18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गर्दैछु म झूटको खेती

कविता भोजराज घिमिरे April 1, 2008, 4:29 am

हात उही छन् औजार तिनै छन्
मन उही हो सिप फरक हुन सक्छ ।  
निश्चित छ फसल अगल छ
विधि फरक छ
फस्टाउँदै गयो भने
अरुले नरोपुन्जेलसम्म  
अरुले नकाटुन्जेलसम्म  
फाइदै फाइदा छ ।  
   
जोखिम त हुनैपर्छ  
होइन भने नयाँ प्रयोगको के नै मज्जा 
नयाँ रोपाइको के नै मज्जा 
त्यसैले त म त गर्दैछु खेती
निकै दिन देखि झूटको खेती ।  
   
न त यसमा छ डर ब्लास्टको  
न त छ डर पतेरोको
न त पाक्के बेलामा छ डर असिनाको  
न त रोप्ने डर छ खडेरीको
   
सुन्दैछु हिजो आज  
असली किन भोग्दैछन् पीडा अनुदानमा
दुःख मनाउँदैछन् किसान प्रतिस्पर्धामा
ब्याज तिर्दैछन् किसान आत्मदाहमा  
त्यसैले को सुनोस   
थरीथरीको घण्टा आफ्नै वरिपरी  
न त मनसुनको लन्ठा
न त भाउको टन्टा  
त्यसैले मत गर्दैछु खेती  
निकै दिनदेखि झूटको ।  
   
गजब छ यसको खेती पनि  
न त यो सिमित छ कुनै जातमा  
न त यो रोकिन्छ कुनै दिन या रातमा  
सक्नेले जति पनि रोपेकै छन्  
सक्नेले जति पनि काटेकै छन्
न त कुनै सिमाना छ थन्क्याउनुमा  
केवल मजैमजा छ मनचिन्ते भकारी भुर्नमा ।  
   
रोपे त कहिल्यै सकिदैन  
काटेर त कहिल्यै सकिदैन  
मरेर त कहिल्यै सकिदैन  
त्यसैले  
निकै दिनदेखि गर्दैछु  
म झूटका खेती ।
काट्दैछु म खेती झूटको  
अनि थन्क्याउँदैछु खेती झूटको  

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।