19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चित्र

कविता दिपा शर्मा December 7, 2013, 11:03 pm

(क)

'स्कुल गैनस ?'

कर्कश बोलेँ म

'बुनु हल्लाउनु पर्छ'

कर्तव्य बोल्छे उ

'आमा ?'

जिज्ञासा मेरा नजर

'खेतमा'

जीबिकामा उसको ध्यान

'धान रोप्न सक्छिन तेरी आमाले?'

शसंकित मेरो प्रश्न

'नरोपे के खाने त ?'

संदिग्ध उसको उत्तर

'बाबा ?'

आशाको खहरे उर्लाइदिन्छु म

'अधियाको हलो बोकेर'

आयमा खडेरी तिर्खाएकी उ

(ख)

नारी उत्थानका कथाहरु

तितै चाख्छु सँधै

देश बिकाशका योजनाहरु

रित्तै छाम्छु सँधै

(ग)

छर छिमेक ठूला बडाको

ढिकी जाँतो सह्यारी

खिई रहिछे सन्तोलीकी आमा

अधबैँशे लोग्ने बेहोरी

छोरी सन्तान के सन्तान

एउटा छोरो चाहियो

पाँच बर्षकी सन्तोलीलाई

घर धन्धा भिराईयो

दुई दिन दुई रात

सेक मालिश धाईको

लाश झैँ लमतन्न

अस्पताल जिलाको

अनि सिजरिङ हुन्छ

फेरी छोरी जन्मिन्छे

दिदीझैँ झोलुङ्गो हल्लाउन एकदिन

आमाझैँ बच्चो जन्माउन एकदिन

छ महिना साह्रो गाह्रो नगर्नु

अह्रायो डाक्टरले

तिन महिना ओछ्यान पर्दा

सखाप्यो रिणले

कोरी ननाघी

कुप्रिई अभागी

त्यसपछि

सन्तोलीका हत्केलामा स्पष्ट हुन थालेका रेखाहरु

भत्किँदै थिए ठाउँ कुठाउँ

टुक्रिदै थिए ठाउँ कुठाउँ

मदर टेरेसाको हृदय पग्लन्छ मेरो

मदर टेरेसाको आँखा रसाउँछ मेरो

मदर टेरेसाझैँ तर किन हात सरेनन मेरा

रोपिदिन खोपिदिन

सन्तोलीका हत्केलाभरी

सुस्पष्ट र नछिनिएका

भाग्यरेखा

सरस्वती रेखा

स्वास्थ्य रेखा

(घ)

माटाका टाटा परेका हात गोडा

छिः छिः खुम्चिन्छन नाक

मैलिएका फाटेका लत्ता कपडा

तर् तर् तरकिन्छन आँखा

मिठो मसिनो बाश

सन्तोलीको आश

'भुस्याहा कुकुर छैः छैः'

खुरुरु भाग्छन पल्ला घरका किचन पर्दाभित्र

उब्रिएको कोर कार

बासीभात सोर सार

सन्तोली ला है खा है

लाट लुट स्वाद

चाट चुट हात

सन्तुष्ट चित्र

(ङ)

परजिबीनै हुन परे

बरु हुनु सुनाखरी

झ्याम्मिदिनु रुखमा

फाँडने हात हुँदैनन रुखका

फूलिदिनु रुखैमा

चुँडने हात हुँदैनन रुखका

सोच्ने जति चरी झैँ आकाशमा

भोग्ने जति मकै झैँ अंगारमा

(च)

छ्याप छ्याप्ति प्रचार प्रशार छन

परिवार नियोजनका परिकल्पनाहरु

तथापी जन्मिरहेछन निरन्तर

अशिक्षा र गरिबीका इन्टरनेटहरु

ग्वालपाडा , आसाम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।