19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हर्के

लघुकथा पदम चिन्तित नेपाल February 11, 2014, 5:05 pm

जमिनदार बिर्खे साहुको एकलकाटे छोरो । बिर्खे साहुले बेशीको सीमखेत बेचेर हर्केको लागि भटभटे किनीदिए पछि आजकाल हर्के गाउँको धुलाम्मे सडकभरी छारो उडाउदै वल्लो र पल्लो टोल कुदिरहन्छ ।

मैना,

धर्मे सााहुकी एकलौटी छोरी । धर्मे साहुले मैनाको लागि भकारोको लाहुरी भैसी बेचेर मोवाईल फोन किनिदिए पछि आजकल मैना दिनभरी टौवामाथी बसेर कौवा धपाउदै के के बोलिरहन्छे ।

जुठे,

एउटा गरीव मजदुर । उ सँग बेच्नको लागि न सीमखेत छ न लाहुरी भैसी नै । त्यसैले उ दिनभरी आफैलाई बेचेर ज्याला मजदुरी गर्छ बिर्खे र धर्मे साहु कहाँ । यसरी बर्षौ बर्ष आफैलाई बेचेर निमेक गर्दा पनि आफ्नी जोईको लागि एकसरो नयाँ टालो किन्नु सकेको छैन ।

उफ ! यो कस्तो नियती, सीमखेत र लाहुरी भैसी भन्दा कती सस्तो जुठेको जिन्दगी ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।