19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सेतो मोह

कविता गुणराज लुइंटेल February 11, 2014, 4:40 pm

मुलुक छ्याङ्ग नदेखियोस् भनेर

बादलको घुम्टो लगाइ दिएं

निलो आकाश भरि

सेतै कमेरो पोती दिएं ।

सेतो मलाई मन पर्ने भएकोले

जताततै सेतो हेर्न चाहि दिएं

हुंदैन बग्न रगत रातो भनेर

सेतै कपडाले बेर्न लगाईदिए ।

गोडमेल गरिएका

ती पहाडहरुलाई चिथोरेर

अनि डोजर लगाएर

फुस्रो धुलाम्मे बनाइदिएं

लाली गुरांस फूल्ला कि रातो भनेर

सेता गलफूले फूलहरु लगाई दिएं

उसै बाढीग्रस्त तराइलाई

सेताम्य बालुवामय देख्न चाहें ।

टीका सिंधुर हुंदैन निधारमा भनेर

पुछ्न लगाइ दिएं

मिल्दैन पोते गलामा भनेर

फाल्न लगाइदिएं

हुंदैन रातो तनमा भनेर

सेतै बस्त्र लगाइ दिए ।

फुल्न हुंदैन तोरीहरु पहेंला,

झुल्न हुंदैन धानहरु सुनौला भनेर

बांझो मै सेता झारहरु फूलाइ दिएं

हेर्न हुंदैन फुस्रा आंखाहरु भनेर

सेताम्य मोतीहरु झार्न लगाइ दिए ।

बनोस् सेतै खरानी भनेर

ुंविधानै जलाई दिएं

सेतै धर्तीका सपना बांडेर

सवैलाई फूटाइदिएं

सेतै हात्तीको बल भन्दै

शक्ति प्रदर्शन गरिदिएं

स्वभाविक नियतिको रुपमा

सैतै तुषारापातमा रुमल्लिएं ।

भर्जिनिया, युएसए ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।