चैतको घामसंगै उन्मादको हुरीले बढार्न खोज्ने
ति रूखहरु अविचलित छन् |
कालो बादल शीरमाथि मडारिदा पनि
निर्भिक छन् दृश्यका हिमशृंखलाहरु ||
पहिरोले खुइल्याउन लागेका पहाडहरु
मौन छन् तपस्यामा लिप्त ऋषिझैँ |
वस्ती वस्तीको कोलाहलले चुनौती दिदा पनि
अविच्छिन्न सुसाइ रहेछन खोलाहरु ||
सुन्दरता झल्किरहेछ आफै हुनुमा
संयोजन कस्तो अहा ! आफै आफै रहनुमा |
न त इर्श्या छ, न छ कुनै मोह
दिल दुखेको छैन कसैको ||
बस् म छु यौटा भिन्न प्राणी
आफै भित्र कस्तूरी नभेटी चहारिरहेको |
पिल्सिरहेको रहर मेट्ने आशमा
घोटीइरहेको खुशी भेट्ने आशमा ||
मेरा रहरका सिमाहरु छैनन्
खुसीको गन्तब्य छैन कुनै |
वंशजको, समाजको चिन्ता छ मलाई
अलग मान्छे बन्नु छ म ||
प्रतिस्प्रधा आफैसंग छ मेरो
वनावटी आफै हुनुको खोजीमा भौतारिइरहेको म |
आफ्नै रागले खुम्चिएको मरिचझैँ
हारिरहेछु जिउने होडबाजीमा ||||
गुल्मी