छ। यद्यपि कविताको पाँचौँ परिच्छेदमा प्रयोग भएका प्रतीकहरूले यसलाई स्वैरकल्पनाजस्तो बनाएको छ।
महानगरको यौटा ड्रविङरूमबाट चट्याङहरू हानिए
अनि उज्यालोको छाती वारपार रोपिएर
गावै झ्वाप्प भयो।
चट्याङमा परेर गोर्कीकी आमा पनि ढलिन्।
उसकी बहिनीलाई
यौटा बन्दुकले बलात्कार गरेर
खेतकै एक छेउ हिलोमा दबाइदिएको छ।
गोर्की बटारिँदैछ दाँत किट्दै चिहानभित्र।
यस सङ्ग्रह भित्रका कविताहरू प्रकृति, संस्कृति र मान्छेको एउटा पारिस्थितिकीय प्रणालीमा घुमेको छ। यद्यपि कतिपय कविताहरूले प्रगतिवादी विचारको बिजधारण गरेर भात, भाँडा र भुँडीको धेरै तर्क र पक्षमा रहेर कविता आवृति भएको देखिन्छ। विचारहरूले सौन्दर्य र स्वच्छन्दताको मजेत्रो ओडेर भित्रबाट आन्तरिक उपनिवेशको विरोधमा बोलेको छ। प्रकृति, संस्कृति र मान्छेको पारिस्थितिकीय प्रणालीमा कविताका विचारहरू घुमेका छन् तथापि प्रकृति-संस्कृतिको सम्बन्ध, मानव जीवनको महत्त्व (भौतिक रूपमा) र आन्तरिक उपनिवेशको कथन यस सङ्ग्रहको केन्द्रीय स्वरको रूपमा ध्वनित हुन्छ।
मेरी किराँती आमा कविता एउटा सांस्कृतिक सङ्कथन बोकेर उभिएको कविता हो। यसै कवितालाई यो सङ्ग्रहको प्राण कविता मान्दा हुन्छ। यद्यपि सौन्दर्य सापेक्षित हुन्छ भन्ने कथनको विश्लेषण गर्दा पाठक (म) स्वयम् पनि किराँती संस्कृति र संस्कारभित्र हुर्किएको हुनाले किराँती संस्कृति र संस्कारले अचेतन मनमा पारेको प्रभावले नै आफुलाई यो कविता सङ्ग्रहको प्राण कविता लागेको त होइन भन्ने शङ्का आफैँसँग नभएको होइन। साहित्य अहिले साहित्य मात्र नभएर यो सांस्कृतिक अध्ययनका विषय पनि बन्दै गइरहेको छ। सांस्कृतिक अध्ययन (cultural studies) भन्नाले लोक संस्कृति र कुनै जाति गोष्ठीको संस्कृति मात्र बुझिदैँन। यहाँ संस्कृतिको वृहत् अर्थ छ। रेमोन्ड विलियमले culture शब्द अङ्ग्रेजीको सबैभन्दा विरोधाभास शब्द पनि भनेका छन् र उनकै आलोचनात्मक दृष्टिकोणबाट सांस्कृतिक अध्ययनको अवधारणा पनि विकसित भएको हो। सुब्बाको यो कविता सङ्ग्रह सांस्कृतिक अध्ययनका विषयहरूसँग नजिक देखिन्छ। मेरी किराँती आमा कवितामा लिम्बु समुदायको किम्वदन्ती वा लोक कथाको सुन्दर प्रोयग छ। जसले सृष्टि र जीवनको सङ्कथन बोकेको छ। यस कवितामा प्रतीक-विम्बको सन्तुलन र प्रतीत र विम्बभित्र लुकेको कथाले काव्यिक सन्दर्भमा पाएको अर्थ र प्रस्तुतिकरणले यो कविता यस सङ्ग्रहको बेजोड कविता हो। कविता सतह हो, यसमा प्रयुक्त शब्द र प्रतीकहरूमा कथाहरू लुकेका हुन्छन्, आख्यान लुकेको हुन्छ। त्यो आख्यानले सन्दर्भलाई समेटेर नयाँ अर्थ दिनु सक्नु नै काव्य कविताको प्राप्ति हुन्छ। कवि लेख्छन्—
एक खाँटी किराँती आइमाई
मेरी आमा
मनुवा-दहको सफा तरल ऐनामा
सृष्टिको सौन्दर्य देख्नसक्ने संवेदनाको औतार
सुम्निमाको सन्तान अनि
पशुत्व र मान्छेत्वको अनन्त द्वंन्दलाई
सेक्मारी फूल र ओन्दोङ फूलको कलशहरूमा
जोखाना हेर्दै
चुपचाप
सुर्ताले सुकिरहेकी तिगेनजोङनाकी नातिनी
मेरी आमा
किराँती युवती तिगेनजोङनाले दुईजना नानीहरू जन्माएकी थिइन्। जसमा एउटा छोरा बाघ र अर्को छोरा मान्छे थियो। तिगेनजोङनाले यी दुई नानीहरू जन्माउनुको पछाडि पनि रोचक कथा छ। कालन्तरमा बाघ छोरा र मान्छे छोराको युद्ध हुन्छ। युद्धमा को बाँच्छ र को मर्ला भन्ने डरले ऊ सेक्मारी फूल र ओन्दोङ फूलको कलशहरू दुईजना छोराहरूको नाममा राखेर जोखाना हेर्न थाल्छ। जुन कलशको फूल छिटो ओइलाउँछ त्यो छोरा मरेछ भन्ने विश्वास त्यहाँ छ। यसरी कविताले बोकेको लोककथा, किम्वदन्तीको प्रस्तुति रोचक र सुन्दर छ। कविताले यसरी कुनै आख्यान र कुनै जातिको उत्पतिलाई बोकेर आउँदा त्यहाँ त्यस जातिको इतिहास र इतिवृत्त पनि आउँदछ। सांस्कृतिक विषयहरूलाई प्रतीक र विम्बको रूपमा कवितामा प्रयोग गरेर कविताको जुन सौन्दर्य सिर्जना गर्नमा आनन्द आउँछ उतिकै त्यो जोखिमपूर्ण पनि हुन्छ। किनभने, यसरी प्रयुक्त प्रतीक र विम्बहरूको अर्थबोध उसलाई मात्र हुन्छ जो त्यसको इतिहास र पृष्ठभूमिसँग गाँसिएको हुन्छ। म स्वयम्लाई यो कविता बुझ्न यसकारण सजिलो भयो कि म यी मिथ र प्रतीकहरूसँग पारिवारिक सम्बन्धमा थिएँ। साथै त्यसबाट पाएको कथाले मलाई जुन आनन्द र भावानुभूति गरायो सायदै अन्यलाई यो प्रतीक र विम्ब बुझ्न गाह्रो पर्दछ, सम्भवतः ऊ कवितामात्र पढ्छ मज्ज मान्छ तर त्यसको आनन्दानुभति गर्न सक्दैन। ती विभावहरूसँग पाठकको साधारणीकरण हुँदैन र रसानुभुतिमा बाधा बनेर त्यो उपस्थित हुन्छ। त्यसैले उसको लागी कविताको परिधि त्यहाँ समाप्त हुन्छ। अतः यसरी प्रयोग भएका प्रतीक र विम्बहरूले कवितामा जति सौन्दर्य सिर्जना गर्छ उति नै यो जोखिमपूर्ण पनि हुन्छ। यद्यपि सांस्कृतिक विषयहरूको उत्थान र त्यसलाई टिपेर कविताको सिर्जना गरिने यो नवीन गोरेटो हो, यसप्रकारको लेखन उत्तरआधुनिक लेखनमा सांस्कृतिक लेखन वा एथ्नो राइटिङ्स भनेर प्रचलित छ। यसप्रकारको लेखनले आफ्नो इतिहास र आफू हुनुको बोध गराउँछ। पाठकलाई कविद्वारा प्रयोग गरिएका प्रतीक र विम्बहरू छरिएको लागे तापनि कवि स्वयम्ले भने ती प्रतीक र विम्बहरूको संयोजन, सन्तुलन भने गरेर नै कविता सिर्जना गरेको हुन्छ।
अर्को सिद्धर्थ उर्फ सिद्धे कविताले बोकेको सङकथन पनि कम सुन्दर छैन। सिद्धर्थ उर्फ सिद्धे कविताको ध्वनि प्रागैतिहासिक, ऐतिहासिकदेखि वर्तमानसम्म ध्वनित छ। उता (नेपालमा) सिद्धर्थ जरा रोग र मृत्युको ज्ञान बुझेर बुद्ध बन्दै गर्दा त्यस्ता दुखहरू मैले मेरै घरमा देखेको भोगेको हुँ भन्ने अभिधा ध्वनि कवितामा प्रतीत भए तापनि हामी यहाँ युगौँ युगदेखि थियौँ भन्ने व्यञ्जनाले कविताको बिजलाई प्रकाश पार्छ। कविताको चित्रात्मक प्रस्तुति, इतिहास र इतिहासमा छुटेको दृष्टिकोणको तुलनात्मक प्रस्तुतिले यो कविता राम्रो बनेको छ। बुद्धको युगदेखि मेरो इतिहास छ, म छु, मेरो संस्कृति, मेरो दुख छ। म पनि बुद्ध जतिकै जेठो हुँ –को ध्वनित स्वरले कविता आन्तरिक उपनिवेश विरोधी बनेको छ। कवितामा आदिमताप्रतिको मोह, प्राचीनताप्रतिको आग्रहले कविमा सांस्कृतिक गौरवको प्रबल आत्मविश्वास देखिन्छ। कवि लेख्छन्—
लुम्बुनीमा सिद्धार्थ जन्मेकै दिन
लुम्बनीदेखि टाढा पूर्वको एक कुनामा
म जन्मेँ।
.......
तर उसको पुनर्जन्म भयो अनगिन्ती मूर्तिहरूमा
मेरो पनि पुनर्जन्म भयो अनगिन्ती सिद्धर्थ उर्फ सिद्धार्थहरूमा।
जहाँ जहिले जुनै धातुमा जन्मे पनि
ऊ त बुद्ध-सँधै शान्त, सौम्य, निरपेक्ष।
जहाँ जहिले जुनै जातिमा जन्मे पनि
म त सिद्धार्थ-सँधै छट्पटिरहेको..भुटभुटिरहेको..दौडिरहेको...
यस कविताभित्र रहेको सिर्जनात्मक सामर्थ्यको खोज गर्दा अनेकौँ विचार, दृष्टि र सङ्कथनहरूको सम्भवाना देखिन्छ। समय सापेक्षताले कवितालाई चम्काउँदछ। साथै कविता समय सापेक्षित हुन आवश्यक पनि छ। सिद्धार्थ उर्फ सिद्धे कविता समय सापेक्षित छ। त्यसैले समयले उठाएको प्रश्न आवाजहरू कविताका स्वर बनेर निस्कन्छ। समय र परिस्थितिलाई लेख्नु यस लेखन युगको मूल विषय पनि बनेको छ, तथापि कविताको सम्पूर्णता त्यसमा पाइँदैन। सायदै कविहरू सम्पूर्णता लेख्न खोज्छन्, चाहन्छन् तर यसैलाई लेख्न नसक्नुमा नै कविता छ। समयमा परिस्थितिहरू बद्लिन्छन्, परिवेशहरू बद्लिन्छन् तर समयको प्रवाह निरन्तर बगिरहन्छ। यो निरन्तरताको प्रवाहमा विचारहरूले कोल्टे फेर्छ, रूप फेर्छ, लुगा फेर्छ तर धर्म उही रहिरहन्छ, सत्य त्यही रहिरहन्छ। बुद्धदेखि अहिलेसम्म हाम्रो छट्पटिने, भुटभुटिने धर्मको नाश भएकै छैन। विचार गरेर हेर्दा, पन्साएर हेर्दा आफ्नै विचारको उपनिवेशबाट उपनिवेशित छौँ जस्तो सत्यहरू देखापर्छन्। यस सङ्ग्रहमा ‘बुद्ध’-को प्रतीक लिएर चारवटा कविताहरू रचना गरिएको छ। म कहिले बुद्ध हुनु ?, सिद्धार्थ उर्फ सिद्धे, यशोधराको अदालतमा सिद्धार्थ, र बैशाख पूर्णिमा-ई २००४। यी कविताहरूमा बुद्धलाई विभिन्न प्रकारले कलात्मक प्रस्तुति दिएको छ। व्यवहार र संसारको वास्तविकतामा बुद्धलाई उभ्याउने कलात्मक प्रयास गरिएको छ। बुद्ध भनेको ज्ञान हो, ज्ञान सधैँ पूर्ण हुन्छ। व्यवहारको अदालतमा बुद्धलाई उभ्याए तापनि बुद्ध शान्त छ उस्तै दृष्टिगाम्भीर्य छ। यद्यपि मौन बुद्धको मौनताले जीवनका अन्तर्यथार्थको उद्घाटन गरिरहेको छ। बुद्धमाथि गरिएका व्यवहार र अस्तित्वबोधका प्रश्नहरूको उत्तर अचेल ऊ कविताभित्र गएर साङ्केतिक रूपमा उद्घाटित भएको छ। त्यहाँ कवि लेख्छन्-
ईश्वरलाई उसले
आफ्नो आस्थाबाट निकालेदिएपछि
त्यहाँ यौटा ठुलो भ्वाङ पर्योख
अनि
उसले अनास्थाका विचारहरू थाक थुपारेर
त्यो भ्वाङ पुर्न खोज्यो
तर भ्वाङको आयतन झन् झन् बढ्दै गयो.. बढ्दै गयो
यो बढ्दो भ्वाङ देखेर
उसले मनमनै भन्यो
ईश्वरको अनुपस्थिति भनेको यस्तो कल्पिनसक्नु भ्वाङ रहेछ !
कवितको सिर्जना कविले एउटै काल र एउटै परिवेशमा गर्दैनन्। यो विभिन्न समय र परिवेशमा सिर्जना हुन्छ। कविको मनोविज्ञानले जब सङ्ग्रहको कल्पना गर्छ तब यी कविताहरू एक मुष्ठमा बाँधिन्छन्। विभिन्न काल र परिवेशमा लेखिएका यी कविताहरू एउटा परिधि वा एउटै सङ्ग्रहमा परेपछि काल र परिवेशले उमारेका विचारहरूको द्वन्द त अवश्य हुन्छ यद्यपि वैचारिक व्यायामको क्रम त्यही रहेको हुन्छ। त्यसैले त्यो कृतिले आफूभित्र एउटा काव्य संसारको निर्माण गर्छ। त्यहाँ आबद्ध संसारका कविताहरू एकार्कामा नजानिदो, अचेतन रूपमा शृङ्खलाबद्ध बनेर आउँछ अनि एउटा कविताको कौतुहल अर्को कवितामा शान्त हुन्छ, एउटा कविताको अर्थबोध अर्को कविताले गराउँछ। यसका लागी कवि जिम्मेवार हुँदैन। वास्तवमा जब कवि आफ्ना सिर्जनामा लागेका हुन्छन् त्यस समय ऊ आफ्नो व्यक्तित्वदेखि माथि उठेर सिर्जना गरिहरेको हुन्छ। कविको शरीर र चेतना भावको बन्धक बनेको हुन्छ..त्यस क्षण मस्तिष्कमा कविता आवृति गर्ने, भावपरिमण्डलबाट अनुभूतिका तरङ उत्पन्न गर्ने त्यो कवि नभएर कविको कवित्व हुन्छ। कविको चेतन मन नितान्त निष्क्रिय हुन्छ र अचेतन मनका भावनाको भेलले कविलाई यति उता बगाइ दिन्छ। यस्तो अवस्थाबाट सिर्जना भएको काव्य वा कविताका आन्तिरक तरङहरू एकार्कामा सम्बन्धित हुन्छन्। कवि सुब्बाको बुद्धप्रतिको नितान्त सांसारिक र भौतिक विचारको तिरोधान अचेल ऊ कवितामा भएको छ। यस कविताको पात्रले ईश्वरलाई आस्थाबाट हटाइसकेपछि त्यहाँ पाएको शुन्यलाई आफ्नो स्वतन्त्रता मानिसकेपछि हिजो आज न उसकोमा ईश्वर छ न आफ्नो स्वतन्त्रता। त्यसैले कृतिको सम्पूर्णता एउटा कवितामा मात्र हुँदैन। कृतिका कविताहरूको शृङ्खलामा ध्वनित स्वर र अर्थहरूले यसको सम्पूर्णता देखाउँछ। यद्यपि अर्थहरू स्वतन्त्र हुँदैनन् यसले आफ्नो सम्पूर्णता शब्दबाट, शब्दले वाक्यबाट र वाक्यले सङ्कथनबाट प्राप्त गर्छ। त्यसैले कृतिको अर्थ र मूल स्वरहरू यसको संरचनाभित्र कलात्मक रूपले लुकेको हुन्छ।
मूलधारा र म आन्तरिक उपनिवेशमा छटपटिएको कविता हो। यसको आद्यप्रकार किनारका आवाजहरू हुन्। यो कविता सम्पूर्ण भारतीय नेपालीहरूको आवाज हो। यो एउटा राजनैतिक सत्य। यो राजनैतिक सत्यलाई तोड्न र इतिहासलाई प्रस्तुत गर्न कवि तयार छन्। उनी लेख्छन्—
अहँ,
म अब मूलधाराको लागि मरिमेट्दिनँ
बरु मूलधारा आफै नै पो
त्यसको आफ्नो घुमाउने दहबाट बाहिर निस्की आउनुपर्छ
मेरो अनुहार चिन्न
मेरो धड्कनलाई बुझ्न
इतिहास, इतिहास हो यसको परिवर्तन हुँदैन। बइमानीले ऐतिहासिक सत्यलाई बटारेर अर्कै इतिहास बनाउँछ भने त्यो इतिहास होइन। इतिहास त काल र समयले बोकेको आख्यान हो, इतिवृत्ति हो। राजनैतिक सत्य र ऐतिहासिक सत्य अलग हुन्छ। अझै प्राच्यवादलाई नै मूल सत्य ठानेर बसेका विचारधारीहरूले अर्को नक्कली सत्य बनाएर प्रचार गर्छन् भने त्यो तिनीहरूको प्रचारवादी विचार हो। हाम्रो इतिहास हामीसँग सुरक्षित छ, हामीलाई हाम्रो इतिहास, संस्कृति र भाषाको गौरव छ अनि यो मूल सत्य हो। त्यसैले निश्चय एकदिन त्यो मूलधारा घुमेर हाम्रो अनुहार चिन्न आउने छन्।
चूडान्त —
शब्द र अर्थको नित्य सम्बन्ध मान्नेहरू शब्द र अर्थ आत्माको अभेद भेद मान्छन्। तर मनोविज्ञानहरू, अनित्यवादीहरू शब्द र अर्थ नित्य मान्दैनन्। त्यसरी नै कवि र काव्यमा नित्य सम्बन्ध हुन्छ भन्ने कतिपय आलोचकहरूको विचार देखिन्छ तर कवि, काव्यमा त्यस क्षणसम्म रहन्छ जबसम्म ऊ त्यसको रचना गरिरहेको हुन्छ। यद्यपि कवि र काव्यको आन्तरिक सम्बन्ध भने हुन्छ र त्यसै सम्बन्धको ज्ञानले कविलाई स्रष्टा र द्रष्टा बनाउँदछ। तर यो सम्बन्ध नित्य रहँदैन साथै कवि एउटै काव्यमा सधै रहँदैन, ऊ अर्को काव्य रचनामा अर्कै भाव र अनुभूतिहरूले निर्मित हुन्छ। कविले काव्यसँगको आफ्नो सम्बन्धको ज्ञानलाई अनुभव र अनुभूतिहरूद्वारा सूत्रात्मक रूपमा अभिव्यक्त गरेको हुँदछ। त्यसैले शब्द र अर्थको सहचार्यलाई कविले कलात्मकता प्रदान गर्दछ तर काव्य रचनाबाट निस्किसकेपछि कवि, कवि नभएर पाठकमा परिणत हुन्छ त्यसैले कविता कविताको लागि भनेर रिचर्डसले कविताको मूल्य कवितामा नै हुन्छ भन्ने विचार प्रस्तुत गरेका छन्। कविताको वाह्य मूल्य र काव्यात्मक मूल्य हुन्छ। लोक र समाजलाई काव्यले दिन योगदान, सन्देश उपदेश यसका वाह्य मूल्य हुन् भने, रसानुभूति यसको काव्यात्मक मूल्य हो। भुँइफुट्टा शब्दहरू- कविता सङ्ग्रहले बोकेको मूल्यलाई आलोचनात्मक दृष्टिको तौलमा हेर्नु हो भने यसमा वाह्य मूल्यको पल्ला भारी छ। कृतिमा सौन्दर्य, कलापक्षको सुन्दर प्रस्तुति रहे तापनि सङ्ग्रहभित्रका कतिपय कविताहरू आफ्ना आद्यप्रकारको गुणलाई नै लिएर प्रस्तुत छ। आदमको विन्ती अनि सिमोन द बोभाहरू कविता बुंख्याचाहरूको देशमा कविता सङ्ग्रहको लोभी देवताहरू : शापित आदमहरू-को स्वर बोकेर प्रकार पात्र बनेर उभिएको छ। अक्षर, शब्द अनि संवेदना कविता उष्मा कविता सङ्ग्रहभित्रको म...यौटा परिचय कविताको नवीन संस्करण हो। तर समयले यसको रूप परिवर्तन गरिदिएको छ। उष्मा कविता सङ्ग्रहभित्रकै मेरो नाम : मेरो अनुहार कविताको एउटा हाँगो नाममा के छ र ? कविता देखिन्छ। मेरो नाम : मेरो अनुहारमा कवि लेख्छन्-
दृढतासित फेरि भनिरहेछु म
मेरो नाम एकमुठ्ठी अक्षरहरूको
समूह मात्र किमार्थ होइन..
नाममा के छ र ? कवितामा कवि लेख्छन्-
नाममा के छ र?
सब थोक !
..........
ओ कवि !
नाममा के पो छैन र !
कवितामा यसरी वैचारिक तरङगहरूको आवृतिले काव्यको आन्तरिक मूल्यमा हानी पुर्यााउँछ। यसले कवितालाई दीर्घ जीवन दिँदैन। यद्यपि यस सङ्ग्रहका अन्य कविताहरूमा निहित मानवमूल्यका सङ्केतहरूलाई उपेक्षा गर्न सकिँदैन। विचारले र कलासँग समन्वय राख्न सके काव्यमा ती मूल्यहरू मूल स्वर बनेर ध्वनित हुन्छ। शैलीविज्ञानका अध्येताहरू कृतिको शैलीवैज्ञानिक अध्ययन गर्ने विभिन्न तह हुन्छन् भन्ने मान्छन्। यी मध्ये कला-सामग्रीको स्तर, कला-माध्यमको स्तर र कला-प्रतीकको स्तर मूल मनिन्छन्। यसमध्ये कला-प्रतीकको स्तरमा कृतिलाई एउटा सिङ्गो प्रतीकको रूपमा हेरिन्छ। यस दृष्टिकोणबाट काव्यको सम्पूर्ण संरचना र सङ्कथनले दिएको सङ्केत बुझ्न सकिन्छ। अतः कृतिलाई यस दृष्टिकोणले हेर्दा नै यसको काव्यिक मूल्यको निर्धारण पनि गर्न सकिन्छ। भूइँफुट्टा शब्दहरू कविता सङ्ग्रहको विविध पक्षले अध्ययन गर्न सकिन्छ। दृष्टिकोण विचार आदि सापेक्षित हुन्छ त्यसैले कविता घनिभूत हुन्छ भने त्यहाँबाट प्राप्त विचारहरू द्रविभूत हुन्छन्।