संसारमा अहिले ‘हार्ड पावर’ र ‘सफ्ट पावर’ को निकै ठूलो बहस भैरहेको छ । यो ‘हार्ड पावर’ भनेको भौतिक वस्तु, भवन, सडक, रेल, हवाइजहाज, बस, अस्पताल र विकासका अन्य सन्दर्भहरू आउन सक्छन् । यसैगरी ‘सफ्ट पावर’ भनेको जीवनकै सोह्र कलाका विभिन्न शाखाहरू पर्दछन् । अहिले संसारका प्रायः सबै देशहरूमा उच्च बौद्धिक व्यक्तित्वमाझ यही ‘हार्ड पावर’ र ‘सफ्ट पावर’ का बीचमा माथापच्ची गरेर बहस भैरहेको हुन्छ । यो बास्तवमा अहिलेको जल्दोबल्दो विषय पनि हो ।
मानिसले वा मानिसको बुद्धि शक्तिले उसको कोमल मनले उपरोक्त ‘सफ्ट पावर’ लाई नै आफनो परिचयको मानक मानिरहेको हुन्छ । चाहे ऊ भौतिक वस्तुमा एकछिन किन नरमाओस् । यो उसको स्वमा गाँसिएको चिज पनि हो । मानिसको बुद्धिशक्ति अथाह छ । भौतिकशास्त्रका संसारकै सुप्रसिद्ध वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले आफ्नो समयमा भनेका पनि थिए –‘मैले त यतिको प्रगति गर्दा मेरो दिमागको पाँचदेखि दस प्रतिशतसम्म दिमागको उपयोग गर्न सकेको छु ।’ हामी आफैँ एकछिन एकचित्तले सोचौँ । आइन्स्टाइनले संसारै हल्लाउने चिजको आविष्कार गर्दा त पाँच देखि दस प्रतिशत मात्र दिमागको उपयोग गर्न सके भने हामी सामान्य मानिसले त के एक या दुई प्रतिशत मात्र दिमागको उपयोग गर्न सकेको होलाऊँ ।
प्रसङ्ग मात्र ‘हार्ड पावर’ र ‘सफ्ट पावर’ को हो । कुरा उठाउन खोजिएको विषय के हो भने मानिसले आफूमा भएका अनुभूति (यी चिजहरू कल्पनाप्रधान हुन्छन्) र अनुभव (यी चिजहरूचाहिँ जीवन भोगेर थाहा पाइन्छ) हरूलाई सकल साहित्यका विविध विधाहरूमा अनेकानेक रूप र रङ्गले प्रयोग गरेका हुन्छन् ।
साहित्यको प्रसङ्ग पूर्वीय सन्दर्भमा निकै पुरानो छ । यसको नालिबेली लगाउँदै जाने हो भने हामी वेद र पुराणकै सामु पुग्नु पर्ने हुन्छ । अग्नि पुराणले भन्छ – ‘ब्रह्मा नै आदि कवि र वेद नै आदि कविता हो ।’ यो आर्यहरूको मात्र नभएर सम्पूर्ण हिन्दू, बौद्ध र तिनीहरूका ससाना सम्प्रदायको आदिग्रन्थ हो । वेद, पु््राण, महाभारत र रामायणलाई पूर्वीय साहित्यका मिमांशाकारहरूले उपजीव्यता बोकेका ग्रन्थहरू पनि मानेका छन् । यसमा कुनै विवाद छैन पनि । पूर्वको यो नै सबैभन्दा बढी महत्वको चिज हो ।
साहित्यमा सबै भन्दा पुरानो विधा कविता हो । कवितामा पनि सबैभन्दा पुरानो रूप फुटकर कविता हो । सामवेद कविता नै कविताले भरिएको छ । त्यसैले उसले त ‘गायम्ति यां सामगा’ भनेर भन्दछ । संस्कृतलाई संसारले देववाणी मान्दछ । संस्कृत भाषामा भनिएको छ – ‘जीवनहरूमा मनुष्य जीवन उत्तम हो । मनुष्य जीवनमा पनि कवि जीवन उत्तम हो । कवि जीवनमा पनि प्रसिद्धि पाएर लोकले पुकारेको प्रसिद्ध कविजीवन चाहिँ उत्तम हो ।’
संस्कृतले छन्दमा कविताको अविर्भाव हुन्छ भनेर भन्यो । ‘छन्द’ संस्कृतको तत्सम शब्द हो । यसको शाब्दिक अर्थ हुन्छ –सूत्र, बन्धन तरिका या मिठो पद्धति । छन्द प्राचीन रूपमा दुई प्रकारका छन् –शास्त्रीय छन्द र लोक छन्द । बेछन्द त पछि मात्र थपिएर तीनवटा भएका हुन् । शास्त्रीय छन्दका दुई प्रशाखा छन् –वार्णिक र मात्रिक । लोक छन्दका प्रशाखाहरू निकै छन् जसमध्ये यहाँ मैले उल्लेख गर्न खोजेको झ्याउरे छन्द पनि लोक छन्दको एक प्रकार हो ।
झ्याउरे छन्दमा अक्षरको गणना हुन्छ अर्थात् यो १६ अक्षरको गणना गरेर लेखिन्छ । यसमा ३+२, ३+२, ३+३ को अक्षर संरचना हुन्छ । यसरी हेर्दा झ्याउरे छन्द मिलाउनका जागि पाँच, दस र सोह्र अक्षरमा विश्राम हुने गरी वर्णको रोजाइ गरी कविताका फाँकी मिलाए हुन्छ । यसरी नेपाली समाजमा महाकविको मुनामदनदेखि नै झ्याउरे छन्दको लोकप्रियता बढेको हो । अहिले त यसमा निकै कवि र कवयत्रीहरूले कविता र खण्डकाव्य पनि लेखिसकेका छन् । यो इतिहासको विषय हो । इतिहास बताउने मेसो समालोचकहरूको हो । कृपया म समालोचक होइन । अब हामी वर्तमानमा जाऊँ ।
रामेछापलाई कला, साहित्य र संस्कृतिका सन्दर्भमा निकै पुरानो र विकसित जिल्ला मानिन्छ । यस जिल्लामा जन्मेर साहित्यका विभिन्न विधाहरूमा कलम चलाएर नाम र दाम कमाउने निकै व्यक्तित्वहरू आज नेपाली साहित्यको इतिहासमा स्वनामधन्य भैसकेका छन् । नेपाली साहित्यको माध्यमिक कालदेखि नै रामेछापका स्रष्टाहरूले केही न केही विषयमा कलम चलाएका छन् । पछिल्लो पटक ‘रामेछाप साहित्य समाज’ का अध्यक्ष अशोक सुवेदीको अध्यक्षतामा यो लेखक समेत सम्मिलित एउटा सानो समितिले ‘रामेछापको साहित्यिक इतिहास’ को लेखन र प्रकाशन गर्ने काम गरेको थियो । सो इतिहासमा निकै लामो र व्यापक ढंगले खोजी त गरिएको थिएन । सिमित स्रोत र सिमित समयका बाबजुद् खोजिएको इतिहासमा पनि रामेछापमा नेपाली साहित्यको माध्यमिक कालदेखि आजसम्म भेटिएका पुस्तकाकार र फुटकररूपमै भए पनि कलम चलाउने साहित्यकार र कवि लेखकहरूमा करिब दुईसय जति स्रष्टाहरू देखापरेका थिए । सो रामेछाप जिल्लाका लागि पनि खुसीको कुरा हो ।
यस्तै माहोलमा मैले त्यहाँ युवाकवि तथा खण्डकाव्यकार उद्धवप्रसाद आचार्यको कविता र खण्डकाव्यको इतिहासमा नाम उल्लेखित भएको देखेको थिएँ । सुनारपानी –९ मा पिता भीष्मराज आचार्य र माता अम्बिका आचार्यका पुत्र रत्नका रूपमा वि.सं. २०४६ मा जन्मेका उद्धवप्रसाद आचार्य नै नेपाली साहित्यमा उद्धव अविचलका नामले पनि चिनिएका उदियमान प्रतिभा हुन् । यिनले आफ्नो विद्यालयीय शिक्षा र उच्च शिक्षा पनि रामेछापका विभिन्न विद्यालय र सदरमुकामको मन्थली उमावि तथा मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा लिएका हुन् । मैले यिनलाई कक्षा ११ र १२ मा पढाएको हूँ । कति साहित्यिक कार्यक्रमहरूमा त यिनी र म सँगसँगै आमनेसामने भएर कविता सुन्ने सुनाउने पनि गरेका छौं । यिनले निकै परिश्रमका साथ कति प्रतियोगिताहरूमा आफूले पुरस्कार पनि पाएका छन् । मैले हालको समयमा रामेछापको माटोमा रहेर कलम चलाइरहेका कविप्रसून प्रतिभा भएका साहित्यकारहरूमा यिनमा पनि कारयित्री प्रतिभा भएको पाएको छु । अर्थात् स्रष्टा प्रतिभामा हुने गुण विशेष यिनमा पउलरूपमा पाइन्छ ।
यिनले योभन्दा अगाडि ‘विदेशी भूमिमा’ नामक खण्डकाव्य पनि लेखेर कक्षा १२ मा अध्ययन गर्दा ताका नै प्रकाशित गरिसकेका हुन् । त्यहीबेला यिनको प्रतिभा शक्तिबाट प्रभावित भएर त्यसबेला मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गुञ्जबहादुर श्रेष्ठले यिनलाई मन्थलीको ऐतिहासिक काव्य लेख्ने जिम्मा पनि दिनु भएको थियो । त्यसको केही समयमै कवि उद्धव आचार्यले ‘मन्थली’ नामक ऐतिहासिक काव्य लेखेर विद्यालय तथा क्याम्पसमा बुझाएका पनि थिए । अहिले सो काव्यको भूमिका र प्रकाशकीय लेखेर सम्पादन गर्ने काम भैरहेको छ । निकट भविष्यमै त्यो पनि प्रकाशित हुनेछ ।
मैले राख्न खोजेको कुरा के हो भने यिनीमा भाव सुकोमलता विद्यार्थी जीवनदेखि नै मैले पाएको थिएँ । कोमल व्यवहार र अध्ययनशील स्वभावका धनी आचार्यले फेरि आफ्नी आमाको मृत्युमा रचिएको शोककाव्यलाई प्रकाशित गरेका छन् । २०६३ साल असार १७ गते शुक्रबारका दिन यिनकी ममतामयी आमा अम्बिकादेवी आचार्यको असामयिक निधनले यिनमा भएको कवित्व शक्तिलाई पुनः छचल्किन बाध्य बनाउँदा ‘डोरीको पासो’ शोककाव्यको लेखन गरी आफ्नो मन बुझाएका पनि थिए । अहिले सो काव्यको काडमाडौँमा गतिलो कार्यक्रमका माझ विमोचन पनि भएको छ ।
‘डोरीको पासो’ (लेखन २०६५) जसको करिब २ वर्षपछि यिनी फेरि मसामु आएर सोही ‘डोरीको पासो’ण्ण्ण्ण् शोककाव्यको भूमिकाका लागि अनुरोध गर्दछन् । मैले मातृशक्ति र संसारमा त्यसको महत्वलाई लिएर एक सानो भूमिका लेखिदिएपछि यिनी केही वर्ष फेरि मबाट अलप हुन्छन् । म पनि आफ्नो जीवन नौका खियाउन लाग्छु । यो वर्षको साउन ३ गतेका दिन यिनले मेरो मोबाइलमा फेरि फोन गरेर गुरु ‘मैले सो हजुरले भूमिका लेख्नु भएको शोककाव्य प्रकाशित गरेँ । अब त्यसको विमोचन कार्यक्रममा हजुर आउनु पर्छ’ भनेर अनुरोध गर्दा म छक्क पर्छु । मैले त लगभग बिर्सिसकेको काव्यले मलाई फेरि घोत्लिन बाध्य पार्छ । मलाई एकप्रति उपहार दिएर उनी आफ्नो राजधानीको थातथलो फर्कन्छन् ।
जीवनसँगिनी सविना घिमिरे प्रकाशिका रहेको भूमिका, समर्पण र लेखकीय समेत सोही आकारमा अटाएको करिब ४२ पृष्ठको यिनको ‘डोरीको पासो’ नेपाली साहित्यको बजारमा फेरि एकपटक जननी शक्तिको महत्ता उजागर गर्न झ्याउरे शैलीमा आएको छ । यो काव्यले मलाई त त्यतिबेलै प्रभाव पारेको थियो र मैले सहर्ष स्वीकार गरी भूमिका पनि लेखेको थिएँ । आज सो काव्य प्रकाशित अवस्थामा मैले पढ्ने मौका पाएँ । यस अवस्थामा फेरि मलाई आमा भन्ने शक्तिले यति सशक्त रूपले पक्रिने काम ग¥यो कि मैले सो काव्यको प्रतिक्रिया स्वरूपमा २०६९ साल साउनको पाँच र छ गते यी दुई दिनमा ‘आमाको माया’ भन्ने खण्डकाव्य झ्याउरे छन्द मै लेखेर भूमिकाका लागि नेपाली छन्द कविताका पारखी युवाकवि तथा वर्तमानमा मोतीराम भनिने देवी नेपाललाई पर्खिबसेको स्थिति छ ।
‘डोरीको पासो’ (शोककाव्य) जो कोही नेपाली साहित्यका सामान्य पाठकले पनि सजिलै पढ्न सक्ने सरल, सरस र सुबोध काव्यका रूपमा आएको छ । यो काव्यलाई हामी पतिपत्नी दुवै जनाले समयको भाग लगाई पढ्ने व्यवस्था ग¥यौं । मेरा हकमा त यो मैले भूमिका लेखेको काव्य हो । त्यसैले पनि मैले यो काव्यलाई मन पराएको हुन पर्छ अनि फेरि मेरो ‘आमाको माया’ खण्डकाव्यलाई उपजीव्यता प्रदान गर्ने शक्ति पनि दिएकाले मैले ‘डोरीको पासो’ शोककाव्यलाई जीवनभर सम्झिरहनु पर्ने हुन्छ । म त्यसैले पनि सम्झिरहन्छु ।
नेपाली शोककाव्यको इतिहासमा यसले आफ्नो स्थान सुरक्षित राखेको अवश्य पनि छ नै । साथै आफ्ना स्वजनका पीडालाई यस्ता सिर्जनात्मक कार्यहरूमा अनुभूतिजन्य काव्यको रूप दिएर लेख्नाले आफूभन्दा पछाडिका पिँढीलाई मार्गदर्शन हुने कुरामा सायद् दुई मत नहोला । नेपाली शोककाव्यको इतिहासमा एउटा इँटा आज थपिएको छ । म यसमा पनि निकै हर्षित छु । प्रत्येक गुरुपूर्णिमामा फोन गरेर ‘ह्याप्पी गुरु पूर्णीमा’ भन्ने उदियमान युवाकवि उद्धवले आज साँच्चै नै एउटा मौलिक कोसेली नेपाली साहित्यको वागमा न्योछावर गर्ने काम गरे । हो, म त्यही सिर्जनात्मक कामबाट अति नै पुलकित पनि भएको छु । ‘डोरीको पासो’ (शोककाव्य) को सन्दर्भलाई आज यतिका शब्दहरूका थुँगाहरूबाट नमन गरेँ ल । अरू मेसो र सन्दर्भ पाएँ भने पछिपछिका दिनमा पनि रौसीरौसी कलम चलाउँला । आजलाई भने यति नै ।
उपप्राध्यापक
मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस, मन्थली, रामेछाप