14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

लक्जेम्बर्गको यात्रा: घाम, पानी र हिउँको जात्रा

नियात्रा कृष्ण बजगाईं February 11, 2014, 11:21 am
कृष्ण बजगाईं
कृष्ण बजगाईं

बर्खा लागे जस्तै झरी परिरहेको थियो एकाबिहानैदेखि । अहिले हिउँ पर्दैछ । अब घाम पनि लाग्ला कि ? आशावादी छु जनवरी महिनाको चिसोमा । कहिले काहीँ एकै दिनमा तीनवटा मौसमको आनन्द लिन पाइन्छ युरोपमा । यस्तो खराब मौसममा किन लक्जेम्बर्गको यात्रा रोजेको हुँला मैले ? आफैंलाई प्रश्न सोध्छु । युरोपमा तिनवटा डब्ल्यु वोमेन, वेदर र वर्क अर्थात आइमाई, मौसम र कामको ठेगान हुँदैन भन्छन् । के थाहा लक्जेमबर्ग पुगेपछि झलमल्ल घाम लाग्ने पो हो कि ? मनमा यस्तै आशावादी विचार र सकारात्मक सोँच लिएर बेल्जियमको राजधानी ब्रसेल्सको रेल स्टेशनमा टिकट काटेर लक्जेम्बर्ग जाने रेल पर्खेको छु १७ नं प्लेटफर्ममा । मेरा अगाडि देखिरहेको छु ठिहिर्याउने जाडोले गर्दा मानिसहरु कान छोप्ने टोपी, लामा लामा कोट, ज्याकेट लगाएका छन् । धेरैजसोले कोटको खल्तीभित्र हात घुसारेका छन् । र फुकी रहेका छन् मुखबाट धुँवा जस्तो तातो वाफ । तर जाडोले छेउपुच्छर भेट्नेवाला छैन मलाई । जाडोको बिरुद्ध राम्रै तयारी छ मेरो पनि ।

रेलले पन्ध्र बीसवटा डिब्बा घिसार्दै ल्याएर रोकियो मेरै अगाडि । दोस्रो दर्जाको टिकट काटेको थिएँ । सोही डिब्बामा प्रवेश गरेपछि झ्याल तिरको सिट खोज्दै थिएँ । भेट्टाए एउटा सिट । तर आफू बसेको ठिक उल्टो पल्टीबाट अगाडि बढ्न थाल्यो रेल । एकै छिनमा असजिलो भयो । दुइ घण्टा लामो उल्टो यात्रा सम्भव होला जस्तो लागेन । फेरि सुल्टो तिरको सिट खोज्न थाले । थरी थरी जात र रंगका मानिसहरुले भरिभराउ छ रेलका डिब्बा । लक्जेम्बर्ग जाने दोस्रो दर्जाको रेलको डिब्बामा सिट तोकिएको हुँदैन । बेल्जियमबाट लक्जेम्बर्ग वा लक्जेम्बर्गबाट बेल्जियम देख्दा अन्तर्राष्ट्रिय भए पनि छोटो यात्रा भएकोले होला लोकल जस्तै छ रेल । कति यताका मानिस उता र उताका यता दैनिक नोकरी गर्न आवत जावत गर्छन् रेलबाटै ।

दुइटा डिब्बा चाहारेपछि तेस्रो डिब्बामा एउटी मोटी हब्सी आइमाईले एक्लैले दुइटा सिट ओगटेर बसेको देखेँ । हिस्सी परेको चौंडा अनुहार, कालै रंगले श्रृंगारपटार गरेर टल्काएको मुहार, कपाल नहुनुको छनकसम्म नदिने गरि लगाइएको नक्कली कपाल हेर्दा वास्तवमा ऊ श्याम सुन्दरी लाग्दथी । तर मेरो कम्मर जत्रा तिघ्रा, मेरो तिघ्रा जत्रा उसका पाखुरा, आफ्नै पाखुरालाई ठेलिरहेका उसको वक्षस्थलले उसको सुन्दरतालाई चुनौति दिईरहेको थिए ।

अब मैले उसको छेउको खाली सिटमा बस्ने मनमनै निर्णय गरेँ । तर कसरी त्यहाँ बस्छु भन्नु ? के ठान्दी हो त्यसले ? आइमाई देखेर बस्न आयो भन्ठान्छे कि ? अथवा ‘नो’ भनि भने मर्नु पो हुने हो कि ? मेरो नेपाली संकुचित मानसिकताले मलाई पछाडि धकेलि रह्यो । फेरी कुरा खेलाएँ, म त्यहाँ नबसे अर्को कुनै भुसतिघ्रे आएर नारिएर बस्न सक्छ । फेरि यता युरोपमा खासै महिला र पुरुष भनेर कुनै सिट आरक्षण गरेको हुँदैन । बरु हरेक ट्रेन तथा बसमा चाहीँ बृद्ध, अपांग तथा दुइजीउकी महिलाहरुका लागि भने सिट आरक्षण गरिएको हुन्छ ।

जे होला होला । मैले साहस जुटाएर फ्रेन्च भाषामा भनेँ– ‘तपाईंको छेउको त्यो सिटमा अर्को कोही छैन भने म त्यहाँ बस्न चाहान्छु । सिट नपाएर हैरान भएको छु’ ।

‘हुन्छ हुन्छ । स्वागत छ आउनोस् ।’ दिल खोलेर स्वागत गरी ।

मेरो संकुचित मानसिकतालाई पराजीत गरी उसले ।

सामान्य अभिवादनका औपचारिकता पुरा गरेपछि ‘आइस ब्रेक’ भयो । बडो फरासिली रहिछे । अफिक्रा कङ्गो देशबाट आएकी, दश वर्ष भएको रहेछ लक्जेम्बर्गमा बिताएको ।

कुनै समय बेल्जियमको उपनिवेश रहेको देश कङ्गोका अधिकांश मानिसहरु बेल्जियममै घरवार बसाएर बसेका छन् । किन ऊ लक्जेम्बर्गमा पुगी ? मलाई मनमा खुल्दुली जाग्यो त्यस बारे थाहा पाउन । यात्रालाई रमाईलो बनाउने मुडमै निस्केको छु आज म ।

‘किन बेल्जियम मन परेन ?’ मैले कुरा अगाडि बढाए ।

‘किन मन नपर्नु ?’ बेल्जियम त आफ्नै देश त हो नि । उसले जवाफ फर्काई ।

कङ्गोका मानिसहरुले बेल्जियमलाई आफ्नै देश ठान्छन् । तर भन्ने गर्छन– ‘बेल्जियमका मानिसहरु अलिक जातिवादी छन् । हाम्रो देशबाट लुटेर ल्याएका सम्पत्तिले यिनीहरु धनी भएका हुन ।’ हुन पनि हो संसार प्रशिद्ध बेल्जियमको हिराको मुल्य र नामको ख्याति यति धेरै छ कि अधिकांशहरुले ठान्छन् बेल्जियममा हिराको खानी छ । वास्तवमा कुरा त्यस्तो होइन, कङ्गोबाट ल्याइने कच्चा हिरालाई बेल्जियममा ‘कटिङ’ र ‘पोलिसिङ’ गरेपछि त्यसले बेल्जियमको नाम पाउँछ । त्यही बेचेर बेल्जियम धनी देशमा पुगेको छ । सोँच्दछु बाठाहरुले गर्ने ब्यापार यस्तै होला ।

उसले लक्जेम्बर्गमा बस्ने कुनै गोरेसँग विबाह गरेकि रहिछे । त्यही भएर उतै बस्दीरहेछ । बेल्जियममा उसका बाबुआमा सहितको ठूलै परिवार भएकोले बेला बेलामा भेट्न आउँदी रहिछे ।

अब सोध्ने पालो उसको । मेरो बारेमा सोधी । नेपालबाट आएको बताएँ । नेपाल भन्ने देश नै थाहा रहेनछ । नेपाल देशको नाम नसुनेको कुरा सुनाउँदा बडो झोँक चलेर आयो । माउण्ट एभरेष्टको कुरा उठाए । अहँ सामान्य जानकारी पनि रहेनछ उसलाई । बुद्ध जन्मेको देश बताएँ । बुद्धको बारेमा चाहीँ थाहा रहेछ तर भारतमा पो जन्मेको भन्छे ! उसका कुरालाई मलाई उठ्नु सम्मको रिश उठ्यो । रिशाएर के गर्नु ? त्यस्ता भ्रमलाई चिर्ने काम न त सरकारले गरेको छ न त कुनै त्यस्तो शसक्त सञ्जाल नै छ । बुद्ध नेपालमा जन्मेको भन्ने जानकारी गराएँ उसलाई ।

मेरो गन्तब्यका बारेमा सोधी । लक्जेम्बर्गमा एकदिनको भ्रमण रहेको र साँझमा फर्कने कुरा बताएँ । मैले उसलाई लक्जेम्बर्गको बारेमा केही जानकारी दिन अनुरोध गरेँ ।

उसले भनी विदेशीहरुको जनसंख्या ५८ प्रतिशत भन्दा पनि बढी भएको मुलुक भएकोले यसलाई युरोपको सांस्कृतिक राजधानी पनि भनिन्छ । खासगरि जर्मनी, बेल्जियम, पोर्चुगल, इटाली र फ्रान्सबाट आएका विदेशीहरुले भरिएको देश भए पनि त्यहाँका रैथानेहरु हाम्रो देशमा विदेशी थुप्रै छन् भन्दछन् रे । विशौं शताब्दीको सुरुतिर कामदारका रुपमा आएका सबै जसोले त्यतै रहेर घरजम बसाए । उसको यो कुरा सुनेपछि हामी युरोप भन्दा बाहिरकालाई के भन्दा हुन् तिनीहरुले ? मनमा जिज्ञासा लागि रह्यो तर सोधिन ।

छब्बिसहजार वर्ग किलोमिटर मात्र क्षेत्रफल भएको देश छिचोल्न गाडीमा एक घण्टा पनि नलाग्ने कुरा बताई । उत्तर दक्षिण लम्बाई चौरासी किलोमिटर र पूर्व पश्चिम जम्मा छत्तिस किलोमिटर मात्र छ रे । क्षेत्रफलको हिसाबले युरोपको सबै भन्दा सानो देश त नेपाल भन्दा धेरै सानो पो रहेछ ! जनसंख्या करिव चारलाख पैसट्ठी हजार मात्र ।

कुनै जमानामा लक्जेम्बर्गको सिमानामा उभिएर हिटलरले भनेका थिए रे–‘मैले यताबाट ढुंङगाको घँुयेत्रो हाने भने पारी फ्रान्स कटाई दिन्छु ।’ हिटलरको जोक सुनेपछि म त खुब जोडले हाँस्न थाले । म हाँसेपछि मलाई जित्ने गरि झन् ठूलो स्वरमा हाँस्न थाली । मानौ हामी रेलमा हाँस्य योगा गरिरहेका छौं । हामीले ठूल्ठूलो स्वरमा हाँसेपछि छेउछाउकाले हामीलाई हेर्न थाले । मलाई वास्तवमा लाज लागेर आयो । यी खैरेहरु एक आपसमा साउती मारेर बात गर्दछन् । छेउका केही थाहा पाउँदैनन् । हामी विदेशीहरुले एक आपसमा कुरा गरेको हल्ला गरेको जस्तो ठान्छन् उनीहरुले ।

आधा बाटो पार गरिदै थियो होला, केही यताका र केही उताका कुरा गर्दै थियौं । ऊ भुसुक्कै निदाई । छेउको सहयात्री निदाएपछि बाँकी आधा यात्रा चुपचाप पार गर्नु थियो । झ्याल बाहिर चिहायेँ । झलमल्ल घाम लागेको देखियो । अब मौसमले साथ दिने छाँट देखियो । तिब्र गतिमा दौडी रहेको रेलको झ्यालबाट हिउँले चुटेर कठ्याङ्िग्रएका रुखहरु देखिए । आँखाले भ्याएसम्म पर पर हेर्दा उस्तै लाग्ने खेती योग्य जमिन, ठूल्ठूला फाँट परसम्म देखिए । हुन त युरोप जहाँ जाने हो भने पनि जमिनको बनौट, खेति गर्ने ढाँचा सबै उस्तै लाग्छन् । मैले यात्रा गरेको जर्मनी, नेदरल्याण्ड, फ्रान्स, बेल्जियम र लक्जेम्बर्गमा सबै उस्तै उस्तै समानता पाएको छु ।

दौडिरहेको रेलले विस्तारै आफ्नो गति घटाउँदै ल्यायो । एकछिन पछि रेल रोकियो । यात्रीहरु उत्रने क्रम सुरु भयो । एकले अर्कालाई अगाडि जान दिएर ‘तपाईंपछि म’....भन्दै विस्तारै उत्रने थाले । चढ्दा र उत्रदा ठेलम्ठेल गर्ने हामी नेपालीहरुलाई यस्तो सभ्यता र संस्कारको विकाश गर्न कति वर्ष लाग्छ होला ? आफैँलाई प्रश्न सोध्दछु ।

यो हुलसँगै मिसिएर निस्कदा निस्कदै रेलकी सहयात्रीले विदा मागी । युरोपको सबै भन्दा सानो देश लक्जेम्बर्गको ट्रेन स्टेशनबाट बाहिर निस्किने बित्तिकै फराकिलो चोक अगाडि पुगियो । वातानुकुलित रेलको तातोबाट फुत्त बाहिर आउँदा एकैछिन चिसोले अत्यायो ।

रेल स्टेशन अगाडि एउटा ठूलो विज्ञापनको पोष्टर टाँसिएको देखियो । लेखिएको थियो – ‘एकहजार वर्षको इतिहास एकसय मिनेटमा !’ के रहेछ यो भनेर उत्सुकता लागिरहेको थियो । त्यहाँ पर्यटन प्रवद्र्धन गर्ने कर्मचारीहरु जानकारी दिँदै थिए । उनीहरुले त्यसका बारेमा बताए । म कुनै खास ठाउँ घुम्न भन्दा पनि सानो देश लक्जेम्बर्ग हेर्न आएको । कुनै निश्चित ठाउँ छानेर आएको हैन । सोधपुछ गर्छु । जे जे देखिन्छ त्यही त्यही हेर्ने । स्वतन्त्र भ्रमण थियो मेरो । ती कर्मचारीले एकसय मिनेटमा हेर्न सकिने ठाउँ र त्यसको महत्व बताएपछि मलाई पनि त्यो ईतिहास हेर्ने जाँगर पलाएर आयो र त्यतातिर लागे ।

लक्जेम्बर्गको ईतिहास बुझ्ने एउटा खुल्ला संग्राहलयको रुपमा एउटा लामो मार्गलाई उपयोग गरिएको रहेछ । ‘वेन्जेल वाक’ नाम दिइएको मार्गको ‘बोक प्रोमोनटरी’बाट सुरु हुँदो रहेछ पदयात्रा । पुरै प्राकृतिक यात्रा भएकोले यो पुरा भ्रमणलाई सानो स्विटजरल्याण्ड पनि भनिँदो रहेछ । यो सय मिनेटको यात्रामा एकहजार वर्षको इतिहास देख्न पाईने । सहरको भिडभाड र कोलाहालबाट सुरु हुँदो रहेछ यो यात्रा । प्राकृतिक पदमार्ग, गुफा, साँघुरा उपत्यका, ढुंगेबाटा, सैनिक किल्ला, म्युजियम सबै सबैको भ्रमण हो त्यो ।

सुरुवातकै यात्रामा ‘शँमा द ला कोर्निश’को अगाडि पुगियो । यसलाई युरोपको सबै भन्दा सुन्दर बाल्कोनी भनिँदो रहेछ । सत्रौं शताब्दीमा बनाएको रहेछ यो । लक्जेम्बर्ग विभिन्न समयमा फ्रेन्च, जर्मनी, अष्ट्रीया तथा स्पेनिशहरुको अधिनमा रहेको बेला निर्माण र पुर्ननिर्माण गरिएको रहेछ । त्यहाँबाट अल्जेट उपत्यकाको मनोरम दृष्य देखिदो रहेछ । हिउँ पग्ली नसकेको ससाना पहाडले घेरिएको त्यो उपत्यकामा झुण्ड झुण्डमा रहेका पातला बस्ती प्राकृतिक वातावरणका बीचमा साँच्चै सुन्दर थियो ।

म एक्लो यात्री । त्यहाँबाट अघि बढ्दै गएँ । यस्तो पदयात्रा भ्रमण समूहको रुपमा पनि गाइडबाट हुँदो रहेछ । बाटाभरि समूह समूहमा थुप्रै पदयात्रीहरु पनि छन् । एक्ला एक्लै हिँड्ने यात्रीहरु पनि धेरै छन् । त्यो भन्दा धेरै त विभिन्न काम विशेषले दैनिकरुपमा ओहरदोहर गर्ने हजारौं मानिसहरु छन् । मानिसका भिडमा काला कपाल भएको म जस्ता साह्रै थोरै देख्दछु । त्यही भएकाले होला मानिसहरुको नजर म प्रति परेके होला भन्ने ठानेको छु । आफू चाहीँ साँच्चै पर्यटक जस्तो भएर घुमिरहेको छु गर्वले । के उनीहरु मलाई ठान्दा पर्यटक ठान्दा हुन् ? वा गैरकानूनी रुपमा बसिरहेको विदेशी ? वा अपराधिक गतिविधि गर्ने विदेशी ? ११ सेप्टेम्बरमा अमेरिकाको ट्वीन टावरमा गरिएको आक्रमण पश्चात पश्चिमा मुलुकहरुमा हाम्रा जस्ता बनौटका एशियनहरु प्रति राम्रो धारणा बनाएका छैनन् यताका गोराहरुले । यस्तै नकारात्मक विचार खेलाउँदै अगाडि बढ्दै छु ।

परैबाट बृत्तकारले टेवा दिएर बनाईएको पुल देखियो । लक्जेम्बर्गको संसार प्रसिद्ध एडोल्फ ब्रिज हेर्ने मेरो इच्छा आज पुरा हुँदैछ । गहिरो नदीमाथि बनाइएको पुलको आकर्षण त्यसको कलात्मक पक्ष हो । राष्ट्र सम्पन्न भएपछि जेमा मन लाग्छ त्यसैमा सिंगार पटार गरे भै हाल्यो जस्तो लाग्यो । हाम्रो देशमा पुलका अभावमा कति मानिसहरु स्वास्थ्य चौकिसम्म जान नपाई सिटामोल खान नपाएर मरेका छन् । स्कुले बिद्यार्थीहरु खतरनाक तुइनमा चढेर पढ्न गएको समाचार पढेको सम्झन्छु । आफ्नो देशको यस्तो अवस्था थाहा पाउँदा मन मन दुखेर आउँछ ।

सन् १९०३ मा बनेको यस पुललाई नयाँ पुल पनि भनिदो रहेछ । तर यो पुल सबै भन्दा ठूलो बृत्ताकार ढुंगाहरुले बनाएको संसारको एक मात्र पुल भएकोले पर्यटकहरुका लागि आकर्षणको केन्द्र भएको रहेछ । त्यो पुलको सुन्दरता मात्र होइन प्राविधिक पक्ष हेर्न र अध्ययन गर्न पनि मानिसहरु आउँदा रहेछन् भन्ने कुरा थाहा भयो । करिव एकसय पचास मिटर लम्बाई र पैतालिस मिटर अग्लो त्यो पुलमाथि नियमितरुपमा साना तथा मालवाहक सवारी साधनहरु गुडीरहेका देखिए ।

त्यो पुल हेरेपछि अघि बढ्दै थिएँ । अघि रेल स्टेशनमा जानकारी पाएर सुरु गरेको सय मिनेटको यात्रालाई स्थगित गर्ने भएँ । कारण फेरी फुस्फुस् हिउँ पर्न थाल्यो । अब सहर तिर घुम्ने विचार गरेँ ।

बाटामा ठाउँ ठाउँमा ठूला चम्किला भवन देखिए । ती धेरै जसो त बैंकहरु रहेछन् । संसारका धेरै जसो ठूला बैंकहरुको अफिस परैबाट देखियो । स्विजरल्याण्ड जस्तै कालो धन लुकाउन र सो धनको गोपनियता कायम राख्नलाई यहाँका बैकहरु प्रसिद्ध छन् । युरोपमा अति कम ट्याक्स लाग्ने र सबै भन्दा धेरै तलवमान भएको यो देशमा त्यति धेरै जनसंख्या छैन । तर पनि आर्थिक कारोवारको केन्द्र बिन्दुको रुपमा विकाश भएको देख्दा देश विकाश गर्न भूगोल वा जनसंख्या पर्खिनु पर्दैन भन्ने कुरा नेपालले यहाँबाट सिक्नु पर्ने रहेछ जस्तो लाग्यो । नेपाल जस्तै भुपरिवेष्ठित राष्ट्र भए पनि कृषि जन्य उत्पादन , केमिकल उत्पादन र केही खनिजजन्य उत्पादनका कारण यो राष्ट्र सम्पन्न भएको रहेछ । त्यसो त राष्ट्र सम्पन्न र समृद्धिशाली बनाउनमा राजनीतिको ठूलो भूमिका हुन्छ ।

बाटोको भेउ पाएपछि हिँड्न सजिलो छ युरोपमा । युरोपभरिका घरका बनौट, यातायात र त्यसको सञ्जाल प्राय उस्तै हुन्छ । बेल्जियम र यहाँ कुनै खास फरक देखि रहेको छैन मैले । रेल स्टेशनमा पाएको ‘सिटी म्याप’ पनि छ साथमा । थप कुनै जानकारी चाहिए सोध्छु । यहाँ फ्रेन्च भाषा चल्ने भएकोले सजिलो छ मलाई । बेल्जियम, फ्रान्स तथा जर्मनीबाट घेरिएको देश भएर हो कि क्यार यहाँ फ्रेन्च, जर्मन र दुइवटा भाषा मिश्रीत आफ्नै भाषा पनि रहेछ ।

म घुम्दा घुम्दै ‘प्लास द आर्म’ नामक मुख्य खुल्ला चोकमा आईपुगे । पहिलेको सैनिक परेड खेल्ने मैदान रहेछ त्यो । अहिले पर्यटक र स्थानिय मानिसहरुलाई आकर्षण गर्ने प्रमुख स्थानको रुपमा विकाश भएको रहेछ । लहरै बडेमानका वृक्ष रोपिएर प्राकृतिकताले सिंगार्न खोजिएको रहेछ । वरिपरि प्रसिद्ध रेष्टुरेन्टहरु, क्याफहरुे रहेछन् । कफी र वाइनमा शौखिन यहाँका मानिसहरुलाई क्याफे, पबमा प्रसस्त भेट्न सकिन्छ । लक्जेमवर्गका मानिसहरु यस चोकलाई आफ्नो बैठक कोठा मान्दा रहेछन् । कारण त्यस ठाउँमा आएर साथीभाई भेटघाट गर्ने, मायाप्रिति गास्ने ठाउँको रुपमा विकाश भएको रहेछ । त्यहाँ बोलाएर कसैलाई कफि, बियर वा वाइन पिलाउनु ठूलो आतिथ्य सत्कार गरे सरह हुँदो रहेछ । जाडोले खुट्टा चिसो भएर कठ्याङ्ग्रिएको थियो । क्याफेमा बसेर कफीले शरिर तताउने विचार गररे एउटा क्याफेमा प्रवेश गरेँ । लक्जेम्बर्गको कफिको स्वाद बाँकी यात्रा भरि आईरह्यो ।

क्याफे तथा रेष्टुरेन्ट जाने संस्कृति भएको देश लक्जेम्बर्गमा युरोपियन खानाका रेष्टुरेन्टका अलावा प्रसस्त विदेशी खानाका रेष्टुरेन्ट चाइनिज, इन्डियन, नेपालीसम्म देखिए । त्यत्रो सानो देशमा नेपाली रेष्टुरेन्ट नाम देख्दा गर्वले छाति ढक्क फुल्यो । यस्तो ठाउँमा कहाँबाट को नेपालीहरु आए होलान र ब्यावसाय सुरु गरे होलान ? बडो उत्सुकता जाग्यो । एकै छिनमा मनमा शंका भयो, के यो नेपाली कै रेष्टुरेन्ट हो भनेर ? त्यही भएर पनि भित्र पसेर सोधीखोजी गरिन । विदेशमा नेपालको माउन्ट एभरेष्ट, अन्नपूर्ण, फिसटेल,मुस्ताङ, बुद्ध आदिको नाममा थुप्रै गैर नेपालीहरुले ब्यापार गरेर पैसा कमाइ रहेका छन् । ट्रेड मार्क कानुन लाग्ने देशमा कुनै बहादुरले नेपालीले मुद्दा हाल्ने हो भने उसले त्यसबाटै थुप्रै पैसा कमाउँथ्यो । मनमा यस्तै कुरा खेलाउँदै अगाडि बढ्छु ।

मौसमका कारण लामो पदयात्रा बदलेर म फनफनी लक्जेम्बर्गको राजधानी लक्जेम्बर्ग सिटी घुमि रहेछु । यो सहर आफैमा युनेस्कोको विश्व सम्पदा सूचीमा परेको रहेछ । यहाँका मुख्य पर्यटक आकर्षक भनेकै लक्जेम्बर्ग सिटी र म्युजियम हो भन्ने कुरा रेल स्टेशनमा मलाई जानकारी भै सकेको थियो । समय थोरै भएकोले कुनै म्युजियममा छिरिएन ।

लक्जेम्बर्गको राजधानी जम्मा एक घण्टामा घुमि सकँे । सफा बाटाघाटा, पुराना तर सुविधा सम्पन्न कलात्मक भवन सहर भरि देखिए । विलासी सामानका महँगा दोकानहरुले सहरको वैभवता र लक्जेम्बर्गको सम्पन्नता झल्काइरहेका थिए । केही पसलहरुमा बाहिर शिशाको झ्यालबाट शोकेशमा सजाई राखेका सामानको मुल्य हेर्दा भित्र जाने हिम्मत पनि आएन । बाहिरैबाट चित्त बुझाएर फर्के ।

साँझ झमक्क परिसक्यो । उसो त युरोपमा हिउँदमा दिउँसोको चार बजे नै अँध्यारो सुरु हुन्छ । बेल्जियम फर्कने समय नजिकै आएको थियो । मेरा मित्र जँ–मारीले मार्लबोरो सिगरेटका दुइ बक्स अर्थात बिस प्याकेट र केही व्हिस्कीका बोलत किनेर ल्याइदिनु पैसा पछि दिन्छु भनेका थिए । सो को किनमेल गरेँ । त्यहाँ निकै भीड थियो । साहै थोरै जनसंख्या भए पनि जनघनत्वको आधारमा युरोपमा सबै भन्दा धेरै अल्कोहल लक्जेम्बर्गमा विक्री हुँदोरहेछ । छिमेकी मुलुक भन्दा त्यहाँ रक्सी र सिगरेटमा कर कम लाग्ने भएकोले तिनीहरु नै मुख्य ग्राहक हुँदा रहेछन् । म आफै पनि सम्झन्छु बेलाबेलामा सस्तो सामान किन्न बिराटनगरसँग सिमाना जोडिएको भारतको जोगबनीसम्म धरानबाट सामान किन्न गएको । पारी सिमानामा गएर सामान किन्ने काम नेपालका सिमा क्षेत्रका सबै बजारमा हुन्छ ।

हातमा सिगरेट र व्हिस्कीको झोला बोकेर सिमसिम पानीमा रेल स्टेशन तिर थकित पाइला चाल्दै छु । लक्जेम्बर्गको घाम, पानी र हिउँले चुटेको थकित ज्यान रेलको प्रतिक्षालयको एउटा कुर्सीमा थन्काएर पानीले भिजेको ओभर कोट र पेन्ट टक्टक्याउँदै छु । आँखा बेल्जियम जाने रेलको प्रतिक्षामा प्लेटफर्म नं. र समयको सूचना दिने ‘मोनिटर’ तिर लगाई राखेको छु । थकित आँखा कतै प्रतिक्षालय मै बन्द हुने त होइन ? मनमा डर पलाई रह्यो ।

लन्डन, बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।