19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

झमकको काँडा कि फूल पढेपछि

कृति/समीक्षा दिपेन तामाङ December 7, 2013, 11:15 pm

आजसम्म जति पुस्तकहरू पढिइयो त्यसलाई चिरफार गर्ने कहिल्यै कोसिस गरिनँ। चिरफार गर्नलाई आजकल एउटा एउटा सिद्धान्तको पुच्छर पक्रिनु जो नियति बनेको छ। जो मलाई रूच्दैनन्। त्यसैले आजसम्म कुनै साहित्यिक कृतिको मैले समालोचना मज्जाले गर्नु सकेको छुइनँ। न मलाई त्यसरी चिरफार गरेर एउटा जमातमा समालोचक हुँ-को लेबल टास्ने इच्छा पनि जाग्यो।

‘जीवन काँडा कि फूल’ -नामले कुन्नि कसरी हो मनलाई एकतमासको आकर्षणले तानिरह्यो। धेर-थोर साथी भाईको मुखमा यही नाम घरिघरि दोहोरिरह्यो। एकपटक यसलाई पढ्नै पर्छ भन्ने लाल्सा मनले बोक्यो। तर दार्जिलिङ र सिलगडीमा यो पुस्तक पाउने सुइको नै पाइनँ। गए हप्ता हुनसक्छ मिलन बान्तवा दाईले यस पुस्तुक बारेभन्दा स्रष्टाका बारेमा सारगर्भित मीठो-छोटो लेख फेसुकमै राखिदिनु भो। हेलेन केलरको जीवन बचाँईसँग झमकको जीवन बँचाइको तुलनात्मक अध्ययनले अझै यस पुस्तकलाई पढ्ने इच्छाको पालुवा झन् बढ्न थाले।

पुस्तक हातमा आउनअघि झमक मेरो लागि अरूले ठानेकोजस्तै एउटा पुरूष लिङ्गे व्यक्तित्तव थिए। नाममा एककिसिमको रोमान्स मैले पाएकै थिएँ। पुस्तकभित्र स्रष्ट्रा आफैले झमक शब्दको कुनै अर्थ थिएन भनेर स्वीकारोक्ति दिए पनि अघिदेखि मेरो मनमा झमकको अर्थ बल्नु थियो। सायद मैले यो अर्थ झिमिकझिमिकको समानार्थीका रूपमा मनमै राखेँ।

पुस्तक सायत जुरिएरै मैले धरानबाट प्राप्त गरेको भनुँ। अझ त्यहीँ पुगेर थाहा भयो कि झमकको घर धरानदेखि अलिकतिमाथि धनकुटामा रे। धनकुटा, भोजपुर यात्रामा आउँदा-जाँदा आँखाले देखिएको एउटा सानो ठाउँ। उसलाई पुस्तक नपढी भेट्ने इच्छाका लहरहरू एकतमास पलायो मनमा। मलाई मात्र होइन मेरी सङ्गीनीलाई अझ दोब्बर पलाएको मैले अनुभूति पाएँ। उसले भन्थी- म त उसलाई माया गर्न पाए कति खुशी हुने थिएँ। अनुभवले लाग्यो मलाईभन्दा धेरै कुरा झमकको बारेमा उसलाई थाहा भइसकेको रहेछ। सायद ऊ भोजपुरमा निकै दिनदेखि बसोबासो गरेकीले हो कि !

धरानमा पुस्तकको नालीबेली पढ्न पाइनँ। तीनवटा शीर्षक ठूलो स्वरमा पढेर सङ्गीनीलाई पनि सुनाई दिएको थिएँ। ऊ त्यतिले निशब्द भएर टोलाइरही। त्यसपछि अघि पढ्ने मैले अनुमति पाइनँ। र हिज राति र अहिलेसम्म गरेर मैले झमकको जीवन काँडा कि फूल पढिसकेँ। सकिनसाथ लेख्ने थुप्रै मन भए पनि यति मात्र लेख्न सकेँ। जो कुनै सिद्दान्तको आड्मा लेख्नु पर्ने थिएन। म पनि यहाँ स्रष्ट्राजस्तै स्वतन्त्र अनुभव गरिरहेको छु।

पढ्दा पढ्दै झण्डै रात सकिएछ पत्तै पाइनँ। हतार-हतार सुतेँ। सपनामा पनि म पढ्दै थिएँ कि लेख्दै थिएँ झमककै बारेमा थाहा भएन। मलाई सपना सबै याद रहँदैन। तर यति थाहा भयो मैले उसलाई सपनामा पक्कै देखेँ। मलाई उसको त्यो साररिर अवस्थाले तानिरहेको थियो कि पुस्तकमा देखिएको प्रतिबिम्बित झमकले, यति ठिम्याउँन गाह्रो परिरहेको थियो मलाई। जति विवेक त चेतनाको ढकनी खोलेर पढेँ पनि खोइ कता कता मनमा उसको एक किसिमको चित्र कोरिन्थ्यो। तर किन हो मैले त्यसको उत्तर पुस्तक पढि सिद्धाएर पनि फेला पार्न सकेको छुइनँ। मलाई ठाउँठाउँमा कति चोट लागे लागे। सायद त्यो चोट झमकको मात्रै पाइनँ। त्यसैले होला उसले क अक्षर सिक्न सकेको दिन जुन खुशीका झिल्का उसका आँखा र मनका अन्तरकुन्तरबाट बहाएको थियो त्यसले मलाई लागेको चोट त्यसै फेरि निको भएर आउँथ्यो। कतिबेला म फरि उजस्तै खुशीले फुरूङ्ग हुन्थेँ। कहिले फेरि उसलेजस्तै जीवनका विराकाल जीवन जिउँन पुग्थेँ। अनि विवेक र चेतनामा एकैसाथ नानाथरिका कुराहरू सल्बलाउन लाग्थे।

पुस्तक आत्मकथात्मक लाग्छ। जीवन वृतान्त नभनुँ। किनभने उसको जीवन सकिएको छनै। बरू ! आधा जीवनभन्दा हुन्छ। कतै कतै पछिल्लो भाग औपन्यासिक लाग्दछ। जसले उसको जीवन र नेपालको राजनैतिक इतिहास साक्षत सँगसगै बोकेको छ। आधा भाग उसले भोगेका क्यौँ दुखाईहरूले भिझेको छ। त्यो भोगाई उसको आफ्नो स्वतन्त्र जीवनइच्छाको भोगाइ लाग्छ। उसको दुखाईहरू पढ्दा एउटा सङ्लो नक्सा एउटा घरको कुनाभित्र चेप्टिरहेको आउँछ। जहाँ-उसका बाबा-आमा उसको बालसुलभ प्रवृतिमाथि घोडा चढिरहेका हुन्छन्। अनि त्यतिबेला एउटा तर्कना आउँछ मनमा आज उसका ती निर्मम आमा-बाबालाई आफ्ना विगतको कर्तुतमा कति असह्य भइरहेको होला ? के त्यो असह्यलाई उनीहरूले झमकको अघि उभिएर सजिल्यै पचाउँन सक्षम छन् ? हजुर आमा जो अहिले परलोक पुगेकी छन्- उनले अहिले बाँचिदिएकी भए एउटा साँपे केटीले आफ्नो जीवनका रङ्ग फेरेको हर्ष मनाउन सक्थी होला ? अनि अरू जो उसलाई छेड्न आउँथे। जिस्क्याउन आउँथे। अपसगुन बोलेर जान्थे। फकाउन आउँथे। मानसिक यतना दिन आउँथे। ती मान्छेहरूलाई अहिले उसकोअघि भएर हिड्न त परै जावोस् उसको नाम उच्चारण गर्नसमेत लाज लाग्दैन होला र ? परम्परागत रूपमा चल्दै आएका नेपाली समाजका धार्मिक, साँस्कृतिक अन्धविश्वासप्रतिको जुन आक्रोस झमक कलिलै उमेरमा देखाउछे-के त्यसलाई आजका सभ्य समाजले स्वीकारलान् ? उसले आफ्नो चेतनाले जीवनलाई निर्क्यौल गर्न थालेकीदेखि एउटा स्वतन्त्र जीवन बाँच्नु पर्ने कुराको शङ्घोष गरेकी छन्। सबलहरूले दुर्बलहरूमाथि गर्दै आएका अन्याय र अत्याचारका विरूद्ध विगुल फुकेकी छन्। के अहिले आएर उसको स्वतन्त्र जीवन बाँच्ने चाहनालाई नेपाली समाजले स्वीकार्न सक्लान् त ? यो उसको मात्र स्वतन्त्र जीवनको कुरो होइन, यो प्रत्येक दुर्बल र लाचार शक्तिहीन मान्छेको जिउँने इच्छा थियो। हाड, छाला र मासुले बनिएकी प्रकृतिकै देन झमक, जो अन्य मान्छेहरूका तुलनामा साररिक अङ्गहरू अशक्तका कारण दुर्बल लाग्छन्। तर सशक्त छन् उनका विवेक र चेतनाका आवाजहरू, जसले एउटा कोठामा बसेर सारा विश्वभरिका नेपाली मनलाई झक्झकाउँछ।

अहिले आएर आफैमा शङ्खा लाग्दैछ म झमकले अर्थ्याइएको एकाइसौ शताब्दीको मान्छे हो कि त। अनि यो पनि लाग्दैछ उसले अर्थाउन खोजिएको मान्छे अहिले जन्मिन सकेको छ र ? जन्मिएको छ, यदि भने उनीहरू पनि त्यही परम्परागत रूढिवादले ग्रस्त छन्। जातीय र लिङ्गीय भेदले उत्तिकै पिल्सिएका छन्। धार्मिक र साँस्कृतिक जकडताले उत्तिकै पोलिएका छन्। र ती एकाइसौ शताब्दीका सभ्य कहलाएकाहरूलाई झमकको कुराले गालाका पाटामा एक्कासि थप्पड मार्छ। त्यो सहेर उनीहरू असहाय हुन्छन् तर निशब्द बन्छन्। त्यसको विरूद्ध आवाज उठाउने झमकको जिन्दगीमा जति पर्याप्त थोक अहिलेको पूर्ण मान्छेमा छैन। हुँदेन पनि। झमकले व्यवहारिक तवरमा जुन जिन्दगी बाँचेकी छ त्यो जिन्दगी उसको चेतनाले उब्जाएको मान्छेले कल्पनामासमेत बाँच्न सक्तैन। उसको विवेक र चेतनाबाट अङ्कुरित शिक्षित र सभ्य मान्छेको जुन परिकल्पना छ त्यो अहिलेको पूर्ण मान्छे (सशक्त) होइन जो आफै आफमा एउटा धार्मिक, राजनैतिक र साँस्कृतिक अन्धविश्वासको पाउडर धसेर बसेको छ। जो झमकको कल्पनाचेतले जन्माएको पूर्ण मान्छेभन्दा धेरै पृथक देखिन्छन्।

अन्तमा, जीवन काँडा पनि होइन रहेछ फूल पनि भन्ने लागेको छ। जीवनमा यी दुवै कुराको समन्वय हुन त्यत्तिकै जरूरी रहेछ जतिको एउटा गुलाबको बोटमा फूल फ्रक्रनुलाई काँडाका आवस्यकता। यद्दपि, जीवन फूलभन्दा काँडा धेरै रहेछ। फूल फुलेर ओइली झर्छ क्षणमै। काँडा स्थायी त्यही टाँसिएर बसिरहँदोरहेछ दुःखजस्तै। इति।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।