18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चराको व्याकरण

कविता पेशल आचार्य February 12, 2014, 12:59 am
पेशल आचार्य
पेशल आचार्य

फेरि उडे चराहरू

अलिकति मनका बारीबाट

अलिकति वनका पारिबाट

चुच्चामा चेपेका छन्

रतिरागका समासहरू

पखेँटामा बेरेका छन्

सृष्टि सत्सङ्गका प्रत्ययहरू

विचरा चराको जीवन त

धातुझैँ रहेछ

सृष्टिको व्युत्पन्न रूपि चित्रमा

कहिले प्रकृति भएर

प्रेमको कृदन्त बर्साउँछन्

कहिले प्रत्यय बनेर

मायाको तद्धितान्त पर्खाउँछन्,

चराका व्याकरणहरू

विद्वान्झैँ वादविवादमा

ओर्लिएका छैनन्

बरू हतारो छ

तिनीहरूलाई

क्रीडाकेलीमा रमाउँदै

फुल पार्ने

ओथारो बस्ने

र बच्चा काढ्ने ,

बस् त्यसपछि

जीवन मिठो गद्यको अनुच्छेदझैँ

सललअ बगोस् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।