मरूभुमिको उतप्त बालुवा
कर्तव्य र सपनाको नाङ्गो नङ्ग्राले खोस्रेर
परचक्रीका हवेली ठड्याउदै छन्
परदेशीहरू परदेशमा
रोम रोमबाट श्रमको गन्ध निर्लज्ज
बतासिंदै
युगको तथाकथित आधुनिकताको
ढोंगी नाकमा गएर ठोक्किएको छ
पुर्खाले छोडेर गएको मैलो
आज परदेशमा धुनु छ
शखीको फाटेको ब्लाउज
र केही जिन्दगी ओत लाग्ने घरको छानो
एकसाथ टाल्नु छ
यो विषम समयलार्इ निर्घात कुल्चेर
परदेशीहरू
ओंठमा दूर्लभ मुस्कान
मनमा अगम आनन्द
र सर्बाङ्गमा नजानिंदो खुशी नै खुशीले
सिंगारेका छन् आफ्ना पूरा दिन
धूलाम्मे र तालु पोल्ने घाममा पनि
किनभने कुनै टर्रो बोलीले कोक्याउदैन आज
पराइ माटो कुल्चेर
स्वदेश सुमसुमाइरहेका प्रेम वियोगीहरू
विश्वको एक अनकन्टार कुनामा बसेर
लेखिरहेका छन् चिट्ठी
हृदय च्यातेर वेदनाको मसीले
तिनलार्इ
कुनै तीता पलको याद हुनेछैन आज
आशाको ब्रसले पोत्दैछन्
भोलिको सप्तरङ्गी रङ्गरोगनमा चोबेर
भित्तो सामाजिक सञ्जालको
देशीय सीमारेखाभित्र अँट्न नसकेका कविहरू
अक्षांसदेखि अक्षांससम्म टाङ् फारेर
पूरै पृथ्वी छोपुँला झै गरेर
सगरमाथा भन्दा अग्लो
अनन्त व्रह्माण्डभन्दा विशाल
एक अलौकिक गन्तव्य पुग्नुछ
कुनै निराशाको रेखी छैन निंधारमा
कुनै क्लेश छैन आँखामा
कुनै दुर्घटनाको पुर्वाभाषले तर्साउदैन आज
सारा सशक्त सचेत सबल युवालार्इ बिदेश धपाएर
खुल्ला रणमैदानमा
सोझासिधाहरूसँग मनोञ्जनार्थ
कुस्ती लडिरहेका छन्
यो लाटोको देशमा गाँडो तन्नेरीहरू
यो सङ्गिन पलमा पनि
हाम्रा महान नेताहरूलार्इ
कुनै काला कर्तुतहरूको याद रहने छैन आज
किनभने आज नयाँवर्ष हो
भन्छन् —
नयाँवर्षमा मन अमिलो पार्न हुन्न
नयाँवर्षमा नराम्रो खानलाउन हुन्न
नयाँवर्षमा झैंझगडा गर्न हुन्न
हाँसो नै हाँसो
खुशी नै खुशीले सिंगार्नु पर्छ नयाँवर्षको दिनलार्इ
र भन्छन् —
अनि पो सिङ्गो वर्ष शुखशान्ति मिल्छ ।
दम्माम, केएसए