14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

ठूलो मान्छे

कविता पुरुषोत्तम सुबेदी April 9, 2008, 3:49 pm

मलाई मन लागेको छ  जसरी भए पनि ठूलो मान्छे बन्न यहाँ  
म त पहिले जन्मेको हुँ मलाई के खाँचो भिरालो खोरिया खन्न यहाँ ।
 
थाहा केही नभए पनि मन लागेकोछ मलाई ठूलो मान्छे बन्न
अरु घुम्ने कुर्चीमा रमाएको देख्दा दुःखी हुन्छ मन मेरो खिन्न ।
 
राजननीतिक बखेडा थापेर हुन्छ वा जातिय भर् याङ लगाएर हुन्छ
म जसरी भए पनि ठूलै हुनुछ यस घडीमा नभए मन मूर्ख मेरो रुन्छ ।
 
म को हुँ  देश कुन हो  सँस्कृति के हो  के मतलब मलाई यहाँ
जुन पाना शिलापत्रमा मेरो नाम लेखाउनु छ मलाई यहाँ ।
 
सामदाम दण्ड भेदले भए पनि ठूलै हुनुछ मलाई यहाँ
आफू मरे डुमै राजा भन्ने चरितार्थ बल्ल अब देखाउनुछ मलाई यहाँ ।
 
बिरोधीहरुलाई खत्तम गरी आफ्नो बाहुल्य बनाउनुछ यहाँ
धनै खर्चेर भए पनि अब त म हुनु छ ठूलो मान्छे यहाँ ।
 
भन्छन् बलिया बांगाहरुको दिन हो या सुन्दिन अरुको कुरा यहाँ
बोले ठोकी दिन्छु सहजै मेरो शक्ति छ नेता बन्नु छ मलाई यहाँ ।
 
उम्मेदवारी दिएका छन् ती ठूला हुन्  हराउछन् कि मलाई यहाँ
अपहरण गरी दिन्छु सालेहरुलाई ठूलो बन्नु छ मलाई यहाँ ।
 
नियम कानुन अड्डा अदालतको केही खाँचो छैन मलाई यहाँ
जो जस्को प्रयोग गर्दा ठूलो भइन्छ जसरी त्यही काम गर्दछु म यहाँ ।
 
समाजसेवीहरुलाई अगाडि आउनै दिनुहुन्न कसै गरी यहाँ
जसरी भए पनि ठूलो हुन वोल्र्ड डट् कममा नाम निकाल्नु छ यहाँ ।
 
अनाडीले केरा खाए झैं म मूर्ख धनीले  देखाउनुछ सक्कली चरितार्थ यहाँ
मौका यही हो चुनाव जित्नु छ जसरी फेरी यो मौका आउँछ र कहाँ ।
 
धनी भएपछि ठूलो भईन्छ रे भर्ती लिन्छन् रे राजनीतिज्ञले पनि
अँ त नि हेलो हाई गर्न थाले सबैले ठूलो भएछु यहाँ म पनि ।
ल्यूभेन, बेल्जियम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।