18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

डायास्पोरिक विश्वविद्यालय

कविता कृष्ण बजगाईं January 28, 2014, 4:48 am
कृष्ण बजगाईं
कृष्ण बजगाईं

उता घरदेशमा

भीड हराएर उजाडिएको गाउँ सहरमा

विदेश उड्ने सपना बोकेका

युवाहरु छन् ।

यता परदेशमा

भीडमा हराएर पनि

पहिचानको सगरमाथा उठाउने

सपना बोकेका नेपाली जाति छन् ।

यो लण्डन सहरमा

घरदेश र आफन्त सम्झेर

बगाएका छैनन् कसैले

आँशुको ‘थेम्स’ नदी

बरु उठाएका छन्

फानबारो, आस्फोर्ड, ग्रीनफोर्डमा

आफ्नो पहिचानको ‘बिग बेन’हरु ।

नेपाली समुदायले घरघरमा

बनाउँदैछन् ‘बेष्टमिनिष्टर’

जहाँबाट हुर्कने छ प्रजातन्त्र ।

देखिने छ एक दिन लण्डनमा

सबै भन्दा अग्लो

नेपाली जातिको सांस्कृतिक धरहरा,

केही समयपछि खुल्नेछन्

नेपाली डायास्पोराको

खुल्ला विश्वविद्यालय

र पढाई हुनेछ त्यहाँ

दुईसय वर्ष पुरानो

गोर्खाली सेनाको वीरगाथा

र बेलायती नेपाली जातिको ईतिहास ।

लन्डन, बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।