19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चुनाबपछि

कविता सुवास खनाल December 21, 2013, 2:12 pm

गाउँबाट बोकेर भागेको छ बतासले विकासे नारा

अब उस्तै छ गाउँ

कलेटी परेको ओठमा जिब्रोले थुक दल्दै

बारीमा कोसाबाट फुट्न थालेको भटमास स्याहार्दै छ चिम्से कान्छा

मासको झाल खेतको आलिबाट हराएको गुनासो छ पौडेल जेठाको

भैँसीले अम्रो खसालेन भन्दैछन् तिम्सिना काइँला

गाउँको चौतारीमा

चल्न सुरु भएको छ ज्यालापर्मका कुरा

चुनाब अघि

आएथे प्लास्टिकका नयाँ भाँडाझै सुकिला मान्छेहरु गाँउमा

सुपर ग्लुले टाँसिएझैँ हातले गरिरहेथे एकोहोरो नमस्कार

फेरि हराएको छ गाउँमा कृतिम मुस्कानको व्यापार

बोल्न नसक्ने गोपीलाल गइरहेछ गोठालो

बिहे नभएकी तिर्कीमायाँ हिँडिरहिछे पत्कर सोहर्न

‘सर्पको बिगबिगी भो’–भन्दै छिन् मञ्जु भाउजु

चुनाबी सुरमा

बेलबहादुरलाई पिटी भाग्ने

बोम्जन साहिँलो

फर्केको छ गाउँ र गर्दैछ पछुतो

कुनै फिरङ्गी चटकेझैँ

चुनाब आयो र फर्की गयो

उस्तै छ गाउँ

चुनाब अघि , चुनाब पछि ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।