सुत्केरी च्यापेको घरले
उडाएको मिनप्रसाद नामको चंगा
खसेको छ अरबतिर
र मागिरहेछ स्काईपमा
देशकै तलतल
एकबट्टा नेपाली चुरोट ।
भिसाको बल्छीले
तानेर लगेको लप्टन चौधरी
फ्यात्त खसेको छ
काठमाडौं नामको पोखरीमा
र उसको लास तैरिरहेछ
उत्तानो परेर ।
बागी जन्माउन सक्ने
संभावित आमाहरु खोजीखोजी
लगाईरहेछ संगिनी सुई
खिया लागेको व्यवस्था ।
यतै छुटेको
बुधे दमाईले
विदेशिएको
नियम न्युरेकी स्वास्नी
भगाईदिँदा गाँउमा
कतै लू
कतै शितलहर
यो पालीको
जाडोभन्दा पनि चिसो छ
विधवा सविना पाण्डेको छाती
यिन्ताकै
स्कुल भर्ना भएको
कश्मिर पाण्डेले
'सियो खोइ सियो' पढ्दा
'बुवा खोइ बुवा' सुन्ने
उसको मुटुमा
दोहोरो सिरेटो चल्छ
एकैचोटी
तल्लो माथिल्लो भेनेकावा हुँदै
र आँखाको डिल भत्काईरहन्छ
आँशुको दरौंदी
तेसैमाथि
एकान्त खोजी खोजी
दिमाग चर्न आउने
एकहुल सारौजस्ता
खसमका यादहरु