बुद्धको मेरो देश, यलम्बरको मेरो देश, जनकको मेरो देश
भृकुटी र सीताको मेरो देश, वीर बलभद्र र अरनिकोको मेरो देश
मेरा अक्षरहरुमा उनीहरु लेखिएनन् भने म मुर्दा भएको सम्झिदिनु ।।
मभित्र हिमाल उठ्नु पर्छ, पहाड बोल्नु पर्छ अनि तराई जुट्नु पर्छ
मेरो रगत रातो भएर के भो मभित्र कोशी र कर्णाली दुःख्नु पर्छ
मेरो मुटुमा मेरो देश धड्किएन भने म मुर्दा भएको सम्झिदिनु ।।
मायापिरतीका रंगहरुमा मुटु पोखेर के भो मेरी आमा देखिएन भने
कागजका पानाभरी देश लेखेर के भो मेरो छातीमा देश भेटिएन भने
भूगोलका सीमाहरुले मेरो देश छेक्यो भने म मुर्दा भएको सम्झिदिनु ।।
मेरो रुवाईमा, मेरो हसाईमा मभित्र मेरो देश भेटिएन भने
मेरो रगतको थोपाथोपामा पनि मेरो देश कतै भेटिएन भने
नसम्झनु मलाई कसैले कहीं कतै, ज्यूँदे मरे छ भनिदिनु ।।
म मरे भने मेरो लासलाई नदिनु कसैले एक धरो दागबत्ति
म मरे भने मेरो लासलाई नदिनु कसैले एक मुठी माटी
मेरो लास गिद्ध र कागहरुको लञ्च र डिनर बनाई दिनु
मेरो लास स्याँल र ब्वाँसोहरुलाई जिम्मा लगाई दिनु
कसैले सोध्यो भने भनिदिनु ‘यसले देशलाई विर्सेको थियो’
कसैले खोज्यो भने भनिदिनु ‘यसले आमालाई विर्सेको थियो’ ।